Skip to content

कैकेयी महाकाव्यलाई अध्ययन गर्दा


परिचय–
गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एव म नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पुर्याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एव म छन्दोवादी काव्यधाराका मानक स्रष्टाको ‘कैकेयी’ महाकाव्यलाई मैले आज अध्ययन गर्न थालेको छु र ‘कैकेयी’ महाकाव्यमा केही शब्द पस्कने विचार पनि गरेको छु । २०१० साल श्रावण २८ गते कास्की रूपाकोटमा जन्मनु भएका विनोदीजी हाल गैडाकोट –८, नवलपुरमा बसेर शैक्षिक क्षेत्रमा सेवा दिंदै साहित्य सिर्जना गर्दै हामीलाई ‘मरो वर्तमान(२०४७), ‘निर्मम निर्ममम घडीहरू (२०५६), आँखाका नानी (२०५७), छन्दविनोद (२०५९), अविश्रान्त (२०५९), हिमस्पर्श (२०६६), अनुपमा धर्ती (२०६६), सृष्टिमाथिका दृष्टि (२०६६) नानीका गीत (२०७०), शूर्पणखा खण्डकाव्य (२०७१) र हाल २०७४ सालमा कैकेयी महाकाव्यको साथै अनगिन्ती भूकिा लेखन, उनको सम्पादनमा पत्रिकाहरू प्रकाशन र विभिन्न पत्रपत्रिकामा अनगिन्ती फुटकर रचनाहरू प्रदान गर्नुभएको छ । उहाँको शालीनता मन्द मुस्कान आकर्षक अनुहार, साधारण व्यक्तित्व र उच्च विचार नै गोविन्दराज विनोदको परिचय हो जस्तो लाग्छ मलाई ।

कृतिपरिचय–‘कैकेयी’ महाकाव्य २१६ पृष्ठमा सिर्जित छ । यो कृति शिखा बुक्सबाट प्रकाशन गरिएको र मूल्य रु.३००÷–राखिएको छ । यस कृतिमा अभिवादन र सूत्रधार लगाएत दुईपदीय १३१८ र चतुष्पदी १९ गरी १३३७ श्लोकहरू छन् । यो कृति पूर्वीय आर्षकाव्य रामायणकी कथाकी पात्र कैकेयीलाई नायिका वनाएर सिर्जना गरिएको छ । कृतिकारले रामायणमा दुष्ट नारीको रूपमा लिएकी कैकेयीमा, नारीले आफ्नो सन्तानको लागि गर्ने मायाममता र आफ्नो सन्तानको उच्चाइमा देख्ने अभिलाषालाई गहनताको साथमा लिएर, रामायणले बोकेका अवधारणालाई यथावत राखेर, देखिएका महत्वपूर्ण पक्षलाई उठान गर्दै नारी हृदयका सम्वेदनशीलतालाई पस्कदै एउटा गहन एव म नविन महावकाव्यको सिर्जना गरेका छन् । यो महाकाव्यको सिर्जनाभन्दा पहिला शूर्पणखा खण्डकाव्यमा पनि नारीवादी चिन्तनलाई उच्चाइका साथमा उठाउँदै शूर्पणखाको मानवीय भावनालाई स्पष्टताकासँग उठाएर एउटा अनुकरणीय खण्डकाव्यको सिर्जना गर्नुभएको थियो ।

कृतिभित्र प्रवेश गर्दा–शब्द–ब्रह्मलाई स्मरण गर्दै, शब्द–ब्रह्मको रूप लिएर खाली पृष्ठमा प्राण भर्न लागेकोले वाणीको श्रद्धा पूजन आरती गर्न सकूँ, काव्यमा पूर्वीय दर्शन पक्रन र रामायण कथालाई उपजीव्य बनाउन सकूँ भन्दै आदिकवि वाल्मीकि, व्यास, कालिंदास, तुदसिंदास, भानुभक्त, कवि शिरोमणि, लक्ष्मीप्रसाद देवकोटा, चक्रपाणी, युद्धप्रसाद मिश्रको स्मरण गर्दै, मङ्गला चरणकोरूपमा अभिवादन भर्दै काव्यको थालनी गरिएको छ । काव्यको सर्गगत लेखनी थाल्नुभन्दा पहिला काव्यको सूत्रधारको रूपमा कैकेयीले भनेका, सम्झना गरेका, घटेका घटनाहरू, कुनै जिज्ञासु छात्रले गुरुका वाणी सुनेको छात्रझै सुनेको र बुझेकोबाट काव्य निर्माणको सूत्रधारलाई लिइएको छ ।

राज्याभिषेक सन्दर्भ –यस सन्दर्भमा अयोभ्यामा रामको राज्याभिषेकको तयारी भै रहेको अधिल्लो दिन कैकेयीको मनमा उब्जिएका भावतरङ्गहरू अति शिष्ट, अति सुन्दररूपमा प्रस्तुत गरिएको छ । कैकेयीलाई यहाँ सबै प्रकारका सुख प्राप्त भएका, राजाकी प्रिय रानी भएकी, कीर्ति आफैले आजर्नन गरेकी, राजाले क्षिणमै देख्न नपाए प्रसन्नता हराउने, रामले गुणानुवाद गर्ने, कौशल्या र सुमित्रा कैकेयीकै भर पर्ने, मन्त्रीले श्रेष्ठ सरसल्लाह माग्ने, फुलेका फूल उन्कै सम्मानको लागि फुलेका, कसैमा भोक रोग केही छैन सबैका घरमा अन्न छ आदि धारणाको साथमा कैकेयीले यस्तो अनुभूति गर्दछिन् –

लाग्छ यो प्रेमको राज्य प्रेमकै फल फल्दछ
प्रत्येक मनमा मानौ प्रेमकै दीप बल्दछ
(श्लोक १७, पृष्ठ ११)

महाकविले कैकेयीका धारणालाई यसरी प्रस्तुत गरेका छन् । रघुकुलका प्रभावको दीप्तिले कुनै वैरी नभएको, कैकेयी केकय देशकी छोरी राजोचित सबै विद्याले पूर्ण, शस्त्र शास्त्रले दीक्षिता, राजनीतिका लागि पनि प्रशिक्षिता, युद्ध लड्नमा सिपालु, दीन दुःखीमा कृपालु, राजाले युद्धलड्न जान कैकेयी साथमासँगै जान चाहने, यस्ती कैकेयीले आफूलाई नै धन्य ठान्दै आफ्नो गर्वको शिर ताज कहाँ गएर देखाउने भनी आतुर रहेकी, भरत अत्यान्त्यै रामका प्रियभक्त, सबै भाइ राममै अनुरक्त, राम पनि सर्वदा श्रद्धावन्त र मर्यादायुक्त आदि धारणा राख्दै कैकेयीले रामप्रति देखाएको मायावी भाावनालाई कविले यसरी पोखेका छन् –

अथवा कीर्ति राखु म पृथ्वीमा अजरामर
लिई पवित्र मायाको सङ्लो हृदयनिर्झर
(श्लोक २८, पृष्ठ १३)

कैकेयीका मनका भावनाहरू बगिरहेका छन् । कैकेयीले धर्ती बधूसरि सिँगारिने, सौन्दर्य बोकेर मनकी चरी उड्ने, पथहरू केही बोलिरहे जस्तो लाग्ने, परमानन्दको द्वार आफै खोलिरहेसरि लाग्ने, वृक्षशाखा मगमगाइरहेसरि र घरहरू जगमगाइरहेसरि अनुभूति गर्दछिन् ।

कविले, कैकेयीको एकलापमा नै प्राकृतिक सुन्दरताको वर्णन, भूजा कर्म गर्न, चैतन्य धान्नलाई धर्म, पुराना याद स्मृति कुण्डमा डुब्ने, नयाँ चिन्तन स्मृति झुण्डमा बस्न आउने, मानिसमा नयाँ कामको चाहना हुने, कर्म साधना नभै मानिस अगाडि बढ्न नसक्ने नयाँ परिवेशमा मान्छेको उत्साह बढ्ने, नव्यताकै खोजी हुने, युवराज राम मर्यादा पुरुषोत्तम होलान् र राजा बनेपछि, अयोद्धा स्वर्ग बन्ने कल्पना गरेका छन् ।

अयोद्धा राज्य साँच्चै नै स्वर्ग बन्ला र मानव
देवताझै सुखी बन्लान् हट्लान बाधाहरू सब
(श्लोक ४६, पृष्ठ १५)

हुनत अयोद्धाका प्रजा खुसी छन् तापनि नयाँ आशा जनताले लिएका र सुख वैभव बढदै जाने कहिल्यै तृप्ति नहुने, कैकेयीको चाहना पनि प्रजा सुखी हुन भन्ने रहेको, भरत र शत्रुघ्नलाई मामा आएर लगेको, राज्याभिषेकमासहभागी हुन पाए खुसी हुने तर समय छोटो भएकोले दूत पठाउन नसकिने, राम पनि भाइ नभएकोले दुखित भएको तर सुभ मुहूर्त गुम्न नहुने, सुमित्राका छोरा शत्रुघ्नले भरतलाई छाड्दैनन् जसरी रामलाई लक्ष्मणले छाडदैनन् । राजा बृद्ध भएकोले शक्ति क्षिण हुँदै जाने भएकोले रामले राज्यको भार सम्हालेपछि देशको गौरव विश्वमा अँझै बढ्ने छ आदि पवित्र धारणाहरूमा कैकेयी बहकिदै धर्तीलाई स्नेहले भिजाइन् भन्दै यो सर्ग समाप्त भएको छ ।

पूर्वस्मृति–यस सर्गमा कविले कैकेयीले बाल्यकाल, कैशोर र यौवनकालको सम्झना गरेका धारणालाई प्रष्ट्याएका छन् । शैशवकालमा कैकेयीमा चिन्ताविहीन अवस्था, इन्द्रेनी कल्पनामा आउने, चराझैं उडूँउडूँ लाग्ने, राजारानी बनेर नर्कटको घोडा चढेर, काठका अस्त्र बनाएर आपसमा लडेर खरका डाँठ भाँचेर तरबार बनाएर गीत गाएर नाचेर नियन्त्रणमा पनि स्वतन्त्रताको चाहना राख्दै दृढ सङ्कल्पी भएर, चाहेका चाहना पुरागर्ने, पाँच वर्षको उमेरमा सरस्वतीको पूजा गरी अक्षर आरम्भ, सानोमा पढ्नभन्दा खेल्न रमाउने, पूराणका कथा सुन्दा रमाउने, देव र दानवका युद्धको कुरा सुन्दा युद्धका सपना आफै बुन्ने, शास्त्र विद्या पहिला र शस्त्र विद्या पछि सिकेको, अभ्यासका निम्ति जङ्गलमा पनि गएको नगर राज्यमा ठूला गोष्ठीहरू हुने विद्वान राजवाहरूले भाग लिने, गुरुआश्रमको शिक्षामा नियममा रहनु पर्ने र शस्त्र शास्त्र दुवै पाएर मस्तिष्क दीप्त भएको र भव्य दीक्षान्तमा प्रथम भएको घोषणा हुँदा गौरान्वित भएको आदि क्रियाकलापमा सम्लग्न रहेका स्मृतिका धारणा कैकेयीमा आएका छन् ।

कैशोरावस्थामा– शास्त्रास्थमा भागलिएर विजयको चाहना राख्दै पिताज्यूमा निवेदन गर्नु, भाग लिनु कतिपल्ट विजयी हुनु कतिपल्ट हार खानु, हारखाँदा रुँने र विजयीहुँदा हर्षले् ओठमा लाल्मिा चढने, विदेह राजर्षि उपस्थित हुँदा उहाँको ज्ञान श्रवण गर्न विद्वानको भीड नै लाग्ने। कैकय नै उल्टेर ज्ञानको भेल चलेसज्तो भान हुन्थ्यो, राजा जनकलाई प्रजाहरूले ज्ञानी ध्यानी रसद्ब्रती मान्दथे, अयोध्यापति वीर, धीर, गुणी ज्ञानी भएको चर्चा पनि हुन्थ्यो, अयोध्यापतिका यी गुण सुन्दा कैकेयीले झिलिक्क बिजुलीसरि झल्केको प्रीतिको राग माधुरीको महसुस हुने र वीर धीरको प्रसँग सुन्न चाहने साथै अदुृश्य शरीरको कल्पना गर्ने, कैकय देशको कला साहित्य सङ्गित नृत्य वैभवको रूपमा रहेको र नाट्य नर्तन कैकेयीलाई आनन्द दिने र नाच्न मनलाग्ने तर राजकुमारी भएकोले बाध्यताले त्यो रहर मझेरीमा नाचेर मेटिने, अध्यापक र साथीहरूसँग जिज्ञासाहरू राख्ने, राज्यका हीतका कुरको साथै वाध्यताभित्र बाँचेका नारीका प्रीतका कुराहरू एकान्तमा सोच्ने र आफूलाई लड्न सक्ने, शास्त्रार्थए गर्न सक्ने पुरुषभन्दा कुन कुरामा कमी ानभएको महसुस गर्ने, नारी भएर दासी झै बाँच्न पर्ने भेदलाई कैकेयीले नस्वीकार्ने, अधिकार लिएर मलिक्निी भएर गर्वले जिएर, आएका समस्यालाई समाधान गरेर नारीको स्वाभिमानलाई सगौरव राख्ने, नारीले नै सृष्टि सौन्दर्य सिर्जना धान्दछन् भन्ने कैकेयीका धारणलाई प्रष्ट्याउँदै कविले कैकेयीकै एकलापबाट नारी महान्तालाई यसरी पस्केका छन् –

आमा आखिर नारी हुन् नारी स्रष्टा ऋतम्भरा
नारीको स्पर्शले बन्छ धर्ती सिङ्गै हराभरा
(श्लोक ३८, पृष्ठ २४)

कैकेयीले आफूलाई अवला कहिल्यै नसोचेको, हिड्दा फूलको बाटो नरोजेको, समस्यासँग सन्घर्ष गर्न रुचाएको, शौर्य साहसका साथ आफ्नो अधिकारलाई उठाउनेजस्ता धारणा यहाँ आएका छन् ।

राजा दशरथको कैंकय देशमा आगमन र कैकेयीसँग स्वयम्वर– कैकेयीले अयोध्याका राजा राज्य विस्तारको निम्ति हिडेको कुरा सुनेको रलड्न परे आफै नै जाने विचार राख्दा राजा प्रीतको सूत्रमा गाँसन आएका, नानकारी पाउनु राजालाई हेर्न आँखा समुत्सुक भएको, राजाको भव्यआकृतिलाई अटालीबाट देख्दा शरीरभरि प्रीतिको तरङ्ग दौडिएको, राजाको विम्ब आँखामा अल्झिएको, रातमा राजा सेता घोडा, सेतै रथमा सेतैबस्त्र लगाएर चढेर कैकेयीलाई रथमा चढने इशारा दिएर स्वर्गलाई जित्ने मर्जी भएको सपना देख्नु, बाबुबाट विवाह हुने सन्देश प्राप्त हुनु मनमा हर्ष र माइतीवियोगको द्वन् द्वले स्थान लिएको चकोर र चन्द्रको ज्योत्स्ना निम्ति व्यग्र भएसरि मन भरि छटपटी चल्नु, स्वयम्वर हुनु, विवाह हुनु, ऐश्वर्य, सुख सन्तान, प्राप्तिको चाहना बढ्नु, कृतार्थ भएको र आत्माबाटै परमार्थ सोचेको र आफ्नो बाल्यकाल कैशोरकाल, विशाल जिन्दगीको यात्राको लागि आत्मअस्तित्वको धारखोज्दै कैकेयीमा हजारौं भावना उर्लेको धारण सहित यो शीर्षकको समाप्ति भएको छ ।

मन्थराको सल्लाह – यस शीर्षकमा दासी मन्थराका कुराप्रति कैकेयीको प्रतिक्रिया दर्शाइएको छ ।कैकेयीसँग गएर यो भव्य उत्सवमा रानीले गौरव मान्नु पर्ने कुरा के छ भनेर प्रश्न गर्दा कैकेयीले रामको राज्याभिषेक हुँदै छ र सबैले यही परिवेशमा गर्व गदछौं तर तेरो धारणा के हो बुझ्न सकिन सोझो अर्थ बुझ्ने गरी कुरा बता भन्ने प्रशन मन्थरासँग राखेपछि मन्थराले रानीलाई राजनीतिको र कुटनीतिको ज्ञाता हजुर नै हुनुहुन्छ जसरी कस्तुरीको मृगलाई आफैसँग भएको कस्तुरीको ज्ञान नभए सरी हजुरमा भएको ज्ञान हजुरलाई जानकारी नभएकोमात्र हो । शिरमा स्वर्ण वेला आएर बसेको हुन्छ त्यसलाई पहिचान गर्न सक्नु पर्छ यही पहिचान गर्न नसकेर सोझाहरूले आफ्नो भाग्य गुमाउँछन् । आज नडाकी आएको शुभलक्षण तपाईंको हातमा छ यो शुभ लक्षणलाई छाडियो भने भविष्य अन्धार छ आदि धारणा रानीसँग राखेपछि रानीले स्पष्टता चाहेपछि । मन्थराले भरतराजा बनाउन सकिने समय आएकोले यो मौका छाड्न नहुने, हक लडेर भए पनि लिनु पर्छ, राजासँग साँचेका वरले सत्ता प्रतिष्ठित रोपि बक्सियोस् र नयाँ स्वर्णलिपि आफ्नै हातले लेखिबक्सियोस् आदि मन्थराले बोल्दै जाँदा रानीले पनि नौलो विहानी खोज्न लागिन् भन्दै यो सर्ग समाप्त हुन्छ । यहाँ कविले अति सुन्दर श्लोकहरू पस्केका छन् –

स्वर्गीय सुख सत्ताकै रक्षा या प्राप्ति खातिर
देव दानवको युद्ध हुने गर्छ निरन्तर
(श्लोक ५१ पृष्ठ ३७

शक्तिकै प्राप्ति हो मूल उदेश्य राजनीतिको
‘सत्तासौन्दर्य’ हो यौटै रहस्य कूटनीतिको
(श्लोक ५७, पृष्ठ ३८)

पूर्वप्रसङ्ग– यस शीर्षकमा मन्थराले कैकेयीलाई दानवको युद्धमा राजा दशरथ देवतालाई सहयोग गर्न युद्धमा जाँदा घमासान युद्ध हुँदा। रथलाई धान्ने रथको किलो भाँचिएको र कैकेयीले आफ्नो औंला राखेर रथलाई धानेको औंलाबाट रगत बगेको राजाले देखेर कैकेयीको धैर्य र साहसी वीरत्वको बसमा भएकोले तिमीले चाहेका दुई वर माग म दिन्छुभन्दा त्यो वर पछि खाँचो परेका वेला लिने भनी साँचिएका दुवै वर माग्ने समय आएको सुसझाव मन्थराले कैकेयीलाई सम्झाएको तथ्य यहाँ प्रकट भएको छ । मन्थराले यी दुई वरमा एक वरले रामलाई वनवास पठाउने र अर्को वर भरतलाई राजगद्दीमा राख्ने वर माग्ने यस्तो मौका नगुमाउन सुझाव दिंदा कैकेयीले सर्व प्रथम यसरी अस्वीकार गरेको धारणा आएको छ–

यस्ता दुष्ट्याइँका तर्क तँ मेरा सामुमका नगर्
प्रेमको फूलबारीमा काँडा विद्वेषका नछर्
(श्लोक २८, पृष्ठ ४४)

कैकेयीले असहमत हँदाहुँदै पनि मन्थराले विवाहकै वेलामा राजमाता बनाउने प्रण राजाबाट भएको, भरत नभएको वेलामा राज्याभिषेक गर्न लागिएको, यो नियोजित काम भएको, यो सुऔसरलाई छोड्न नहुने र छोड्यो भने अपमानको अँध्यारोले घेर्ने, बुद्धि पुर्याएर काम नगरे चिन्ताको ज्वालामा जल्नु पर्ने, राजनीतिक खेलमा प्रवृत्त खेलाडी बन्न सक्नुपर्छ, सत्ता हातमा रहेपछि सबै दोष क्षम्य हुन्छन्, कौशल्या र बुहारीको दासी नबनी राजासँग वर माग्ने र आफै राजमाता बन्ने सुझावले कैकेयीको मन परिवर्तन गराउन सफल देखिन्छ र सत्ताको भोक जागेर कैकेयीले कोप गृह्यमा गएर आफ्नो कोपलाई प्रदर्शन गर्न थाल्नु, राजा आउनु, राजाले रानीलाई क्रोधको कारण सोध्नु कसैलाई मार्नपरे पनि मार्ने र आफ्नै प्राण त्यग्नपरे पनि त्याग्ने र देवताभए पनि दण्ड दिने आदि धारणा राख्दै तपसिलका धारणा सहित यो सर्ग समाप्त हुन्छ –

राजा भन्थे ‘के भयो प्राणप्यारी’
रानी बस्थिन् क्रोध झन्झन् थुपारी
यस्तैयस्तै क्रूर अन्यऔलभित्र
हाँसो आफैं काल कालो विचित्र
(श्लोक ७५ पृष्ठ ५१)

वरयाचना – यस शर्षकमा रानीले हरेक वहाना बनाएर राजसँग वर पूरागर्नको लागि आग्रह गर्नु र राजाले वर पुरा गर्ने बाचा प्रकट गरेपछि रानीले रामलाई चौध वर्ष वनबास र भरतलाई युवराज बनाउने वर माग्नु साथै राजाले वर पूरा गरी छिटै मन्त्रीहरू डाकेर आज्ञा मिलोस् । यदि वर पूरा नगरे समाजले झुट्टा भन्ने, राजाको शिर निहुरिने धारणा रानीबाट आउनु, यी कठोर वरबाट राजा छाँगाबाट खसेझै र भूमिमा भासिएझै महसुस गरेका धारणा प्रष्टिदै यस सर्गको समाप्ति हुन्छ । यस सर्गमा कैकेयीका हट र वहानालाई अति गम्भिर रूपमा पस्किएको पाइन्छ –

राजा नै सक्तिको स्रोत सबैले ठान्नु्पर्दछ
राजाकै छोषणा सारा प्रजाले मान्नुपर्दछ
श्लोक ४३, पृष्ठ ५८

राजाको अनूनय––कैकेयीको कठोर धाराणाले राजा पसिना पसिना हुनु, हटी नहुन आग्रह गर्नु, कैकेयी नौनी सरहकी, दयाकी मूर्ति, तिमीमा एकाएक परिवर्तन कसरी आयो, तिम्रो मनलाई कस्ले विगारो, तिमीले नै राजा राम नै बन्नु पर्छ, देवताको धाम झै बन्नु पर्छ, तिम्रो प्रस्ताव कसरी स्वीकार्ने आदि धाराणा राख्नु, कैकेयी अँझै कठोर बन्नु राजालाई आफ्नो बाचा टार्ने जालझेल रच्नु नहुने, सत्यको बोली बोल्नु पर्ने, मिथ्यावादी भनी दोष लाग्न नहुने, विवाहमा राजमाता बनाउने भनिएका कुरा बिर्सन नहुने, राजाले अर्को कुनै वर माग र मैले वरको आदर पनि गर्न सकुँ, मेरो लागि विषतुल्य वर नमाग, रामलाई कसरी वनमा पठाएर म कसरी बाँच्न सक्छु, तिमी धैर्यशालिनी छौ, हठात् निर्णय लिन नहुनेपछि पश्चताप हुने, पीडा वहन गर्नु पर्ने, पुत्रमा भएको स्नेह टुट्न सक्ने, प्रेमको वैभव काल आएर लुट्न सक्ने, जेठो छोरो राजा हुने क्रम भङ्ग हुँदा न्यायको दीप बुझ्न सक्ने, आफ्नै सृष्टिमा अनादर कसरी गर्ने, पितृ र भातृभक्त हुँदा भरतले राजा होऊ भने पनि नमान्ने, आदि धारणा राजाले राख्दै रानीतिर हेर्नु वर फिर्ता लिएँ भन्न आग्रह गर्नु, रानीले हठ गरेपछि भरतलाई राजा बनाए पनि रामलाई वन नपठाउनेभन्दा पनि कैकेयीले नमान्ने धारणा आएका छन् । सत्ताका लागि जालझेल हुने, माइती नडाकिनु, भरत मावली हुनु, साइत यही वेला जुर्नु, स्वकीय अधिकारमा शंका देखिनु, वात्सल्यप्रेम झन सर्वोच्च स्वाधिकार हो, यी अधिकारलिनबाट पछि नपर्ने पुत्र मोही भनून् या स्वार्थी जे भने पनि निर्णय नबदल्ने भएकोले वरमा राजाले तथास्तु भन्नै पर्ने जस्ले गर्दा रघुवंशीहरूले वाचा डगाउँदैनन् भन्ने सन्देश जावस् भन्दै कैकेयीले राजालाई वर दिन वाध्य पार्नको लागि बोलिएका केही श्लोक पनि हेरौं –

वाणी फर्केर आउन्न उच्चारित भएपछि
नदी फर्केर आउन्न तल बग्दै गएपछि
(श्लोक ५३, पृष्ठ ६९)

फक्रिन्नन् जसरी फूल वैली झरिसकेपछि
फेर्दैनन् वीरले वाणी वाचा गरिसकेपछि
(श्लोक ५५ पृष्ठ ७०)

राजाले पनि के आफ्नो कर्म बिर्सन हुन्छ र
वाचा गरेर के आफ्नो धर्म विर्सन हुन्छ र
(श्लोक ५६ पृष्ठ ७०)

रानीको हठका अघि राजाले रामलाई वनवास र भरतलाई राज्य दिने घोषण गर्छन । आज्ञापालन होस् भन्ने धारणा पनि पस्कन्छन् । यस समय राजाले गरेको कारुणिक अभिव्यक्ति अति मार्मिक छ –

लाग्दथ्यो कालको चक्र विपरित घुमेसरि
स्नेह वैभवको ठूलो जनकान्ति गुमेसरि
(श्लोक ७४ पृष्ठ ७२)

घोष्णा पछि मौनता छाउनु, मन्थरा मुस्कुराउनु, मुखामुख गर्नु, समय र सृष्टिको चक्रको गति चल्नु, राजालाई दुःख हुनु, कैकेयीमा हर्ष आउनु र कविले यस स्थितिलाई यसरी मूल्याङ्कन गर्दै यस सर्गको समाप्ति गरेका छन् –

यौटै बेला शोक वा हर्ष दायी
बुझ्नै गाह्रो सृष्टिको खेललाई
(श्लोक ७९ पृष्ठ ७३)

राम वन प्रस्थान–
यस शीर्षकमा राम सीता र लक्षमण राजाज्ञानुसार वन प्रस्थान गर्दाको प्रस्तुति पनि अति कारुणिक छ । यस अवस्थामा के हुनेहो भन्ने आशंका हुनु स्वभाविक हुन्छ । सबै मन्त्रीगण विधायकहरू सेनाहरू उपस्थित भएका परिस्थितिले कुन मोड लिने हो भन्ने सोचमा रहेका तर रामले सहजरूपमा पिताको आज्ञालाई पालन गरी वनजानको लागि सीता र लक्ष्मणसहित बिदा लिन पिता र कैकेयीलाई ढोग गरेपछि राजा रुन थाल्नु रामलाई वन जाने आदेश दिनु कैकेयीसँग बाचामा हारेकोले वर दिएको र पिता को आज्ञालाई पालन गर्न भन्दै भूइँमा ढल्नु, रामले जल छम्किनु, यस अवस्थामा कैकेयीले यसप्रकारको वाणी प्रयोग गर्नु –

अनि मैले भने ‘राम पिताका भक्त पुत्र हौ
हर्ने सन्ताप राजाको तिमी नै मूल सूत्र हौ
( श्लोक १३, पृष्ठ ७६)

तिमी १४ वर्षको लागि वनमा जाने र १४ वर्ष पछि हकलिन आउने कैकेयीको वाणी सुनि रामले पिताको आज्ञालाई पलन गर्ने दृढता व्यक्त गर्दा राजा दशरथको होस खुल्नु आफूले अन्याय गरेको महसुस हुनु र रामलाई अन्यायी पितालाई दण्ड दिन र न्यायमा सघाउन आग्रह गर्दछन्–

‘हे राम बाँध अन्यायी मलाई र यसै घडी
गर यो देशको राज्य त्यो सिंहासनमा चढी
(श्लोक २० पृष्ठ ७७)

अविवेकी दुरातचारी स्त्रीलम्पट अयोग्य यो
पितालाई दिई दण्ड लेऊ नेतृत्व राज्यको
(श्लोक २१ पृष्ठ ७७)

यसरी नै तिमी सक्छौ न्यायलाई सघाउन
हतबुद्धि पितालाई मिथ्याबाट बचाउन
(श्लोक २२ पृष्ठ ७७)

रामले पिताको चित्त शान्त पार्नु, पुत्रले पिताज्ञा पालन गर्ने सामर्थ राखोस्, पिताको सत्य निष्ठाको गौरव गर्दै वनमा जानूनै धर्म ठान्नु, वनमा ऋषिहरूसँग भेट पाउँदै अध्यात्मज्ञान लिँदै जनकल्याण गर्ने आदि धारणा रामले राखेका छन् । कुलधर्म थाम्ने रामको धारणा यसप्रकारछ –

इक्ष्वाकु कुलको सत्य धर्म थाम्छौ प्रतिक्षण
दिन्नौ भ्रातृत्वमा हाम्रो कदापि आँच आउन
(श्लोक ३२, पृष्ठ ७८)

यसरी पितालाई चिन्ता मुक्त हुनको लागि आग्रह गर्दै राम वन जाने तरखरमा लाग्नु र सीताले रामसँग साथै जान यसरी आग्रह गर्नु–

सक्ला र कसरी छाया कायाबाट अलग्गिन
पै्रभूबाट भई दूर म कसै बस्न सक्दिन
(श्लोक ३६, पृष्ठ ७९)

सीता राम वन जान योगीको भेषमा निक्लेपछि लक्ष्मण पनि वन जान तयार हुनु र उर्मिलाले पनि साथै जान आग्रह गर्नु, लक्ष्मणले चौध वर्ष ब्रह्मचर्यमा बस्ने भएकोले लान नसक्ने धाराणा राख्नु, माता पिताबाट बिदा लिएर वनको लागि प्रस्थान गर्दा राजामा दे्खिएको शोकाकुल अवस्था कैकेयीमा देखिएको विजयको हाँसो, राजाले कर्तव्य बिर्सिएको धारणा, राजा रामविना बाँच्न नसक्ने आदि धारणा आउँदा रमाले पितालाई वनमा गएर इतिहास बनाउने, रघुकुललाई जगमग बनाउने जीवनका सुख दुःख आउने र मान्छेले यी पीडा भोग्न बाध्य हुनु पर्ने, यो समयको खेलमा हामी पात्रमात्रै भएको र युग नाटकका निम्ति हामी निमित्त भएकोले वन जाने भातृत्व अँझै बलियोको लागि आशीर्वाद माग्दै राम सीता र लक्ष्मण वनतिर लाग्नु राजा मूर्छा पर्नु, यो अवस्थालाई दे्ख्दा धर्ती को साथै जीव, पंक्षी मनुष्य सबै रुनु तर ‘हाँस्यो एक्लै क्रूर कालो् भविष्य’को अभिव्यक्तिको साथमा यो शीर्षक समाप्त भएको छ ।

राजाको देहत्याग – यस शीर्षकमा राजालाई पुत्र शोकको आहत, राजाको देहवसान र कैकेयीको मनोद्वन्द्वलाई समेटिएको छ । राजा दशरथले कैकेयीको कामप्रति रोष प्रकट गर्दै रानीबाटै मृत्युदायी पीर दिएको, स्वार्थी, निर्दयी आगाको ज्वाला जस्ले मन नै डढाएको, सौम्य शान्त मुद्रामा लुकेको रिस र मिष्टभाषिणि वाणीमा विष देखिएको, रामलाई अपराध विना दण्ड दिएको आदि धाराण राख्दै राजाले कैकेयीलाई भन्छन् –

सर्वश्रेष्ठ हुने तिम्रो इच्छा पूर्ण भयो तर
सकिनौ सर्वमान्या भै आदृता बन्न आखिर
(श्लोक १० पृष्ठ ८७)

राजा दशरथले देव दानवको युद्धमा केकेयीले नबचाएको भए यस्तो पीर भोग्न नपर्ने, राजाले कैकेयीलाई स्नेहकी मूर्ति ठानेको तर दर्पिणी र आभूषण ठानेकोमा उनी सर्पिणी ठहरिएकी र राजा चाँडै नै मर्ने र रानीहरू विधवा हुने धारणा पोखेका छन् ।

कौशल्याको अभिव्यक्ति – राममाथि ठूलो अनादर भएको, जेष्ठपुत्र भएकोले राज्यको हकदार पनि भएको तर राजाले कसरी भार सम्झिएको, आदि धारणा सहित १४ वर्षको वनबास पछि राज्य घर आएर यो राज्य रामले नै पाउलान् भन्न सकिदैन किनकि–

हुन सक्छन् सबै अन्धा सत्ता पाइसकेपछि
पदको मदले पूर्ण ताज लाइसकेपछि

कौशल्याले पनि समाज स्वार्थी छ, आकाङ्षा चुलिदै जान्छन्, सम्मान पाइँदै गइन्छ, जसरी अघाएकोले अर्को भोकलाई भुल्छ त्यरी नै भरतले के रामलाई सत्ता सुम्पन्छन् भन्ने प्रश्न राख्दै राजालाई अन्याय गरेको धारणा राख्छिन् –
राजा भएर अन्याय कदापि गर्नु हुन्नथ्यो
न्यायमा धारिला काँडा ल्याएर छर्नु हुन्नथ्यो
(श्लोक २५, पृष्ठ ८९)

कौश्ल्याले, राजा कैकेयीका बसमा परेर, लोकले दिएको यशलाई भूलेर, लोककल्याणको लागि झुटै ठहरिने भए पनि दरिलो आत्म निणर्यलिनु पर्दथ्यो, पति भक्तिलाई पनि हेर्न सक्ब्नु पर्दथ्यो, त्यो हुन सकेन अब धैर्य लिनको लागि, आग्रह गर्दछिन् ।

राजाले अन्धाअन्धीको शापको स्मरणा र देहावशान– शिकार खेल्न जाँदा श्रवणकुमार बाआमाको लागि पानी लिन जलाशय खोज्दै हिड्दा मृग सम्झि बाण हान्दा बाणले श्रवण कुमारको मृत्यु भयो बाबु आमालाई श्रवणको मृत्युको कारण बताउँदा अन्धाले पुत्रशोकमा मर्न परोस् भन्ने कडा शाप िएको कारण आज देहावशान हुन पर्ने भयो भन्दै राजाले प्राण त्यागेको धारणा रानी कौशल्या समक्ष राखेर देह त्याग गर्दछन् ।

अयोध्या शोकाकुल र कैकेयीको मनोद्वन्द्व– राजाको मृत्युपश्चात अयोध्या शोकाकुल बन्नु, सबैले राजाको मृत्युको कारण कैकेयीलाई ठान्नु, सबैको नजरमा दुर्नाम र दुष्कृताको रूपमा हेरिनु एकातिर छोरा राजा हुन पाएकोमा र अर्कोतिर विधवा भएकोले मनमा द्वन्द्व चल्नु र उनको मनोभाव यसप्रकार प्रकट हुन्छ–

म रोऊँ अथवा हाँसू द्वन्द्व यस्तो मभित्र छ
शोक हर्ष हुँदा साथ अनुभूति विचित्र छ
(श्लोक ५२, पृष्ठ ९३)

झर्दैनन् किन यी आँसु पति टाढा हुँदा पनि
किन रोदन छुट्दैन सारा राज्य रूँदा पनि
(श्लोक ५३, पृष्ठ ९३)

मानिसमा द्वन्द्व उठनु स्वभाविक हुन आउँछ । कैकेयी पनि मनोद्वन्द्वबाट पिल्सिएकी छन् । उन्लाई थाहा छैन अवको बाटो के हो, अयोध्यभरी शोकका आँसु झर्नु, दुवै सौताले राजाको मृत्यु र रामको वनबासको कारण ठान्नु, सबैको घृणाको पात्र बन्नु, विवाहका कुरा चल्दा राजाले कैकेयीको छोरा राजा हुने बचन दिएको, एउटी आमाले पुत्रका निम्ति गर्नु पर्ने कुरा गर्नु, पुत्रको लागि स्वार्थी बन्नु र पाएको हकलाई आफ्नो हो भन्नु अपराध होइन भन्ने ठान्नु, आदि धारणा मनमा खेलाउँदै भरतको सुख र उज्यालो मुख देख्न आतुर हुँदै कैकेयीको हटसहन नुसकी र पुत्रको वियोगको कारणले राजामा मृत्युरोग सल्किएर यही पीडाको कारणले जीवात्माले देह त्यागेको धारणा राख्दै यो शीर्षकको समाप्ति हुन्छ ।

भरत आगमन–यस शीर्षमा मावलीबाट भरत अयोध्य आएको र भरतले दरवारमा घटेका घटनालाई जानकारी पाइ आहात भएको, भरतमा क्रोध र आक्रोश चढेको र कैकेयीको मनोविचलन सम्बन्धी वर्णन गरिएको छ ।

भरत मावलीबाट आएर देवताको दर्शन गर्दै, पुर्खाको स्मरण गर्न जाँदा पुर्खाको साथमा पिताको मूर्ति देख्न पाउनु र घटनामा चासो राख्नु, शोकविह्वल हुनु, दरवार पुग्नु कौशल्यालाई र सुमित्रालाई दर्शन गर्नु, कौशल्याले आमामा पुत्रको शिर झुक्नु पर्छ आमालाई दर्शन गर भन्नु, यो घटनाक्रमले गर्दा कैकेयी आमाको रूपमा नरहेको, नातो टुटेको स्नेहको घैंटो फुटेको, आमा पापिनी भएकोले पशुभन्दा पनि तल झरेकी र कष्टदायिनी भएकोले यी त्यज भएकी छन् भन्ने धारणा आएका छन् ।

कैकेयी र भरतबीच सम्बाद– भरतको कोप देखेर कैकेयीले पिताकै प्रतिज्ञाको रक्षाका निम्ति गरिएको, राज्याधिकारको हक तिम्रो भएको, यो अधिकार तिम्ले नै प्राप्त गर्नु पर्ने भएकोले जे जति कर्म भए तिम्रैलागि भएको यसमा मेरोमात्र दोष छैन भन्ने धारणा राख्दा भरतले राम पनि तिम्रै छोरा भएको, जेठो छोराको नाताले राज्यको उत्तराधिकारी हुनमा कुनै तत्वको कमी नभएको, भाइभाइमा भातृस्नेहको पनि कमि नभएको स्वार्थले फाटो पार्ने दुष्कर्म रचिएको रामको हित भरतको हित र रामको जित नै भरको जित भएको बलपूर्वक राज्यको साँचो लिएर अनाहकमा रामलाई वन पठाएर सौतेनीरिस पोखिएको दुष्टताको प्रदर्शन भएको कुनै प्रतिष्ठा प्राप्त नभएको, यो पापाी दिमागको सोचाइले बदनाम भएको र कुलमा दाग लागेको, महारानी भएकैर राजमाता हुने इच्छा भएमा राम राजा भए पनि स्वकीय इच्छामा कुनै कमी नहुने, भरतले कैकेयीको कोखबाट जन्म लिएकोमा दुखित रहेको, कैकेयी कोमल हृदय पत्थरझै साह्रो बनाएर पशुभन्दा तल झरेकी, अश्वपतिकी पुत्रीजस्ती पनि नलाग्ने, उनको कुलमा राक्षसी भएर जन्म लिएर रघुकुललाई संहार गर्न आएकीजस्ती लाग्ने, कैकेयीका कुनै योजना लागु नहुने किनकि भरत रामप्रति निष्ठवान रहेको आदि धारणामा भरतले आमलाई रोष देखाउनु ।सुमन्त्र आएर भरतलाई अन्त्येष्टि कर्मको लागि वशिष्ठ गुरु आएको जानकारी दिनु भरत त्यतै लागेको धारणा आएको छ ।

आमाको पुत्रप्रतिको माया र पुत्रको उत्थानको चाहना – जति अपहेलित किन नहुन परोस मातृहृदय जहिले पनि पुत्रप्रति सङ्कल्पित भएको हुन्छ पुत्रको उन्नतिलाई मातृ नयनले हेर्न चाहन्छ –यहाँ कैकेयीले आफ्ना सङ्कल्प कार्यन्वयन हुँदेनन् कि भनी सङ्कालु बन्नु र आफ्नो पुत्रप्रतिको स्नेह भावलाई यसरी पस्केकी छन् –

म आमा पुत्रको स्नेह छताछुल्ल मभित्र छ
मेरो वात्सल्य यो साह्रै सफा शुद्ध पवित्र छ
(श्लोक ५९, पृष्ठ१०५)

केकेयीले पुत्रराजा भएको, सम्मान पाएको, सूर्य झै चम्केको, देख्नमा आतुर रहेको र यसको लागि ढा्ट्न, छल्न, जल्न तयार हरेको धारणा कैकेयीबाट आएको छ । आमाप्रति कविभाव यसरी प्रकट भएको छ –

आमा वैरी हुँदै हुन्न् छोरा वैरी बनून् तर
सिन्चिराख्छ सधैं माया आमाको मन निर्भर
(श्लोक पृष्ठ १०६)

आमामा छोराछोरीप्रतिको माया निश्छल हुन्छ छोरा छोरीप्रति चिन्ता हुन्छ छोराछोरी हाँस्ता आमाको जिन्दगी गद गद हुन्छ भने आमकै मायामा छोराछोरी हुर्कने र सन्तान आमाकै सम्पद भएकोले कैकेयीले पनि आफ्नो पुत्रको लागि औजस लिन, छोरालाई राजकाज दिलाउनको लागि गरिएका गलत कामलाई पनि चित्तले नस्वीकारेको र आत्मज(छोरा) टेढिदा पनि आमाले सहन सक्ने, मुटुलाई ढुङ्गाजस्तो कडा बनाएर राज्याभिषेक भएको देख्नमा आतुरता भएको, यस शीर्षकको अन्तिममा आमाप्रति छोराको घृणा, आमाको छोराप्रति एषण(अभिलाषा), यस साकेतले द्वन्द्व बोल्ने र ‘कल्ले आई कालको चक्र रोक्छ ’ भन्दै समाप्ति हुन्छ ।

यस शीर्षकमा कविले मनोद्वन्द्वलाई गहनताको साथमा उठाएका छन् मातृस्नेहलाई दरिलोरूपमा समाएका छन्, र सवल र सफलरूपमा प्रस्तुतिलाई सजाएकमा छन् ।

भरतको राज्यव्यामोह – यस शीर्षकमा राज्यसत्ताप्रति भरतको मोहभङ्ग भएको र रामलाई नै राज्य सुम्पने दृढताप्रति कैकेयीले राखेका धारणालाई प्रष्ट्याइएको छ । राजाको अन्त्येष्टि शोकपूर्ण अश्रुतप्कनको साथमा विधिविधान पूर्वक गरिएको । १३ दिने क्रम गरेपछि राज्याभिषेकको लागि वशिष्ठ गुरुल े आएर राज्याभिषेकको कुरा राख्नु, भरतले वनमा गइ रामलाई नै ल्याएर राजा बनाउनु पर्छ भन्ने धारणा यसरी पस्किनु –

यो राज्य रामको नै हो उहाँलाई म ल्याउँछु
वनमा जान्छु आजै म रामलाई मनाउँछु
(श्लोक ३२, पृष्ठ ११३)

भरतले जहाँ राम छन् त्यहीँ नै अयोध्या छ भन्ने ठान्ने र राम हुँदाहुँदै राजा हुन नसुहाउने, जसरी पनि रामलाई ल्याएर अयोध्यालाई जगमगाउनु पर्छ, भरतलाई सत्तासिन भएर बस्ने इच्छा पहिला पनि नभएको र अहिले पनि नभएको राम विद्यावारिधि, ब्रह्मचर्य चरित्र र सबै कर्म पवित्र भएका रामको राज्यहक, न्यायिकरूपमै पाउनेलाई हरण गर्दा कुनै कामको नहुने साथै पदको लागि आत्मको किनबेच नगर्ने र रामलाई लिन वनप्रस्थान गनु पर्छ भन्दै वनप्रस्थानको लागि तयारी हुनु ।

कैकेयीको मनोद्वन्द्व र अनुभूति –भरत रामलाई लिन वनमा जान तयार हुँदा कैकेयीको मनमा अनेकौ भावनाका तरङ् उठ्छन् उन्ले भन्छिन्–

मेरो वात्सल्य स्वार्थी भो मेरो संलक्ष चूर्ण भो
जिन्दगानी स्वय म मेरो अब साँच्चै अपूर्ण भो
(श्लोक ५८, पृष्ठ ११७)

भरत क्षत्रीय गुणधर्मका, शस्त्रशास्त्रज्ञ, नीतिज्ञ, राज्यकर्ममा सुयोग्य ठान्दा ठान्दै पनि छोराको राज्यमोह भङ्ग देख्दा कैकेयीको मन फाट्छ, राजमाता बनेर आदरता पाउने धारणा टुट्छ, सपना भुइँमा पोखिएको र सुयोजनाहरू सबै खरानी भएका, मन समालिन गाह्रो भएको, खिन्नता बढ्यो, कालो कलङ्कको झरी वर्षिएको आदि अनुभूतिको साथमा कैकेयी आशावादी हुँदै भन्छिन् –

रहलान् कहिलेसम्म निन्दाका बोझिला क्षण
वात्सल्य प्रेमको मेरो होला चर्चा कुनै दिन
(श्लोक ७२, पृष्ठ ११९)

कैकेयी भरत वनतिर रामलाई लिन प्रस्थान गर्दा पनि एकातिर राम वनबाट नफर्कन सक्ने र भरत फर्केर आमाको आशामा मधु छर्कलान् भन्ने आशा पनि पलाउनु र अर्कोतिर सन्ध्याको क्षणमा व्यथा बल्झिएसरि यही बदनामको कलङ्क मुखमा पोतको देखेर यही पीडाहरू बोकी सूर्य डुब्न लागेको जस्तो अनुभूति कैकेयी गर्नु र भरतले सत्तालाई त्याग्दै रामलाई राज्य बुझाउन भनी वन जानको लागि यात्रा थाल्दै यस शीर्षकको समाप्ति हुन्छ ।

भरत राम मिलन –यस शीर्षकमा कविले भरतले दाजुलाई राज्य सुम्पने अठोट लिएर वनतिर प्रसाथ गर्नु रामसँग मिलन हुनुको् साथै कैकेयीको प्रतिक्रिया समेत समेटिएको छ ।

कौशल्या कैकेयी वार्ता – कौशल्याले कैकेयीलाई वनमा गएर रामलाई फर्कन भनेकोमा राम फर्कन सक्ने धारणा राख्दा राम वचनका पक्का छन् उनी फर्केर आउँदैनन्, उनी कर्तव्यमा लिन छन् र उनले सत्यनिष्ठा रसदव्रतलाई छाडदैनन् भन्दै कैकेयी यस्तो धारणा राख्दछिन् –

गर्छन् कदर वाणीको जो बोल्दछन् पूर्ण गर्दछन्
जहाँ जान्छन् त्यहाँ मीठो प्रज्ञा पीयूष छर्दछन्
श्लोकÞ१८, पृष्ठ १२३

रामले १४ वर्ष बिताएपछि फर्कन्छन् तर अहिले ब्रह्म आए पनि रामलाई रोक्न सक्दैनन् । कैकेयीले कैकेयीकै कारणबाट घटना घटेकोले रामको अघि कसरी अनुहार देखाउने धारणा राख्दा कौशल्याले कैकेयीलाई सम्झाउँदै भन्छिन् –

स्वीकारेर स्वय म गल्ती सत्प्रकाश छरेपछि
मेटिन्छन् पापा सन्ताप प्रायश्चित गरेपछि
(श्लोक २४, पृष्ठ १२४)

मनमा दुविधार ग्लानि हुँदा पनि कैकेयी वनजान तयार हुनु, सबै वन प्रस्थान गर्नु, भरद्वाजको कुटीमा पुग्नु, राम चित्रकुटमा भएको जानकारी पाउनु, चित्रकुटतिर बढ्नु, रामको जटापालेको भेष देख्नु, भरतले रामको पाउमा शिर राखेर ढोग गर्नु, रामले भाइलाई बाहुपासमा बाँध्नु, भाइभाइ बीचको स्न्ेहलाई पोखे भन्दै यस शीर्षकको अन्त्य पनि यहीं नै हुन्छ । यस शीर्षककमा चित्रकुटको प्राकृतिक सौन्दर्यलाई निकै आकर्षकरूपमा वर्णन गरिएको छ ।

शान्ति प्राकृतिभित्रै छ कोलहाल छ बाहिर
शान्त योगीहरू रोज्छन् त्यसैले वन आखिर
(श्लोक ४८, पृष्ठ १२७)

तिर्खा मेट्दछ झर्नाले फलले भोक मेट्दछन्
गुफामा पनि योगीले सुख–प्रासाद भेट्दछन्
(श्लोक ५२, पृष्ठ १२७)

रामको दृढता –यस शीर्षकमा रामले भरत वन आउनुको कारण सोध्नु, मातापिताको अवस्थाको जानकारी माग्नु, भरतले आमाको स्वार्थको कारणले गर्दा पुत्र वियोगाग्निको ज्वाला खप्न नसकी पिताको स्वर्गारोहण भएको जानकारी दिनु, बशिष्ठ गुरु लगायत सबै आएको, राम लक्ष्मण सीताले रुवावासी गर्नु, वशिष्ठ गुरुले श्रद्धाकर्म गर्ने आज्ञा, भरतले राज्य तपाईंकै भएकोले अयोध्या फर्कने आग्रह, रामले भरत राज्यभार सम्हाल्ने सामर्थ भएको, पिताको सत्यसङ्कल्प र माताको उत्तम चाहनालाई पालन गर्ने मौका पाएको, पुत्रले पितृ उद्धार गनेुपर्छ भन्ने कुरा गुरुबाट सुनेको, नफर्कने दृढता पोख्नु, कैकेयीलाई गलानी भएको, रामका सत्सङ्कल्पी शब्द सुन्दा, भित्री भावले गुन्दा ‘त्यागै ठूलो लाग्दथ्यो प्राप्ति भन्दा’ आदि धारणाको साथमा यो शीर्षको समाप्ति हुन्छ । यस शीर्षकमा पस्किएका धारणाहरू अति मार्मिक छन्, हेरौं केही श्लोकहरू–

भरले रामलाई अयोध्या फर्कने आग्रहमा रामको धारणा–

बाँधिएको छु बाचाले पित्राज्ञाले स्वधर्मले
बाँधिएको छु निष्ठाले आत्म कर्तव्य कर्मले
(श्लोक ४९, पृष्ठ १३९)

सानैदेखि सुने मैले उक्ति सद्गुरुको यही
‘पुत्रस्य परमो धर्मः पित्र्युद्धारसमो न हिं ’
(श्लोक ५८, पृष्ठ १४०)

कैकेयीको अवस्था –
अपराधी बनी मैले झुकाएँ भुइँमा शिर
पुट्लाजस्तो भयो छाती थपियो मनमा पिर
श्लोक ७२ पृष्ठ १४२

भरतद्वारा प्रतिनिधित्व–
यस शीर्षकमा भरतले बारंबार आग्रह गर्दा पनि रामले पिताले कैकेयीलाई राजमाता बनाउने बचन दिएको र यही बचन पूर्णताको लागि राम वनमा रहनु पर्ने धारणा आएपछि भरतले रामका पादुका लिएर अयोध्या फर्केर राज्यमा प्रतिनिधित्व स्वीकार गरेको धारणा राखिएको छ । यसमा राम अयोध्या १४ वर्ष नफर्कने कारण गुरु वशिष्ठले पस्केका धारणाहरू यसप्रकार छन् –

‘‘तिम्रा आस्था र विश्वास हे तात अति शुद्ध छन्
साथै श्रीरामका इच्छा पनि साह्रै पवित्र छन्
(श्लोक २२, पृष्ठ १४६)

वनमा योगी असुरक्षित भएको, यी सबैको र लोकको संरक्षण राम लक्ष्मणले गरेरमात्र १४ वर्षमा राम अयोध्य फर्कने र जे घटना भए ती घटना हुनु नै थियो र यो समयले दिएको पीडालाई समय आएर नै धुने छ, ‘घटना हुनमा यस्तो कैकेयी त निमित्त हुन् जो पश्चतापको रोग लागि आफैं सिकिस्त छिन्’ । गुरु वशिष्ठ र राजा जनकले राम १४ वर्ष अयोध्या नफर्कने भनेपछि रामका पादुका लिँदै भरतले भन्छन् –

हाम्रो भातृत्वको डोरी नचुँडोस् कहिल्यै पनि
फैलियोस् लोकमा हाम्रो प्रीतिको मधुर ध्वनि
(श्लोक ४४ पृष्ठ १४९)

भरत पादुका लिएर अयोध्या फर्कनु र आफ्नो धारणा जनसमक्ष राख्नु– भरत अयोध्या आई रामका साथमा भएका सबै कुराहरू जनसमक्ष राखेको र रामका पादुका लिएर आएको साथै राम नै राजा मानी आफू प्रतिनिधि भएर राज्यको कर्म गर्ने धारणा व्यक्त भएको छ–

म साधारण पोसाक लगाई हिंडुला सधैं
गरी सात्त्विक आहारा निष्ठामा रहुँला सधैं
(श्लोक ६७ पृष्ठ १५२)

परे अन्यायमा कोही गरी सत्य निरूपण
न्याय मैले दिलाएर गरुँला बल्ल भोजन
(श्लोक ६८, पृष्ठ १५३)

यस शीर्षकमा भातृत्व प्रेममा उठाइएका धाराणा अति सुन्दर, मार्मिक, अगाधरूपमा आएका छन् जस्ले गर्दा आजका समाजका दाजुभाइलाई एउटा सुन्दर मार्गदर्शन प्रदान गर्न काव्य सवल देखिएको छ साथै द्वन्द्वरहित भातृत्वप्रेमको गहन प्रस्तुतिले काव्यको गरिमा बढाएको छ ।

कैकेयीको पश्चताप –यस शीर्षकमा कैकेयीको आकाङ्क्षा अनुसार भरत राजा बन्न पाए पछि पनि कैकेयीमा खुसी आउनु पर्ने र आत्माबाटै विजयको गीत गाउनु पर्ने थियो तर मनमा द्वन्द्वको धाराहरू बग्नु, ओठमा हर्षको हाँसो नफुट्नु र आफ्नै भूलले गर्दा पश्चतापमा परी रातभर निद नआउनु, संसारै धमिलो देख्नु, मुटुमा काँडाले कोपे जस्तो महसुस हुनु, मनमा उठे्का तरङ्ग र पीडालाई कसैसँग गएर धुने ठाउँ पनि नभएको आदि धारणाको साथमा कैकेयीले मानिसले गल्ती किन गर्द छ भन्ने प्रश्नको उत्तर पनि आफै यसरी दिन्छिन्–

गल्ती गर्दछ मान्छेले लोभी पापी विचारले
अहंले स्वार्थले आफ्नै भावनाको विकारले
(श्लोक २१, पृष्ठ १५७)

वास्तवमा कैकेयीको राजमाता बन्ने आकाङ्क्षा तथा भरतलाई राजा बनाउने महत्त्वाकान्क्षाले रामजस्तो छोरा र सीताजस्ती बुहारीलाई वनमा जान बाध्य पारेकीले आमा बन्न नसकेकी एक नारी भएर पनि नारीका निम्ति कष्टप्रदा भएकी, राममाथि गरिएको अनादरले भरत दुःखी भएको, दोषी मन्थरा नभै आफ्नै विचार र मनको विकार भएको, दया धर्म कृपा माया धैर्य औदार्य चिन्तनबाट टाढा भएर स्वार्थसिक्त मनको कारणाले गर्दा मनमा तुस पालेर दुष्ट, अकृतज्ञ, अमानुष, असहिष्णु, स्वार्थान्धको कारणले पशुसरि भएको, चेतना मन्द भएको कारणले अविवेकी बनेको, आफ्नो हक खोज्दा अर्काको हक खोस्न नहुने, अर्कालाई रुवाएर आफू हाँस्न नहुने, रामकी आमलाई रुवाएर आफू आमा बन्न नहुने, राज्य भत्काउने दुष्ट नारीको रूपमा प्रदर्शित भएको आदि भावनाहरू केलाउँदै कैकेयीले स्वमूल्याङ्कन गर्दै भन्छिन् –

हिजो निर्धक्क जे आँटे आज त्यै पछुतो भयो
मेरो त्यो धृष्टता आज सबैमा अछुतो भयो
(श्लोक ५८, पृष्ठ १६२)

बिहानै घोच्छ आएर जागृताभासमा पनि
दुःख दिन्छ अनायासै भोकमा प्यासमा पनि
(श्लोक ५९, पृष्ठ १६२)

कैकेयीलाई यी सबै पीडाले गर्दा हिड्दा बस्दा र उठ्ता आनन्द मिल्दैन पश्चतापको आगोले पोलिरहन्छ, आफ्नो मर्म छोरासँग भने पनि, आफै जोगिनी बने पनिराम फर्केर नआउने जब राम आउँछन् त्यसपछि भातृत्व बुझ्न नसकेको, राजनीति मर्यादा सुझ्न नसकेको, अनीति भित्र्याएको आदि धारणा राममा राख्ने विचार सहित कैकेयीले आफ्नो गल्तीलाई सम्झिदै, पश्चतापको भावमा डुब्दै आफ्नो चित्त, सङ्लो बनाउँदै आफ्नाो दृष्टि अग्लो बनाइन् जस्ता धारणालाई कविले यहाँ पस्कदै यो शीर्षकको समाप्ति गरेका छन् ।

ऋतु परिवर्तन– यस शीर्षकमा कविले समयचक्रसँग राम, लक्ष्मण र सीताको चौध वर्षमा व्यतितसँगै कैकेयीले गरेका भूलरूपी शूलले कैकेयीलाई नै आहत पारेको धारणा राखेका छन् ।

शरद ऋतु– कविले यहाँ सङ्लो शरद् ऋतुमा सफा सुन्दर फूलहरू फुल्ने भँवरा झुल्ने आदि प्रकृतिक सौन्दर्यको वर्णनको साथै, कैकेयीले राम र सीतालाई स्मरण गरेको धारणा पस्केका छन् –

बिचरा राम सीताको के होला वनमा स्थिति
सम्झदा हुन्छ यो मेरो मनमा वेदना अति
(श्लोक १८, पृष्ठ १६६)

हेमन्त ऋतु – हेमन्त ऋतु विशाल शीतको घडा बोकेर आउने र प्राणीलाई भयभित बनाउने भए पनि यस ऋतुमा अन्नबाली भित्र्याउने काम हुन्छ, हुस्सुले रविको गतिलाई धमिल्याउन खोज्ने प्रयास गर्छ तर असत्यको असली रूप खुल्नै पर्छ भन्ने भाव आएको छ ।

शिशिर ऋतु –यस ऋतुमा शीतको विषको कारणले गर्दा वृक्ष पत्रहीन हुने, डढेलो लाग्ने, धूलो उड्ने, सिर्सिर हावा चःने, तुवालोले ढाक्ने, चरा बीचल्लीमा पर्ने, शैललाई हिउँले ढाक्ने तर शैलले धैर्यसाथ वसन्त पर्खने आदि धारण साथै कविले भन्छन् –

एउटै ऋतुको राज्य कहाँ रहिरहन्छ र
विस्थापित भई यौटा अर्को आउँछ आखिर
(श्लोक ४५, पृष्ठ १७०)

वसन्त ऋतु –वसन्त ऋतुमा वृक्षमा पालुवा लाग्ने, फूलहरू फुल्ने, वासन्ती स्वच्छतालाई कष्टले छुन नसक्ने, आदि वसन्त ऋतुको महिमालाई जीवन जगतको सुखसँग जोड्दै प्रस्तुत गरिएको छ ।

ग्रीष्म ऋतु –चर्को घामको रश्मि साथमा ग्रीष्म ऋतुको आगमन हुने, यस समयमा भरियाले तथा श्रमिकले पसिना बगाउँदै भारी बोक्ने, सूर्यको रश्मि आगो बनेर खस्ने, हिड्डूल गर्न कठिन, देहको पानी सुक्ने, हावामा पनि आगाको ज्वाला बल्ने, जीवन मर्माहत हुने, धरती नै अग्निगर्भा भए जस्तो लाग्ने, यो ग्रीष्माग्नि निभाउनको लागि चिसो पानी पिउन पर्ने, स्वय म प्रकृतिले पनि ग्रीष्मको ताप सहेकी आदि प्रभाव देखाउने क्षमता भए पनि ग्रीष्म पनि बस्न नपाएको धारणा आएको छ ।

वर्षा ऋतु–कालो बादलमा जल लिएर आउने, आकाश मेघले ढाक्ने, अनायासै हुरी चलने, बिजुली चम्कने, जलका थोपा तप्पतप्प वर्षने, असिना छरिने, मेघकारूप हात्ती, गैडा, बाघजस्ता देखिने, बिजुली परी नाच्ने, मेघ गर्जिँदा मयुर नाच्ने, खोला भरिने, खहरे उर्लिनु र अयोग्य व्यक्ति झै कुर्लिनु, खेतबारी भत्काउनु, रुखलाई भाँच्नु, बस्ती डुवाउनु, मान्छे र पशुलाई बीभत्स रूपमा मार्नु, अतिवृष्टि, अनावृष्टि, खण्ड वृष्टिको कारणले बालीमा असर आदि वर्णन यहाँ दर्शाइएको छ ।

यी ऋतुले जसरी कैकेयीलाई कष्ट पुर्याए सोही बमोजिम राम सीता लक्ष्मणलाई चौधपटक दिएको कष्टको स्मरण कैकेयीले गर्नु, यी कष्ट प्रदान गर्ने आफू नै भएकोले राम सीतासँग कसरी क्षमा माग्ने आदि मनोभावको साथै यी ऋतुसँग जिन्दगीका कथा भनेर मनका व्यथाहरू कम गरेको, लोकमा दोषी ठानिएर, भूलबाट शिक्षा लिएर कैकेयीमा ग्लानकिो प्रकर्ष भएको र ‘नाचे बाँचै बोझिला चौध वर्ष ’ भन्दै यो शीर्षक समाप्त गरिएको छ ।

राम प्रतयागमन– यस शीर्षकमा राम अयोध्यामा आउने सन्देश चौतर्फी गुञ्जिएको, अवधमा हर्षको प्रसार हुनु, कैकेयीमा रामको मुख देख्ने उत्सुकता जाग्नु, राम शिष्ट, दयावान, श्रद्धावान, गुणवान र क्षमाशील भएकाले कैकेयीले आफ्ना गल्ती भनेपछि रामले क्षमा दिने छन् भन्नेभावको साथै यस शीर्षकमा रावणले सीतालाई हरण गरेको, सीताले कष्ट भोगेको, र लङ्कामा भएको जानकारी पाइएको, राम पीडामा भौंतारिन परेको, वानरको साथलिई सीताको खोजी गर्दा सीता लङ्कामा भएको जानकारी अञ्जनापुत्र (हनुमान)ले ल्याएको, समुद्रमा पुलहाली लङ्का पुगी युद्ध गरी दशानन( रावण)लाई मारेर, विभीषणलाई राजा बनाएर अयोध्या फर्केको, भरत सद्व्रत बसेको, भरत खुसी हुने राज्य राममा सुम्पने, राम अयोध्या आउँदा विमानमा चढेर आएको, जनसागर ओर्लिएको, भेटघाटमा दिन बितेकोले आफ्ना धारणा राख्न नपाएकोले भोलि प्रभातमै आफ्ना कुरा राख्दै शान्ति प्राप्त चाहेको र ‘त्यही आशाले चित्त आफ्नो बुझाइन्’ को धारणा राख्दै यो शीर्षकको समाप्ति हुन्छ ।

कैकेयीको स्वमूल्याङ्कन–
भएकी राक्षसी जस्ती कुनै बेला म बैगुनी
सिद्ध गर्नु परेको छ म भएँ मानुषी भनी
(श्लोक ३८, पृष्ठ १८४)

क्षमा याचना – यस शीर्षकमा कविले रामसँगको भेट पछि कैकेयीले अवचेतनामा जमेका भावको प्रकटीकरण र क्षमा याचनाको वर्णन गरेका छन् । राम माता भेट्ने क्रममा कैकेयीसँग आएको, कैकेयीका कुरा सुन्न बसेको, कैकेयीले पनि विनाधक चौधवर्ष कष्ट प्रदायक भएको, अभिमानले, स्वार्थले, हटले, सत्ता मोहको विषपानले गर्दा आफै गिरेकी, दासीका तर्कना सुनेकी, अवान्छित दुवै वर मागेकी, आमाको नाममा कलङ्क भएर नै आमा भन्नमा सशङ्क बनेकीजस्ता धारण आएका छन् । सत्ताले पार्ने प्रभावको बारेमा पनि कैकेयी बोलेकी छन् –

सत्ताको स्वार्थले मान्छे हुँदो रहेछ अन्ध नै
त्यै वेला न्यायको ढोका हुँदो रहेछ बन्द नै
(श्लोक १२, पृष्ठ १९१)

छोरा राजा बनोस् भन्ने चाहनाले, आफैलाई दुर्नामी बनाएकोले पछुतो बोकेर फटफटाइरहेकी।, पानीविहीन माछो झै छटपटाइरहेकी, आफ्नो अस्त्त्विको बोझ धान्न नसकेको, रामको महान चित्तलाई जान्न नसकेको, मोहले गाँज्दा, साँघुरो स्वार्थले डसेकोले भुइँको टुक्रा टिप्दा शिरको मणि खसेको आदि कैकेयीका राममा राखिएका धारणा सहित कविले लेख्छन् –

कुवाको भयाकुतो बन्ने जसको गुढ चाह छ
हुँदैन त्यसमा ज्ञान यो संसार अथाह छ
(श्लोक १८, पृष्ठ १९१)

कैकेयीले अज्ञानताले गर्दा पतिमाथि छलगरेको, रामको मन दुःखाएकै कारणा सधैं घृणा मिलेको, घृणा मिल्दामिल्दै पनि बाँचिरहेकी, पुत्र बोल्दैनन्, पुरकाले आँखा तर्ने, बोलेकाले सामर्थ नलिने, आफैमा भ्रान्ति छाउने, भूल स्वीकार्दा पनि कसैले नसुन्ने धारणा रामसँग राख्दै कैकेयी बोल्छिन् –

म आमा आज आमाको गरिमाबाट दूर छु
म नारी आज नारीको भूमिकाबाट दूर छु
(श्लोक ३१, पृष्ठ १९३)

कैकेयीले रामसमक्ष आफ्ना यावत दुर्वलपक्षका धारणा राख्दै रामबाट माफी चाहेको धारणा यसरी राखेकी छन् –

प्रिय राम तिमीबाट अरूकै आस गर्दिनँ
‘आमा माफ दिएँ मैले’ यति चाहन्छु सुन्न म
(श्लोक ६०, पृष्ठ १९७)

आफ्नो गल्ती महसुस गरेर माफी मागेपछि कैकेयीले जस्ले दुष्ट, क्रुर, स्वार्थी, अहङ्कारी, राज्य द्रोही, अभिमानी, जे भने पनि ‘चोखो मातृत्वमा दाग नलागोस् इतिहाँसमा’, लोकको हित हुनेगरी राज्य गर, विवेकले, प्रज्ञाशक्तिले, राजधर्मले, शुभ कर्मले राज्य गर, तिम्रो राज्यमा नारी शक्तिको सुपूजन, ज्ञानको परामर्श, न्यायको प्रकाशन होस्, लोकको वाणी सुनेर, लोकको मर्म बुझेर, लोकको धर्म थामेर, जनता दुःखी हुँदा दुःखीभएर, जनतालाई जनार्दन मानेर, जनताको दुःख हुँदा दुःखी भएर, जनता हर्षित हुँदा हर्षित अहोरात्र घाम जूनझै भएर सबैका दृष्टिमा प्रसूनझै भएर, तिमी ज्ञानी ध्यानी, स्थितप्रज्ञ, विवेकी नयका मणि स्वय म छौ तापनि रामराज्य भनी यस त्रिलोकमा फैलियोस् भन्ने धारणाको साथै कैकेयीले अवचेतनामा जमेर रहेक भावहरू सबै राख्दै, वनमा तपस्विनी भएर बस्न चाहेको र भएका जमेका भावलाई कैकेयीले पोख्दै, ‘कैकेयीको शान्त भो आज चित्त’को धारणा सहित यो शीर्षकको अन्त्य हुन्छ ।

उपसंहार–यस शीर्षकमा कविले कैकेयीको माइती पक्ष र कैकेयीको बाल्य जीवन, शिक्षा( शास्त्र, शस्त्र) विवाह, महाकाव्य सिर्जनाको उद्देश्य के हो आदिको बारेमा वर्णन गरेका छन् । केकय देशमा अश्वपति ज्ञानी राजा र पृथ्वी नामकी अति सुन्दरी दिलकी सफा भएकी रानी थिइन् । यिनैकी सन्तान कैकेयी भएकी र उनका दाज्यू युधाजित थिए ।युधाजितबाटै केकेयीले शस्त्र र शास्त्र विद्या हाँसिल गरेकी थिइन् । यिनमा रथा हाँक्न, तरबार चलाउन, घोडामा चढेर बाँणवर्ष गराउन सक्ने र चारैतिर यिनको प्रतिभा फैलिएको र राजा दशरथले यिनको प्रतिभा थाहा भएर अश्वपतिसँग वैवाहिक नाता गाँस्ने धारणा राख्दा अश्वपतिले छोरी राजमाता बन्न पाउने सर्तमा कैकेयीको विवाह दशरथसँग भएको । अवध देशमा वध नहुने, हिंसाले छुँदैनथ्यो, राजाहरू लडाइँमा देवताकोमा गएर सघाउँदथे, दशरथ पनि युद्धमा जाँदा कैकेयी पनि राजासँग युद्ध गर्न जाने गर्थिन् । यसरी युद्धमा जाँदा कैकेयीले राजालाई बचाएको र राजाले दुई वर मागभन्दा वर साँचेर राखेको पछि सोही दुई वर राजासँग मागेको, एक वरमा भरत राजा हुँने र अर्को वरमा राम वनबास जानु पर्ने माग गरिएको तर यहीवरले गर्दा उनलाई कलङ्क लाग्यो । उन्ले यो वर नमागेको भए राम वन जाँदैनथे ऋषिहरूको कल्याण हुँदै नथ्यो, सीता हरिदैनथिन् र रावण मारिदैनथ्यो, उनले मागेर भए पनि लोकको कल्याण गरेकी थिइन् । कविले भन्दछन् –यदि पुरुषले हक मागेको भए स्वभाविक हुन्थ्यो तर नारीले हक माग्दा दोष बनेको । ‘यो नारीप्रतिको हेने ज्यादै सङ्कीर्ण दृष्टि हो, नारी पुरुष हुन् एकै दुवैका निम्ति सृष्टि हो ’, कैकेयीले गरेका कर्म स्वभाविक भए पनि अपराध मानिएको र कैकेयी लोकमा सधैं दोषी भइन् । आदि धारणा राख्दै काव्य अगाडि बढ्छ । कविले यो काव्यको सिर्जना कैकेयीप्रति अन्याय भएको ठान्दै र मातृत्व भावको चोखो महिमाको गीत गाउँदै गरेका र यथार्थ नलुकोस् माता दोषी भए पनि मातृत्व दोषी नहोस् भन्दै काव्य सिर्जना गरेको धारणा राखेका छन् । कविले आमाको पवित्र स्नेह वन्दनीय छ भन्दै यो काव्य के हो त भन्दै लेख छन् –

यो गाथा हो वत्सला मातृकाको
यो नारीको खोज हो अस्मिताको
यो हो नारीभित्रको मुक्ति चेत
कैकेयी हुन् मात्र दृष्टान्त एक
(श्लोक ७९, पृष्ठ २१२ )

उपरोक्त धारणा सहित यो काव्यको समाप्ति हुन्छ ।

पात्र विधान– यस महाकाव्यकी मूल नायिका कैकेयी हुन् । राजादशरथ, कौशल्या, सुमित्रा, राम लक्ष्मण, भरत, शत्रुघन, सीता, मन्थरा, वशिष्ठ गुरु, भरद्वाज ऋषि, अन्धाअन्धी, श्रवण कुमार, राजा अश्वपति, रानी पृथ्वी, युधाजित, दशानन, अञ्जनापुत्र, बानरका हूल, मन्त्रीगण, आदि पात्रको रूपमा यहाँ दर्शिएका छन् । काव्यमा कैकेयी, राजा दशरथ, मन्थरा, राम लक्ष्मण, भरत, कौशल्या क्रियाशील पात्रको रूपमा देखिन्छन् तापनि एकलापको रूपमा यो काव्य रचना गरिएको हुँदा सारा घटनाक्रमलाई कैकेयी मार्फत नै प्रस्तुत गरिएको छ । प्राय सबै पात्रहरू क्रियाशील दे्खिन्छन् । बीच बीचमा महाकविले आफ्ना मार्गदर्शनलाई पनि समावेश गरेका छन् जस्लेगर्दा महाकाव्यलाई दरविलो बनाएको छ ।

भाषाशैली –काव्य छन्दमा निर्मित गरिएको हुँदा लयात्मक छ ।शिष्ट शब्दको प्रयोग, गहन प्रस्तुति, सरल भाषाको प्रयोग गरिएको छ तापनि कतै कतै क्लिष्ट शब्दहरूको प्रयोग भएको पनि पाइन्छ । स्वच्छन्द र भावुक अभिव्यक्तिले भरिएका शब्दहरू छन् । यस महाकाव्यमा उखान टुककाको प्रयोग, शब्दविम्ब, प्रतीकको प्रयोगको साथै विभिन्न रसहरूको सरस्वादन यस काव्यमा अध्ययन गर्न पाइन्छ । अध्ययन गर्दा पाठकको मनलाई छुन्छ र पढौं पढौं लाग्छ । साधारण पाठकदेखि लिएर बौद्धिक पाठकको लागि यो महाकाव्य मीठो खुराकको रूपमा आएको छ ।

महाकाव्य लेखनको उद्देश्य – यस महाकाव्यकी नायिका कैकेयीलाई रामायणमा खलपात्रको रूपमा लिइएको छ । उसलाई आजसम्म पनि समाजले दुष्ट नारिको रूपमा लिएको पाइन्छ तापनि कविले कैकेयीमा भएको अन्यायप्रति उसभित्रका गुणलाई केलाउँदै पुरुषप्रधान समाजबाट अन्यायमा परेका महिलाले न्याय पाउन पर्ने धारणा राख्दै लेख्छन् –

ककैकेयीप्रति अन्याय भयो भन्ने चिताउँदै
मातृत्व भावको चोखो महिमा गान गाउँदै
भयो सृजित यो काव्य यथार्थता नलुकोस् भनी
मातृत्व नबनोस् दोषी माता दोषी भए पनि

वास्तवमा समाजले नारीमाथि हेर्ने दृष्टि आलोचनात्मकमात्र नभएर समालोचनात्मक हुनुपर्छ र नारीपुरुष दुवैमा दुर्गुणमात्र हैन सगुण पनि हुन्छन् भन्ने यथार्थताबाट टाढिन हुँदैन । रामायणका कैकेयी र सूपर्णखा यस्ता पात्र हुन् जस्ले आफ्नो अधिकारको खोजी गर्दा अन्यायमा पर्नुपर्यो र समाजले सधैं नै दोषी ठहर गर्यो । यस सम्बन्धमा कवि विनोदीले न्याएका आवाज उठाएका छन् । यो एउटा साहसिक काम भएको छ ।

महाकाव्यमा विविधता– महाकाव्य कैकेयीको एकलापमा लेखिए पनि, हरेक शीर्षकको वीच वीचमा कविका दार्शनिक अभिव्यक्तिको साथै कैकेयीका भावुक अभिव्यक्तिहरू छन् । प्राकृतिक सुन्दरताको वर्णन सफलरूपमा भएको पाइन्छ । राजनीति र कुटनीति सम्बन्धमा, राष्ट्र र राष्ट्रियताको बारेमा, कुलको मर्यदाको उच्चाइमा पुर्याउने धारणा, पितृबचनको पालना, नारीस्वतनत्रता, मातृत्वको सवल कारुणिक सफल आदि आदि वर्णनका श्लोकहरू स्वच्छन्दरूपले बगेका छन् । त्यसोहुँदा महाकाव्य विविधताले सजिएको छ ।

कैकेयी महाकाव्यप्रति उठ्न सक्ने प्रश्न– रामायणकी खलपात्रलाई कसरी नायिकाको रूपमा लिएर महाकाव्य लेख्न सकिन्छ भन्ने प्रश्न उठन सक्छ । महाकविले, रामायणमा दर्शाइएका र उनमा लगाइएका सबै दोषलाई कैकेयी मार्फत नै स्वय म आत्मालापको साथमा घटनाक्रमलाई उठान गराउँदै वात्सल्यमयी माताले आफ्नो सन्तानको उज्ज्वल भविष्यको लागि आफूले पाउन पर्ने अधिकारको माग राख्दै सत्ता प्राप्ति गराएको धारणा राख्दे मातृत्व भावको चोखो महिमाको गान गाउँदै र मातृत्व नबनोस् दोषी माता दोषी भए पनि धारणा राख्दै, कैकेयीप्रति अन्याय भयो भन्दै, यस महाकाव्यको सृजना गरेका छन् । पूर्वीय दर्शनको मान्यतानुरूप नै नायक धीरोदात्त गुण भएको हुनुपर्छ भन्ने पाइन्छ । कैकेयीमा यी गुणहरू( दयालु, क्षमाशील, बलवान, धीर, दृढप्रतिज्ञा, योद्धा, आत्म प्रशंसा नगर्ने खालको) को साथै शास्त्रमा निपुण, राजनीति र कुटनीतिमा दखल, आफ्नो गल्तीलाई स्वीकार्न सक्ने, क्षमाचनादेखि लिएर रामलाई रामराज्य कस्तो हुनु पर्छ र रामले कसरी राज्य सञ्चालन गर्नु पर्छ भन्ने मार्गदर्शनसमेत प्रदान गर्न सक्ने दक्षनायिकाको रूपमा यस महाकाव्यमा उनी उभिएकी छन् । उनमा लगाइएका लान्छनाहरूमा पुत्रमोही, राज्यविप्लवी, स्वार्थी, दशरथकी मृत्युकी कारक, भरतबाटै तिरष्किृत, रामलाई वनबास पठाउने आदि दोष बोक्न बाध्य पारिएकी दुष्ट नारीको रूपमा लिइएको छ । यस विषयमा कैकेयीलाई मात्र न भै राजा दशरथले गरेका कामको विश्लेषण, रामको यस पृथ्वीमा दशरथको पुत्रको रूपमा जन्मलिनु परेको कारण, ती कर्म गर्ने अवस्थामा कैकेयीलाई काव्यमा बनाइएको दोषीपात्रको कारकता माथि यस महाकाव्यमा विनोदीजीले गरेको यथार्थ प्रस्तुतिमा केही थप पुष्ट्याँइको आवश्यक्ता देखिन्छ । राजा दशरथले पुत्रहीन अवस्थामा कैकेयीलाई वैवाहिक प्रस्ताव राख्दानै राजमाता बनाउने प्रस्तावलाई स्वीकारेका छन् । द्वापर र त्रेता युगमा आफूबाट सन्तान नभए यज्ञद्वारा या ऋषिमुनि, देवततको साथै अर्कै सक्षम पुरुषलाई स्त्रीमा गमन गराएर पुत्र जन्माउने चलन महाभारत र रामायणमा अध्ययन गर्न पाइन्छ । दशरथले राजमाता बनाउन स्वीकार गर्दा कैकेयीको विवाह भएपछि पनि सन्तान नभएको खण्डमा कसरी पुत्र उत्पादन गर्ने र त्यो वेलामा कुन राजमाता बन्ने भन्ने तर्फ राजाको ध्यान गएको देखिदैन । बशिष्ठ ऋषिले दशरथलाई शान्तका पति ऋष शृङ्ग शृषिलाई यज्ञगर्न लगाएमा चारभाइ छोरा जन्मने धारणा बमोजिम दशरथले सोही कर्म गरेपछि अग्निदेवले दशरथलाई पायसको थाली दिनुभयो । दशरथले यो पायसलाई कौशल्या र कैकेयीलाई दिनु र सुमित्रा पछि आएर पायसको भाग खोज्नु, कौशल्या र कैकेयीले सुमित्रालाई आफ्ना आफ्ना भागबाट पायस दिनु र सुमित्राले पायस खाए पछि, तीनै जना रानी गर्भिणी हुनु, कौशल्याले राम ( विष्णु अवतार)को जन्म दिनु, कैकेयीले भरतको र सुमित्राले कौशल्या र कैकेयीबाट भागलिएर पायसको प्रभावले गर्दा लक्ष्मण र शत्रुघ्न जुम्ल्यहाँ पुत्रको जन्म दिएको विवरण यस महाकाव्यमा उल्लेख भएको पाइँदैन । रामले पृथ्वीमा जन्मलिनुको कारण लोककल्याणको लागि भएको भन्ने धारणा आएको छ । लोककल्याण गर्न अवतार लिएर आएका रामले वनमा जान कैकेयीलाई लान्छित बाहना बनाई जानु पर्ने कुनै कारण देखिदैन र रामद्वारा कैकेयीलाई लान्छित बनाएको पनि पाइँदैन । दशरथले श्रवण कुमारलाई मृग सम्झि मार्नु र अन्धाअन्धीले दशरथलाई पुत्रशोकमा मर्नु पर्ने शाप पनि दशरथकै कारणले जन्मिएको थियो । कैकेयी दशरथको मृत्युको कारक बनाइनु पनि न्यायसङ्गत देखिदैन । रामायण एउटा यस्तो विशाल महाकाव्य हो त्यसमा भएका कथाबाट थरिथरिका महाकाव्यहरू सिर्जना गर्न सकिन्छ । कैकेयी महाकाव्य पनि एउटा अंशको रूपमा सिर्जना गरिएको मातृत्वप्रेमलाई अङ्गीकार गरिएको, पुर्खाको कदर, पितामाताप्रतिको अगाध आदर श्रद्धा र आज्ञापालनमा उच्च महत्त्व दिएको भातृत्व प्रेमले ओतप्रोत भएको, रामायणमा पोखिएका धारणालाई यथावत कायम राख्दै, हाम्रो समाजले त्रेता युगदेखि हालसम्मह नारी माथि लगाउने लान्छना तथा अन्यायप्रति सूक्ष्म आवाजको साथमा प्रस्तुत गरिएको एउटा नविनत म महाकाव्य हो भन्ने मेरो धारणा हो भन्दै गाविन्दराज विनोदीप्रति श्रद्धासुमन टक्र्याउँदै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७४ माघ १५ गते,
कावास्वती न.पा.वडा नं ७

1 thought on “कैकेयी महाकाव्यलाई अध्ययन गर्दा”

  1. महाकाव्य नपढे पनि पूर्ण रुपमा
    महाकाव्य नपढे पनि पूर्ण रुपमा पढेकाे बाेध गराउनु भाे । राम्रो समीक्षा । प्रभाववादी तथा वस्तवादी वमालाेचकीय धर्म यहाँमा देखियाे । बधाइ छ यहाँलाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *