”मेरा पाठकहरूलाई मेरो जीवनभन्दा पनि मेरो रचनाको आवश्यकता पार्दछ ।”
६ दशकको उमेर पनि छुन पाउनु भएन वासुशशिले झण्डै दुई दर्जन कृति छाडेर वि. स. २०४९ सालको चैत ४ गते उहाँको निधन भयो । बाँचुञ्जेलको समय विविध क्षेत्रमा लगाएर सक्रिय जीवन बाँच्ने वासुशशि अन्तत उहाँले भने जस्तो उहाँका पाठकहरूले उहाँका रचना कृति मार्फत उहाँलाई सझिरहेका छन् ।
स्रष्टा सिर्जनाले बाँच्छ, साधनाले बाँच्छ भन्दाभन्दै पनि मर्नै पर्छ । स्रष्टा बाँच्न र उसलाई सम्झन स्रष्टा र साधक नै चाहिन्छ । स्रष्टाहरूले छाडेर गएपछि सम्भिmने काम यो मुलुकमा स्रष्टा-साधकले नै गरेका छन् प्रायः अलि खट्न सक्ने र हरेस नखानेहरू छन् भने स्रष्टाको नाममा स्थापित संस्थाले नियमितता पाउँछ नत्र संस्था खोल्नु र नामममै सीमित हुनु बाहेक अर्थोक विकल्प रहँदैन । भानुभक्तबाटै थाल्ने हो भने पनि भानुका नामा सङ्घ-संस्था, पुरस्कार छन् । मोतीराम, सम, लेखनाथ, देवकोटा, युद्धप्रसाद, केदारमान, सिद्धिचरण, शंकर लामिछाने, शंकर कोइराला, पारिजात, दौलतबिक्री विष्ट, केशवराज पिंडाली आदि कैयौँ स्रष्टाका नाममा सङ्घ-संस्था सञ्चालित छन्, पुरस्कार स्थापना गरिएको छ । यसै सन्दर्भमा भन्नुपर्दा स्रष्टा वासु शशिको नाममा पनि संस्था स्थापना गरिएको छ । ‘वासु शशि स्मृति परिषद् -२०५०), परिषदले २०५७ देखि प्रत्येक वर्ष वासुशशि स्मृति पुरस्कार र २०६३ देखि प्रत्येक वर्ष वासु शशि स्मृति सम्मान प्रदान गर्दै आएको छ । यसपली -चैत १३ गते) वरिष्ठ कवि कृष्णभूषण बललाई पुरस्कार र अर्का वरिष्ठ कवि तुलसी दिवस लाई सम्मान प्रदान गरियो ।
‘मर्नु पनि एउटा रोमान्स हो । घाउ लाग्यो भने घाउ लागेको ठाउँ मात्र दुख्छ र त्यसको उपचारपनि सम्भव हुन्छ । दुनियाँमा सबै दुःख कष्टको औषधि छ तर मृत्युको चाहिँ छैन । मर्दा सिङ्गै जीउले मरिन्छ, सिङ्गै ज्यानैले मरिन्छ, सिङ्गै मनै मर्छ ? सिङ्गै मगज नै मर्छ । क्यै बाँकी रहन्न फेरि, त्यो बिल्कुलै अन्तिम हुन्छ त्यसपछि क्यै बाँकी रहन्न त्यो एउटा सम्पूर्ण क्रिया हो, एकदमै अन्तिम चाहिं । त्यसैले त्यो एउटा ठूलो रोमान्स हो ।” हो वासुशशिले मानि भने जस्तै अब केही बाँकी छैन । उहाँले भनेको तर उहाँले बाँचुञ्जेल गरेका काम -सिर्जना साधना) बाँकी छ । तीनै कृति र कार्यले वासु शशि बाँच्नु परेको छ, सम्झना योग्य, चर्चा गर्न लायक नाम बन्नुभएको छ र धेरै धेरै पाठकले पढिने नाम हुनुभएको छ ।
वासुशशिले ‘सञ्चय’ जस्तो चर्चित पत्रिकाको सम्पादन मात्र गर्नु भएन सञ्चय पत्रिकाबाटनै उहाँले भवानी साहित्यिक पत्रकारिता पुरस्कार पाउनुभयो ।
८।९ वर्षको उमेरदेखि नै लेख्न थाल्नुभएका वासुशशिले लेखनको थालनी विद्यार्थी नामक पत्रिकामा कविता छपाएर थाल्नुभयो । वि.सं. १९९२ सालको फागुन २५ गते काठमाडौँको देवपतनमा जन्मिनुभएका वासुदेव वैद्य साहित्यिक क्षेत्रमा वासुशशिको रूपमा सुपरिचित हुनुभयो । वि.सं. २००८ सालदेखि नै शिक्षण पेशामा आबद्ध शशिले २०१६ सम्म पढाउने काम गर्नुभयो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, नेपाल परिवार नियोजन सङ्घ आदिमा संलग्न शशिले पुस्तकालय, विद्यालयको स्थापनामा पनि त्यत्तिकै चासो लिनुभयो । नेपाली कथानक चलचित्र ‘माया’, लोभीपापी आधा दर्जनभन्दा बढी टोली चलचित्रका कथा लेखक वासुशशि प्रजातान्त्रिक आन्दोलनमा पनि त्यत्तिकै लाग्नुभयो ।
नेपाली राजनीतिले यतिखेर वासुशशि जस्ता स्रष्टाको योगदान बिर्से पनि त्यतिबेला -२०५० मा नेपाली काङ्गे्रसका तत्कालीन सर्वोच्च नेता गणेशमान सिंहले भन्नुभएको थियो- “अत्यन्त कठिन प्रजातान्त्रिक आन्दोलनका निमित्त आˆनो ठाउँबाट अविस्मरणीय योगदान दिने प्रतिभाशाली व्यक्तित्वकोरूपमा उहाँको नाम इतिहासले गौरवका साथ लिनेछ । उहाँ स्वाभिमान, स्तरीयता, बौद्धिकता र संवेदनशीलताको प्रेरक सङ्गम हुनुहुन्थ्यो ।” -वासुशशि व्यक्तित्व र कृतित्व, कैलाश भण्डारी, २०५२) मान्छेका संवेदनाहरूलाई अभिव्यक्त गर्ने सर्वोत्तम माध्यम साहित्य हो । मान्छेको मन मस्तिष्कलाई परिमार्जित र सुसंस्कृत तुल्याउने काम पनि साहित्यले नै गर्छ ।” साहित्यको बारेमा आˆनो धारणा यसरी राख्ने वासुशशिका लेखन, आनिबानी, योगदान, स्वभावबारे धेरैले धेरै कुरा भनेका छन् । उमेरले धेरै बाँच्न नदिएपनि आˆना साथीभाइ, इष्टमित्रबीच सहृदयी र भावुक, मिजासिलो र उदार व्यक्तिका रूपमा चिनिनु भयो । साहित्यिक जगत्मा स्वतन्त्रताका लेखक, उत्कृष्ट कृतिका स्रष्टा, उपन्यासकार, नाटककार, कवि, अनुवादकको रूपमा चिनिनुभयो ।
वासुशशि जस्ता स्रष्टालाई सम्झाइरहन, एउटा स्रष्टाको स्मृतिमा अर्को स्रष्टाको सम्मान गर्ने, साहित्यिक कृतिहरूको प्रकाशन गर्ने आदि उद्देश्य लिएर जन्मिएको वासुशशि स्मृति परिषद्ले आउँदा दिनका पनि शशिका अप्रकाशित कृतिहरूलाई प्रकाशित गर्दै जाने योजना रहेको बताउनुहुन्छ परिषद्का सचिव एवं साहित्यकार प्रद्युम्न जोशी । विनोद अश्रुमाली, मञ्जू काँचुली, बद्री पालिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशोक मल्ल, हरि अधिकारी, कृष्णभूषण बललाई पुरस्कृत गरिसकेको परिषद्ले कवि तीर्थराज, डा. मोहन हिमांशु थापा र तुलसी ‘दिवस’ लाई सम्मानित गरिसक्यो दुई दर्जनभन्दा बढी कृतिको प्रकाशन गरेको परिषद्ले वासुशशिको नाममा जे जति गरेपनि नेपाली भाषा-साहितय अनि यसका स्रष्टा साधकहरूका लागि गरेको पनि छ ।
“मृत्युभन्दा पनि अलि पर केही छ भने पनि साहित्यलाई लिएर त्यहाँ पुग्न सकिन्छ । जो साँचो अर्थमा साहित्यकार हो, उसले साहित्य रचेको मात्र हुँदैन, साहित्यमा बाँचेको पनि हुन्छ । साहित्यको सिर्जना जीवनबोध र जीवन अभिव्यक्तिको सर्वोत्तम साधना हो ।” बासुशशि मृत्युभन्दा पनि अलि पर पुग्नु भएको छ साहित्यलाई लिएर, वासुशशि हामीबीच आउनुभएको छ, आइरहनु हुनेछ साहित्यलाई नै लिएर ।
