आमाको रगत
बाबाको पसिना
गुरुको मेहनत र आशीर्वाद
अनि,
आफ्नै सघंर्ष मिसिएको
बेरोजगार शैक्षिक प्रमाणपत्र बोकेर
रोजगारीको आशामा
हरेक दिन सडकका गल्लीहरुमा भौतारिरहनु
कार्यलयका ढोकाहरू चियाइरहनु
सरकारी कोटाहरुमा शैक्षिक प्रमाणपत्रका
फोटोकपीहरू झुन्ड्याइरहनु नियति नै बनिसकेको छ
र यसैमा आधा जिन्दगी नै बितिसकेको छ
आमालाई सुखभन्दा पनि
भन्न रहर छ पल्लो घरे बज्यैसँग
मेरो छोराछोरीले ठुलो सरकारी जागिर खाए भनेर
बाबालाई छातीफुलाएर हिंड्न रहर छ
आफ्नो दुख शिरमा सजाएर
छोराछोरीले सन्तोष दिने भए भनेर
गुरुलाई पनि गर्व सग भन्न रहर नभएको हैन
मैले पढाएका चेलाचेली ठुलो मान्छे बने भनेर
तर बिडम्बना
यिनै प्रमाणपत्रहरू बाकसमा कोचेर
सँगै पढेको रामे प्रदेश पसेपछि
अहिले शहरमा ठुलै घर बनाइसकेको छ
फेरि उता स्यामेको प्रदेशमा
जिन्दगी नै लिलामी भैसकेको छ
धने आफ्नै देशमा केही गर्छु भनेर
वर्षौ देखि भौतारिंदा भौतारिदै अहिले
डिप्रेसनको ओखतीसँग मितेरी गाँस्दै छ
सुन्तली र सन्ते नेताको गोठालो बनेर
दुई चार पैसामा लोभिएका छन्
कुन दिन जेलमा कोचिने हुन थाहा छैन
स्याने र स्यानी पत्रकार बनेर
शिर ठाडो पारेर हिंड्छ्न
तर पेटमा कहिलेकाही आटो
पनि पस्दैन
उता आर्थिक अभावमा
सेरेले आत्महत्या नै गरिसक्यो
हरी बा आमालाई छोडेर शहर पसेदेखि
ती बुढा बा आमा बेसहारा जीवनसँगै
मृत्यु कुरेर बसिरहेका छन्
कोही भाषा सिकेर कोरिया गैसके
कोही डिभि परेर अमेरिका उडिसके
कोही पुगिसके अष्ट्रेलिया
सरकार दिनहुँ करोडौंमा तिनतारे होटेलमा बसेर
चियाको चुस्कीसँगै रोजगारीका
आश्वासनका खोस्टाहरू बाडिरहन्छ
तिमी पनि त्यही बेरोजगारी
शैक्षिक प्रमाणपत्र कमाउन
बुढा बा आमालाई छोडेर
शहर पसेदेखि
त्यो जवान आगनी तिम्रै प्रतीक्षामा
बुढो भैसक्यो
आऊ अब फर्केर घर
इमान,इज्जत र स्वाभिमानका
प्रमाणपत्रहरू झोलामा बोकेर
प्रदेश पस्नु पर्दैन
रोजगारी खोज्नु पर्दैन
गैरी खेत बाझै छ
तिमी हलो जोतौला
म डल्ला फोरुला
तिमी आलि लगाउला
म धान रोपुँला
डाँडा बारी बनमाराले छपक्कै ढाकिसक्यो
तिमी काटौला म आगो लगाउँला
अनि छरौला मकै र गहुँ
रमाउला खोले र सिस्नोमा
बाडौला सुखदुःख त्यही आँगनीमा
आऊ तिमीले चिमुसिची खेलेको मझेरीमा
बाबा आमाले तिमीलाई
तातेताते गराएको आगनिमा
अहिले बाबा आमालाई तिम्रो हात समातेर हिड्ने
तिमीसँगै सुखदुःख बाड्ने ठुलै रहर छ ।
दीपा धिताल
