वर्षौंदेखि
मान्छे बस्न छोडेको रित्तो घर
चियाइरहन्छ
आफन्त बस्न छोडेको रित्तो मनले ।
त्यो घर एक्लो
अनि एक्लो म ।
लिपपोत विना फुस्रो र धुलोमैलो घर
सुनसान र बिरानो आँगन
जस्तै
गाजल, टिकी र कोरीबाटी बिना
फुंग उडेको मेरो मुहार
उदास र उजाड जिन्दगी ।
आकाश नै ढाक्ने गरी
मडारिन्छन् काला बादलहरू
जसरी
हृदय भरी सल्बलाउछन्
धमीला, मधुरा र खाटा बसिसकेका
कसैका पूराना यादहरू ।
चल्छ जोड्ले हावा हूरी
हल्लाउँछ भत्कनै लागेका झ्याल ढोका
हाल्छू लामो सुस्केरा
कोही आउछ कल्पनामा
अस्पष्ट आकृति बनेर
नून चूक छरे झै लाग्छ
चिरा चिरा परेको कलेजीमा ।
चम्किन्छ बिजुली
चट्यांग परेर
मझेरी नै छेड्ला झै गरी
मेरो अतित चहकिलो बनेर आउछ
पश्चात्तापको छुराले रेटेर
मुटु नै प्वाल पार्ला झै गरी ।
भक्कानो छुटेर आउछ
मुटु निचोरिए झै लाग्छ
दिन कालो र निलो हुन थाल्छ
मन अमिलो र धमिलो ।
जीर्ण घर माथि वर्षन्छ
घनघोर, मूसलधारे पानी
अनायासै बग्छन्
मेरा आँखामा
दुई नूनिला नदीहरू
गंगा र जमुना ।
देखिन मैले उदांगो घरले पिएको वर्षा
मात्र तप्किएको बलेनी देखें
जसरी म वर्षौ देखी लूकेर रोएको कसैले देखेन
केवल भिजेको परेली मात्र देखे ।
हूरीले उडाएसी छानो
बाँकिरहेका डाडा भाँटा जस्तै
समयले उडाएसी सातो
बाँकिरहदो रहेछ
हाड र छाला मात्र शरीरमा ।
थामियो झरी
पखालियो भित्ताको मैलो
बगायो माकुराका जालाहरू
मौसम शान्त बन्यो
म पनि धितमरून्जेल रोए
पखालियो कसैको झूटो प्रेम
बगायो नमिठा यादहरू
मन हल्का बन्यो ।
देखियो इन्द्रेणी घर छेउमै
सप्तरंगी झै लागेन
रंगीन त त्यो इन्द्रेणी हैन
आँखाँ पो रहेछ
किनकि
मन उदास भएको बेला
भिजेका परेलीहरुले
इन्द्रेणी पनि फिका देखाइदिदो रहेछ ।
लाग्यो
मान्छे बस्न छोडेको घर
र
आफन्त बस्न छोडेको मन
उस्तै उस्तै हुँदो रहेछ !
रेखा पन्त, गोर्खा
हाल इजरायल ।
