Skip to content

सुकेपोखरीमा एक साँझ

  • by


सुकेपोखरीमा साँझ पर्दै छ । सोलुखुम्बु र खोटाङको यो सिमानामा चोमोलुङमा सुम्सुम्याएर आएको चिसो सिरेटो चल्न थाल्यो । बिहानै दूधकोसी तरेर जुबुको उकालो उक्लिँदा उच्चाटलाग्दो गर्मीले चिमोटेको थियो । बेतबाँसको लौरो टेक्दै उक्लेका हाम्रासामु पारिको हिमाल हेरेर मन शीतल बनाउनुको विकल्पै थिएन । पहाडी खोंच र जंगल चिर्दै बगेका स-साना झरना मन बहलाउने बहाना थिए ।

‘आजको बास माम्रे गाउँमा’ स्थानीय बस्ती र गोरेटोका जानकार ङमिा पाखि्रनले चिउँडोमा लौरो अड्याउँदै भने- ‘तामाङ गाउँमा बस्नुपर्ला ।’ यात्रामा प्रमिला योन्जन र कर्म लामासँगै थिए । दुवैले ब्याकप्याकबाट बिस्कुट झिके, साँझले छोप्नै आँटेको सुकेपोखरी चौरमा चिसोपानी र बिस्कुट खाँदै थकाइ मार्‍यौं ।

लेकको सुनसान र घनाजंगल । गुराँस र लेकाली पैयुँका जंगलभित्र हामी हरायौं । थोरै उकालो खेपेर तेर्सिएपछिमात्र एउटा सानो खर्क आइपुग्यो, जहाँबाट साँझको धिपधिपे उज्यालो टिल्पिलाइरहेका माम्रे गाउँ देखिने रहेछ । ‘लौ त्यहीं पर हो’ फेरि ङमिा बोले- ‘मास्तिर शेर्पा गाउँ, तल्तिर तामाङ । जनयुद्धको प्रभाव नपरेको सायद यही गाउँ होला ।’

तर ङमिाले बोलेका कुरा ठ्याम्मै मिलेन । छोर्तेनसहितको खर्कबाट तल्तिर जसै तामाङ गाउँ झर्‍यौं, खरले छाएका सुनसान घरभित्र बलिरहेका धिपधिपे बत्तीहरू पनि निभ्लाझैं भयो । जनयुद्धको खुड्किलो उक्लेर माओवादी सहर पसेको र संविधानसभाको चुनाव भएको लामो समय गुजि्रसक्दा पनि माम्रे गाउँमा द्वन्द्व मनोविज्ञान अझै फाटिसकेको रहेनछ ।

‘लौ है आस्याङ फ्याफुल्ला -मामा नमस्कार)’ ङमिाले हिमचिम बढाउने मनसुवाले तामाङ गाउँमा नाता गाँस्न चाहे- ‘बास मिल्छ कि मिल्दैन कुन्नि ?’ पहिलोपटक भेट्टएिको घरका दलानमा बूढाबूढीमात्रै थिए, सुर्ती तानिरहेका । ङमिा बोल्नासाथ बूढीआमै भित्र पसिन्, बूढाबा असमन्जस्यतामा परेजस्तै देखियो । भित्र ठूलो डेक्चीमा पिँडालु उसिनिएको थियो ।

‘छोराहरू कोही भारी बोक्न लुक्का, कोही कटारी गा’छन्’ बूढाले तीनपत्र मयल जमेको टोपी मिलाउन खोज्दै भने- ‘बूढाबूढीमात्रै भएको ठाममा के बास मिल्छ र हजुर ? बरु अलिपर लाहुरेको घर छ, त्याँ जानुस् न ।’

लौ फसाद, कुरो माम्रे गाउँमा बास बस्ने मात्रै थिएन, प्रमिला र कर्मलाई तामाङ समुदायमा सञ्चारको प्रभाव बुझ्नुपर्ने पनि थियो । ‘यस्तोमा कसरी कुरा खोतल्नु ?’ प्रमिला कानैमा फुस्फुसाइन् । तामाङ समुदायकै भए पनि काठमाडौं कल्चरमा हुर्केकी प्रमिलाको अनुहार उदास-उदास देखियो ।

सोलुकै अनेक साइनो जोडेर बूढाबूढीसँग ङमिा नजिकिए, तैपनि बास बस्न लाहुरेकै घर जानुपर्ने भयो । साँझले झ्वाप्पै छोपिसकेको थियो । एकैछिनको गलफतीपछि बारीको कान्लै कान्ला तेर्सियौं छामछुम छुमछुम गर्दै । बाटैमा एक अधबैंसे भेटिए, लालबहादुर तामाङ । यी ३५ वर्षे ६ महिना भारी बोक्न लुक्ला जाँदारहेछन्, तीन महिना कटारी र थोरै समय मात्रै घरमा ।

‘अनि भोट हाल्नचाहिँ भ्याउनु भो त ?’ उनी एकैछिन अक्मक्किए । ‘माओवादीको चुनावमा हो सर ?’ उनको स्वर काम्यो- ‘घरमै लिन आ’थे, उनीहरूले भनेकै ठाउँमा हाल्यौं ।’ स्कुल अभावमा कखरा जान्ने अवसर गुमाएका लालबहादुर निकैबेर भक्भकिए, ओठमात्रै चलाएजस्तो । तामाङ भाषामा कुराकानी थालेपछि मात्रै केही सहज देखिए । ‘संविधान भनेको था’ छ ?’ थाहा नपाएको सूचकस्वरूप उनको टाउको हल्लियो । खासमा चुनाव भनेकै उनले बुझेका थिएनन् । भारी बोकेर केही महिना थकाइ मार्न घर आएको बेला घरमा कसैले लिन आए । बुथमा गएर उनैले भनेको खुरुक्क माने ।

सुरुमा उनले हामीलाई पहिलेजस्तै लुक्न आउने माओवादी ठानेेका रहेछन् । मानौं मुलुकको पछिल्लो परिवर्तनबाट लालबहादुर बेखबर छन् । तामाङ गाउँ हेर्न र घुम्न आएको खुलाएपछि उनको ओठबाट बाक्य फुत्किन थाले । ‘गाउँमा स्कुल होस्, बत्ती होस र भारी बोक्न जान नपरोस्’ संविधान कस्तो बन्नुपर्छ भन्ने सोधनीमा उनले अनौठो जवाफ फर्काए- ‘अरू ता केही पनि चाहिँदैन ।’

केही पर धूवाँ पुत्पुताइरहेको घर देखापर्‍यो । भित्रबाट कोही बूढोमान्छे खोकिरहेका थिए । फलैंचामा एकैछिन अडिएर भित्र नियालें, लौ साथीहरू त भकाभक पिँडालुमाथि हमला गरिरहेका छन्, गाला पुक्कपुक्क पार्दै । यहाँ पनि साथीहरूको कल्पनाविपरीत भयो । लाहुरे भन्नेबित्तिकै पश्चिमी संस्कृति र सम्पत्तिसहित मुलुक फिरेका रातोपिरो अनुहारको विम्ब प्रकट भएको थियो एकैछिन अघि । तर बूढा परेछन् दोस्रो विश्वयुद्धमा लड्दै बर्मा पुगेका र बिचल्ली भएर जसोतसो मुलुक फिरेका । साँघुरो घरको एउटा कुनामा उनी सुकेनास ज्यान लिएर पल्टिरहेका थिए, खोक्दै । बाथले च्यापेको शरीर बोकेरै बूढा भोट हाल्न गएछन्, आफूले बर्मामा लडेको जस्तो लडाइँ मुलुकमा लड्न नपरोस् भनेर ।

कुनामा नेसनल पानासोनिक रेडियो झुन्डिएको थियो । तर बजेको सुनिएन । बूढा भने मुलुकको राजनीतिमा थोरै भए पनि अपडेट हुँदा रहेछन् । ‘लडाइँको बेला गाउँले निकै सकस पाए’ बूढा बोले- ‘नेताहरूले कुरा बुझुन् । झगडाको बीउ अब बाँकी राख्नुहुन्न ।’ बूढाका कुराले केही गम्भीर अर्थ दिन्थे । द्वन्द्वका आधारहरू बाँकी राखे फेरि कुनै बेला बन्दुक उठ्नेप्रति उनको संकेत थियो ।

तात्तातो पिँडालुको स्वादसँगै अब अर्को चटारोले छोयो । गाउँभरमै ‘लाहुरे’ कहलिएका बूढाको घरको स्थिति पाहुना धान्ने खालको थिएन । हामी बास बस्नु भनेको लेकको चिसोमा लाहुरे परिवारलाई रातभरि थप चिसोमा तड्पाउनु थियो । लाहुरेकै घर यस्तो, अरूको हालत के होला ? अन्ततः मध्यसाँझ सुकेपोखरी नै फर्किने निधो भयो । प्रमिला उदास भइन्, सायद बुढानीलकण्ठको न्यानो घर सम्झिरहेकी थिइन् ।

चुक घोप्टिएझैं अँध्यारो । फेरि उही जंगल । गुराँसका पोथ्राहरू । खर्क र भत्किएका छोर्तेनहरू । टाढा अँध्यारोबाट कसैले पिलिक्क टर्च बाले, पछिल्तिर जंगलबाट खोकेको आवाज आयो । तल्तिर गोठमा कोही बोले । माझमा हिँडिरहेकी प्रमिला एकाएक सबैभन्दा अगाडि पुगिन्, ङमिाको पाखुरा च्याप्प समाउन । कर्मले पनि डरले कान ठाडो पारे । खासमा मास्तिरबाट कोही गाउँले लालटिन बालेर गोठ झरिहेका थिए ।

सुकेपोखेरी झर्दा मध्यरात भइसकेको थियो । अन्तिम विकल्पको रूपमा अघि साँझ चिया खाएर गएको एउटा पसलको ढोका ढक्ढकायौं । मेनुका माझी, रत्नमाया मगर र सुन्दरीमाया तामाङ एकैपटक उठे । फरक ठाउँबाट आएका यी तीन महिला लामो समयदेखि एउटै घरमा मिलेर होटल चलाइरहेका रहेछन् । ‘माम्रेमा त बास पाउन गार्‍हो छ नि,’ ४५ नाघेका दिदीहरूमध्ये कोही बोलिन्- ‘लडाईंको बेला सबै त्यतै लुक्न जान्थे, त्यही भएर ।’

मध्यरातमा खाना पक्यो । खाँदै गर्दा काठमाडौंमा संसद् बहिस्कार भएको सन्दर्भ उठ्यो । ‘हामीजस्तै समावेशी भएर बस्नु नि,’ खोटाङ ऐसेलुखर्कबाट आएर सुकेपोखरीमा जमेकी मेनुका बोलिन्- ‘संविधान नै त्यस्तो बनाउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *