परिचय–
कविता चापागाईको जन्म, मैवाखोला साँघु, ताअप्लेजुङ, मेची अञ्चलमा २०१० साल भाद्र १८ गते बुवा बैजनाथ भट्टराई र माता यमुनादेवी भट्टराईकी माहिली पुत्रीरत्नको रूपमा भएको थियो । शैक्षिक योग्यतालाई केलाउँदा उहाँले एम.ए. (इतिहास), बी.एड. डिग्री हाँसिल गरी सक्नुभएको छ । कविताजीको २०३६ देखि २०७२ भाद्र ९ गतेसम्म विभिन्न, शिक्षणसंस्थासँग पेशागत संग्लग्नता देखिन्छ । अरूण उच्च शिक्षण विकास समिति दिङ्ला भोजपुर, Beyond Beijing Commitee (महिला सशक्तिकरण) मोरङ, चापागाई समाज सेवा विराटनगर, राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. मोरङ, सरल सहकारी संस्था लि. मोरङ, वाणी प्रकाशन विराटनगर, मोरङसँग आवद्ध हुुनुहुन्छ । उहाँका लेखहरूको अध्ययन गर्दा उहाँ आध्यात्मिक चिन्तन भएकी विदुषी एव म बरिष्ठ साहित्यकारको रूपामा उहाँको परिचय झल्किन्छ ।
आजीवन सदस्य – कविता चापागाई साहित्य सङ्गम दिङ्ला, शिशु सेवा समिति, विराटनगर, प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगर, संस्कृत विद्या संवर्धिनी समिति विजयपुर धरान, चापागाई बन्धु कल्याण समिति झापा, डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठान विराटनगर, आवाल ब्रह्मचारी षडानन्द स्मृति प्रतिष्ठान इटहरी, विराट धर्मशास्त्र संग्रहालय एव म पुस्तकालय विराटनगर, लक्ष्मीदेवी गुभाजु स्मृति प्रतिष्ठाना विराटनगर, जेष्ठ नागरिक समाज जनपथ विराटनगर– १५, वनिता प्रकाशन विराटनगर, साहित्य सौगात सुनसरी, विराट साहित्य सङ्गम मोरङ, पूर्वाञ्चल दर्पण मोरङ, पूर्वाञ्चल साहित्य प्रतिष्ठान मोरङ, कृष्ण भूषण बल प्रतिष्ठान मोरङ, राष्ट्रिय विभूति साहित्य प्रतिभा पुरस्कार कोष मोरङ, श्रीयोगमाया शक्तिपीठ भोजपुर, आवाल ब्रह्मचारी षडानन्द गुरूकुल दिङ्ला भोजपुर आदि संस्थामा आजीवन सदस्य हुनुहुन्छ । कविता चापागाईले आजीवन सदस्यमात्र नभै संस्थापक /संरक्षकको रूपमा पनि गहन भूमिका खेल्नुभएको छ । उहाँ असहाय पुनर्स्थापना केन्द्र विराटनगर –४, शिवेश्वर हलेसी महादेव मन्दिर विराटनगर–४, यमुनादेवी –वैजनाथ भट्टराई स्मृति पुरस्कार, मैवाखोला साँघु ताप्लेजुङ्, डम्बरूबल्लभ वसन्त कुमारी चापागाई स्मृति पुरस्कार (२०६६), दिङला भोजपुर र श्रीगायत्री गुरु सम्मान कुसुम पुरस्कार दिङ्ला भोजपुर, सरल सहकारी संस्था लि. विराटनगर आदिको संस्थापक / संरक्षकको रूपमा उभिनु भएको छ ।
कृतिहरू– कविता चापागाईका वेदना कविता (आत्मबृतान्त सहित २०७०), योगमाया शक्तिपीठ तपोभूमि (२०७१ ), हलेशी महादेव मन्दिर एक परिचय (२०७२) र स्मृतिको झोला (२०७४) आदि कृतिहरू बजारमा आइसकेका छन् । उहाँले धरान खण्डकाव्य (२०४२) असाहाय पुनस्र्थापना केन्द्र विराटनगरको स्मारिका (२०६९) र पीडाको डायरी (२०६९) जस्ता साहित्यिकारका साहित्यिक कृतिहरूमा प्रकाशकको भूमिका निभाउनु भएको छ ।
सम्मान तथा पुरस्कार– शिक्षा मन्त्रालयबाट शिक्षा सेवा पदक (२०५२), यातानापीडित सरोकार केन्द्रबाट मानव अधिकार विश्वव्यापी घोषणाका पचास वर्ष सम्मान (सन् १९९८), नेपाल टेलिभिजनबाट अध्यायन –अध्यापन, बालअधिकार र यातना सम्बन्धमा अन्तरबार्ता प्रसारण (२०५५) साहित्यसेवा पुरस्कार (२०६६)को साथै विभिन्न संघ संस्था तथा सहकारीहरूबाट पनि उहाँ सम्मानित हुनु भएको छ ।
कृतिको संरचना – आवरण पृष्ठ सहित ८७ पृष्ठमा संरचित यो कृतिको प्रकाशन यमुनादेवी–वैजनाथ भट्टराई स्मृति पुरस्कारले गरेको छ र मूल्य रु १००।– राखिएको छ । यस कृतिलाई ‘‘जन्मदाता एव म कर्मदातालाई सादर समर्पण’’ गरिएको छ ।
कृतिप्रति विभिन्न साहित्यकारको धारणा–
प्रकाशकको कलमबाट ‘यमुनादेवी–बैज्यनाथ स्मृतति पुरस्कार’ले लेख्छ –‘‘ अन्तमा यस कृतिका लेखकको लेखन शैली, विषयवस्तु, घटना, पात्र र स्थान अनुसार भाव व्यक्त गर्ने सरलता, शब्द व्यञ्जनाका साथै वाक्य गठनतले आख्यानको मर्म खोलेको पाइन्छ ।’’ बरिष्ठ साहित्यकार बालकृष्ण पोखरेलले लेख्नु्हुन्छ–‘‘मैले कविता चापागाईमा आफ्नै जन्मभूमि दिङ्लाकी अमर महिला ‘‘योगमाया’’ शक्तिपीठ तपोभूमिको महानताले द्रवीभूत गरेको पाएँ ’’ ।
कविता चापागाईँको आख्यानले दिने प्रेरणा शीर्षकमा विराट साहित्य सङ्गम, मोरङ्का सल्लाहाकार बलराम पोखरेलले कविता चापाईँको लेखनप्रति प्रशंसा गर्दै लेख्नुहुन्छ –‘‘उच्च सोच राखेर लेख्न सुरु गरिएका कृतिहरूले स।माजलाई पथप्रदर्शन गर्ने क्षमता पाएका छन् । पठनीय र मननीय दुवै छन् ।’’गायत्री कुमार चापागाईँले आख्यानात्मक कृति सम्बन्धमा शीर्षक दिएर लेख्नुहुन्छ– ‘‘ स्रष्टाका जीवनका उकाली ओराली, यात्रा अनुभव, अनुभूतिहरू, संवेदना, व्यथा पीर छटपटी अभाव आदिको मर्म स्पर्शी बयान, यात्रा, स्मरणका रूपमा यहाँ आएका छन् ।’’
कविता जस्तै कविताका भावनाहरू शीर्षकमा गङ्गा सुवेदी लेख्नुहुन्छ– ‘‘विदुषी योगमायाको कार्यसम्पादनबाट प्रभावित भई समर्पित यिनीलाई मेरो अन्तरमनले योगमायाकै छवि देखेको छ र जो यात्रारत् छ ।’’
साहित्यकारहरूले माथि दर्शाएका धारणाहरूलाई केलाउँला र कृति अध्ययन गर्दा कविता चापागाईका यी यात्रालेखहरू निश्चय नै मनन् योग्य छन् भन्न सहजै सकिन्छ । निवन्धसारलाई पनि केलाउनु मन लाग्यो र अब म निबन्धसारतिर लाग्ने अनुमति चाहन्छु । यस कृतिमा १९ओटा निबन्धहरू समावेश गरिएका छन् ।
प्रथम निबन्ध यात्रा–स्वर्गद्वारी शीर्षकमा स्वर्गद्वारीमा साँझमा आरती हेर्ने काम भएको, आरतीपछि दाल भात डुकु जति खाए पनि खान पाइएको, पानीको अभाव, दैनिक हवन कार्य, ५०० जना व्यक्तिहरू यहाँ सेवारत रहेको, गुफा अवलोकन, पूजापाठ लगायत गाईको सेवा गर्न रहेका,जात थर गोत्र जे होस् मुडुलो बनेर धोती फेरेरर ओढनी ओढेपछि एकाम्मे र ललाटमा तीनधर्के, चन्दन लगाउन अनिवार्य, गाई गोठको हालत ज्यादै दुःखलाग्दो, गुफा अवलोकन, ५५१ रुपियाँमा एक रूद्री र २५५१ रुपियाँमा लघुरुद्री लगाउन सकिने, स्वर्गद्वारी महाप्रभूले तपस्या गरी शक्ति प्राप्त गरेको गुफाको अवलोकन, प्राकृतिक सौन्दर्यलाई व्यवस्थित गर्न नसकेको जस्ता अभिव्यक्ति यस निबन्धले प्रष्ट्याएको छ ।
शक्तिपीठतर्फको यात्रा–संस्मरण –योगमाया शक्तिपीठको बारेमा लेखिएको यो संस्मरण लेखमा तुम्लिटारबाट यात्र थालनी, रुद्रेश्वर महादेवको मन्दिरको दर्शन, डाँडाको झोपडीमा ११ जना माताजीहरूसँग भेट, यी माताहरू ६३ वर्षदेखि १०२ वर्षसम्म उमेरकाको यहाँ बसोबास, ईखुवा सङ्गम स्थलमा स्नान, समाधिमा जाँदा टेकेको जोरपाइलाको दर्शन र पूजा, शंखेश्वर महादेव, गायत्री माता, योगमायाशीला तथा कोटीहोम कुण्डको दर्शन, शक्तिपीठमा पुग्नु, श्रीरुद्रेश्वर महादेव मन्दिरभित्र प्रवेश, स्वप्न भएर भेटिएका शिवलिङ्ग, गणेश,नाग योगमायाले प्रवचन गर्दा प्रयोग गर्ने गरेको सिंहासन, योगमायाले तपस्या गरेर सिद्धिप्राप्त गरेको सिद्धभूमि साथै वरिपरि भएका विविध खाले योगमायासँग सम्बन्धित सामाग्री, त्यहाँको प्राकृतिक सम्पदा, सामाजिक स्थिति आदिको सुन्दराको वर्णन रोचकरूपमा गरिएको छ ।
तेस्रो संस्मरण दिङ्लातर्फ शीर्षकमा लेखिएको यस लेखमा कृतिकार २२ वर्षपछि मूलघरमा पुग्नु, भङ्ज्याङ्मा मन्दिरमा लक्षबत्ती बाल्नु, छापघर पुग्नु, देवीस्थानमा गएर पुजागर्नु, देवीसँग भावनात्मक अभिव्यक्ति पोख्नु, अतितको स्मरण आउनु, षडानन्द गुरुको सालिकनेर फोहोर देख्नु, अरूण मा.वि.मा परिवर्तन पाउनु, हाटबजारतिर नजर लगाउनु, घरगाउँका जमिनहरू बाँझो पाउनु, साथै त्यहाँको प्राकृतिक सौन्दर्यता, निर्माणबाट आएको परिवर्तन आदिलाई समेटेको छ लेखले ।
मनोकामनातर्फ शीर्षकको चौथो संस्मरण लेखमा मनकामनामा जाँदा सानासाना झोपडीमा गेरुबस्त्र लगाएका आमाहरूसँग भेटघाट, लगेका सामाग्रीको वितरण, मनोकामना माताको दर्श, (मनकामना मन्दिर वर्षामा भेल आएर बगाउने भएकोले भित्तामा बनाइएको ), टपरी गाँसेका माताबाट सन्यासी भएकाको लास नदीमा पलेंटी कसाएर बगाउनु पर्ने या पलेटी कसाएर जमिनमा गाड्नु पर्ने, क्रिया गर्नु नपर्ने जानकारी पाउनु, अपाङ्गसँगको भेट आदिको साथै त्यसक्षेत्रको प्राकृतिक सौन्दर्यलाई समेटेको छ लेखले ।
दोस्रो यात्रा शक्तिपीठतर्फको – यो यात्रामा २०७१ साल चैत्र ६ गते, ‘‘योगमाया शक्तिपीठ तपोभूमि ’’ कृतिको विमोचन गर्नु, कृति विमोचन गरेर कृतिलाई स्वदेश र विदेशमा वितरण गरिएको साथै अरुण किनारमा अवस्थित योगमाया तपस्थलको विकास र पूण्यस्थानको पहिचानको लागि ‘श्रीमद्भागवत’ पाठपरायण तथा कथा (२०७२ फागुन १६ देखि २०७२ फागुन २२ सम्म) लगाउनको लागि किताप बेचेर चन्दाबाट आर्थिक जम्मा गरेर कार्य सफल पारी २३ गते तुम्लिटार फर्केको, २४ गते शिवरात्रिको दिन भञ्ज्याङ्गतिर लाग्दा बाटोमा बालागुरु षडानन्दको नाभी गाडेको स्थानको दर्शन, गुरुको घरको अवशेषको दर्शन, सरस्वती माताको मन्दिर हुँदै कैलास पुग्नु, कैलाशेश्वर महादेवको दर्शन, अरूण र षडानन्द मा. वि. हुँदै षडानन्द गुरुको शालिकको अवलोकन, शिवबाबाको दर्शन अनि पाठशालामा जानु, यहाँ षडेश्वर शिवबाबा, राम, सीता, लक्ष्मण, हनुमान, लघुरुद्री लगाएको ठाउँ, यज्ञशाला, गुरुकुल सञ्चालन आदिको अवलोकनको साथै गुरुकुलको आजीवन सदस्य बन्नु, विविध वोर्डिङ् स्कुल, जखनदेवीको साथै त्यहाँका भत्केका घरहरूको अवलोकन, बेलुका भजनमा सहभागी, भोलिपल्ट विहान विभिन्न नातेदारहरूकोमा गएर विराटनगर फर्केको धारण पस्किएको यस निबन्धमा त्यस क्षेत्रको वर्तमान आर्थिक सामाजिक अवस्था, विकासक्रम, प्राकृतिक सम्पदा आदिको वर्णन गरिएको छ ।
म जन्मेको गाउँ – छैटौ निबन्ध हो । यसमा कृतिकारको जन्म ताप्लेजुङ्ग जिल्लाको मैवाखोला साघुँमा भएको, १४ जना छोराछोरीमा ३ जना छोरी, कृतिकार माहिली, गाउँको परिवेश, कृतिकारको जन्मने समयमा अध्ययन गर्नु पर्ने चेतनाको अभाव, केटाहरू बनारसतिर गएर पण्डित भएर आउने चलन, बालक कालमा कृतिकार निकै विमारी पर्ने गरेको, शरीरमा घाऊ खटिरा आउने गरको, भाउजूले कोदोबाट उपचार गरेको, तत्कालीन समयमा बुहारीले भोग्न पर्ने कठीनाई, भाउजूले पतिबाट मायाको सट्टा घरकाको कुरा सुनेर पाएको कुटाई, साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाललाई सानो भए पनि आँखाको नानी छ भने जस्तै कृतिकारले ‘जत्रो होस् मेरो लागि विशाल छ’ भन्दै देखाएको राष्ट्रभक्ति तथा मातृभूमिप्रतिको माया, प्राकृतिक चित्रण, बाल्यजीवनमा भोगेका भोगाईको सुन्दर प्रस्तुतिले लेखलाई अति सारगर्भित र स्मरण योग्य बनाएको छ ।
बालिकामाथि शोषण– यस लेखले आजको समयमा बालबालिकाप्रति गरिने शोषण त्यसमा पनि बालिका माथिको शोषणलाई समाज सुधारक, महिला कल्याणवादी आदि कसैले पनि यसमा ध्यान नदिएको, धर्मको नाममा देवी बनाएर गरिने शोषण, शिक्षा अधिकार, बाल अधिकारमा सीमितता, बोक्सी, झाँक्री आदि अन्धविश्वासमा गरिने बालिका माथिको शोषण, जागिर लगाइदिने वाहना, बालिकालाई आश्रममा भित्र्याएर अस्मिता लुटने काम, विदेशमा लगेर चेली लुटाउने काम, देवीदेवताको नाममा सिङ्गो समाजलाई लुटाउने काम आदिमा प्रकाश पारेको छ लेखले । देशमा देखिएको बालबालिकमाथिको शोषणको अन्त्य चाहेको छ लेखले । प्रमाणितरूपमा प्रस्तुत गर्न खोजिएको यो लेख मार्मिक छ र सबैको हृदयलाई छुन्छ । के लेखौं निबन्ध ? शीर्षकमा बन्धनै नभएको निबन्ध जे विषयमा लेखे पनि हुने होला भन्दै विषयको खोज गरिएको छ ।
समाजको विकृतिमा (चेलीबेटी बेचविखन, देहव्यपार, लागुपदार्थ–दुव्र्येसन, मादक पदार्थ उत्पादन र सेवन, ओसारपसार, हिंसा, बलत्कार, अन्धविश्वास, भ्रष्टचार, बोक्सी आरोपकको यातना, युवा नसाले लट्ठिनु अपाङ्ग बन्नु ‘ऐतिहासिक धरोहरलाई टुटाएर फुटाएर, जलाएर, नष्ट–भ्रष्ट गर्ने संस्कारको विकास भएको छ भन्ने कुरा पनि अरुलाई किन सुनाउने’ जस्ता कारण), राजनीतिक क्षेत्रको विकृति, शैक्षिक क्षेत्रको विकृति, स्वास्थ क्षेत्रको विकृति, आदिको कारणले गर्दा यी विषयमा निबन्ध लेख्न मन नलागेकोले ‘अब के विषयमा चै लेख्ने हो ? सोच्दा सोच्दै लेख्न थालेको सानो कागजको टुक्रा पनि सकिएको लेखनीमा मसी पनि तुरियो ।विजनुली बत्ती पनि झ्याप्प निभ्यो । अन्तत्वगत्वा निबन्ध लेख्ने मेरो हृदयको इच्छा जागिनै रह्यो बाँची नै रह्यो’ भन्दै लेखको बिट मारिएको छ । देशका समाजिक क्षेत्रका विविध विकृतिहरू,अर्थिक क्षेत्रको अनियमता/भ्रष्टचार, शैक्षिक क्षेत्रको अव्यवहारिक शिक्षा, स्वास्थक्षेत्रको विकृति आदिलाई देश र जनताले भोगेको यथार्थतालाई प्रष्ट्याउने प्रयास गरिएको छ । यस लेखले आजको देशको यथार्थतालाई सवलरूपमा उठाएको छ र सुधारको आवश्यक्तालाई दर्शाएको छ ।
हलेसी गुफा र हलेश्वर महादेवको प्राप्ति – यो नवौं निबन्ध हो । गुफा विश्व ब्रह्माण्डको साथसाथै उत्पत्ति भएको, यसमा शिवजीले वृकासुरको तपस्याबाट खुसी भै वृकासुरले ‘‘ आफ्नो हात जस्को टाउकोमा राखे पनि ऊ डढेर खरानी होस्’’ भन्ने वर मागेपछि, वर दिँदा, वृकासुरले परम सुन्दरी पार्वतीलाई हरण गर्ने मनशायले शिवजीकै थाप्लामा हात राख्न दौडिएको । शिवजीले यहाँ आई एउटा दुलो बनाई (जस्लाई वसाहा दुलो भनिन्छ), वसाहालाई बाहिरै छाडी एउटा दुलो पारी, अलिक पर पूर्वपट्टी ठूलो खाल्डो बनाएर पार्वतीलाई भित्तापट्टी पहराको खोपामा लुकाई आफू पनि लुक्नु र यो कुरा विष्णुलाई पत्तालागेपछि विष्णुले पार्वतकिो रूपधारण गरी वृकासुरलाई नचाउँदै उसको हात उसैको थाप्लोमा राख्न लगाई भष्मपारी, शिवजीको पूजा गरेर वैकुण्ठको बाटो लिए को, यसरी हरिले शिवजी (हर)को पूजा गरेकोले हरेश्वर नामाकरण भएको तर सुन्नेले हलेश्वर सुनेकोले हलेश्वर नाम प्रचलित भएको धारणा आउको छ निबन्धमा । यस लेखले पूजा आर्चना प्रारम्भको बारेमा, ३००० वर्ष पहिलेदेखि गुठी व्यवस्थापन भएको, मोरङ जिल्लामा पनि खोटाङ्ग जिल्लाबासीले हलेसी महादेवको स्थापना गरेको विवरण पनि यसलेखमा समावेश भएको पाइन्छ ।
बालाचतुदर्शी (एक अनमोल पावन पर्व)मा हलेशी महादेव दर्शन– हलेसी गुफा र महादेवको बारेमा नवौं निबन्धमा हामीले धेरै जानकारी लिइसकेको छौ । यस निबन्धमा विराट नगरबाट हलेसी महादेव गुफा (खोटाङ)सम्म पुग्न यातायातको समस्या खर्चिलोको साथै बालाचतुर्दसीका दिन विहानै ५ बजेदेखि बत्ती बाली बस्ने, रुद्री गर्ने, ब्रतबन्ध गर्ने, विवाह गर्ने लाख बत्ती बाल्ने आदि क्रियाकलाप मध्ये लाखबत्ती बाल्नेको संख्या बढता भएको, देश भरीबाट मानिसको ओइरो लाग्नेलाई राम्रो पक्षमा लिनु पर्ने, आध्यात्मिक चिन्तनले सबैलाई एकसूत्रमा बाँधेको, शिवजीप्रति दृढ विश्वास र पूर्ण आस्था भक्तजनमा रहेको, सुधारका पक्षहरू पनि थुप्रै रहेका (जुता, पेटी, कुटुरो सहित मन्दिभित्र प्रवेश, स्वयमसेवक नखटिएका, सरसफाइकको कमी, बत्तीको राम्रो बन्दोबस्त नभएको, हलेसी बाबाको गलामा आभुषण नभएको, आदि थुप्रै कमी देखिनु), बालाचतुर्दसी, शिवरात्री र राम नवमी गरी तीनपटक मेला लाग्ने आम्दानी करोडौं हुने तर मन्दिरको व्यवस्था पन भएको नपाइनु आदि विवरणहरू यथार्थपरक रूपमा प्रष्ट पार्दै समितिका सदस्यहरूलाई सुझाव दिँदै, हलेसी स्थानको संरक्षण र सम्वर्धन गर्न पछि नपरौं भन्ने आग्रह सहित यो निबन्ध समाप्त भएको छ ।
श्रीशंखेश्वर महादेवको प्राकट्य र अन्तध्र्यान योगमाया तपोभूमि – शंखेश्वर महादेवको प्रकट भोजपुरको मझुवाबेंसी वडा नं ४ नेपाले डाँडा गा .वि. समा भएको, अरूण नदीको किनारमार अवस्थित एउटा ठूलो चप्लेटी ढुङ्गामा शंख जस्तै आकार भएको पोखरीको बीचमा शिवलिङ्ग, त्यो शिवलिङ्ग पानीले कहिल्यै नडुवाउने, अन्नबाली, कुस, फूलको शोभा, किनारको नजिक सालको रूख, सालको रूखमा टोड्को, टोड्कोमा सर्पको वास, शंखेश्वर महादेको छेउःमा योगमाया ध्यानमा बस्नु, सर्पले योगमायाको शिर, घाँटी ढाकेर बस्नु, योगमायाले महादेव र नाग देवतालाई गाइको दूध चढाउनु, समाजले इर्षा र डाह गर्ने, तपस्वी, योगी र सन्यासीहरूलाई सरकारसँग सहयोगको माग, सरकारले उन्लाई र समर्थकलाई समेत पकडनु र भोजपुरको झ्यालखानमा थुन्नु, त्यहाँबाट धनकुटामा लगेर नेल ठोक्नु, त्यहाँबाट छुटकरा पाए पछि १४ दिनसम्म लगाएर हिडेर काठमाडौ पशुपतिमा पुगी न्याय पाउँ दया होस् सरकार भन्दै पशुपतिमा ७२ घण्टा उभिनु,सरकारले देशद्रोही भनेर लान्छना लगाएर जेलमा राख्ने तयारी त्यहाँबाट छुटकारा लिई मजुवाबेंसीमा आएर, अग्निमा समाधि लिन तयार सरकारले थाहापाए पछि उनी र दाउरा जम्मा गर्नेहरूलाई पक्डेर धनकुटा चलान, धनकुटामा जेलमा पनि केही नखाई ध्यानमात्र गर्नु, पुसिल चकित हुनु, योगिनी भएको ठहर गरी जेलबाट मुक्ति गर्नु, शंखेश्वरबाबाको नजिक कुटिमा पुगेर ध्यानमा लाग्नु, लान्छना लगाउँदै भाइले बुहारीलाई जान रोक लगाएको तीनदिनमा रुखबाट लडेर भाइ मर्नु, निराहार भएर बस्नु र १८, २३, ३२ दिनमा फलाहार गर्नु, आदि कठोर तपस्या गर्दै, प्रवचन दिनु, जल समाधि गर्ने विचार गर्दा, शंखेश्वर महादेव अलप हुनु, वि.सं. १९९८ सालको अषाढ महिनाको २१ गते अरुण र इखुको दोभानमा जल समाधि लिनु, उनको साथमा ६७ जनाले पनि जल समाधि लिएको धारणा, यो तपोभूमि पवित्र भूमि भएको र यसको सम्बर्धन सबैले गर्नु पर्ने भनाइ राख्दै यस निबन्धको समाप्ति हुन्छ ।
दशै पर्व – दशैको परिभाषा निबन्धकारले यसरी दिनु भएको छ – ‘‘ठूलाका हातबाट साना उमेरकालाई टीका जमरा लगाई आशीर्वाद दिने र लिने चलन नै चल्ने भाषामा दशै हो’’ । यस लेखमा दशैको नवरात्रीमा दुर्गाका नौ रूप (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायानी, कालारात्री, महागौरी र सिद्धिदात्री)को पूजा गर्ने, देवीलाई देवीको रूपमा मानिने, ब्रह्माको द्विपरार्ध आयु पुरा भए पछि ब्रह्मा पानीमा अन्तध्र्यान हुनु, शेष नागको मुखबाट अग्नि निस्केर सारा संसार ध्वस्त हुनु, ठूलो वर्षा हुनु र संसार जलमय हुनु, शिवजीले एउटा टापु सिर्जना गरी ध्यानमा बस्नु, शिवजीको आँखाबाट निस्केको तेजबाट विष्णुको उत्पत्ति गराई, सृष्टि गरेर संसार भर्ने आज्ञा दिनु, पाँच तत्त्व (पृथ्वी, अप, तेज, वायु र आकाश) मिलाएर एउटा शत्तिल्शालिनी देवीको प्रकट गराएर आफ्नो बायाँ अङ्गमा बसाइ अर्ध नारीश्वर भई, विष्णुलाई बोलाई माहामायाको तपस्या गर्न लगाएर महामायाले विष्णुलाई सृष्टि गर्न सक्ने वर दिनु, विष्णुको नाभीबाट पञ्चमुख भएका ब्रह्माको उत्पत्ति हुनु, ब्रह्माले झुटो बोलेको र छोरी सरस्वतीमाथि अनिष्ट चिताएकोले छोरीको श्राप परी एक शिर पतन भई ४ शिर रहेको, यसरी सृष्टिको थालनी भएको, त्रेता युगमा रामले नौ रथाको नौ दिनसम्म देवीको पूजागरी शक्ति आर्जन गरेर रावणलाई मारी सीता फिर्ता गरेका, द्वापरमा वासुदेव र देवकीले देवीको पूजा गरेका, आज पनि देवीको पूजा गरी शक्ति आर्जन गर्नेले देवी पूजा गर्दै दशैं मनाउने गरेको भन्ने धारणा सहित कृतिकारले तडक भडक नगरी सौहार्दपूण, शान्तिमय वातावरण साथै मितव्ययितामा दशै मनाउने आग्रह गर्दै यो लेखको बिट मारिएको छ ।
सर्पले उडाएको सातो – खाटमा बसेको अवस्थामा ओढेको कपडा सर्नु र स्याँक्क आवज आए पछि सर्प देखिनु, सर्पको डरले हरि बाबुलाई बोलाउनु र हरि बाबुलाई सर्पलाई मार्न हुँदै नभन्दा भन्दै हरिबाबुले सर्पलाई मार्नु, निबन्धकारले सर्प मार्न आदेश दिने व्यक्तिमा घटेको घटनालाई सुनाउनु, सर्पमार्न आदेश दिने व्यक्ति सुत्ने वेलामा स्वाँको आवाज आएको र घरभित्र प्रवेश गरेपछि सर्पझै गुडल्किएर हिड्नु, धूप धुवाँ गरेर नागको पूजा गर्नु परेको घटनाको साथै कुनै पनि प्राणीलाई मार्न नहुने र संरक्षण दिनुपर्ने धारणा राखिएको छ कृतिमा ।
भूकम्प– वैशाख १२ र २९ गते भूकम्पले ल्याएको कालो दिनको बारेमा प्रकाश पार्दै कृतिकारले यो भूकम्पले सबैलाई दुःख दिएको धनजनको क्षती भएको, भूकम्प जानुको कारण कसैले प्रकृति रिसाएको, कसैले पृथ्वीलाई बढी भार भएको, कसैले प्लेट जुधेको भन्ने गरको, भूकम्प निरोधक घरहरू बनून्, भूकम्पमा मृत्युवरण गर्नेहरूको आत्माले शान्ति पावस् र बाँचेकाले धैर्यधारण गर्न सकुन् भन्ने धारणा पस्किएको छ निबन्धमा ।
अघिका कुरा– यस निबन्धमा २०७३को पौष २३ गतेको साहित्यिक कार्यक्रममा ‘महान योद्धा, राष्ट्रसुधारक, गुणी उपकारी, नेपाली हृदयका स्पन्दन, एकताका प्रतिक राष्ट्रनायकको चर्चा– परिचर्चा निक्कै भयो ’’ भन्दै पृथ्वी नारायण शाहले नेपालका साना साना राज्यहरूलाई एकीकरणको थालनीलाई राजेन्द्रलक्ष्मी शाह बहादुर शाहले निरन्तरता दिंएको देवर भाउजूको झगडाले गर्दा बाँकिरहेका राज्यलाई भीमसेन थापाले समेत एकीकरण गर्न भ्याएको, बहादुर शाहले ३ वर्ष राज्य गर्दा मृत्यु भै बालक रणबहादुर शाहलाई राजा बनाएको, र यिनकै पालादेदि खिचातानी सुरु भएको, गिवार्णलाई १७ महिनाको उमेरमा राजा बनाइएको र थापा र पाण्डे दुई गुट भएर निस्किएका, वंशराज पाण्डेलाई राजेन्द्र लक्ष्मीस्ँग वात लगाएर उनकै अगिल्तिर खुकुरी प्रहार गरिएको भीमसेन थापालाई सेर्न लगाइएको, देशको हित विपरित सुगौली सन्धि गरिएको, जङ्गबहादुर राणा शक्तिवान भएर श्री३ महाराज घोषणा गरेको, कोत पर्व,, भण्डारखाल पर्व, अलौ हत्याकाण्ड जस्ता काण्ड भएका, वि.सं. २००३ सालमा काँग्रेश र २००६ सालमा कमुनिष्ट पार्टीको गठनभएको, २००४ सालमा पद्म शमशेरले संविधान जारी गर्नु तर लागु नगर्नु, राजा त्रिभूवन भारत पलायन, १०४ वर्षको राणा शासन ढल्नु, प्रजातन्त्र आए पनि चाँडैनै समाप्त गरी पञयती व्यवस्था थालनी, महेन्द्र पछि वीरेन्द्र राजा बन्नु २०४६ सालमा वीरेन्द्रले बहुदलीय व्यवस्था स्वीकार्नु । २०५८ साल जेठ १९ गते वीरेन्द्रका् वंश नाश, २०६३ साल वैशाख ११ गते बहुदलीय शासन प्रणाली पनि ढलेर लोकतन्त्र हुँदै गणतन्त्रमा आउनु जस्ता नेपालको लामो शासन व्यवस्थालाई कृतिकारले प्रष्ट्याउनु भएको छ । उदयानन्द, भक्ति थापा, बलभद्र कुँवर, अमरसिंह थापा, शहीद गङ्गालाल, धर्मभक्त, दशरथचन्द र शुक्रराज शास्त्री आदिको राज्य एकीकरण र प्रजातन्त्रको लागि पुर्याएको योगदानलाई प्रष्ट्याउँदै कृतिकारले लेख्नुहुन्छ –‘‘अतः पुष २७ गतेलाई नेपालको र नेपालीको भाग्यरेखा कोरिएको दिन हो भन्न गौरव लाग्नु पर्छ सच्चा नेपालीलाई । अटुट एकता र अखोट्य सार्व भौमिकताको शान मान पाएको दिन हो भनी ठोकुवा गरेर भन्न सक्नु पर्छ । यदि नेपाली सबैलाई चेत भया’’ । यस लेखमा निबन्धकारले पृथ्वी नारायण शाहलाई उच्च प्रथमिकताको साथै नरभूपाल शाहदेखि हालसम्मको यतिहासिक घटनाक्रमलाई, राष्ट्र राष्ट्रियता र तत्कालीन समाजले भोगेका र राज्यले दिएका यातना समेतलाई सफलताको साथमा उठाउनु भएको छ ।
माघ– यस निवन्धमा सरस्वती पूजाको समयमा आगलागिको घटनाक्रमले निबन्धकार झस्केको धारणको साथै योगेश भट्टराइृको ‘‘सगरमाथाको उद्बोधन’’ र सिद्धिकर्ण शर्माको ‘‘पूर्वाञ्चल नेपाली साहित्यको विकास’’कृतिहरू साहित्यिक कार्यक्रममा विमोचन भएका र साहित्यिक विविध कार्यक्रमलाई पनि प्रष्टाइएको छ ।
सामाजिक गन्थन –यस निबन्धमा निबन्धकारले भोजपुरदेखि विराटनगर आएर सङ्घर्षमय जीवनका खुड्किला पार गर्दै महिनामा ३० रुपियाँ उठाउँदै एउटा बचत समूह खोलेर, यसलाई बढाउँदै ‘‘असहाय पुनस्र्थापना’’को नामा २०५७ साल वैशाख २ गते जिल्ला कार्यालमा दर्ता भै समाजकल्याण परिषद एव म लागु पदार्थ दुव्र्यवसन निवारण आयोगमा सूचिकृत भएर विविध कार्यक्रमहरू सञ्चालन गरेको, संस्था भ्रमणको कर्ममा विराटेश्वर संस्थाले राम्रो काम गरेको र साथै अठोट लिएर काम गरे सफल हुने धारणा यस लेखमा आएको छ ।
चैत्र महिना – यस लेखमा कृतिकारका बुबा बैजनाथ भट्टराईको जन्मा १९७१ चैत्र १५ गते भएकोले मिति २०७३ को चैत्र १५मा जन्मजयन्ती मनाउनको लागि साहित्यिक कार्यक्रमको आयोजना गरिएको, यस कार्यक्रम्मा योगेश भट्टराईद्वार सिर्जना गरिएका आमृत वातावरण र कसैको यादमा (कविता सङ्ग्रह) विमोचनको साथै कविता वाचन गरिएको धारणा आएको छ । वैजनाथले आधादर्जन कृति प्रकाशन गरिसकेका र करिब आधा दर्जनको हाराारीमा अप्रकाशित कृतिरहेको उनको बृद्धकाल विदुरको रूपमा बिताउन परेको आदि साहित्यिक कार्यक्रमको साथै वैजनाथजीको जीवन दर्शन एव म उनको बारेमा कृति पनि यहाँ प्रस्तुत गरिएको विवरण जानकारी गराइएको छ ।
गोठधूप –गोठधूप यस कृतिको अन्तिम निबन्ध हो । यस निबन्धमा भट्टराईहरूको कुलपूजाको बारेमा प्रकाश पारिएको छ । भट्टराईका कुलदेवता आदिमष्टा र बारमण्डली हुन् । आदिमष्टा मामा र बारमण्डली भान्जा, मामालाई कालो बोको र बारमण्डलीलाई सेतो बोको चढाइने, भट्टराईहरूले दिवाली पनि गर्ने, कुलपूजामा मष्टा उत्रने, कुलपूजा नगरे बिघ्न बाधाहरू पर्ने, विविध घटनाक्रम, वंशावलीको विवरण आदि यस लेखले समेटेको छ ।
भाषशैली –भाष सरल छ । सबैले सहज पढन, बुझ्न सक्छन् । यथा स्थानमा ‘सरकारको काम कहिले जाला घामड ‘तालुमा आलु फल्ने’, ‘भक्कुमार’, ‘फेद टुप्पो जस्तो’ आदि उखानटुक्काले सजाइएको छ ।लेखका भावनाहरू स्वच्छन्दरूपमा बगेका छन् । धार्मिक वर्णनमा कतै कतै संस्कृतका शब्दहरू प्रयोगमा आएका छन् । यी शब्दलाई नेपालीमा रूपान्तरणको आवश्यक्ता देखिन्छ । समग्रमा भाषको प्रयोग सरल र सुबोध छ ।
शीर्षकको सार्थकता –यस कृतिमा समावेश गरिएका अधिकांश लेखहरू विभिन्न स्थानमा धार्मिक कार्यक्रम, साहित्यिक कार्यक्रममा अवलोकन गरिएको यथार्थतालाई स्मरणको रूपमा लेखिएको हुँदा ‘‘स्मृतिको झोला’’ नामाकरण सार्थक देखिन्छ ।
परिवेश– माथि निबन्ध सारबाटै पत्ता लाग्छ कि यस कृतिका निबन्धहरू नेपालभित्रकै विभिन्न धार्मिक क्षेत्रको परिवेशमा लेखिएका छन् । धार्मिक क्षेत्रमा पुगेर लेखिएका यी निबन्धले समष्टिरूपमा ती धार्मिक क्षेत्रको यथार्थता प्रष्ट्याउन सफल देखिन्छन् । राजनैतिक अवधारणालाई केलाउँदा नरभूपाल शाहदेखि हालको गणतन्त्रसम्मको परिवेशलाई समाएको छ । धार्मिक अवधीलाई हेर्दा सत्ययुग देखि हालसम्मको धार्मिक परम्परा र संस्कारलाई समेट्न सकेको छ । विविध दृष्टिकोण र परिवेशमा यो कृतिको सिर्जना गरिएको छ ।
उद्देश्य– अधिकांश यस कृतिका लेखहरू धार्मिक महत्त्वको सन्देश दिएता पनि,देशको आर्थिक सामाजिक, राजनैतिक, शैक्षिक, साहित्यिक विविध विकास क्रमको सन्देश प्रवाह गर्ने उद्देश्यमा पनि पछि परेको छैन ।
अन्त्यमा – निबन्धले धार्मिक आर्थिक सामाजिक,सांस्कृतिक शैक्षिक पक्षलाई प्रष्ट्याउने प्रयास गरेको छ । प्राकृतिक चित्रण, वातावरणको अवस्था, त्यहाँ भएका कमी कमजोडी, त्यसमा अपनाउन पर्ने सुधार, आजको समयमा विकासक्रम, पहाडी जीवनको कठिनाई, पहाडी जमिन बाँझिन थालेको यथार्थता, राजनीतिले पारेको असर आदि थुप्रै विषयबस्तुमा कृतिकारको ध्यान गएको पाइन्छ । त्यसो हुँदा कृति पाठकको आकर्षको रूपमा प्रस्तुत भएको छ ।
र्मैले यी बाक्य भनिरहँदा के यसमा कमिकमजोडी केही छैनन् । निश्चय पनि आलोचनाको दृष्टिबाटमात्र कुनै चिजलाई हेर्न हुँदैन । पूर्णता कहीं पनि पाइँदैन । सकरात्मक सोचबाट हेर्दा यस कृतिमा पनि परिमार्जनको केही आवश्यक्ता देखिन्छन् । त्यो लेख्दै जाँदा परिमार्जन पनि हुँदै जाने क्रम हो । गहन कृतिकी निबन्धकारलाई दीर्घायु, सुस्वास्थ, दीर्घ साहित्यिक यात्राको लागि मुरी मुरी कामना सहित आभार व्यक्त गर्दै बिदा चाहन्छु ।
धन्यवाद
मिति २०७४ साल चैत्र १० गते, कावासोती –७ शान्तिचोक,नवलपुर, प्रदेश नं ४

ल धेरै असल समीक्षा अायाे ।
ल धेरै असल समीक्षा अायाे । सदानन्दज्यूमा धेरै धेरै बधाइ तथा शुभकामना ।