गलत को परिभाषा नै के छ र साथी ???
यहाँ त सही कुरो पनि गलत साबित बन्छ ।
सभ्यताको भ्रुण मेटाउन प्रयत्न हुन्छ यहाँ
कुरो त आकर्षक यतिसम्म हुन्छ कि ….
जून र धरती यही हुन्छन
काडा तुरुन्त झिकेर बल्सीमा माछा पर्छ
किनकि सही विश्लेषण हुदैन यहाँ
झोले को बाहुल्यता हुन्छ जहाँ ।
मन्दाकिनी को पानी पनि कालो, चरेस पनि कालो
चूक पनि कालो, साउनको रात पनि कालो
कसैको मनै कालो, बाहिर देखावटी जालो !!
छि !! थुक्क !!! कतिसम्म कालो ???
गलत पनि आफूलाई सही साबित गरिदिन्छ यहाँ !!
किनकि सही विश्लेषण हुदैन यहाँ
झोले को बाहुल्यता हुन्छ जहाँ ।
पुरिदैन कसैको घाउ आलो !!
एक दिन सबैको आउँछ पालो
विकसित देशका कुरामात्र रटान मारेर
आफ्नो माखासम्म नमार्ने !!!
दर्शनको भने हरेक वाद दिनहु थप्ने !!
हे नेता हो !!!
हे भ्रष्ट हो !!!
काम गर्नेलाई गर्न देऊ
सहिलाई सही भन
गलतलाई गलत भन
बुइ थापेर किन हिड्छौ ??
किनकि सही विश्लेषण हुदैन यहाँ
झोले को बाहुल्यता हुन्छ जहाँ ।
यो मेरो, ऊ अर्काको !!
आफ्नोपन को दुर्गन्ध छ्याप्ने बाहिर पर्फ्युम घस्ने
यहाँ गलत नेता भित्र
राम्रा राजनेता को नि जमात छ !!
गलत गर्नेको बीचमा
सही गर्ने र गराउने मानसिकता छ
विवेक प्रयोग गर
विवेक को प्रयोगशालामा
अनि पुज्नेछौ हामी तपाईंलाई
किनकि सही विश्लेषण हुदैन यहाँ
झोले को बाहुल्यता हुन्छ जहाँ ।
मान्छे को बिरोध होइन
गलत कामको बिरोध गरौ !!
पार्टी को बिरोध होइन
पार्टी भित्रका जल्लाद र शोशकको बिरोध गरौ ।
संस्था को बिरोध होइन
संस्था भित्र को गलत तत्व को बिरोध गरौ
समाजको बिरोध होइन
समाजलाई माथि उठ्न नदिने जूका हरुको बिरोध गरौ
देशको आलोचना होइन
देश को फेश बिगार्नेलाई सजग गरौ, बिरोध गरौ
सही को सम्मान गरौ
गलत को सदा बिरोध गरौ
हामी पढेलेखेका तब भनिनेछौ !!!
– शिवराज कलौनी
(मा वि शिक्षक )
श्रीकेदारेस्वरमा वि दुर्गास्थान, बैतडी
