Skip to content


मानोलाई खाई उब्जाऊँ मुरी किसान भन्दछन्
असारभर पसिना बगाई मङ्सिरलाई गन्दछन्

झ्याउँकिरी बास्यो खेतालो नाच्यो भ्यागुतो करायो
लौ मेलो छोडौँ बालबच्चा रोए उज्यालो हरायो

झिसमिसमा उठ्छन् गाउँका मान्छे कामको चटारो
कुलो तेस्र्याउने पानी सोझ्याउने दिनरात हतारो

रोपार, बाउसे, हल गोरु जुटाइ बेठी खै घन्कन्न
पर्मा छ तिर्नु बोलाएनन् खै मन छैन प्रसन्न

असार पन्ध्र दही चिउरा खाम्’ला लैनो छ भैँसी त्याँ
जेठी बज्यैको हात छ ठूलो शान्ति छ पेटमा

रोपार बाउसे हली हिलोमा छ्यापाछ्याप गर्दैछन्
हजुरामाले काडेको बिउलाई बालबच्चा छर्दैछन्

मूल्घरे दाइ बेँसी झरेछन् दुई हल नारेछन्
ओख्ले, मुस्लेले रोपाइँ सके रे नौनी खुब खारेछन्

गलेको जिउ, खारेको घिउ आनन्द रातमा
सुखको मानो नखाए पनि निद्रा छ साथमा

असार महिना फुर्सद छैन खेती र मेलापात
पानी र झरी मान्छे खेतभरी न रोग वज्रपात
सुगर, प्रेसर रोगका सिकार बसेर खानेलाई
टेन्सन हुने, मनमा रुने सहरमा रोगै खाई

धाराको पानी, घरकै अन्न करेसा सागसब्जी
एकता राम्रो संस्कृति हाम्रो चाहिन्न सम्पत्ति

सकियो रोपाइँ, साउन अब फालौँ न लुतोलाई
पूजा व्रत छन् मीठो खाऊ लौ सफा भै नुहाई

आयो है दशैँ हरियो धान फूल खेल्यो खेतमा
बरादो गाउँदै मुरी थन्क्याऊँ अबको भेटमा

हिउँद पर्खी यी दिन बिते जीवन असारे
न मन रुन्छ न पीडा छुन्छ मनमा विचारे ।

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *