“आफ्नो सपना पुरा गर्न विदेश आएको त अहिले घर फर्किन पो सपना भयो,” वीरेन्द्र भोड्का को चुस्की लगाउदै साथीहरुलाई सुनाउदै थियो ।
वीरेन्द्रको भनाइमा ऊ केवल दुई वर्षको लागि विदेश आएको थियो तर देशमा बढ्दो महंगी, असुरक्ष्या र पैसाको लोभले उसलाई अहिलेसम्म विदेशले जकडी राखेको थियो ।
आज शुक्रबार । अरु छुट्टीको दिनमा जस्तै आज पनि वीरेन्द्र साथीहरुसँग बिदेशी भूमिमा मनको बह साटिरहेको छ । अरु दिन जस्तो प्रसन्न हुनुको सट्टा आज भने ऊ अलिक भावुक छ ।
“परिवार छोडेर विदेश आएका व्यक्ति मध्ये ७०%मा मानसिक रोग लाग्छ भन्थे, हो रहेछ,” मसलाले लत्पतिएको कुखुराको लेग पिस प्लेटबाट उठाउदै वीरेन्द्र भन्छ । वरिपरि बसेका साथीहरू उसको कुरामा सहमत हुँदै आ-आफ्नु गिलास उठाउछन् ।
“पोहोर साल घर गएको, छोराले नचिनेर हैरान नै पार्यो । मलाई त आफ्नै बेड रुममा पनि पस्न नदिएको,” वीरेन्द्र हिक्क गर्दै गिलास रित्याउदै भन्छ ।
अरु साथीहरू एक आपसमा हेराहेर गर्छन । नशा उनीहरुलाई पनि चढेको छ तर वीरेन्द्र बाहेक सबै मौन छन् ।
“आफ्नै छोराले त दुस्मन जस्तै व्यवहार गर्यो, श्रीमती झनै नवदुलही जस्तै लजाइरहेकी थिइन् । विवाह गरेर ल्याउदाको पहिलो सुहागरातको जस्तो ।”
उसले गहभरि टिलपिल आशु पार्दै भनिरहदा अरु अविवाहित साथीहरू भने पेट मिचीमिची हाँसिरहेका छन् ।
