गयौ तिमी, मन शून्य छ
निवास, आँगन शून्य छ
सहस्र दर्द छ देहमा
छ रुद्ध धड्कन शून्य छ
सताउँदै छ उजाडले
फुलेन कानन शून्य छ
रहेन आस बहारको
उडेर शोभन शून्य छ
निकास बन्द छ आँसुले
छ तीव्र रोदन शून्य छ
लग्यो चुँडेर निष्ठुरले
दुखेर आसन शून्य छ
न बज्छ गीत मिठासको
न चल्छ वाहन, शून्य छ
छिनेछ तार सितारको
सुनिन्न गायन शून्य छ
लुट्यो सुशान्ति वियोगले
बढेर उल्झन शून्य छ
विदीर्ण भो तन बेसरी
प्रगाढ चिन्तन शून्य छ
धुजा भए सब चाहना
विरक्तले पन शून्य छ
छ अन्धकार जताततै
निभेछ रोशन शून्य छ
निल्यो सदैव हताशले
फुरेन सिर्जन शून्य छ
भएन छङ्ङ कतै पनि
धिमा छ लोचन शून्य छ
रिझेन दैव कसै गरी
पुकार, साधन शून्य छ
थचारिए परिकल्पना
समग्र वाञ्छन शून्य छ
निसासिँदै छु पला पला
खुलेन जीवन शून्य छ
ISI SII SIS
तालूङ छन्द
गण :- ज भ र
विश्राम:- ४ अक्षरमा
-कोमल भट्ट
च.न.पा-१३, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
