
परिचय–
साहित्यिक क्षेत्रमा सरोज उजाडले चिनिने व्यक्तिको वास्तविक नाम टंकप्रसाद काफ्ले हो । माता धर्मदेवी काफ्ले र पिता टीकाराम काफ्लेका सुपुत्र सरोजको जन्म साविक पिठौली गा.वि.स वार्ड नं २मा भएको थियो । पेशागत रूपमा उहाँ एक अध्यापक हुनुहुन्छ अध्यापनमा मात्र सीमिति नभएर उहाँ एक बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ ।स्नातकोत्तर (नेपाली) शिक्षा हाँसिल गरेका सरोज उजाड एउटा होनहार युवा साहित्यकार पनि हुनुहुन्छ । काँचुली हवाई पत्रिका पाल्पामा विसं २०५४मा मुक्तक लिएर उदाएका सरोजको कविता, गजल, कथा, उपन्यास, हाइकु, मुक्तक र गीतमा पनि आफूलाई चिनाउन सफल देखिन्छन् ।
अमिट स्मृति साहित्य कुञ्जको प्रमुख सञ्चालक, नवलपरासी साहित्य परिषको संस्थापक सदस्य रहनु भएका सरोज चितवन र नवलपरासीका करिब एक दर्जनजति साहित्यिक संस्थामा आवद्ध भएर साहित्य सेवा पुर्याउँदै आउनु भएको छ भने विद्यालय तथा विभिन्न साहित्यिक संस्थाबाट सम्मानित पनि भैसक्नुभएको छ । हालसम्म उहाँका मन (गजलसङ्ग्रह, २०६५), मेरो मन (गजलसङ्ग्रह, २०७५) र हैसियत (संयुक्त गजलसङ्ग्रह, २०७५) गरी ३ओटा कृतिको साथै विभिन्न पत्रपत्रिकामा उहाँका लेख रचनाहरू हामीले अध्ययन गर्न पाइरहेका छौं । सरल जीवन, उच्च विचार, मन्द मुस्कान र हल्का दाह्री सुन्दर शारीरिक आकृतिले उहाँको आकर्षक व्यक्तित्वको परिचय दिन्छ ।
कृतिको संरचना – ७१ ओटा गजलहरू,गजलकारको परिचय,ज्ञानुवाकर पौडेल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, गोविन्दराज विनोदी, श्रेष्ठ प्रिया ‘पत्थर’ विष्णु लामिछाने, पुष्प अधिकारी अञ्जलि,कृष्णादेवी शर्मा एच.डि. पंगेनी र विष्णु परियारका शुभकामनाहरू, र उषा काफ्लेको प्रकाशनको साथै मन गजलसङ्ग्रह (२०६५)को छोटो परिचयबाट यस कृतिले जन्म लिएको छ । यस कृतिले कसैको भूमिका पाएको छैन । मूल्य रु. १५०/– राखिएको छ ।
शुभकामना अभिव्यक्तिहरू–शुभकामनाका स्वरहरू सबैका मिल्दा जुल्दा धारणा आएका जस्ता लाग्यो तर गोविन्दराज विनोदीको शुभकामनाले गजलकारको भावना र गजलले पस्केको सारतत्त्व समाएको र छोटो भए पनि यस कृतिको भूमिकालाई निभाएको जस्तो लागेकोले गोविदराज विनोदीका अभिव्यक्तिलाई यहाँ प्रस्तुत गर्न चाहन्छु –सुन्दर नेपाली लोकलय, तथा स्वनिर्मित लयका साथै केही शास्त्रीय बहरमा समेत सृजना गरेका एकहत्तर गजलहरूको दोस्रो सङ्ग्रह ‘मेरो मन’को प्रकाशनले, सरोज उजाडको सचेत प्रोढ गजलकारितालाई उजागर गरेको छ । प्रेम–प्रणय राष्ट्रभक्ति, सामाजिक जीवनका सङ्गत–विसङ्गत पक्षहरूको विघटन र जीवनवादी दर्शनले भिजेका सरोजका गजलहरू शारदीय निर्मल सरोवरका सरोजजस्तै्र नयनाभिराम र हृदयाभिराम छन् ।’
गजलसङ्ग्रहमा गोविन्दराज विनोदीले भनेका यथार्थतामा मलाई समसामयिकता र राजनीतिक व्यङ्गताले पनि गजलमा स्थान पाएका छन् भन्ने शब्द थप्न मन लाग्यो ।।
गजलभित्र प्रवेश गर्दा–सरोजका गजलहरू विविधताले भरिएका छन् । कुशल कालिगढले कलालाई सजाएसरि शब्दशब्दले सजिएका छन् । उनले छरेका भावनालाई एक एक गरेर अध्ययन गर्ने अनुमति चाहन्छु ।
प्रेमप्रणय र गजलकार –आजकल गजल लेखनमा विविधता आएको छ तर पुरानो परम्परामा गजल प्रेमी र प्रेमिका बीचको प्रेमपूर्ण वार्तालापमाा लेखिने विधा अर्थात नायिकाको सौन्दर्य र उसको प्रेममा आधारित भएर लेखिने विधाको रूपमा लिइन्थ्यो । आज गजल लेखनमा विविधता आए पनि प्रेमले अँझै महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । सरोजले पनि गजल लेखनमा प्रेमलाई महत्त्वपूर्ण स्थान दिएका छन् । मायामा कसम खाइन्छ, चोखो माया लगाइन्छ, उकाली ओरालीमा हात समाएर रमाइन्छ । मन्दिर मन्दिर मायासँग घुमिन्छ, पिङ खेलिन्छ, प्रेममा रोमान्चकारिता मात्र हैन,हाँसो रोदन, मिलन विछोड आदि धेरै घटनाले समाउँछ त्यसो हुँदा गजलकारले तिमी र म नभै हामी भएर दामी भएर, सुनामाी भएर, समाजमा भएका षडयन्त्रकारी, दुष्ट, फटाहा,दुर्जनभन्दा माथि भएर अग्रगामी भएर अगाडि बढ्नु पर्छ र नयाँ इतिहहास रच्नु पर्छ भन्छन् –
प्रेमको यस्तो नयाँ इतिहाँस रचौं
लैला मजनुको प्रेम कथा बेकामी हुनु पर्छ
गजल ४ पृष्ठ ७
पेशागत धारणा– भनिन्छ शिक्षा एउटा पवित्र पेशा हो । गजलकार स्वय म पेशामा शिक्षक हुन् । पेशागत धर्ममा गरिने कर्मलाई यसरी पस्केका छन् –
ेशिक्षक तिमी दीपझैं जली, सदा आलोक छर्दछौ
निष्प्राण ती लाखौं पत्थरका, मूर्तिमा प्राण भर्दछौ
(गजल ११, पृष्ठ ११)
कोरा निधारमा सुनौला भविष्य कोरिदिने, डाक्टर इञ्जिनिएर बनाइदिने शिक्ष्कको तलव न्यून, समाज र राष्ट्रलेद्वारा आदर सत्कारको कमी र सधैं अभाव र रोगी भएर अकालमा मृत्युवरण गर्नुपर्ने धारणा आएको छ ।
राष्ट्र र राष्ट्रियप्रति गजलकारको धारणा–सरोजका मन बचन र भावना रााष्ट्र र राष्ट्रियताप्रति समर्पित भएको पाइन्छ ।
देशको मुहार हेर्ने ऐना नेपाली चेहेरा हुन्
स्वयम्भूका आँखा भई झल्किन्छ मेरो मन
(गजल १,पृष्ठ १)
विभेद र गजलकार–विश्वमा आजकल विभिनन किसिमका विभेद देखिएका छन् । गजलकारले धनी र गरिब बीचमात्र विभेद नभएर सृष्टिकर्ताले सृष्टि गर्दा नै विभेद गरेको पाउँछन् र प्रश्न राख्छन् –
विधाता कसैलाई राख्छौ सडकमा, कसैलाई महलमा ?
कि तिम्रो पनि कानून बन्छ शक्तिशालीहरूको बलमा ?
सृष्टिमा समनता नदेखिएको, गरिबले परिश्रमको फल नपाएको, न्याय र सत्य पनि शब्दकोषमा सीमित रहेको,संसार सामन्तीहरूले चलाएको, भोक नाङ्गाको मुखमा ताला, संविधानमै विभेद, विविध किसिमका विभेदलाई गजलकारले उजागर गरेका छन् र यस्ता विभेद रहित समाजको चाहना छ गजलकारको ।
आन्दोलन, द्वन्द्व र गजलकार–आज विश्वमा शान्ति अमन चैन छैन । नेपालमात्र हैन विश्वमा नै यस्तो लहर चलेको छ । यस्ता अवस्थामा हत्या हिंसा, लुट चन्दा आतङ्क, बदलाको भावना लिने काम हुनु गाउँ गाउँमा बन्दुक र बम पड्कनु आदि धारणा सहित गजलकार भन्दछन् –
राते काले र च्यामे ढले, लास बनेर
पशु समान नर हत्या निर्भय गर्यो
प्रकृति/प्राकृतिक वर्णन र गजलकार –गजलकारले प्रकृति/प्राकृतिक सौन्दर्यलाई सजाएर मीठा गजलहरू सिर्जना गरेका छन् –
नदी गुफा र झरना, छन् हिउँ, ताल र पहरा
उठाई हेर न शिर, प्रिय प्रकृति कहाँ खाली छ
(गजल ८, पृष्ठ ८)
जीवन जगत र गजलकार–गजलकार जीवन जगतसँग परिचित छन् । जिन्दगीका विविध पक्षलाई गजलकारले नियालेका छन् र भन्छन् –
अमृत ठानी विष पिउनु पर्दा
बाँच्दै छु पलपल जहरमा
(गजल १९,पृष्ठ १९)
जिन्दगीको हर दौड हारेको मान्छे ऊ
सरोजलाई घोडा बनाई लगाम समाउँछ
(गजल ४८,पृष्ठ ४८)
नेतृत्वप्रति कटाक्ष–देशमा राजनीति गर्नेहरूले जनताको सेवा गर्नु पर्ने हो तर छलछाम, प्रपञ्च र पैसाको भरमा चुनाव जितेपछि आफूलाई महामानव सम्झने प्रवृत्तिप्रति कटाक्ष गर्दै नेतालाई यसरी सुझाव दिन्छन् —
राजनीति हो ठूलो समाज सेवा बुझ तिमी
नठानयसलाई पैसा फल्ने बोट तिमीले
(पृष्ठ ६५ गजल ६५)
साम दाम दण्ड भेद सबै अपनाइन्छ
जित्नु अघि कष्ट, पछि बसिन्छ आरामले
गजलमा विविधता –गजलकारले कतै भाग्यवादी सोचलाई समाएका छन्, कतै बृद्धाअवस्थामा उपेक्षितर र तिरस्कृत भइने यथार्थतामा पुगेका छन्, हतियारभन्दा शब्द बलवान पाएका छन्, रात परेपछि हुने कर्म राम्रा नहुने, अस्मिता लुटिने, सुरा र सुन्दरीसँग स्वाभीमान विक्ने, संविधान बनाउनेले जनतालाई नहेरी बनाएका कुरा, देश युगलाई हाक्ने नेताको आवश्यक्ता, कतै चाड पर्व दशैको आह्वान, कृष्ण र सुदामाको साथीत्व, कतै बाबुको अर्ती उपदेशमा अमरत्व कायम गर्ने कुरा, बाबा आमले सानोमा गरेका माया प्रेमकाा कुरा, मानिसमा कुरा काट्ने ढाट्ने प्रवृत्ति, न्यायको मार्गमा अघि बढ्नेलाई समर्थनका कुरा, धुर्मुस र सुन्तलीले भूकम्प र बाढी पीडितलाई राहत पुर्याएकका कुरा, आस्था डगाउने कुरा, विहानी हुनलाई रात ढल्नु पर्ने र उज्याले छर्नलाई आफै जल्नु पर्ने आदि विविध धारणाले सजिएका गजलहरू हामीले यहाँ पढ्न पाइन्छन् ।
गजलकारले गजल तत्त्वको अनुसरण गरेका छन् । भाषा सरल, सहज छ साथै सलल बगेको छ । गजल लययुक्त र धेरै जसो गजल गाउन सकिने खालका छन् । ‘मेरो मन’ शीर्षक पनि सार्थक देखिन्छ । गजलमा कुनै कमी कम्जोडी नै देखिदैनन् भन्ने प्रश्न उठ्न सक्छ । पूर्णता कहीं कतै पनि हुँदैन। परिस्कार र परिमार्जन निरन्तर प्रयासबाटै हुन जान्छ । समग्रमा गजल रामछन् र गजल लेखनमा गजलकार सफल देखिन्छन् । अन्त्यमा यस्ता विविधताले सजिएका गजल लेखनमा दक्ष देखिएका गजलकारको भविष्य उज्ज्वल होस् र लेखन र कृति प्रकाशनमा तीब्रता आओस् भन्दै बिदा चाहन्छु ।
धन्यवाद
मिति २०७५ साल अषाढ ६ गते
