बहिनी,
आँखामा कोरिएको तिम्रो आकृतिले
अचेल म हिड्ने प्रत्येक पाइला पाईलालाई
झस्काइरहन्छ र लखेटिरहन्छ तिम्रै किल्लातिर
र देख्छु चुम्दा नचुम्दै जीवनको प्रथम किरण
अर्कि बहिनीका डरले काप्दै गरेका ओठहरू
अनि निर्लज भै हेर्न विवश हुन्छु
अडिग, निडर र निरन्तर
न्यायको महासागरमा
लड्दै गरेका बा आमाका तिम्रै बिछोडका तिता र विदर्ण छातीहरू ।
कति कमजोर भएर हेरिरहेका छन् यी आँखाहरुले
हिजो मात्र दिदीले लेखेका
“छोरी अब तिमी नजन्मनु”
शिर्षकका लेखहरू
किन यतिसम्म सबैले आफूलाई आफैले कमजोर ठानिरहेछ्न् ?
के छोरी भई जन्मनु श्राप हो ?
के छोरी भई जन्मनु पाप हो ?
पापी त ती आमा हुन
जसले छोरीलाई वर्षौ देखि संस्कारको
घुम्टो मात्र ओढाइदिरहिन्
तिनै बा हुन जसले छोरी एक्लै हिड्न हुन्न भनेर
कमजोरताको पाठ पढाइरहे
तिनै दाजुभाइ हुन जसले,
दिदीबहिनी बिग्रन्छन भनेर शून्यताको घेराभित्र हुलिदिए
त्यही प्रेमी हो
जसले नारी भावनाको सम्मान गर्न जानेन
त्यही श्रीमान हो
जसले,आफ्नै अर्धाङगिनि प्रति अविश्वास को श्वास फेरिरह्यो
अनि ती न्यायालयका केही न्यायाधीश
र राजनीतिका राक्षस,दलाल पापी हुन
जसले, निर्मला जस्ता हजारौं नानीहरुको रगत
भोको स्याल झै चुसिरहे ।
कहाँ ( कहाँ थिचिएनौँ हामी
यो घर देखि त्यो गाउँसम्म
यो समाज देखि त्यो शहरसम्म
हरेक कार्यलय,न्यायालय देखि राजनीतिसम्म
छन् यहाँ छन्
दुर्गादेवी जस्तै आमा पनि छन्
देवता जस्तै बा,दाजुभाइ,प्रेमी,श्रीमान,साथीहरू पनि छन्
जसले नारी सम्मान र साहसको
झन्डा फहराउन साथ दिइरहेका छन् ।
आऊ,दिदीबहिनीहरू ननिरीह भई नबस
संगसँगै जाऊँ
हजारौं सूर्य काँधमा बोकेर चिच्याऊँ
हरेक आमाको गर्भबाटै
संस्कारको घुम्टो च्यातेर
कमजोरताको लक्ष्मण रेखा नाघेर
छोरी जन्मनुपर्छ
अनि,मात्र
भत्काउने छन्,हामी संगसँगै
दासताका पर्खालहरू
लडेर राक्षसहरूसँग
बोकेर साहसको झन्डा
फहराउने छन्
आफ्नै जीवनको सगरमाथामा ।।
दिपा धिताल
तिमी देश लेख्नु है ?
आज तिम्रै जीवनको राजमार्गबाट
केही शब्द सापटी मागेर
त्यो जूनलाई साक्षी राखेर
घरको बार्द्लिमा बसेर
लेख्दैछु धेरै लामो समयपछि
एउटा कविता र
पठाउदै छु तिमी कहाँ
त्यतै कतै उडिजाने पवनसँग ।
अँ, सुन न ! आज यो कवितामा लेखेकी छैन मैले
तिमी प्रति कुनै प्रेमिल भावहरू
अनि फुलाएकी छैन
प्रेमका कुनैपनी फूलहरू ।
तिमीले शब्द (शब्दमा प्रेम खोज्यौ भने !
के प्रेम पनि लेख्ने र लेखेर सकिने कुरा होर ?
तिमी पिर नगर
प्रेमको नगरीमा पनि
एउटा सानो प्रेम पत्र लेखेर पठाएकी छु
उतै गएर पढ्नु ।
अरे! हेर न लेख्नै बिर्सिएछु
हाम्रो अस्तित्व नामेट पार्न खोज्ने
ती बधशालाका नाइकेहरू विरुद्ध
आज म बिना हतियार
युद्धले ध्वंस पारेको
मेरो आफ्नै किल्लामा आइपुगेकी छु
हाम्रो अस्तित्व र स्वतन्त्रताको एउटा
नयाँ बिहान जन्माउने विचारको गर्भाधान गरेर
तिमी देश लेख्नु है ?
ए ..ए ..ए ..एकैछिन पर्ख न !
तिम्रो पनि मन छ
तिमीलाई पनि त दुख्छ नि
जो ती तिम्रै बहिनी हुन्
साँझ र बिहानको कलिलो घाम
कानमा सिउरन नपाउदै
जिउदा मसानहरुले उनको बिभत्स हत्या गरिसके
जो ती तिम्रै बा आमा हुन्
त्यही छोरीको न्यायको लागि
न्यायको नगरीमा पुग्दा पनि
आँसुको झोलसँग
अठैन परेका भातका सिताहरू निल्न विवश छन्
अब त सरकार निरीह भैसक्यो
न्यायालयहरू भ्रष्ट नेताहरूले खडा गरिसके
लेख तिमी देश लेख
देशमा न्यायालय बेचिएका
खबरहरू लेख
र टासिंदेऊ प्रत्येक न्यायालयको
मुल ढोका अगाडि
म नयाँ बिहान जन्माएर
न्यायको त्रिशुल बोकेर आउँदैछु ।
दिपा धिताल
