Skip to content


मेरो स्फूर्त, चञ्चल, हँसिलो छोरा
जब स्कुलबाट फर्किरहेको हुन्छ,
यति थकित, उदास र खत्र्याकखुत्रुक हुन्छ
पहाड हो कि स्कुलब्याग बिसाउँदै बिस्तारामा
‘पापा, खोइ हाम्रो भगवान् ?’ सोध्छ,
मानौँ, ऊ तेत्तीस करोड पराया भगवान् बोक्न अभिशप्त छ ।

जब ऊ दुई टुक्रा ब्रेडमा भगवान्को पोज
भद्दा टीकाझैँ टासाउँछ र टोक्न थाल्छ
कहिले फ्राई गरेर बासी भातसाग
लुइाचेका चल्ला कराएझैँ च्याक्च्याक् चपाउँछ
कहिले बोइल गरेर
दुई हातमा खेलाउँछ, केलाउँछ र नांगो बनाउँछ
भोक न हो
भोक लागेपछि मान्छेले भगवान् पनि खान्छ
कि, उसले क्वाप्प खाएको मात्र के हुन्छ
तातो भगवान्ले
उसको सानो मुखबाट अन्तिम श्वास फेर्छ ।

जब अघाउँछ छोरा होमवर्क गर्न थाल्छ–
प्रश्न हिन्दू, क्रिस्चियन, मुस्लिम, बौद्ध
कुनै पनि धर्मधारी हुन सक्छ
कि ऊ आदिवासी जन्म प्रायश्चित गर्न
स्कुल होइन चर्च, मन्दिर, मस्जिद, गुम्बा गइरहेछ ।
हे, भगवान् !
भगवान्को नाम बिर्संदा उसलाई
यसरी बलि चढाइन्छ क्लासमा
कुखुरा, भ्यागुता, बोका बनाइन्छ खासमा
ब्रह्मा, विष्णु, शिव,
काली, लक्ष्मी, सरस्वती
जिजस, अल्लाह, बुद्ध…
लेख्दालेख्दै सोधी पनिरहेछ—
‘पापा, किन प्रश्नचिह्न उल्टेजस्तो छ गणेशको नाक ?’
साईबाबा, स्वामी प्रपान्नाचार्य, आत्मानन्द, माओ
अन्तिममा थप्छ– क्रिस्चियानो रोनाल्डो
के सम्झेर मुसुक्क हाँस्छ
कि ऊ पनि भगवान् नै हो ‘सोसल म्याम’ को ।

‘पापा, हाम्रोचाहिा भगवान् खोइ हो ?’
जब होमवर्क सकिन्छ, छोरा स्फूर्त, चञ्चल, हँसिलो हुन्छ
हाम्रो भगवान् छैन भन्छु,
दैत्यहरुको भिडियो गेममा आक्रमण गरिरहेको ऊ
रोकिन्छ अचानक, ‘उसो भा हामी राक्षस हो ?’
मानिस हो भन्छु,
जब दैत्यहरुमाथि विजयी हुन्छ, खुसीले उफ्रिन्छ–
‘याऽऽऽहुऽऽऽ म भगवान् हो !’

होइन, हाम्रो भगवान् अण्डा हो
अब म उसलाई अण्डा र टुहुरो बालकको लोककथा सुनाउँछु…।

Leave a Reply

Your email address will not be published. Required fields are marked *