कहिलेकाहींको यात्रा बडो रोचक हुँदो रहेछ । र, आकस्मिक पनि हुँदो रहेछ । बिमार मुक्तिमार्गतर्फ लम्कन खोज्दा धेरै थरीका यात्रा गरिए । कुनै सुझबुझका यात्रा भए भने कुनै अज्ञानमै यात्रा थालिए र टुङ्गिए । विगत एक वर्षदेखि मैले गरेका यी सबै यात्रा बाध्यताका थिए । बाध्यतामा रहर घोल्न खोज्दा घुल्नै मानेन । र, आखिर बाध्यता अलग्यै बस्यो । रहर केवल रहरमै सीमित भयो ।
स्कुल बिदा भएको मौका पारी २०७५ असोज २५ गतेदेखि दिल्ली–हरिद्वारको यात्रा गर्ने निधो गरियो । खासमा यात्रा उमङ्गको नभई वाध्यताको थियो । म गत वर्ष कार्तिक १० गतेदेखि नै पक्षाघातको सिकार थिएँ । त्यसकै उपचारार्थ हरिद्वारस्थित पतञ्जली आयुर्वेद चिकित्सालय पुग्नु परेको थियो । नेपालको काकडभिट्टादेखि सङ्घीय राजधानीसम्म र भारतको दरभङ्गा–समस्तीपुरसम्म पुगेर उपचार गरिसकेको थिएँ । स्कुलका सरहरू र घर मालिक सुवर्ण दाहाल–तुलसा काफ्ले लगायत शुभेच्छुक मित्रहरूको जोडतोड र सरसल्लाहमा हरिद्वार जाने तयार भएको थिएँ । खासमा आफ्नै गृहमन्त्री लक्ष्मी रिजाल र सानी छोरी गजलको बरोबरको झकझकाहटले पनि पाइला चाल्न वाध्य भएको थिएँ ।
साथीको साथ नभई पाइलो चाल्न नसक्ने अवस्थाको म हरतरहले मलाई सहयोग पुर्याउने साथीको खोजी गर्न थालेँ । हिन्दूहरूका लागि विजया दशमी–०७५ प्रारम्भ भइसकेको थियो । आफ्नो हितको लागि अरूको खुशी खोस्नु पनि भएन । हरतरहले साथ दिने मुस्लिम समुदायका साथीहरूको खोजीमा ध्यान केन्द्रित गरेँ । निकैवेरको माथापच्चीका वावजुत त्यस्तो साथी पाउन सकिनँ । र, तुरून्तै हिन्दू समुदायमै फर्किएँ ।
२०४८ सालतिर आई. ए. पढ्दाताकाको पुरानो मित्र शिवकुमार यादव (मो.नं. ९८२४७१७१४९) एक दशकदेखि ‘ॐ शान्ति’ को पथमा लागेका थिए । केही वर्षदेखि उनी शाकाहारी बनेका थिए । मठमन्दिरमा देवीदेवताको पूजाआजा गर्ने प्रचलनबाट टाढै थिए । शिवबाबाको याद गर्न र सादगी आहारविहार गर्न सके जीवन फूल बन्ने घोषणा गर्थे । उनी सत्य, द्वापर, त्रेता र कलियुगका कहिरनमा दुई/चार घण्टा बितेको पत्तै पाउँदैनथे । मलाई माछा–मासु र खैनी त्याग्न बरोबर दबाब दिइरहन्थे । म ती वस्तुको पारखी थिएँ । त्यसबेला उनका कुरा नमीठा लाग्थे यद्यपि प्रतिकार गर्न भने सक्तिनथेँ । किनभने उनका कुरा सही थिए । माछा–मासु र खैनी खाने गलत आदतको सिकार म नै थिएँ ।
शरीरको दाहिने पाटो पक्षाघातले मुर्दा भए पछि म उनको अनुयायी भएको थिएँ । म बिरामी भएकोमा उनी दुःखी थिए । तर, माछा–मासु र खैनी त्यागेको र साधु जीवन धारण गरेकोमा खुशी थिए । उनी भन्थे, “ जन्मले त ब्राह्मण हुनुहुन्थ्यो नै ! अब बल्ल तपाईं कर्मले ब्राह्मण बन्नुभयो । अब तपाईं सत्यलोकमा प्रवेश पाउन योग्य हुनुभयो ।”
मलाई उनका मृत्युपछिका कुरामा कुनै चासो थिएन । यद्यपि उदयपुरका साहित्यिक मित्र पुन्य कार्कीको प्रेरणाले माउण्ट टापु जान रु. ८,०००।–का दरले दुई जनाको रु. १६,०००।– राजविराजस्थित ॐ शान्ति सेन्टरमा बुझाइसकेको थिएँ । पुन्यजीले भनेका थिए, “आचार्यजी ! जीवनमा सिर्फ एक पटक मात्रै भए पनि माउण्ट टापु पुग्नैपर्छ । साहित्य सिर्जनामा ऊर्जा मिल्छ । प्राकृतिक र भौतिक सम्पदाको भव्य मिश्रणको स्वाद लिन पाइन्छ । मौका मिलाएर जाने प्रवन्ध गरौँ ।”
रकम नबुझाउँदासम्म स्नातक तहका मेरा विद्यार्थी र ॐ शान्तिका अनुयायी सत्यनारायण मण्डल (मो.नं. ९८१५७३०९५४) अनुरोध गरिरहन्थे । सेन्टरकी सञ्चालिका भगवती दिदी (मो.नं.९८६२८५१२३८)सँग कुरा बुझ्दा उनले ‘रकम संस्थागत भ्रमण अवधिभरको ट्रेनभाडा र खानबस्नका लागि हो, इच्छुकले तीन महिना अगावै बुक गराउनुपर्छ’ भनिन् । उता पुन्यजीले पनि ‘दिँदै गर्दा हुन्छ, म गाईघाटबाट आएपछि तपाईंलाई दिन्छु’ भने । हो न हो, तलव आएको मौका थियो, मैले पनि खातामा हालिदिएँ । र, राजविराजबाट रकम प्राप्त भएको जानकारी पाएँ ।
राजविराजको ॐ शान्ति सेन्टरमा मेरो चिनजानका दीपक भाइजी पनि थिए । उनी बौद्धिक व्यक्ति पनि थिए । एक समयमा उनले मलाई ॐ शान्ति संस्थाका थुप्रै कुरा बताएर आकर्षण समेत गरेका थिए । खासमा दीपक भाइजी ‘ॐ शान्ति’ पत्रिकाका लेखक थिए, म त्यसको पाठक थिएँ । एकाध कुरालाई छाडेर पत्रिकामा जीवनोपयोगी कुराहरू छापिन्थे । म ॐ शान्तितिरभन्दा पनि पत्रिकाका गहन सामग्रीतिर लोभिएको थिएँ । निकै वर्ष त्यस पत्रिकाको वार्षिक ग्राहक बनेँ । जीवनलाई गहिरो तवरले बुझ्ने ज्ञान पनि पाएँ ।
पटकपटक माउण्ट टापु पुगिसकेका शिवकुमार यादव हामी पनि जाने भएको कुरा सुनेर अघोरै खुशी भए । रकम बुझाएको हप्ता दिन नवित्दै ९८४२८२९२०६बाट ९८४२८२६७९१मा पुन्यजीलाई फोन गरेको त म तीन छक्क परेँ । उनले भनेका थिएँ, “के गर्नु ! जान त खोजेकै हो । त्यस बेला पितृको श्राद्धकर्मको तिथि पर्दो रहेछ । घर छाडेर हिँड्न मिलेन । सरी आचार्यजी !”
सनातनदेखि मानी ल्याएको श्रद्धा त्याग्न पनि भन्न नैतिकताले दिएन । भाग्यवस्, अँझैसम्म बाबुआमाको काखमा रम्न पाएको मेरा लागि पितृको श्राद्धकर्मको कुनै ज्ञान थिएन । यद्यपि पढेर भए पनि महत्त्वका कुराबाट भने अविज्ञ थिइनँ । जय होस् त ! भन्दै फोन राखेँ र भगवती दिदीलाई आफ्नो असमर्थता बारे जानकारी गराएँ । उनले पनि अरू कसैको साथमा जान कोसिस गर्न आग्रह गर्दै भनिन्, “भाइ ! धेरै मान्छे जान्छन् । सबैले सहयोग गर्छन् । नयाँ ज्ञान र अनुभूति हुन्छ । कोही साथी खोज्नू ! शिवबाबाले डाकेपछि पुग्नै पर्छ । ॐ शान्ति !!!”
खासमा पुन्यजीको साथमा यात्रा गर्दा साहित्यका, जीवनका, दर्शनका र समाजका अनगिन्ती कुरा सुन्न र सिक्न पाइन्थ्यो । उनको समीपमा बस्ता मात्रै पनि बडो आनन्दानुभूति हुन्थ्यो । उनीसँग सन् २००८मा बाराणसी, बनारसको यात्रा गर्दाको समयमा आफूमा भएको सम्पूर्ण अहङ्कार, तनाव र त्रास धुलोपिठो भएर हावामै विलीन भएको म स्वयम्ले अनुभूत गरेको छु । वास्तवमा आफूभन्दा जान्ने–बुझ्नेसँगको निकटता जसका लागि पनि सौभाग्य नै हो ।
त्यही २००८ को अनुभव २०१७/१८मा पनि पाउने चाहना अधुरो रहने देखेर मन विचलित भइरह्यो । स्कुल बिदा परेको समयको यात्रा भएकोले माउण्ट टापु यात्रा उत्तम हुने अवस्था त थियो । मन मिलेको साथीको साथ नपाउने भए पछि भने जानु र नजानुमा तात्विक विभेद नरहेको विश्लेषण गर्दा गर्दै उनै शिवकुमार यादवको नाम झट्टै सम्झे ।
शिवकुमार मसँग जान तयार भए । नयाँ कुरो भगवती दिदीलाई सुनाइयो । हप्ता दिन भित्रै मेरो मनमा नाना थरीका कुरा मडारिन थाले– आँखाको दृष्यपानका लागि संसारकै सुन्दर वस्तु प्रतीक्षारत् रहेका हुन सक्छन् । जीव्रोका स्वादका लागि चौरासी व्यञ्जनले सुभाष फैलाइरहेका हुन सक्छन् । मनको आनन्द र ज्ञानका लागि ती दृष्यपान र स्वाद अपर्याप्त हुन्छन् । ध्यानी र ज्ञानी मान्छेसँगको बातचितले आनन्दसँगै ज्ञानको भकारी भरिँदै जान्छ । त्यस्ता ध्यानी र ज्ञानी पुन्य कार्कीलाई सम्झेर बनाएको योजना उनीविना पूरा हुँदैन र पूरा गर्न पनि मिल्दैन ।
अन्ततः म नजाने भएँ । शिवकुमार पनि रोकिए । सेन्टरले पनि मान्यो । अर्को कुनै कार्यक्रममा जाने सर्तका हाम्रो यात्रा स्थगित गरियो । २०७४ कार्तिक १० गते मेरो जीवनमा आँधीबेहरी आएपछि सत्यनारायण मण्डलले ९८१५७३०९५४बाट फोन गरी अर्को यात्रा गर्न भनेका थिए । म त्यसबेला राम्ररी बोल्न सक्ने अवस्थामा पनि थिइनँ । बिरामी भएकाले जान असमर्थ रहेको बोध गराएँ । उनी मौका आउँछ, पर्खदैन र चौका हान्न जान्नेले जित्छ भन्दै थिए ।
एक त म हाईप्रेशरको रोगी, कोमल मन भएको समय थियो । कसैको गनगन सुन्ने मन हुन्नथ्यो । रिस त नाकको टुप्पैमा हुन्थ्यो । सत्यनारायणको गनगनलाई मुखमै बुझो लगाउने हिसावले जवाफ फर्काएँ, “जान सक्दिनँ भनेपछि सक्दिनँ । मर्न लागेको मान्छेलाई केको माउण्ट टापु ! अब माथि गएर जाऊँला । सत्यनारायणजी ! म प्यारालाइसिसले हलचल गर्न नसक्ने अवस्थामा छु । फोन राखेर मलाई आनन्दले सास फेर्न दिनुस् ।”
नभन्दै उनले मेरो स्वास्थ्य लाभको चाहना र कामना व्यक्त गरे । र, शिव बाबासँग प्रार्थना गर्ने बचन दिएर फोन राखे । लामो सास फेरेँ । मनमा आनन्द बास बस्न आइपुग्यो । केही बेरमै मेरो मनमा कुरा नाच्न थाल्यो– कसैले चाहना, कामना र प्रार्थना गर्दैमा विमार निको हुने भए लाखौँ लाख खर्च किन गर्नु ? जानिजानी आडम्बरी समाजले आफ्नो चतुर चर्तिकला दोहोर्याएको र तेहर्याएको देख्दा छक्क परिरहेँ ।
त्यस बेला अरूले राम्रो सोच्दा र गर्दा पनि नराम्रै देख्ने र सोच्ने सोचको विकास भएको थियो । संसार नै नकार प्रवृतिले बनेको अनुभूत हुन्थ्यो । आफू मात्र सकार प्रवृतिको पुञ्ज भएको भान हुन्थ्यो । जान्ने, बुझ्ने र क्षमता राख्ने व्यक्ति केवल आफू मात्र रहेको अहङ्कार मनमा खेलिरहन्थ्यो ।
उतै दिल्लीबाटै माउण्ट टापु जाने सोचले सत्यनारायण मण्डललाई ९८१५७३०९५४मा फोन गरेको त ओखलढुङ्गा पो पर्यो भनेर एक महिलाले जवाफ फर्काइन् । भगवती दिदीलाई मो.नं.९८६२८५१२३८ सम्पर्क गर्दा सम्पर्कै भएन । नमरी बाँचे एक दिन न एक दिन जे गर्नु परे गरौँला भनेर चुप रहेँ । जे भए पनि यात्रा गर्ने नै निधो गरेर अघि बढेँ ।
उनै शिवकुमारलाई हरिद्वार जाने साथी बनाए । उनी पनि धान खेतमा पानी पटाउने काम छ भनेर आउन मानेनन् । उतैउतै राजस्थान, माउण्ट टापु जाने भनेपछि तयार भए । कान्छो छोरालाई घरको जिम्मेवारी सुम्पेर असोज २५ गते ७ः३० बजे गोलबजारको गोलचक्करमा देखा परे ।
सिरहा, माडर जाने म्याजिकमा चढ्यौँ । चोहर्वातिर बसबालाहरूले म्याजिकलाई सिरहासम्म मात्रै जान दिँदा रहेछन् । आफ्ना यात्रुहरू म्याजिकले बोकेको झोँकमा तथानाम गर्न पनि पछि पर्दा रहेनछन् । चेतावनी दिएर छाड्दा रहेछ । माडरका यात्रु बोकेको प्रसँग दोहोरीएमा जरिवाना गरेर मात्र छाड्दा रहेछन् । हामी चढेको म्याजिक पनि खासमा लुकिछिपी माडर नै जाने रहेछ । गोप्यरूपले माडरका मान्छेलाई हाल्दै सिरहासम्म मात्रै लाने भन्दै म्याजिक अघि बढ्यो । गालीगलौजबाट बच्दै गयो । दण्डजरिवानाबाट जोगियो । आफ्नो काम पनि गर्दै गयो ।
माडरमा उत्रेपछि जयनगर पुर्याउने म्याजिकमा चढ्यौँ । १५ जना यात्रु नभरिई गाडी हिँडाएन । बल्लतल्ल यात्रु भरिए । र, म्याजिक दगुर्न थाल्यो । विहानी पख एक झरी पानी परेको कारण सडकको धुलो चुपचाप बसेको थियो । यद्यपि वरपरका घर–गुहालीबाट आउने धुँवा भने उड्न छाडेको थिएन । सडक वरपरको खोपिल्टाबाट आउने हिलो र पानीमा रहने मरेका जीवहरूको गन्धले नाक नथुनी धर थिएन । अँझ मलाई गन्ध, धुलो र धुँवा भए श्वास फेर्न नै गाह्रो हुन्थ्यो । अरू त के कुरा टेलिभिजनको पर्दामा फोहरको गन्ध, धुलो र धुँवाको दृष्य देखे मात्र पनि सास फेर्न सकस हुन्थ्यो ।
जसोतसो नेपालको बार्डरमा पुगेर म्याजिक उभियो । ड्राइभरले उत्रन आदेश फरमान गर्यो । अरू मानिसहरू फटाफट उत्रे । मलाई उत्रन सहज थिएन । विशेष सतर्कता सहित हातले खुट्टा उचाल्दै झर्नुपर्थ्यो । क्षणभरमै गाडी बदल्नु परेकोमा रिसको पारो तातिहाल्यो । मलाई सम्झाउँदै डूाइभर बोल्यो, “भारततिर जान र नेपालतिर आउन कर तिर्नुपर्छ । बोर्डरसम्म जान र पुर्याउन कर तिर्नु पर्दैन । उता भारतीय नम्बर प्लेटको गाडी चल्छ । यता नेपाली नम्बर प्लेटको गाडी कुद्छ ।”
कुरै कुरामा ऊ भन्दै गयो, “नेपाल र भारतका दुई साहु मिलेका छन् । कर नतिर्ने उपाय गरेका छन् । यात्रुबाट भने बोर्डर शुल्क समेत खप्टिएको भाडा तिराउँछु । जसरी पनि लगानीकर्ता मालामाल छन् । सरकारी निकाय परिबन्दमा फँसेको छ । मुकदर्शक बनेर टुलुटुलु हेरिरहेको छ ।”
सारा कुरा उसैले भनिदियो । उसलाई भन्नुपर्ने अरू कुरा केहिरहेन । सायद ऊ पनि पीडित मजदुर हुँदो हो । साहु मालामाल भएको र आफू सूर्योदय पूर्वदेखि सूर्यास्तसम्म खट्दा पनि कङ्गालपति नै रहनुपरेको पीडा सुनाउँदो हो । यस्ता भित्री कुरा हत्तपत्त कसैले पोख्दैन । ऊ मात्र एक चालक थियो जसको मनमा साहूप्रति आक्रोस थियो । असन्तुष्टिको पहाड ठडिएको थियो ।
भारतीय नम्बर प्लेटको म्याजिकले जयनगर पुर्यायो । सेतै दारीजुँगा भएको मुस्लिम समुदायको मान्छे सम्मुखमा देखियो । अरू थुप्रै मान्छे व्यागमा भारू र नेरु दुवै थरीका नोट च्यापेर बसेका थिए । पक्कै पनि अधबैसेंले नठग्ला भनेर भारू साट्ने कुरा गरेको त सयकडा पाँच बट्टी काट्ने कुरा गर्यो । निकैबरको गलफत्तीपश्चात् सयकडा तीन रुपियाँ लिएर साटिदिने कुरामा सहमति जनायो । बट्टीको नाममा एक हजार रुपियाँ सित्तैमा चढाएर त्यहाँबाट निस्कियौँ ।
असोज २५, ०७५ को सूर्य मधुरै थियो । जयनगर रेल्वे स्टेशनमा मानिसहरू पातलै थिए । पूर्व बुक नगरिएकोले यात्रा कष्टकर हुने निश्चित थियो । टीटीसँग मिलेमतो गर्न सके खै कता हो राम्ररी बसेर जान पाइने कुरा सुनियो । हाम्रा सारा प्रयत्न विफल भए । अन्ततः हामी स्वतन्त्रता सेनानी एक्सप्रेसको जेनेरल वार्डका यात्रु बन्यौँ । सुरुआतमा बसाइ सहज थियो । दिल्लीसम्म यतै कम भीडभाड रहे यात्रा रमाइलो हुनेभयो भन्ने लाग्यो ।
हामी बसेकै सिटमा बस्न पुगेका मधुवनी जिल्लाको मल्मैत गाउँका रामवृक्ष महतो (मो.नं. ९५७२१९६६७३)ले भने, “मधुवनी पुग्दा नपुग्दै भरिनपुग्छ । नत्र दरभङ्गा पुगेपछि त जरुर भरिन्छ । समस्तीपुर पुग्दानपुग्दा त ट्रेनमा पाइला टेक्ने ठाउँ पनिरहदैन ।”
त्यही भीडको डरले गर्दा ट्रेन चढ्नकै लागि उनी मधुवनीबाट जयनगर पुगेका रहेछन् । उनले मेरो अशक्तता निरीक्षण गरेर भने, “यो पक्षाघातको उपचार जयनगरको आसपासमा रहेको सौंसा गाउँमा पनि हुन्छ । धेरै विरामी आराम भएर गएका छन् । लकवाको उपचार गर्ने डाक्टर खोज्दै जाँदा फेला पर्छ । एक पटक अवश्य जानुहोला ।”
उनी दयालु मनका रहेछन् । मेरो हालत देखेर दुखित हुँदै भने, “शत्रुलाई पनि नलागोस् भन्ने बिमार तपाईंजस्तो सज्जन माष्टर साहेवलाई लागेछ । दैव पनि जे मन लाग्यो, त्यही गर्छ ।” उनको यो भनाइ सुन्ना साथ मलाई शिक्षक मित्र इन्द्र थापाले मेरो हालत नियाल्नासाथ फेसबुकमा लेखेको याद आयो । उनले लेखेका थिए– ईश्वरले भेदभाव नगरी सही निर्णय गर्छन् भनेको त भूल पनि गर्दा रहेछन् । अब ईश्वरलाई कठगरामा उभ्याएर प्रश्न सोध्ने बेला आयो । आचार्यजस्तो साधुलाई सुलीमा चढाएर कसलाई कसरी तर्साउन खोजेको हो कुन्नि ?
रामवृक्षले मनमनै आफ्नो इष्टदेवता डिहिबार थानलाई भाकल गरेछन् । मलाई चाँडै ठिक भए डिहिबार थानलाई फूलप्रसाद चढाउने कबुल गरेछन् । र, मतिर फर्केर छट पर्वमा खबर गर्न आग्रह गर्दै मैथिलीमा भनेँ, “हम डिहिवास थानसँ भाकल केने छी । अहाँ छट पर्वमे हमरा जरुर खबर करु । हमरा विश्वास छै कि अहाँ जल्दी आराम भ‘जाइछी ।”
मैले स्वीकारोक्तिस्वरूप मुन्टो हल्लाएँ । उनले मेरा लागि शान्तवनाका धेरै शब्दहरू व्यक्त गरे । म नेपालको पहाडी समुदायको निरीह मान्छेप्रति उसको सहयोगी चरित्र देख्दा म नतमस्तक भएँ । चौबीस घण्टे यात्रा भर उनले आफ्नै तवरले सहयोग गर्दै गए । यात्राको सुझबुझ नभएको मेरा लागि उनी भगवान् नै सावित भए ।
नयाँ दिल्लीमा पुगेर ट्रेन खाली भयो । मानिसहरू लाखापाखा लागे । रामवृक्षले भने हामीलाई छाडेनन् । हामी हरिद्वार जान चाहन्थ्यौँ । उनले नै सोधपुछ शाखामा गएर सारा कुरा बुझिदिए । हामीले नयाँ दिल्लीबाट हरिद्वारका लागि ट्र««ेन नपाएर पुरानो दिल्ली आउनुपर्यो । उनले नै सिटी रिक्सामा बसाएर हामीलाई बिदा गरे । उनले यता र उता दौडधुप गर्दा कुनै झर्कोफर्को गरेनन् । उनले छुट्टिदा गहभरि आँसु बनाएका थिए । मलाई पनि शरीरकै एक अङ्ग अलग भएझैँ खल्लो अनुभूति भइरह्यो ।
पुरानो दिल्ली स्टेशनमा पुगेर नास्ता खान हामी एक छेउमा बस्यौँ । हामीले खाइरहेको बखत एक मगन्तेजस्ता देखिने मान्छे हाम्रै नजिकमा आएर हामीले खाएको टुलुटुलु हेरिरहे । पक्कै पनि खान पाउँछु कि भनेर नजिक आएको होला भन्ठानी दुई वटा ठेकुवा दिएर बिदा गर्न शिवकुमारलाई सङ्केत गरेँ । उनले पनि ठेकुवा दिँदै भने, “ले लो ठेकुवा और खा लो !”
मगन्तेले लिन अस्वीकार गर्यो । ऊ खासमा रेल्वे स्टेशनमा कार्यरत कर्मचारिरहेछ । उसले आफ्नो नाम धर्मपाल (मो.नं. ९७१८४९७१२८) बताउँदै भन्यो, “म पनि पक्षाघातको बिरामी हुँ । राम तेल १० ग्राम, अमर तेल १० ग्राम, तिल तेल १०० ग्राम र तारपिन तेल ५० ग्राम मिश्रण गरी मसाज गर्नु तीन दिनमा चट् हुन्छ । मैले आफूलगायत ५/७ जनाको ठिक गरेको छु ।”
म वाल्ल परेर हेरेको हेर्यै भएँ । वास्तवमा ऊ पनि मझैं खोच्याएर हिँड्दो रहेछ । उसको अनुभव सत्य लाग्यो । हरिद्वार नगई उसकै पछि लागूँ कि जस्तो भयो । उसले तेल किन्न पाइने स्थान पनि बतायो । विश्वस्त भएर ग्यारेन्टी ठिक हुन्छ भन्यो । उसमा पनि मैले सहयोगी भगवान् नै देखेँ । उसको सहयोगी चरित्र र व्यवहारलाई सलाम गर्दै पुनः भेट्ने बाचा गरी उसबाट बिदा भइयो । हरिद्वारबाट फर्केर उसको खोजी गरेँ । तर, ऊ फेला परेन । सायद ऊ कतै काममा जुटेको हुँदो हो ।
कुरा त हो नि ! आफ्नै मनसँग मात्रै जे भन्न पनि र जे सोच्न पनि मानिस स्वतन्त्र छ । धर्मपालले लेखिदिएको तेलको सूची र उसको सम्पर्क ठेगाना मेरो डायरीमा सुरक्षित छ । शिवकुमारसँग गन्थन गरेँ र चित्त बुझाएँ– मैले भोगेको दुःख देखेर भगवान्ले सहन गर्न सकेनन् । त्यसैले रूप बदलेर मेरो नजिक आए । मेरो विचलित मनोदशालाई मलहम पट्टी लगाए । र, विमार निको पार्ने ज्ञान बाँडेर अलप भए । अब मैले भनेजस्तो गरेँ भने ठिक हुन्छु । भगवान्ले भनेपछि भने, भने फरक पर्दैन । आजसम्म फरक नपरेको कुरा मेरै सन्दर्भमा कसरी फरक पर्छ ?
सोधपुछ गर्दै रातको ९ बजे हरिद्वार जाने ट्रेनमा बसियो । नजिकका सहयात्रीहरूसँग कुरा गर्दा भोलिपल्ट ०९/१० बजे हरिद्वार पुगिने जानकारी भेटियो । आनन्दले निदाए हुने रहेछ भन्ने लाग्यो । त्यस मध्यरातमा पनि मानिसको भीड यत्ति धेरै थियो कि खुट्टा राख्न पाउने ठाउँ भेट्न मुस्किल थियो । अँझ जवरजस्ती उता सर् र यता सर् भनेर बसेकाहरूलाई पिरलो पार्नेहरू पनि पर्याप्त थिए । मलाई भने बिकलाङ्ग ठानी कसैले पनि दुःख दिएन । टाउका माथिको सिटमा चढेकाहरूको खुट्टाको धुलो भने निकै पटक पुरस्कारस्वरूप भेटियो । मोजाको गन्धले उखरमाउलो पार्यो । अर्कालाई असर पर्ला कि भनेर सोच्न पनि नसक्ने मुर्दारहरूले जुत्ता लगाएर सभ्य बन्नुको अर्थ नै के रह्यो र ! स्मरण गराउँदा ‘सरी’ भन्थे । पटक पटकको सास्तीले हैरान भएर झर्कोफर्को गर्दा उल्टै धम्की सुन्नुपर्थ्यो ।
उनीहरू भन्थे, “जेनेरल डिब्बामा पसेर उच्च श्रेणीको सुविधा खोजेर कहाँ पाइन्छ ? ट्रेनमा बसेर आफ्नो बाउको गाडी भएको ठान्नेहरूलाई गलहत्याएर उतारिन्छ । उजुरबाजुर गर्न चाहनेले गरोस् । तर परिणाम कहिले र कस्तो आउँछ उसैले अनुमान लगाएर जानोस् । तसर्थ मिलीजुली यात्रा गर्दा नै सबैको भलो हुन्छ । एकलकाठे विचार राखेर व्यवहार गरे फाइदा कसैलाई पनि हुन्न ।”
उनीहरूका अन्तिमका कुरा मन परे । सानोतिनो ठेलाई र पेलाई सहँदा मात्र हुलमुलमा यात्रा गर्न सकिने अवस्था आउँछ । एकले अर्कामाथि असहयोग र शत्रुवत् व्यवहार गर्ने हो भने हुलमुलको यात्रा बीच बाटैमा त्ुहन्छ । ट्रेन हुइँकिँदै थियो । दिल्लीको गर्मी खाएको शरीर हरिद्वारको ठण्डा वातावरण अनुभूत गर्दै थियो ।
म बसेको छेउमा अमन (मो.नं. ९५६०३७३४०३/८८५१५६५९९२) नाम गरेका एक युवक बसेका थिए । उनले मेरो शारीरिक अशक्तता र कष्टतालाई भित्री दिलदेखि नै अनुभूत गरेछन् क्यारे । अरूबाट हुने धक्का र ठेलामठेलबाट मलाई बचाउँदै गए । म भाषिक कठिनाइका कारण मुकदर्शक मात्रै थिएँ । शिवकुमार पनि अपरिचितसँग हिन्दीमा बोल्न गाह्रो मान्दा रहेछन् । मेरो तर्फबाट वकालत गर्ने मात्रै अमन भए ।
उनैसँग टुटेफुटेको हिन्दी, मैथिली, अङ्ग्रेजी र नेपालीको मिश्रण गरी बातचित हुँदै गयो । उनी भर्खरै नियुक्त सरकारी इन्जिनिएर रहेछन् । इन्जिनियरिङका कुराहरू गरे । म पनि के कम भनिहालेँ, “हम भी इलेक्ट्रिकल इन्जिनियरिङके प्रारम्भिक विद्यार्थी सभका पढाते है ।” उनी अँझ उत्साहित भए र एक टुरिष्ट गाइडको जस्तो भूमिका निर्वाह गर्दै भारतका बारेमा सारा इतिवृति बताउँदै गए । उनले धार्मिक र पर्यटकीय ठाउँहरूको चर्चा समेत गरे । म अगस्त्य मुनि हुँदो भएँ, रात अँझ गाढा हुँदै गयो ।
अनुमानित समयमै ट्रेनले हरिद्वार पुर्यायो । सबै उत्रिए, अमन पनि उत्रे । मलार्ई उत्रन कठिनाई थियो । झटपट गर्न मिल्दैनथ्यो । मनमा चिन्ता गडेकै थियो । शिवकुमारबाट कुनै प्रकारको बौद्धिक सहयोग पाउने सम्भावना नै थिएन । अब पतञ्जली कताबाट जानू, सूचना कसबाट लिनू, कसैले गलत सूचना दिएर एकान्तमा पुर्याई लुटपाट गरेमा के गर्ने ? आदित्यादि सकसले एकै पटक गाँज्न थाले ।
नभन्दै अमन हामीलाई नै पर्खेर बसेका रहेछन् । उनले पतञ्जली जाने बसमा चढाइदिने कुरा गरे । शंका लाग्यो र भनिहालेँ, “हम पुछताछ करके चल जाएगें । आप कष्ट मत करे !” उनले आफ्नो पछिपछि लाग्न जिद्दी गरे । हरतरहले बाह्र घण्टासम्म साथ दिने साथीले गद्दारी नै गरेछ भने पनि गरोस् भने उनको पछि लागियो ।
५/७ मिनेट हिँडाएर एउटा बसमा चढाइदिए र सहचालकलाई हामीहरू नयाँ यात्रु भएकाले आफैँले जानेर पतञ्जलीमा उतारिदिन अह्राए । हामीसँग छुट्टिँदा छुट्टिँदै उनले कुनै आपत परे फोन गर्न सम्झाउन भ्याए । अँझ खर्चबर्च भए नभएको सोधे र दिन पनि खोजे । हत्त न पत्त मैले रोक्दै भने, “हमसभ इत्ना सहयोगके लिए आपका बहुत बहुत आभारी है । खर्चाबर्चा साथमे है । आप निश्चिन्त भ’जाऊ । आपका मोवाइल नम्बर मेरे पास है । सम्पर्क जरुर करेगें ।”
उनी खुशीसाथ छुट्टिए । तुरुन्तै एक ठिटा बसमा चढे । उनी पनि ‘पतञ्जली आयुर्वेद चिकित्सालय’मै चेकजाँच गराउन जाँदै रहेछन् । हामी पनि उनकै पछि लाग्यौँ । विहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओपीटी विभाग खुल्दो रहेछ । सर्वप्रथम बिरामीले एउटा फर्म भर्नुपर्दो रहेछ । त्यसमा पहिचान/परिचय पत्रको किसिम र नम्बर, ठेगाना, रोगको नाम वा लक्षण आदित्यादि कुरा स्पष्ट अक्षरमा लेख्न निर्देश गरिएको थियो ।
म परेँ लेख्ने हातै नचल्ने मान्छे ! अरूलाई गुहार्नुभन्दा जसोतसो आफैँ सक्रिय हुनु उत्तम ठानी देब्रे हातले बाङ्गाटिङ्गा अक्षरमा फर्म भरेँ । परबाट अक्षर सफा र चिटिक्क परेका देखिए । नजिकैबाट नियाल्दा कुनै कमजोर ज्येष्ठ नागरिकले हात थरथराउँदै लेखेजस्ता देखिए । यद्यपि केरमेट थिएन । कुनै जानिफकार बुज्रुकले लेखेजस्ता थिए । कोसिस गर्दै गए सबथोक सम्भव रहेछ भन्ने लाग्यो । म देब्रे हात नचालाएरै कुँजो भएको रहेछु भन्ने लाग्यो । हाम्रो शरीरमा दुई दुइटा हात, खुट्टा, कान, आँखा आदित्यादि हुनुको कारण एउटाले काम नगरे अर्को एक्लैले दुवै अङ्गको काम गर्नलाई हो भन्ने कुरा त्यस बेला याद आयो । दुनियालाई शिक्षादीक्षा दिने पेशा अङ्गालेको मान्छे भएर पनि बेहोसीमै बाँचेकोमा हिनताबोध भयो ।
शिवकुमारलाई झोलाझाम्टी रुङ्न लगाएर म पुगेँ कोठा नं ४मा रहने पञ्चकर्म विभागका डा. विक्रम गुप्ताकहाँ । उनले सोधपुछ गर्न थाले, मैले उनको हिन्दी बोल्ने लवज नै बुझिनँ । मैले उनलाई बोल्ने लवज सुधार्न आग्रह गरेँ । बदलामा उनी झर्किए । आफू ठूलो आशा र भरोसाले यत्ति धेरै टाढा नेपालबाट आएको र भाषिक उल्झनमा फँसेको कुरा बताउँदै गएँ । उनले पुराना रिपोर्ट हेरे र नयाँ कुरा सोध्न खोजे । म उनका कुरा नबुझ्ने, उनी मेरा कुरा नसम्झने ! बडो आपत् पर्यो । मैले अङ्ग्रेजीमा बोल्न अनुरोध गर्नासाथ उनले फोन गरेर नर्सलाई बोलाएर खै के–के भने कुन्नि ! मैले बुझ्नै सकिनँ ।
नर्सले मलाई डोहोर्याउँदै अर्कै डाक्टरकहाँ पुर्याइन् । त्यहाँ भीडभाड रहेछ । लाइनमा बस्नुपर्ने रहेछ । बसेकै बखत नर्सले मेरो विमारका बारेमा सारा बयान लिइन् । उनका हरेक कुरा मैले बुझेँ र उनले पनि मेरा कुरा बुझिन् । मैले डाक्टरको हिन्दी बोल्ने लवज किन फरक भनेर सोधेँ । उनले डाक्टर अर्कै राज्यको मान्छे भएको र हिन्दी स्पष्ट बोल्ने बानी नभएको भनेर जवाफ फर्काइन् । मेरो पनि चित्त बुझ्यो । मेरा सारा भाषिक समस्याको समाधानकर्ता उनै बनिन् । उनी साह्रै सहयोगिरहिछन् । उनमा मैले फ्लोरेन्स नाइटिङ्गेलको रूप देखेँ । साँच्चै उनी मेरा लागि कष्टबाट पार तार्ने भगवान् नै बनिन् ।
मेरो पालो आयो । डाक्टरले रिपोर्ट हेरी सोधे । मेरो तर्फबाट सारा जवाफ नर्सले नै दिइन् । डाक्टरले मेरो बोली सुन्न चाहे । भाषिक अल्पज्ञानका कारण म डाक्टरसँग बोल्न चाहन्नँ भनेर नर्सले नै सम्झाइन् । उनले म विमारीको बोली नर्मल रहेको र ठूलो समस्या नरहेको बोध गराइन् । डाक्टरले खाने, दल्ने र पिउने ओखती लेखिदिए । साथै, उच्च रक्तचाप र प्यारालाइसिसका विमारीले दैनिक गर्नुपर्ने प्राणायामहरूको नाम लेखिदिए । र, हस्ताक्षर गरी कागज थम्याए । पहिले जाँच गरेका डाक्टरले पुर्जामा लेखिएका केही कुरा हटाए र प्राणायामको समायावधी किटान गरिदिए ।
डा. बिक्रम गुप्ताकानुसार प्रत्येक विहान–बेलुका भोको पेटमा कपालभाती १० मिनेट, अनुलोमविलोम २० मिनेट, भ्रामरी/ॐ उच्चारण ११ पटक, उद्गिद ११ पटकसहित सुखासन र बज्रासन गर्नुपर्ने भयो । साथै, पञ्चकर्म गर्नुपर्ने भयो । पञ्चकर्मका बारेमा नर्सले धेरै कुराहरू गरिन् । सुनेर म छक्क परेँ । हुन त आस्था च्यानलमा स्वामी रामदेवजी महाराजजीले नसाग्रक्रिया आदित्यादि गरेर देखाएको, सिकाएको देखेको थिएँ । नर्सको मुखाराविन्दबाट बृहत चर्चा सुनेर आफू अँझै लाटै रहेको ठहर गरेँ ।
आयुर्वेद शास्त्रमा मानव शरीरमा हुने त्रिदोष अर्थात् कफ, पित्त र वाथलाई नियन्त्रण गर्ने ५ प्रकृयालाई पञ्चकर्म भनिँदो रहेछ । पञ्चकर्म शरीरको विष बाहिर ल्याउने प्रकृया रहेछ । यस कर्मलाई कार्यान्वयन गर्नुपूर्व पूर्वकर्मका रूपमा दुई थरीका काम गर्नु जरुरीरहेछ । पहिलो स्नेहन क्रिया (आयलेशन)– यसमा शरीरभरि तेलले मालिस गर्ने काम हुने रहेछ । यो कार्य विशेषतः पित्त नाशक रहेछ । यसले कठोर विषाक्त पदार्थलाई मुलायम बनाउँदो रहेछ । पानीजस्तो पातलो तुल्याउँदो रहेछ । अर्को स्वेदन क्रिया (फाँमेंटेशन)– यसमा शरीरबाट अत्यधिक पसिना निकाल्ने काम हुँदो रहेछ । शरीरको विषाक्तलाई पसिनाको माध्यमबाट बाहिर निकाल्ने काम हुँदो रहेछ । यी दुई कामले पञ्चकर्म गर्न सहज हुने र अपेक्षित लाभ आर्जनमा मद्दत पुग्ने रहेछ ।.
नर्सले दिएको मौखिक जानकारी र लिखित सामग्रीकानुसार पञ्चकर्मको पहिलो चरणमा वमन अर्थात् उल्टी गराउने काम हुन्छ । यो मुलतः कफ नाशक हुन्छ । यसले अस्थमा र मोटोपनमा बढी लाभदायक हुन्छ । आयलेशन र फाँमेंटेशन क्रियाबाट शरीरको विषाक्तले तरल रूप धारण गर्छ र शरीरको माथिल्लो भागमा जम्मा भएर रहन्छ । वमन गराउँदा विषाक्त तरल पदार्थ शरीर बाहिर निस्कन्छ र रोगी निरोगी बन्दै जान्छ ।
दोश्रो चरणमा विरेचन अर्थात् मलत्याग गराउने काम हुन्छ । आयलेशन र फाँमेंटेशन क्रियापश्चात् ओखती खुवाइन्छ । आँतबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम हुन्छ । यो पित्तनाशक हुन्छ । विशेष गरी पीलीया र कोलाइटिस रोगीलाई विशेष फाइदा पुग्छ ।
तेश्रो चरणमा नस्य अर्थात् नाकमा ड्रोप लगाई नाक वा शिरका कुनै भागबाट विषाक्त बाहिर ल्याउने काम हुन्छ । यसमा पनि आयलेशन र फाँमेंटेशन क्रियाबाट काँध र शिरमा हल्का मालिस गरिन्छ । नाक र शिरमा जमेको कफ निकाल्न मद्दत पुग्छ । विशेष गरी यस प्रकृयाबाट माइग्रेन र शिरदर्दको समस्याबाट मुक्ति मिल्छ ।
चौथो चरणमा अनुवासनावस्ती अर्थात् तरल पदार्थ मलद्वारसम्म पुर्याउने काम हुन्छ । यो त्रिदोष नाशक भरपर्दो प्रकृया हो । विशेषतः पुरानो बाथरोगमा फाइदाकारक हुन्छ । यसमा तेल, दूध, घिउजस्ता तरल पदार्थ मलाशयमा पुर्याउने काम गरिन्छ । यो गठिया, बवासीर तथा कब्जियतमा रामवाण सावित हुन्छ ।
पाचौँ चरणमा रक्तमोक्षण अर्थात् खराब रगत सफा गराउने काम हुन्छ । यसमा शरीरको दुषित रगत बाहिर निकाल्ने काम हुन्छ । यो चर्मरोग मुहाँसे तथा एक्जिमा ठिक गर्न उपयोगी हुन्छ । यसलाई रगतमा भएका विकारलाई हटाउने सरल काइदा मानिन्छ ।
मुलभूतरूपमा पञ्चकर्मले शरीर र दिमाखमा जमेर बसेको विषाक्तलाई सफा गर्छ । यसका फाइदा अनगिन्ती छन् । यसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ । शरीरलाई पूरै शुद्ध पार्छ । पाचनशक्ति बढाउँछ । युवक नै रहिरहन र बजन कम गर्न सहयोग पुर्याउँछ । स्वस्थ र सुन्दर शरीरका साथ दीर्घजीवन बनाउन मद्दत गर्छ ।
अचेल पञ्चकर्म लोकप्रिय हुँदै गएको छ । यसका लागि सावधानी अपनाउनु पर्ने खास उल्लेख्य कुरा केही छैन । यद्यपि पञ्चकर्मको दौडानमा पिउन र नुहाउन गरम पानीको प्रयोग गर्नुपर्छ । यौन सम्बन्ध राख्नुहुन्न । दिनमा सुत्नुहुन्न । राती अबेरसम्म जाग्नुहुन्न । छिट्टै पच्ने खाना खानुपर्छ । तनाव पटक्कै लिनुहुन्न । कठोर शारीरिक व्यायाम पनि गर्नुहुन्न ।
पञ्चकर्म मासिक धर्मको दौडानमा गर्नुहुन्न । स्तनपान गराउने महिला, फोक्सोको क्यान्सर भएको मान्छे, एडस पीडित मान्छे, हाई बीपीका रोगी, मस्तिष्कका रोगी, अधिक दुर्बल व्यक्ति, गर्भबती महिला, कुनै सङ्क्रमित रोगले पीडित व्यक्तिहरूका लागि पञ्चकर्म गर्न बर्जित गरिएको छ ।
नर्सको सहयोगले पञ्चकर्मबारे सम्पूर्ण कुरा सरल ढङ्गले बुझ्ने मौका मिल्यो । उनले मैले पनि ५ दिनदेखि १५ दिनसम्म पञ्चकर्म गर्नुपर्ने कुरा वताइन् । एक त साथीको साथमा गएको मान्छे, अर्कातिर र्याल–सिँगान हुनुपर्ने, मालिस आदित्यादि गर्नु/गराउनुपर्ने आफ्नी गृहमन्त्री नभई नहुने ठानेर पञ्चकर्मको कार्यक्रम अर्को पटकको लागि भनी स्थगित गरेँ । शिवकुमारलाई नै यत्ति विघ्न दुःख दिनु पनि मनासिव लागेन ।
खासै समस्या नभोगीकनै पुरानो दिल्ली फर्कियौँ । लोकल ट्रेन परेछ । चारैतिर गाउँघर डुलायो । फोहोरको डङ्गुर भएतिर घुमायो । गाउँलेहरूको जीवनशैली अनुभूत गरायो । समय निकै खायो तर प्राकृतिक र भौतिक रसबसको दर्शन भने राम्ररी गरायो ।
पुरानो दिल्ली पुग्नुभन्दा ४/५ घण्टा अघि आधा दर्जन मान्छेले हत्त न पत्त दूधले भरिएका गिलेन ट्रेनको झ्यालमा झुन्ड्याए र भित्र पसे । हाम्रै सिट खाली देखेर दुवैतिर बसे । केही बेर अन्यत्रका कुरा गरे । एउटाले घुँडामाथि कालो झोला राख्यो र भित्रबाट तास निकाली बाड्न थाल्यो । होहल्ला गर्दै उनीहरू खेल्न थाले । अन्य सिटमा बसेकाहरू पनि नजिकै आएर हेर्न थाले । नभन्दै त्यो ठाउँ व्यस्त सहरको व्यस्त अड्डाखानामा परिणत भयो । नजिकै बसेको एक बुज्रुक भन्दै थियो, “लोकल ट्रेनमा यी यस्तै हो, जे गरे पनि सुहाउने, हामीले मान्नै पर्ने !”
पुरानो दिल्ली त पुगियो । रातको ९ः३० बजे हिँड्ने ट्रेन १२ बजे आउँछ भनियो । टिकट काटेर प्लेट नं. १३मा पुग्दा जयनगर जाने गाडी निर्धारित समयभन्दा साढे पाँच घण्टा ढिलो छ भनियो । सयौँ जना यात्रुहरू प्लेट फर्ममै अलपत्र भए । न सुत्न पाइयो न समयमै यात्रा गर्न भेटियो । कष्टकर क्षण मात्र बिताइएन लाखौँ मान्छेको भीड देख्दा ट्रेनमा चढ्न नसकिएला भन्ने पीर पर्यो । जे भए पनि झटपट र हडबडको यात्रामा झमेला सहनु नै थियो । जसो पर्ला पर्ला भनेर मनलाई थामथामथुमथुम पारिरहेँ ।
हामी नजिकै एक सुकिलामुकिला मान्छे बस्न आइपुगे । तीसँग खासै बोलिएन पनि र सोधिएन पनि ! शिवकुमार र म हिन्दीमै भलाकुसारी गर्न थाल्यौँ । कुरैकुरामा उनले हाम्रो विवशता र असमर्थता बुझेछन् । उनले नै बिकलाङ्गका लागि ट्रेनको छ्ुट्टै डब्बा हुने र जेनेरलको टिकट काटेर पनि अपाङ्गहरूले सहजै यात्रा गर्न सक्ने नियम बारे बताए । हामी चढ्ने ट्रेन आए पछि उनले डब्बा पनि देखाई दिए । विशेषतः म अघोरै खुशी भएँ । विपत्मा परेका र उपायको खोजी गरिरहेका मजस्ता निम्छराहरूलाई आफ्नो सुझबुझले सहयोग गर्ने ती सुकिलामुकिला मान्छेमा मैले भगवान् देखेँ । र, धन्यवाद भन्दै देखाएको डिब्बातिर दौडिएँ । ढोका नजिकका मालसमान तल छार्ने र चढाउने मान्छेले बिकलाङ्गका लागि पछाडि बस्ने ठाउँ छ भनेर देखाइदियो ।
हत्त न पत्त सकिनसकी पुनः पछिल्तिर दगुर्नु पर्दा म हैरानमा परेँ । शिवकुमार पनि गहकिलो झोला बोकेर दगुर्दा थाक्न पुगेँ । स्वाँस्वा र फ्याँफ्या गर्दै पाइला चाल्दै जाँदा एक रेल्वे पुलिसलाई भेट्टाएँ । उसलाई सोधेको त अगाडि छ भनिदियो । जहाँ पुगेर हामी भर्खरै फर्केका थियौँ उतै जान भन्यो । मैले अरूले भर्खरै भनेको वास्तविकता औँल्याउँला ऊ झर्कियो र भनेको ठाउँतिर जान कडा निर्देशन दियो । हामी अल्मलिएर उभियौँ । उसलाई दया लागेछ क्यारे हामीलाई अगाडि जाँदै गर्न लगायो र आफू आएर बिकलाङ्गको डब्बामा बसाइदिने कुरा बतायो ।
नभन्दै हामीले एउटा डब्बा भेट्टायौँ जसमा लेखिएको थियो– भिन्न क्षमताओं के लिए । बिकलाङ्गों के लिए भनेर कतै लेखेको थिएन । ढोका पनि भित्रैबाट बन्द थियो । भित्र दुई/चार जना मात्रै गुनगुन बोलेको आवाज सुनिन्थ्यो । के गर्ने, के नगर्ने भनेर हामी द्विविधामै थियौ । उही पुलिस आयो चढ्न भन्यो । म जान्ने भएर भनेँ, “यह तो बिकलाङ्गो के लिए नही है !” उसले झन् ठूला आँखा बनायो र आफूले भनेपछि ढुक्कले चढ्न र सुरक्षित यात्रा गर्न भन्यो ।
उसैले धकेलेर ढोका खोलिदियो । डर मान्दै भित्र पस्दा त एउटा बिरामी केटो ह्विल चियरमा बसिरहेको र उसका अरू तीन जना अभिभावक वरपर बसेका भेटिए । अब भने अपाङ्गकै लागिरहेछ भन्ने एकिन भयो । जीवनमा पहिलो पटक अपाङ्गको सुविधा लिएकोमा हिनताबोधले मनको अन्तरकुन्तर निकैबेर घोचिरह्यो । दशैँको छुट्टी भइसकेकाले घर फर्कने मानिसहरूको भीडले अरू जेनेरल डब्बामा खुट्टा राख्ने ठाउँ पाउनु महाभारत युद्ध जित्नु सरह थियो । चुपचाप त्यही थच्चिनु बुद्धिमानी लाग्यो । नाना भाँतीका प्रसँग झिकेर मनलाई शान्तवना दिने प्रयत्न गरिरहेँ ।
भारतमा ट्रेनमा मात्र नभई यात्रुबाहक बसमा पनि महिला, ज्येष्ठ नागरिक र अशक्त/अपाङ्गहरूका लागि बेग्ला बेग्लै आरक्षित स्थान तोकिएको भेटियो । नेपालमा भने मानव अधिकारको खोक्रो भाषण मात्रै गरिन्छ । कदम कदममा मानव अधिकार उलङ्घन भएको हेक्का राखिन्न । अशक्तहरूको पक्षमा उभिने संस्कारै छैन । राज्य स्वय म उदासिन बनेको पाउँदा मन अमिलो हुन्छ ।
यस बिरामी केटोका हजुरबा रहेछन् समस्तीपुर जिल्लाको सतमलपुर चौक, बाडाटोलका बिहारी महतो । उनी धार्मिक र बौद्धिक व्यक्तित्व रहेछन् । उनी पनि मेरो इतिवृति बुझेर कल्पिए । र, चाँडै निको हुने छ भनेर मलाई आश्वस्त पार्ने कोशिस गरे । उनको सुझबुझ र सहयोगी भावनामा मैले साक्षात् भगवान् भेटेँ । उनका कुरा हिन्दू धर्म, मिथिला संस्कार र मैथिल समाजको रीतिरिवाज अनुकूल थिए । निकै बेर मैले उनका कुरा सुनेँ ।
कुरै कुरामा मैले उनलाई सोधेँ– मैले २५ वर्षभन्दा बढी अरूकै सेवामा जीवन बिताएँ । हजारौँको सङ्ख्यालाई नव ज्योति दिएँ र दिलाएँ । आजसम्म जानेर कसैको कुभलो गरिनँ । आफ्ना कारणले कसैको आँखामा आँसु आउने अवस्था नै ल्याइनँ । समग्रमा एक माष्टर बनी विद्यार्थी र अभिभावकको मनमन्दिरमा विराजमान हुने काम मात्रै गरेँ । र, पनि आज आफू स्वय म अधकल्चो र अधमरो जीवन घिसारिरहेको छु । आखिर म कुन अपराधको फल भोगिरहेछु ? हाम्रा धर्मविज्ञानले कसो भन्छन् ? तपाईंको बुझाइ के–कस्तो छ ?
बोली नै पिच्छे संस्कृत र हिन्दीका श्लोक भनेर आफ्ना भनाइलाई धार्मिक दृष्टिकोणबाट पुष्टि गर्ने विहारी माष्टरलाई मेरो प्रश्नले रन्थन्याएछ । निकैबेर चुप रहे । म पनि शब्दविहीन घोरिइरहेँ । शिवकुमारले जवाफ दिन घच्घच्याउँदा उनले महाभारतको युद्ध मैदानका कुरा कोट्याउँदै भनेँ– अर्जुनको वाणले शरीर छियाछिया पार्दा र वाणकै चितामा लेटिरहँदा भीष्मले कृष्णसँग यही र यस्तै प्रश्न गरेका थिए । उनको कथन थियो– विनाअपराध मैले यस्तो पीडादायी समय किन भोग्नु पर्यो ? के विधाताले मलाई दिइने दण्डविधानमा गलत कुरा नै लेखेका हुन् त ?
विहारी माष्टरले कृष्णले भनेका कथन प्रस्तुत गर्दै भने– पूर्व जन्ममा भीष्मले आफ्नो मार्गमा हिँडिरहेको सर्पलाई टेकिन्छ क्यारे भनेर लाठीले सानो झाडीतिर फ्याकेर अघि बढेका थिए रे ! उनको सोचमा सर्प सुरक्षित साथ आफ्नो गन्तव्यतर्फ लाग्यो भन्ने थियो । यद्यपि कुरा सोचेजस्तो थिएन । त्यो सर्प झ्यालको काँढामा पर्यो र उसको शरीर काढामा उनीइयो । त्यो तत्कालै मरेन । निकै दिन भोक, तिर्खा र दुःख–कष्ट सहेर बाँच्यो र अन्ततः शरीर बिस्तारै सुकेर मर्यो । हो, त्यही अन्जान पापको फल भोग्न भीष्मले वाणशैयामा बाँच्नु परेको हो ।
विहारी माष्टरले वर्णन गरेका यस्ता प्रसँग सुनेर चित्त बुझाउनै पर्यो । उसो त पशुलाई सताउने त्यस्ता पापकर्म अनगिन्ती गरिएको छ । पापकै कुरा गर्ने हो भने लाखौँ कमिला, मच्छड र किरा–फट्याङ्गा बीच्छी–सर्प मारिएको छ । अशक्त बनाएर खेलिएको छ । अँझ मेरो प्रिय मित्र देवराज हरहरा सर्पको जीव्रो थुतेर मिल्काइदिन्थ्यो । र, सर्प घाँटीमा बेरेर जय शम्भो ! भन्दै अरूलाई तर्साउँथ्यो । मेरा गलामा पनि धेरै पटक सर्प बेरिदिएको थियो । मैले पनि त्यस खाले कर्म एकाध पटक गरेको छु । दुर्भाग्य ! आज त्यो मेरो मित्र धरतीमै छैन । छ त केवल उसको सम्झना ! त्यही पापका कारण साथीले अल्पायुमै धरती छाड्यो र म पनि त्यस्तै अपराधको फल भोग्दै जवानीमै अपाङ्ग जीवन भोग्दै छुभन्दा कत्तिको मनासिव हुन्छ ? विश्लेषणको जिम्मा विहारी माष्टरजस्ता धर्मका ज्ञाता र विश्लेषकको हो कि ?
४० घण्टे यात्रा समाप्त हुँदा नहुँदै समस्तीपुर स्टेशन आयो । र, डा. हिरालाल युप्ताकहाँ आउँदा आफूकहाँ पनि आउन भन्दै विहारी माष्टरको समूह बिदा भयो । विहारीको आनीबानी र विचार–भावनामा पनि मैले भगवान् भेट्टाएँ । ट्रेन उत्तरतिर घिस्रिँदै गयो । र, बल्ल जयनगरको माटो भेटियो । ट्रेनबाट उत्रनासाथ एक जनाले टिकट चेक गर्न माग्यो । मैले गोजीवाट दुई वटा टिकट निकाल्दा पचास रूपियाँको भारु नोट पनिसँगै देखा पर्यो । अर्को हातको अभावले टिकट मात्र हेरोस् भनेर हात बढाएँ । नोट देखेर त्यो मान्छे तर्सियो र एक कदम पछि हट्यो । मैले टिकट मात्र हेर्न आग्रह गरेपछि उसले बडो सतर्कता साथ टिकट हेरेर फर्कायो ।
बल्लतल्ल असोज ३० गते मङ्गलबार फुलपातीको दिन सिरहाको माडर टेक्न पाइयो । गोलबजार पुगेर समान राखियो । शिवकुमार राजविराजतिर हानिए । म चार बिस कटेका बुबाआमाको हातबाट टीका थाप्न पाउने अवसर भेटेकोमा औधी खुशी थिएँ । सबभन्दा बढता त बुबाआमाको अनुहारमा म भएपछि दशैँ आउने भएकोमा उत्साहित थिएँ । र, झट्पट रूपनगर हुँदै बेलका नगरी गल्फडियातिर हानिएँ ।
–नन्दलाल आचार्य
श्रीजनता मावि, गोलबजार–४, सिरहा ।
सम्पर्क नं. ९८४२८२९२०६
