Skip to content



तिम्रो र मेरो कस्तो सम्बन्ध ?
तिमीले कहिल्यै आफ्नो ठानेनौँ ।
मैले कहिल्यै पराइ ठानिनँ ।
तिमीले जित्यो कि मैले हारेँ
कहिल्यै सोच्ने प्रयास गरिनँ ।

पराइ ठान्न पाएकोमा
खुसी हुन्छौं भने
खुसी हुने अधिकार हनन गरेर
कहिल्यै टाढा बस्न सकिनँ ।

तिम्रो समीप बसेर
तिमीबाट अपमानित बन्ने रहरहरूमा
किन यी मनहरू आनन्दमा डुब्छन्
कहिल्यै बुझ्ने कोसिस गरिनँ ।

इख र बिख नभएको भनेर
अनेक आत्माहरूले
खेदो खन्दा पनि
तिम्रो तिरस्कारमा तनहरू भाग्न मान्दैनन्

सम्बन्धका पत्रहरूमा
इतिहासको कालखण्ड बित्ला
नबुझिने दस्तावेजमा
बाध्यताको नजिर बन्ला
अनुभवका पुञ्जहरूमा
हनुमानको भजन बन्ला
दूरता अंगाल्ने नदीहरूको सुसेली रोकिएला
स्पन्दनका चाल रोकिएला
तर,
तिम्रो तिरस्कारका पैताला मुनि लुक्ने
तन र मनले छोड्ने छैन ।
तिरस्कारका पैताला मुनि लुक्ने
तन र मनले छोड्ने छैन ।
(०७५/०९/०६)

Leave a Reply

Your email address will not be published. Required fields are marked *