Skip to content


उमेशलाई अचेल सबैले पागलप्रेमी भनेर चिन्छन्। हुन पनि प्रेममा असफल भएपछि अचानक ऊ साहित्यकार भएको छ। पहिलो प्रेमको यादकै सहारामा जिउने, जिन्दगीमा कहिल्यै माया नगाँस्ने र बिहे नगर्ने कसम खाएको छ। जो भेटे पनि केही न केही साहित्यिक रचना सुनाइहाल्छ। उसको रचनामा प्रेमपछिको बिछोड झल्कन्छ। संयोगान्त रचना उसलाई खासै मन पर्दैन। कहिलेकाहीं त ऊ आफ्नै रचना सुनाउँदा-सुनाउँदै धुरु-धुरु रुन्छ। त्यतिकै उसलाई मान्छेले पागलप्रेमी भनेका होइनन्। अचेल उसले एउटा अन्त्यहीन यात्रा थालेको छ। उसको कुनै लक्ष्य छैन। उसको यात्रा कहाँ गएर टुंगिन्छ, कसैलाई थाहा छैन। सायद भगवान समेत अनभिज्ञ छ। तै पनि उसले पाइला अनवरतरुपमा चालिरहेको छ। रातमा बाहेक अरुबेला विश्राम लिएको छैन। यात्राकै क्रममा ऊ एउटा भोटेगाउँमा पुग्छ। रात परिसकेकोले एउटा घरमा बास माग्छ। उसले अरु दिनभन्दा आज सजिलैसँग बास पाएको छ। मनमनै गदगद छ। खाना खाएपछि एउटा कविता लेखेर सुतिहाल्छ। उषाको लालीसँगै जगतले नयाँ जीवन प्राप्त गरिसकेको हुन्छ। त्यो घरको मालिक पूजा सामग्री लिएर पूजाकोठामा जान लागिरहेको छ। उसको मुहारमा भएको चमक देखेर उमेश अर्थात पागलप्रेमी छक्क पर्छ। प्रेममा धोका खाएदेखि ऊ नास्तिक भएको हो। तर त्यो घरको भोटेलाई देखेपछि उसको मनमा कौतुहलता बढेको छ। एक्कासि आस्तिक भएर कौतुहलता बढेको भने पक्कै हैन। उसले भोटेको भगवानलाई हेपाहा नजरले हेर्न खोजेको हो। उसको भगवानको मजाक बनाउन खोजेको हो। पागलप्रेमीले भोटेलाई मुसुक्क हाँस्दै सोध्छ-

“तपाईं कता जान लाग्नुभएको यति विहानै?”

“म मेरी देवीको चरणमा पर्न जान लाग्या नि।”

“तपाईं देवी-देवता माथि विश्वास गर्नुहुन्छ?”

“गर्छु। किन?”

“किनभने म विश्वास गर्दिन।”

“किन?”

“यो संसारमा भगवान भए पो विश्वास गर्नु त!”

“त्यो त आ-आफ्नो इच्छाको कुरा हो।”

“इच्छाको कुरा त हो, तर भगवान छैन्।”

“तपाईं जान सक्नुहुन्छ। बास दिएँ, अब के चाहियो?”

“म पनि तपाईंको देवी हेर्न चाहन्छु।”

“मिल्दैन।”

“किन मिल्दैन?”

“तपाईं निहुँ नखोज्नु न।”

“मैले निहुँ खोज्या छैन।”

“त्यसो भए के खोजेको?”

“तपाईंकी देवी।”

“हेर्न मिल्दैन। मेरी देवीलाई सिर्फ मैले मात्र पूजा गर्छु।”

भोटेको कुरा सुनेर पागलप्रेमीलाई झन चासो बढ्छ। उसको देवीलाई हेरेरै जाने विचारलेपछि-पछि जान्छ। पागलप्रेमीको जिद्धीको अगाडि भोटेको केही लाग्दैन। दुबैजना पूजाकोठातिर प्रस्थान गर्छन्। पूजाकोठामा पुगेर पागलप्रेमी तीन छक्क पर्छ। ऊ साँच्चिकै पागल होला जस्तो हुन्छ। कोठाको भित्तामा कुनै देवी-देवताको तस्वीर नभएर एउटी सुन्दर नारीको तस्वीर टाँगिएको हुन्छ। त्यही तस्वीरमा अवीर, फूलमाला र खादाहरू सजाइएका हुन्छन्। देवी-देवतालाई समेत मान्न छोडेर हिंडेको पागलप्रेमी भोटेले नारीलाई समेत पुजेको देख्दा हैरान हुन्छ। कौतुहलता माथि अँझ कौतुहलता थपिन्छ।

“यिनी को हुन्?किन तपाईं यिनलाई पूजा गर्नुहुन्छ?”-पागलप्रेमीले उत्सुक हुँदै सवाल गर्छ।

“यसको लामो कथा छ। तपाईं सुन्न सक्नुहुन्न।”

“प्लीज, सबै कुरा मलाई पनि भन्नुस् न। यस कुराको रहस्य नजानीकन म यहाँबाट जानेवाला छैन।”

“सुन्नूनै हुन्छ भने ध्यान दिएर धैर्यतापूर्वक सुन्नुस्।”

स्वदेशमा बाबा-आमाको च्यात्तिएको सपना सिउन। भाइ-बहिनीहरुको रहर किन्न। संसारको सबैभन्दा अग्लो टावर बुर्ज खलिफाभन्दा अग्लो चाहना र आकांक्षा लिएर यु.ए.ई.को धरातलमा अवतरण गरेको पनि एक साल भैसकेको थियो। यु.ए.ई.आउँदा लागेको ऋण नतिरुन्जेल त कति इच्छाहरुलाई बलि चढाएर, शहीद बनाएर बिदाका दिनहरू पनि कोठामै गुम्सिएर जेलमा बसेझैं गरेर व्यतित गरें। तर ऋण तिरिसकेपछि त पिंजडाको सुगा उम्किएझैं स्वतन्त्र भएको आभास भयो। तलबको आधा पैसा खर्चेर आधा मात्र घर पठाउन थालें। ऋणबाट उम्केपछि उम्केको माछो जस्तै लाग्दोरहेछ आफूलाई। साहुको तमसुक च्यात्तिएपछि भाग्य आफसेआफ सिइँदोरहेछ। यस्तै-यस्तै केही भ्रम अनि केही यथार्थता मनमा लिएर बाँचिरहेको थिएँ म। रक्सी बन्देज भएको देशमा पनि कता-कताबाट खोजेर भए पनि निकालीन्थ्यो र प्रायः दिनहुँ जसो कोठामा साथीहरू मिलेर पार्टी गरिन्थ्यो। स्वदेशमा घरको नाजुक अवस्थालाई चटक्कै बिर्सेर माथि-माथि उड्न थालेको थिएँ। आफ्नो औकात र धरातल भुलिसकेको थिएँ। भुइँमा खुट्टा थिएनन्। स्मार्टफोनमा समेत आँखा लाग्न छोडेका थिए। आइफोन, ब्रान्डेट कपडा र के.एफ.सी, मेकडोनाल्ड जस्ता खानामा रमाउन थालें। दुबई मल र इमिरेट्स मलहरुतिर घुम्न थालें। जीवन जिउने तरीका नै फरक भैसकेको थियो। भूतबाट पाठ सिक्न र भविष्यको चिन्ता लिन छोडेर वर्तमानलाई तडकभडक बनाउन थालें। भोलि त के हो-के हो, आजै मोजमस्ती गर्नुपर्छ भन्ने सोचले दिमागमा डेरा जमाएको थियो।

सन २०१७ डिसेम्बर-३१ को रात। २०१७लाई बिदा गरेर २०१८लाई स्वागत गर्ने पल दूर थिएन। सामाजिक संजालमा शुभकामनाका सन्देशहरू भटाभट आदनप्रदान भैरहेका थिए। हाम्रो कोठामा पनि भव्य पार्टीको आयोजना गरिएको थियो। साथीहरू नशामा झुम्मिरहेका थिए। कोही चाहिँ आफ्ना प्रेमीकालाई फोन गर्दै थिए। उनीहरुका शब्दहरुले सीमा नाघिरहेका थिए। उतिबेला अश्लील शब्दहरू पनि बहुत मीठा लाग्थे। म भने सबैको चर्तिकला हेरेर मजा लिन थालें। यतिकैमा साजन फोन गर्न छोडेर मेरो समीप आयो।

“ओइ भोटे!तेरो गर्लफ्रेन्ड छैन?”

उसको बोल्ने शैलीले मलाई रिस उठिसकेको थियो। तै पनि आफूलाई सम्हालेर चुप लागेर बसें।

फेरि पनि उसले त्यही प्रश्नको पुनरावृत्ति गर्यो।

“छैन यार। भएकाहरू मोज गर।”-मैले जवाफ फर्काएँ।

“तँ चिन्ता नगर। म मिलाइदिन्छु। बुझिस्?कस्ती चाहिन्छ तँलाई?”

“जस्तो भए पनि चल्छ।”

“बुढीकन्या पनि चल्छ?”

“चलिहाल्छ नि। कति वर्षकी हुन्छे?”

“भइन् होली २६/२७।”

“भैगो नि। मेरै एजको रैछे।”

“खै तेरो मोबाइल दे, सेभ गर्दिन्छु। अप्सरा भनेर सेभ गर्याछु नि। मेरो गर्लफ्रेन्डकै साथी हुन्….।”

अन्तमा उसले अश्लील शब्द बोल्यो। मैले सहेर बसें। म नशाको सागरमा यसरी डुबेको थिएँ कि अप्सरालाई रातभरि फोन गरेछु। ५०० धिरामको रिचार्ज कार्ड झ्वाम भएछ। खै के-के कुरा गरें यादै भएन। अन्तमा भोलि अर्थात २०१८, जनवरी-१ को दिन भेटघाट गर्ने योजना बन्यो।

दिउँसोको १२ बजे जुमेरा-बीचमा पुगें। पानीका छालहरू बारम्बार आएर किनारामा तड्पिरहेका प्यासी बालुवालाई तृप्त बनाएर फर्किने गर्थे। तर थोरै बालुवाले मात्र केहीबेरको लागि तृप्त हुन पाउँथे। बाँकी धेरै बालुवाका कणहरू अतृप्त नै रहन्थे। बिचरा बालुवाको हालत देखेर दया लागेर आउँथ्यो। पानीको छालसँग चिसो बतास पनि बहन्थ्यो जसले स्वदेशबाट बाबा-आमाको केही सन्देश बोकेर ल्याए जस्तो भान हुन्थ्यो। एकैछिन मेरा आँखा रसाए। पुनः मेरो ध्यान त्यहाँको कृयाकलापतिर गयो। बालुवामाथि केही युरोपियन र अमेरिकन गोरीहरू बिकिनीमा सजिएर शरीर सेकाइरहेका थिए। विभिन्न पोजमा रहेका गोरीहरुको अश्लील दृष्यले सुतिरहेको मेरो मनको इच्छालाई जुरुक्क उठायो। मैले आफूलाई नियन्त्रण गरें। केही गोराहरू पनि टिमिक्क टाँसिएका छोटा-पातला अन्डरवेयरमा मात्र थिए। तर पुरुष भएर होला कुनै असामान्य लागेन। तर पानीभित्रको दृष्यले मलाई सहन मुश्किल बनायो। केही गोरा-गोरी र अन्य देशका युवा-युवतीहरुको जोडी पानीमै सहवास गरिरहेका जस्तै देखिन्थे। कोही पुरुषहरूको आफ्ना स्त्रीहरुलाई जुरुक्क बोकेर चुम्बन गरिरहेका थिए। छातीभन्दा माथिका दृष्य मात्र छर्लङ्ग देखिन्थे तर तलको भाग भने अदृष्य नै थिए। सबै स्त्री-पुरुषहरू एक-अर्कामा लिप्त थिए। एकप्रकारको कौतुहलताले मनलाई अस्थिर बनाइरह्यो। त्यतातिर हेरिरहने मेरो हिम्मत भएन।

केहीबेर उभिएरै चारैतिर नजर लाइरहें। मेरो नजर २४/२५ वर्षकी एक युवतीतिर गयो। कसैको व्यग्र प्रतिक्षामा बसेझैं देखिन्थीन्। मैले सोचें-मेरी अप्सरा उहीँ हुनुपर्छ। सरासर नजिकै गएर सोधें।

“तिमी अप्सरा हौ?”

“हैन, म त परी हुँ, बल्ल स्वर्गबाट झरेकी।”-यति भनेर उनी खित्का छोडेर हाँसिन्।

“मजाक नगर न। अप्सरा हो कि हैन?”

“तिमी आफैं गेस गर न, हो कि हैन।”

“मैले चिन्न सकिन। तिमी नै भन न।”

“सरी, म अप्सरा हैन, संचिता हुँ।”

उनको जवाफले म स्तब्ध भएँ। एकछिन त केही भन्नै सकिन। लज्जित हुँदै कुरालाई बंग्याएँ।

“मैले चिनेको साथी अप्सराको जस्तै रुप देखेर अलि दोधारमा परें। त्यसैले सोधेको। हाम्रो भेट नभएको ६/७ सालै भो, त्यसैले हो कि हैन जस्तो लाग्यो। हैन रहेछ। अन्यथा नलिनुहोला।”

मैले ढाँटिदिएँ। अप्सरालाई मैले देखेकै थिइन। उनलाई पहिलोपटक भेट्न त्यहाँ गएको थिएँ।

“ए, ठिकै छ नि। कन्फ्युज हुनु तिम्रो दोष पनि त हैन। कहिलेकाहीं झुक्किनु प्राकृतिक नियमै हो।”

“बुझिदिनुभएकोमा धन्यवाद संचिता जी। अनि घर कता पर्यो नि हजुरको?म संतोष लामा। भोटे भनेर जिस्क्याउँछन् साथीहरुले। घर सिन्धुपाल्चोक।”

मेरो कुरा सुनेर केहीबेर उनी मुख छोपेर हाँसिन्।

“तपाईं रोमाञ्टिक पाराको हुनुहुँदोरहेछ। भेटेर खुशी लाग्यो। मेरो घर चाहिँ झापा।”

“मेरो असली रोमान्स त हजुरले देख्नुभएकै छैन। संगत गर्नुभयो भने देख्नुहुनेछ।”

मैले गज्जबले जोतिदिएँ। उनले पत्याइन्।

“अरे!मलाई ‘हजुर’ भनिरहनु पर्दैन। तिमीभन्दा हुन्छ। अँझ संचिताभन्दा सहज हुन्छ।”

“हुन्छ संचिता, अबदेखि संचिता भन्छु। अनि तिमी एक्लै?”

“उ..पर हेर न। मेरी साथी र उसको ब्वाइफ्रेन्ड। साथी भएर आउँदा पंगु भइयो आज। उनीहरू चाहिँ रोमान्स गर्दछन्। म एक्लै ट्वाल्ल परेर हेर्नुपरेको छ।”

“अब त म साथी भएँ नि तिम्रो। टेन्सन लिनुपर्दैन।”

“उम्म होला, होला। तिमी पनि गैहाल्छौ नि एकैछिनमा। के भरोसा तिम्रो!”

“म यहाँ रहुन्जेल साथ दिइहाल्छु नि।”

“भो पर्दैन। एकछिन साथ दिएर के गर्नु?”

“अनि कतिन्जेल दिनुपर्यो त?”

“जूनी-जूनीसम्मको साथ मागुँ भने बल्ल त चिन्जान भएको छ।”

फेरि खित्का छोडेर हाँसिन्। उनको हाँसोमा मेरो हाँसो पनि मिसियो। हाम्रो हाँसो सुनेर उनका साथीहरू हामीतिरै हेर्दै थिए। इशाराले “मोज गर”को संकेत पनि दिंदै थिए। म लज्जित भएँ। संचिताले सम्हालिन्। पुनः पूर्वावस्थामा फर्किएँ। मेरो फोनको घण्टी बज्यो। अप्सराको फोन रहेछ। फोन उठाइन र स्वीचअफ गरिदिएँ। सायद अप्सराले मलाई धोकेवाजको उपनाम दिई होलिन्।

“बस न, के उभिरहेको?”-उनैले शुरु गरिन्।

म उनको नजिकै बसें र दोस्तीको हात बढाएँ। उनले हात मिलाउँदै भनिन्-

“बल्ल भेट भएको हामी?”

“त्यस्तै सम्झ।”-मैले जवाफ दिएँ।

सामान्य गफ-गाफपछि मैले सम्बन्धलाई बिस्तार गर्ने उदेश्यले कुरा बढाएँ।

“अनि संचिता!तिम्रो बिहे भएको छ कि छैन?”

“अहिलेसम्म त भा’छैन। अब भने सोच्नुपर्ला।”

“मसँग भेटेपछि यो विचार आएको हो?”-मैले हाँस्दै सोधें।

“हो त। तिमी त कति ट्यालेन्ट छौ है?अनि तिम्रो बिहे भयो त?”-उनले पनि हाँसेरै भनिन्।

“मेरो पनि भा’छैन। अब भने गर्नुपर्ला।”

हामी दुवै निकैबेर दिल खोलेर हाँस्यौं।

केही पलपश्चात् एउटी राम्री, हिस्सी परेकी केटी हाम्रो छेउमा आइन्। एक मिनेट जति चारैतिर अवलोकन गरिन्।

“यहाँ मनोज नामको कोही केटा देख्नुभयो?”-उनले हामीलाई सोधिन्।

“छैन-छैन, मनोज नामको कुनै केटा आएको छैन यो बीचमा।”

मैले हतारमा जवाफ दिएँ। उनी निराश भएर अलि पर्तिर गइन् र थचक्क बसेर मनोजको प्रतीक्षा गर्न थालिन्। हामी आफ्नै तालमा ब्यस्त भयौं। तर बेला-बेलामा उनैलाई नियाल्थें। धेरैपटक कसैलाई फोन गर्ने कोसिस गरिन् तर सफल भइनन्। एक घण्टा जति पर्खेर कोही नआएपछि उनी आफ्नो बाटो लागिन्। म ढुक्क भएँ, किनकि डिसेम्बर ३१ को राती उनलाई फोन गर्नेमै थिएँ। उनलाई मैले आफ्नो नाम मनोज बताएको थिएँ। उनलाई त्यहाँ बोलाएर म अर्कै केटीसँग ब्यस्त भएको थिएँ। कता-कता पछुतो पनि लाग्यो। तर घाटामा थिइन। मसँग संचिता थिइन्। उनी साथमा हुँदा वरिपरि केही देखिन। गोरा-गोरीका चर्तिकला पनि देखिन। म बिस्तारै उनीसँग झ्यामिन थालें। नजिक-नजिक सर्दै गएँ। टाँसिदै गएँ। अनेक बहानामा उनलाई स्पर्श गर्न थालें। उनले पनि साथ दिइन्। हातमा सुस्तरी सुम्सुम्याएँ। हामी एकैछिनमा घनिष्ट भयौं।

“हामी पनि पौडिन जाऔं न संचिता।”

“नाइँ के, मलाई पौडिनै आउन्न।”

“म सिकाइहाल्छु नि।”

“डुबायौ भने नि!”

“डुबाउँदिन। म ख्याल गरिहाल्छु नि।”

“लौ हुन्छ जाऔं उसो भए।”

भित्री कपडा मात्र लाएर हामी पनि पानीमा पस्यौं। शुरुमा त डराउँदैथिन्। पछि मैले हात समाएर सहयोग गरेपछि खुलेर पानीसित खेल्न थालिन्। मैले उनको शरीरमा पक्डेर पौडिन लगाएँ। उनी मज्जा लिन थालिन्। त्यही बहानामा उनको संवेदनशील अंगतिर समेत स्पर्श गर्न भ्याइहालें। कसैले देख्लान् कि भनेर यता-उता नजर दौडाएँ तर सबै आ-आफ्नै प्रेमील कृयाकलापमा ब्यस्त थिए। कसलाई कसको मतलब?पानीको छालले हामीलाई कहिले यता र कहिले उता धकेलिरहेको थियो। हामी झन पर-पर गयौं। पानी घाँटीसम्म पुगिसकेको थियो। संचिता अलि होची भएकोले डुब्न लागिसकेकी थिइन्। उनी अतालिन थालिन्। मैले उनलाई जुरुक्क बोकें। पानीले पनि केही मात्रामा उचालेको हुँदा उनलाई सजिलै काखमा बोक्न सकें। उनी राती-पिरी भइन्। समुद्रमा भए पनि मलाई एक प्रकारको प्यासले भुत्तुक्कै पार्न थाल्यो। छट्पटी बढ्यो। मुटुको ढुकढुकी बढ्यो। बेरोजगार हाम्रा अंगहरुले जागिर पाए। आ-आफ्ना काम र कर्तव्यमा कृयाशील भए। जुमेराबीचको समुद्रले हामीलाई शारीरिक रुपमा एकाकार बनाइदियो। मरुभूमिमा प्यासी कागका जोडीहरुले प्रयाप्त मात्रामा पानी पिएर तृप्त भएझैं हामी तृप्त भयौं। अब हाम्रो त्यहाँ पानीमा कुनै काम थिएन। बाहिर आयौं। पुसको पारिलो घामले सेकाउन थाल्यो। बालुवा तातिसकेका थिए। करीब एक किलोमीटरको दूरीबाट बुर्ज अल अरब होटलले हामीलाई जिस्क्याए झैं लाग्यो। बादलरहित खुल्ला आकाश लजाए झैं लाग्यो। केहीबेरपश्चात हामी अलि पर्तिर भएका ठूल्ठूला पत्थरमा चढेर नीलो पानीको दृष्य अवलोकन गर्नमा व्यस्त भयौं। मीठा-मीठा गफ गरेर दिन बितायौं। सिर्फ त्यही एउटा उदेश्यले साँझपख फेरि एकपटक पानीमा पस्यौं। हामीबीच सबै कुरा साझा भयो। केही कुरा व्यक्तिगत रहेन। त्यही दिनदेखि हरेक बिदाका दिनहरुमा भेट्न थाल्यौं। एक-अर्काको समस्या समाधान गर्न थाल्यौं। आवश्यकताहरू परिपूर्ति गर्न थाल्यौं। कहिले कुन होटल त कहिले कुन होटलमा गएर बस्यौं।

हामी प्रेमी-प्रेमीका भएको पनि कति छिट्टै एक साल भैसकेछ। दिनहरू कसरी बिते, पत्तै भएन। समयको गति त उहीँ हो। तर हामीलाई समयको गति पहिलेकोभन्दा तीव्र लाग्यो। दुबईमा शुरुको एक वर्षको बसाइँ मेरो लागि एक दशक जतिकै लामो लागेको थियो। प्रेम पनि बहुत कमालको चीज रहेछ। जवानी लुटिएको थाहै भएन। शारीरिक उर्जा खर्चिएको थाहै भएन। अनि पैसा सकिएको थाहै भएन। चाडबाडमा १०/२० हजार घर पठाउनु बाहेक अरुबेला कमाएको सबै रोमान्समै खर्चिएछ। तै पनि कुनै गुनासो थिएन। पछुतो थिएन। बरु उल्टै दंग थिएँ। कोही सगरमाथा आरोहण गरेर त्यतिको खुशी नहोला। मंगल ग्रहमा पाइला टेकेर त्यति मख्ख नहोला। करोडौंको ऐश्वर्य आर्जन गरेर आल्हादित नहोला। तर त्योभन्दा दोब्बर खुशी म थिएँ। हामी थियौं। प्रेमलाई कुनै पनि अमूल्य बस्तुसँग तुलना गर्न सकिन्न र मिल्दैन भन्ने मान्यता थियो मेरो। एक वर्षको कमाइ मात्र नभई वर्षौंको कमाइ सकाउन तयार थिएँ संचिताको लागि। संचिताको खुशी नै मेरो खुशी थियो।

एकदिन कोठामा पार्टी हुँदा मेरो एकजना नजिकको साथीले धेरै सम्झायो।

“हेर सन्तोष, यहाँ हामी पैसा कमाउन आएका हौं। गर्लफ्रेन्ड बनायौ, ठिकै छ। तर कमाएको सबै यतै उडायौ भने भोलि पछुताउनु पर्ला। समयमै सजग होउ। कम खर्च गर। धेरै बचत गर।”

“तँ बढी जान्ने नहोउ त। म जेसुकै गरुँ, तँलाई केको चासो?मेरो व्यक्तिगत मामिलामा हस्तक्षेप गर्छस्?तँ आफ्नो लागि सोच।”

“ल-ल जे गर्छौ गर। मैले त साथीको नाताले सम्झाएको मात्र हुँ। माइन्ड नगर न यार।”

“बल्ल ठेगानमा आइस्?गुरु हुन्छस् कहीको।”

मैले उसलाई कहिल्यै नसम्झाउने बनाएँ। सम्झाउन छोड्यो पनि। म आफ्नै संसारमा मस्त थिएँ। अरु साथीहरू पैसा कमाउन ब्यस्त भए। म कमाएको पैसा उडाउन ब्यस्त भएँ।

एकदिन हामी शुक्रबारको मौका छोपेर बरदुबईको “दुबई हेभन होटल”मा छिर्यौं। बंगुरको मासु फ्राइ र रक्सी लिएर गएको थिएँ। मासुसित तीन-तीन पेग लाएपछि रोमान्समा हरायौं। रोमान्सपछि फेरि बाँकी पेग लाउन थाल्यौं। हामी दुवै झ्याप भैसकेका थियौं। संचिता टिल्ल भएर सुतिन्। वाइफाइ कनेक्ट भएकोले उनको फेसबुक मेसेन्जरमा म्यासेज आयो। अरुबेला उनको मोबाइलमा पासवर्ड राखिएको हुन्थ्यो। त्यो दिन भने राखिएको थिएन। औंलाले सरर तान्ने बित्तिकै मोबाइल खुलिहाल्यो। कसको म्यासेज आएको रहेछ भनेर हेर्न थालें। धेरै पहिले देखिका म्यासेजहरू पढिसकेपछि म छाँगाबाट खसेझैं भएँ। रिसको पारो तात्तिएर सीमा नाघ्न थाल्यो। म पागल जस्तै हुन पुगें। म्यासेज अरु कसैको नभएर उनको श्रीमानको थियो। उनी विवाहित रहिछन्। मलाई ढाँटेकिरहिछे। छल गरेकिरहिछे। मलाई मात्र नभई उनले आफ्नो श्रीमानलाई समेत धोका दिएकी रहिछे। मलाई अन्धकारमा राखिएको रहेछ। उनको प्रेम केवल शारीरिक आवश्यकता परिपूर्तिको लागिरहेछ। हुन त म पनि सज्जन त कहाँ थिएँ र! तर मान्छेले अर्काको गल्ती मात्र देख्ने रहेछ। आफूले त जतिसुकै ठूलो गल्ती गरे पनि अदृश्य नै हुनेरहेछ आफ्नो लागि। उनलाई सबैभन्दा बढी माया गर्थें तर अब सबैभन्दा धेरै घृणा गर्न थालें। उनलाई नशाबाटै जुल्फीमा समाएर जुरुक्क उठाएँ। सायद नशाको गहिराईमा डुबेको भएर होला, कुनै प्रतिकृया देखाइनन्। “संचिता!” भनेर बोलाउँदै कांधमा हात राखेर झक्झकाएँ। तर उनले “उम्म” मात्र भनिन्। आँखाहरू लोलाएकै थिए। पूर्णरूपमा खुल्न सकेका थिएनन्। बाथरुमबाट गिलासमा पानी ल्याएर अनुहारमा खन्याएँ। उनी झसँग हुँदै तर्सेझैं गरी उठिन्। पहिलेकोभन्दा चनाखो देखिइन्।

“साला धोकेबाज!मलाई धोका दिइस् हैन?”

यति भनेर गालामा एक चड्कन लाएँ।

“मैले के बिराएँ?आज के भयो तिमीलाई?मेरो राजा, किन रिसाएको?”

उनले मेरो गालामा सुम्सुम्याएर म्वाइ खाँदै फकाइन्।

“नाटक गर्छेस्?साला रन्डी!भालु!मलाई राजा भन्नुपर्दैन। तेरो राजा त साउदीमा रहेछ। तेरो बुडालाई भन राजा।”

मेरो कुराले उनी झस्किन्, डराइन्। अँझै मेरो रिस मरेको थिएन। फेरि अर्को गालामा थप्पड हानें। दुबै गालाहरू सुन्निए। ऐना अगाडि उभिएर आफ्नो अनुहार नियालिन्। अब उनी पनि यसरी रिसाइन् कि त्यस्तो डरलाग्दो रुप कहिल्यै देखेको थिइन। सरासर आएर मलाई पनि चड्कन लाउन थालिन्। म झन-झन उग्र हुँदै गएँ। आगो भएँ। विशाल समुद्र खन्याए पनि म निभ्ने वालामा थिइन। रिसको ज्वाला उनको शरीरमा दन्किन थाल्यो। तानातान, हानाहान भयो। आवेगमा मैले रक्सीको बोतल उठाएर उनको शीरमा प्रहार गरिरहें। कोठा रंगीन भयो। उनी बुर्लुक्क लडिन्। बल्ल मेरो रिस शान्त भयो। लागेको नशा पनि टाप भागिसकेको थियो। तीस मिनेट जति कुर्सीमा थचक्क बसेर लामो सास फेरिरहें। उनको दयनीय हालत देखेर टिस लागेर आयो। बेकारमा कुटेछु भन्ने लाग्यो। उनीप्रति दया जाग्यो। माया लाग्यो। गएर उनलाई उठाएँ तर उनको शरीर अररो र चिसो भैसकेको थियो। नाकमा औंला राखें तर सास फेर्न छोडिसकेकी थिइन्। हातको नाडी छामें तर स्पन्दन चल्न छोडिसकेको रहेछ।

“संचिता!” भनेर बोलाएँ। झक्झकाएँ। उठाउन खोजें। तर उनी सदाको लागि निंदाइसकेकी थिइन्। कहिल्यै नउठ्ने गरी सुतेकिरहिछन्। पश्चातापको रापले जलिरहें। बहुला जस्तो बोलाइरहें, बोलिरहें। तर सुन्ने कोही थिएनन्। युद्ध समाप्ती पछिको क्षण जस्तो शून्यता थियो। कहालीलाग्दो थियो। तर जित कसैको भएन। हामी दुवैले हार्यौं। बर्बर आँसु खसालेर रोएँ, कराएँ। हुनेवाला केही थिएन। नहुनुपर्ने भैसकेको थियो। उनको हत्या गर्ने मेरो मनाशय थिएन। उदेश्य थिएन। उनको झूटको पर्दाफास भएर उनी दुर्घटनामा परी इहालिला त्यागिन्। तर मेरो झूटको पर्दाफास कहिल्यै नहुने भयो। किनकि उनी यो संसारमा रहिनन्। मेरो झूट मलाई मात्र थाहा हुने भयो। गल्ती दुवैले गरेका थियौं। झूट दुवैले बोलेका थियौं। तर सजाय उनले पाइन्। उनको झूट मैले थाहा पाएँ तर मेरो झूट उनले थाहै पाइनन्। बिचरीलाई मैले पनि अविवाहित भनेर झूट बोलेको थिएँ। वास्तवमा म विवाहित मात्र नभई छोराछोरीको बाबु भैसकेको थिएँ।

दुबईमा अपराध गरेर भाग्न असम्भव छ। भागे पनि पलभरमै पुलिसले समाइहाल्छ। संचिताको शव छोडेर भाग्नुको कुनै औचित्य थिएन। एकछिन के गर्ने कसो गर्ने भनेर अलमल्ल परें। मैले ठूलो अपराध गरिसकेको थिएँ। मैले सजाय भोग्ने निर्णय गरें। अर्को विकल्प पनि त थिएन। म आफैंले पुलिस बोलाएँ। जे भएको थियो, यथार्थ बयान दिएँ। शव पोस्टमार्टमको लागि अस्पताल लगे। मलाई हिरासतमा राखियो। अपराध स्वीकारेको र पोस्टमार्टमले पनि हत्या भएको सावित गरेपछि अदालतले सजाय तोकिदियो। संचिताको परिवारलाई ब्लडमनी बुझाउन सके मृत्युदण्डको सजाय मिनाहा गरेर नेपाल पठाइने भयो। तर त्यतिबेलासम्म आफूले कमाएको पैसा सुक्को बचेको थिएन। मेरो परिवारले पनि त्यत्रो पैसा निकाल्न सक्ने कुरो भएन। पैसा संकलन गरुँ त कहाँ गरुँ?कसलाई गुहारुँ?साथीभाइको अर्ती, उपदेश, सल्लाह, सुझाव मानेको भए त्यस्तो दुर्घटना नै हुन्थेन। सबै रिसाएका थिए। पराया भैसकेका थिए। मेरो बारेमा सामाजिक सञ्जालमा हल्ला फैलिएछ। देश-बिदेशमा रहेका धेरै नेपालीहरुले रकम संकलन गरेर पठाइदिए। दाजुभाइ, दिदीबहिनीहरुको दयाले गर्दा मैले पुनर्जीवन पाएँ। नत्र भने संचिताले आफ्नो संसारमा बोलाइसकेकी हुन्थिन्। नेपाल आएपछि पनि धेरै दिनसम्म आफ्नो गल्तीको प्रायश्चित गरिरहें। केही गर्न मनै लागेन। तर कुनै-कुनै बिग्रेको काम सपार्न नसकिने रहेछ। फेरि पनि मबाट कुनै किसिमको अपराध नहोस् भनेर यही देवीलाई पूजा गरिरहन्छु। उनी मेरी देवी हुन्। संचितालाई म बाँचेसम्म पुजिरहनेछु।

भोटेको कहानी सुनेर पागलप्रेमीले लामो सास तान्छ। निकैबेर गम्भीर भएर सोच्छ। केही याद आएजस्तो, केही ज्ञान प्राप्त भएजस्तो गर्छ र अनुहारमा चमक देखिन्छ। अनि एकाएक हर्षित हुँदै बोल्न थाल्छ।

“मैले त सोचेको थिएँ-मलाई जस्तो ठूलो ठेस अरु कसैलाई लागेको छैन होला। मैले धोका पाउनुको पछाडि उनका पनि केही बाध्यताहरू होलान्। त्यो पाटोतिर त मैले सोच्नै बिर्सेछु। तर आज तपाईंको कुरा सुनेर थाहा भयो कि जस्तोसुकै कठिन मोड आए पनि हाँसेर सामना गर्नुपर्ने रहेछ। एकपटक ठेस लाग्नु नै जीवनको अन्त्य हैन रहेछ। जसरी तपाईंले दुबईबाट ठूलो पाठ सिकेर आउनुभयो, त्यसरी नै मैले पनि तपाईँको कथा-व्यथाबाट ठूलो पाठ सिकें। अब म जान्छु। म आफ्नै घर जान्छु। परिवारलाई भेट्छु। बाबा-आमालाई कति ठूलो पीर परेको होला यतिबेला!मैले त आफ्नै लागि मात्र सोचें। म जस्तो स्वार्थी संसारमा अरु नहोला। म तपाईंलाई जिन्दगीभर सम्झिरहनेछु। तपाईं नै मेरो महान गुरु निस्किनुभयो। तपाईंसँग भेट नभएको भए मेरो के हाल हुन्थ्यो होला। हवस् त सन्तोषजी!म आफ्नो घरतिर लागिहाल्छु।”

दुईहात जोडेर नमन गरेर उमेश अर्थात पागलप्रेमी सज्जन भएर आफ्नो बाटो लाग्छ। सन्तोष भने निकै पर-परसम्म उसको बाटो हेर्छ। हेर्दा-हेर्दै पागलप्रेमीलाई वनजंगलले छेकिदिन्छ। सन्तोष मुसु-मुसु हाँस्दै घरभित्र प्रवेश गर्छ। सन्तोषको सानो छोराले सवाल गर्छ-

“बाबा, बाबा!त्यो मान्छे को थियो?अनि कहाँ जान लागेको?”

सन्तोषकी श्रीमतीले जवाफ फर्काउँछे-

“बाबु! बाबालाई धेरै नसताऊ न। त्यो मान्छे हाम्रो घरको पाहुना थियो र आफ्नो घर गयो।”

पूजाकोठाको भित्ताबाट संचिताले सदावहार मुस्कान फ्याँकिरहन्छिन्।

माङ दोर्जे शेर्पा “संग्राम”
जिरी-२, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *