Skip to content


“जहाँ सृष्टि छ, त्यहाँ कथा अवश्य छ”–गंगा लिगल

‘जेसिका’ गंगाजीको सत्रौ कृति हो र कथासङ्ग्रह चाहिँ दोस्रो हो । पहिलो कथासङ्ग्रह ऐना हो तर ऐना भने मेरो हातमा पर्न सकेन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दह्युस्टन च्याप्टर, टेक्सासले प्रकाशन गरेको यो कथासङ्ग्रहमा १४ ओटा कथाहरू समावेश गरिएका छन् । कृतिलाई ‘देशविदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा सादर समर्पण’ गरिएको छ । कृतिको नामाकरणबाटै प्रष्ट हुन्छ कि यस कृतिमा अमेरिकी संस्कृति पनि जोडिएको छ । ‘जेसिका’ पहिलो कथा हो र यसै कथाबाट यस कृतिको नामाकरण भएको छ ।

जेसिका कथाको सार – जेसिका र बाल जीवन बाल्यकाल देखिका साथी, १२ वर्षको सानो उमेरमै अन्जान किसिमले मन साट्न सफल भइसकेका र दुवैले विवाह गर्न चाहेका तर जीवनकी आमाले हिन्दूको विवाह गाई खाने जातसँग गर्न मिल्दैन र विवाह नेपालकै केटीसँग गर्ने भन्दै, छोरा र छोराकी प्रेमिकालाई गाली गर्दा जीवन घरबाट नै हिडेको र आमा बाबु खोज्न जाँदा गाडी रुखमा गएर ठोक्किनु, सीसाले जयन्तीको गला छिनाइदिनु जीवनको बुबा जनार्दन बेहोस हुनु, जीवन न्युयोर्कमा गएर अध्ययन गर्नु चारवर्ष पछि आएर बाबुलाई साथै लिएर न्युओर्कमा जानु, जेसिकासँग धुमधामले विवाह गरेर जीवन खुसीयालीमा बिताएको धारणा सहित कथा समाप्त हुन्छ । कथाले धेरै सन्देश दिएको छ । दुईओटी महिला पात्र जेसिकाकी आमा जेफरको सुशील भएकोले घर राम्रोसँग चलेको देखिइएको छ भने जीवनकी आमा झगडालु र घमण्डी भएकोले नेपाल र क्यानाडा दुवै ठाउँमा पारिवारिक जीवन तहस नहस भएको देखिन्छ । अर्को सन्देश विवाहमा लमीको विश्वसमा मात्र विवाह गर्न हुँदैन भन्ने पनि आएको छ । प्रेमको बन्धन यति बलियो हुन्छ कि कसैले चुडाल्न चाहेर पनि चुडिदैन भन्ने सन्देश बोकेको छ । पुरुषपात्र जनार्दन केसी बुझकड, सज्जनको रूपमा देखा परेका छन् ।जयन्तीको मृत्यु भए पनि कथा संयोगान्त र शिक्षाप्रद छ ।

स्वर्ग – दोस्रो कथा हो । ऋषिकेशभ पहाडी र रञ्जना पहाडीका रतन, रजत र ऋषभ तीन भाइ छोरा, अलग अलग स्वभावका भए पनि पौरखी भएका, जेठो नेपालमै भनेजस्तो नोकरी पाएको माहिलो टप खेलाडी भएकोले अष्ट्रेलियामा बसोबास र उतैकी केटीसँग विवाह गरेको र कान्छो पढ्न छोडेर मलेसियामा पुर्याएर दलालले अलपत्र परकोलाई रमेशले अमेरिका बोलाएर राम्रो काम गर्न थालेपछि नेपाल आएर रमितासँग विवाह गरेर एक वर्षपछि रमितालाई अमेरिका लिएर जानु, रमिताले एक छोरीको जन्म दिनु, उच्छृङ्खल पनाले गर्दा आठ वर्षकी छोरीलाई छाडेर अमेरिकन कालो केटा साथीसँग गएपछि पुन ऋषभ नेपाल आएर एउटी अत्यान्त सुशील घरनीया केटी रबिनासँग विवाह गरेपछि रबिनाले सबै आदर सत्कार दिएर अमेरिकामा गएर, पालो पालो घरपरिवारलाई अमेरिका पुर्याएर आनन्द जीवन बिताउनु, मनग्गे पैसा कमाएपछि आफ्नो व्यवसाय साथी रमेशलाई दिएर नेपाल आउनु र ‘आफ्नो देशको हावापानी र भोजनमा जुन आनन्दको चोखो र मीठो स्वाद छ त्यो अरू कहाँ पाइन्छ र त्यसैले यसैलाई स्वर्ग भनिन्छ ’ भन्दै कथा समाप्त हुन्छ । यस कथाले जन्मभूमि नै स्वर्ग हो भन्ने सन्देश दिएको छ । नेपालका युवायुवतीहरूलाई महगो पैसा लिएर विदेश पठाएर अलपत्र पार्ने दलालको आजको यो टड्कारो देशको समस्यालाई रूपमा उठाएको छ । रमेश जस्ता त्यागी साथी पनि हुन्छन् र साथीको कल्याण गर्छन् भन्ने सन्देश बोकेको छ । रीता र रमेशको सुखमय दाम्पत्य जीवनलाई दर्शाको छ । यस कथामा पनि गंगाजीले दुई किसिमका नारीपात्रहरू रमिता र रविनालाई उभ्याएकी छन् । रमिताको उच्छृङ्खलता र झगडालु पनाले ऋषभ र आठ र्षकी छोरीको जीवनलाई कष्टकर पार्दै हिड्नु र सोही घरमा सुशील रविनाले घर र दाम्पत्य जीवनलाई आनन्दमय बनाएको जस्ता घटनालाई कथाले जोडेको छ । कुलीन खानदानको वैवाहिक सम्बन्धले ्दाम्पत्य जीवन र घरको व्यवस्थापन राम्रो हुने सन्देश दिएको छ कथाले । नेपाल र अमेरिकाको समाजमा घटना घट्न सक्ने यथार्थतालाई पस्कन सफल देखिन्छिन् कथाकार ।

केसरी– यस कथामा पोखराको प्राकृतिक सौन्दर्यमा जन्मेकी अति सुन्दर केसरी बुढी आमा र बहिनीको साथमा बसेकी, दाजुहरू (कमान र कमल) कतार र दुवैको जागिरे, दाजु कमानको विवाह जम्दारकी छोरी विमलासँग भएको, विमलाले घरको सम्पत्ति सबै लिएर लाहुरेसँग पोइल जानु, केसरीलाई जङ्गलमा घाँस काट्न गएको वेला सहरका केटाहरूले उठाएर लगेर मन्दिरमा विवह गरिदिनु, केसरी क्षेत्रीकी छोरी र केटा नेवारको छोरो भएकोले जातीय विभेदको कारणले दुख सहन परेको, दुई छोरा र दुई छोरीको जन्म भएपछि पति कमल श्रेष्ठको मृत्यु हुनु, पतिको मृत्यु पछि केसरीले घरकासँग अंशमा झगडा गर्नु परेको र अंशवण्डामा झगडा भए पनि अंश लिइछाडेर छाोरीलाई (ठूली बि.ए. पास गरी जागिरे र सानी नर्स) छोरा डाक्टर र इन्जिनिएर बनाएर, धन आर्जन गरी काठमाण्डौमा घर बनाएर सुखमय जीवन बिताएको घटना क्रमसँग कथा समाप्त हुन्छ ।

यस कथाले विवाह गरेर श्रीमतीलाई छाडेर विदेश जाने र श्रीमतीलाई घरव्यवहार दिने केही लाहुरेहरूको घरमा घट्ने यथार्थ घटनालाई समाएको छ । जातीय विभेद कायमै रहेको अवस्थालाई पनि यस कथाले समेटेको छ । विधवालाई हेप्ने नेपाली समाजमा आफ्नो हक तथा अंश लिएर छोरा छोरीलाई उच्च शिक्षा दिएर सुखमय र आदर्श जीवन बिताउन सक्छन् महिलाहरूले भन्ने शिक्षा प्रदान गरेको छ ।

अल्झिएको माया –

‘अल्झिएको मायालाई सुल्झाउँ
संसारमा सत्यता दर्शाउँ ’

नेपथ्यमा गुञ्जिएको गीत, आमाबाबुका बिझेका आँखालाई र प्रियतमाको डाँडामा चढेर बलिन्द्र आँसु बगाएर हेर्दाको दृश्यले मीतलाई विरक्तिलो बनाए पनि ऊ अध्ययनको लागि अमेरिका पुग्दछ । मिलन र उसको परिवारले उसलाई सहयोग गर्दछन् । अध्ययन गर्न थाल्दछ । अध्ययनको क्रममा उसले त्यहाँका नेपालीको अवस्थाको पनि अध्ययन गर्छ । कोही राम्रो कमाइमा रमाएका र कुनैमा बेहालको अवस्थामा पाउँछ । क्लवमा पनि जान्छ यहाँ अश्लीलता पाउँछ र नेपालको रोदीघरको शिष्टतालाई सम्झन्छ, उसलाई अमेरिकामा नै घरजम गरेर बस्ने सल्लाहहरू आउँछन् तर आफ्नी प्रियतमा, मातापिता र मातृभूमिको मायामा दृढतामा अटलरही अध्ययन समाप्त भए पछि एक रात टेली फोनको घन्टी बज्छ उठाउँदा यस प्रकारको गीत गुन्जिन्छ –

अल्झियो अल्झियो
मेरो माया अल्झियो
सपनीमा जालो बुनेर
कल्पनाको धागो बाँधेर
मुटुलाई चिरापारेर
बाँचु कति तिमीलाई सम्झेर
……

ऊ नेपाल फर्कने निधो गरी फ्लाइट नं….का साथ कथा समाप्त हुन्छ ।

मीतले अमेरिकामा क्लव र रोदीघर बीचको तुलना गर्नु, अमेरिकाको सभ्यता उँचो भए पनि संस्कृति नेपालको सम्मानित ठान्नु जस्ता सन्देश र प्रेममा धोका हुनुहुन्न भन्ने शिक्षा प्रदान गरेको छ कथाले ।

मेरो सपना –यो कथामा विनयले दोस्रो पटकमा अमेरिका पढ्न जान पाउने भिसा लाग्छ । घरका सबै खुसी हुन्छन् । साथी भाइले भोज लिएर रमाइलो गर्छन् । विनय अमेरिका पुग्छन्, विपिनले एयरपोर्टमा आएर घर्मा लानु, विपिनका बाबा अमामले साह्रै माया दर्शाउनु कलेजमा भर्नाको लागि आवेदन दिनु एपार्टमेन्टमा गएर बस्न थाल्नु, त्यहाँका नेपालीहरूको अवस्थालाई बुझ्नु, कोही पढाइ र नोकरी गरेर नेपालको माया संग्गालेका, कोही अलपत्रे जीवनमा अल्झिएका, कोही क्लवको शिकार भएका, आदि विविधखाले घटना क्रमको जानकारी लिंदै एक दिन नेपाल फर्केर आफ्नी प्रेयसीको लामो सपनालाई पुरा गरिदिने कुरा आफ्नो अन्तर मनसँग भन्छन् –‘यो सत्य हो, म यसमा विचलित हुने छैन ।’

यस कथाले नेपालका युवा युवतीको अमेरिकाप्रतिको मोहलाई समेटेको छ । अमेरिका पुगेर आफ्नो दायित्व र कर्तव्यलाई भुलेर दुःख भोग्न परेको अवस्थालाई दर्शाएको । जुन देशमा गइन्छ त्यो देशको साथै आफ्नो मातृभूमि, आमाबाबु र प्रेयसीलाई माया गर्नु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

झझल्को – यस कथामा कथाकारले संसारिक घटनाक्रममा आफ्ना धारणा राख्दै कथाको थालनी गर्नुभएको छ । धन भए सबै सम्भव छ भन्न मिल्दैन र मृत्युलाई कसैले रोक्न सक्दैन जस्ता सत्यतालाई पनि कथाले समेटेको छ । जनै पूर्णेको दिन निलिमाका बाबु डा.पुष्कर शाह अस्पतालमा गएर काम गर्दागर्दै हर्टएटेक भएर मृत्यु हुन्छ । बाबाको वियोगको पीडालाई सहन गर्दै पढेर डाक्टर भएर बाबाको कीर्ति राख्ने भन्दै निलिमाले पढ्न थाल्नु पढाइमा उत्कृष्ट नतिजा निकालेर छात्रबृत्ति प्राप्त गरेर डाक्टर बन्नु । यसै बीचमा प्य्राक्ट्सीमा जाँदा अर्को डाक्टर समरसिंहले छाता ओढाउँदा स्पर्श हुनु र उनी प्रेममा पर्नु । तर आमाले जातीय विभेद जनाएर विवाह हुन नसक्ने् भनेपछि आमाको आज्ञालाई शिरोधार्य गर्नु र एमडी गर्न अमेरिका जानु । समय समयमा समरको यादले सताउनु, अमेरिकामा एमडी गर्दा पनि सबैलाई जितेर गोल्डमेडल प्राप्त गर्नु, नेपाल फर्कने क्रममा अस्पतालका साथीसँग बिदाइ लिन जाँदा नर्सबाट नेपालबाट आएको एक जना गुरुङ अस्पतालको वेडमा अन्तिम सास लिइरहेको छ भन्ने जानकारी पाएपछि गएर हेर्दा समर नै भएको पाउनु, समरको हात समाउनु के भयो भन्नु, समर बोल्न नसक्नु तर निलिमाको हात समातेर छातीमा राखेर अनि मुखमा लगेर चुम्बन गरेपछि समरको प्राण पखेरु उड्नु, निलिमाले आँसु ओकलेर आँफूलाई तृप्त पार्नु, निलिमा नेपाल फर्कनु र नेपालमा आउँदा उनको स्वागतमा साथीहरूको पार्टीमा सहभागी हुँदै घरमा आएर वेडमा पल्टिनु, ‘निद्रा छैन केवल सुरुदेखि अन्त्यसम्मको उसको झझल्कोले त्यत्तिकै सूर्योदय भइसकेछ’ भन्दै कथाको समाप्ति हुन्छ । आफ्नो खानदानी इज्जत बचाउन र जातीय विभेदको कारणले गर्दा कतिपय युवा युवतीको जीवनमा मृत्युवरण र तडपनमा जीवन बिताउन परेका यथार्थतालाई यस कथाले प्रतिनिधित्व गरेको छ । विधवा महिलाहरूले पनि आफ्नो सन्ततिलाई उच्च स्थानमा पुर्याउन सक्छन् भन्ने शिक्षा दिएको छ कथाले ।

अधुरो सपना – कथासार–सन्धिखर्कमा तीनघरे साहिँलाले मिठाइको दोकानबाट निकै पैसा कमाएर घर खेत जोड्नु काठमाडौमा घर बनाउनु छोरालाई सिभिल इन्जिनिएर पढाउनु र छोरीलाई डिग्री गरेर टि.यु.मा पढाउन लगाएर एउटा सपना पुरा त भएको थियो । उनको नाम चलेको र निकै धन कमाउन सफल भएको पुरानो मिठाइको पसललाई छोरालाई मिठाइ पसलमा बसेर मिठाइ बेच्ने कुरा राख्दा छोराले पढे बमोजिमको व्यवसाय गर्ने मिठाइ नबेच्ने भनेपछि बाबुछोरामा झगडा भएर, छोरा घरबाट निस्केर अमेरिकातिर लाग्छ र छोरीको विवाह गरिदिए पछि पुरानो परम्परालाई थामी राख्ने सपना अधुरो हुन पुग्छ ।

यस कथामा के सन्देश प्रवाह भएको छ तभन्दा स्वय म कथाकारले भन्नुहुन्छ –”प्राचिन परम्परालाई हरेक क्षेत्रमा दिगो राख्नै पर्छ भन्ने छैन । किनकि कुनै ठाउँमा यति राम्रो गरेको हुन्छ भने समय अनुसार कुनै ठाउँमा जीवन वर्वाद पारेको हुन्छ ।”

समय परिवर्तन अनुसार पेशा या व्यवसायमा पुरानो परम्परालाई तोडेर नयाँ व्यवसाय पेशाले पनि मनग्य धन आर्जन गर्न सकिन्छ र पारिवारिक जीवन आनन्दमय हुस सक्छ भन्ने शिक्षा प्रदान गरेको छ ।

रुढीवादी परम्परा –”नयाँ युग नयाँ मान्छे, नयाँ वातावरण, नौलो बस्तु, नयाँ स्थानको चयन कस्लाई मन पर्दैन र !” यी परिवर्तन गामी शब्दहरूसँग रमाउने गंगाजीले एउटा रुढीवादीमा अल्झिएको परिवारको पश्चतापलाई मनन गर्दै आधुनिक परम्परालाई अङ्गालेको उदाहरण सहितको एउटा कथा पश्कनु भएको छ । मानिस धनी भएरमात्र हुँदैन, पढे लेखेर पनि हुँदैन तर उसमा आफ्नो परिवारलाई सम्झाएर अग्रगामी सोचमा ढाल्न सक्नु पर्छ भन्ने सन्देश बोको छ कथाले । परम्परादेखि आफ्नो धर्म, संस्कृति, संस्कारका कट्टर गिरिजाप्रसादका छोरा गौरवले डा. गुञ्जन शर्माकी छोरी गरिमासँग प्रेम गर्छ र विवाह गर्न चाहन्छ तर उसका बाबाले उसको चाहनालाई नसुनी भोजपुरकी आफ्नै साथीकी छोरीसँग विवाह गरिदिन्छन् । छोरीको जन्मदिने क्रममा अस्पतालमै गौरवले आफ्नी विवाहिता श्रीमती गुमाउँछ । श्रीमती गुमाउनुको साथै गरीमासँगको प्रेमको पीडाले गौरव छटपटीमा रक्सीमा डुब्न थाल्छ । एक दिन जाँड खाएको अवस्थामा ‘म मर्छु’ भन्दै बाटोमा हल्ला गर्दै हिड्दा गाडीले हिर्काएर अस्पतालमा पुग्छ । त्यही अस्पतालमा काम गर्ने गरिमाले जानकारी पाएपछि हर तरिकाबाट उसको उपचार गराएर निको पार्दछिन् । गौरवका आमा बाबालाई पश्चताप हुन्छ, पछि गरीमासँग गौरवको विवाह हुन्छ र दुवै आनन्दको जीवन बिताउँछन् ।

अहंकारकाो अन्त्य –यस कथामा कथाकारले कथालाई सोझै नपस्केर दार्शनिक अभिव्यक्तिलाई जोडदै कथालाई अगाडि बढाएको देखिन्छ । कमलको जीवन सुन्दरतामै मात्र सीमित नभएर हिलोको दलदलमा बाँचनु परेको हुन्छ । मानव जीवन पनि कमलसँग दाँज्न सकिने र ईश्वरकै प्रतिकको रूपमा लिन सकिनेजस्ता धारणा राख्दै सविनाले छोरा अमेरिकाबाट आयो भने विवाह गरिदिने भन्दै केटीको खोजतलासमा थिइन् । प्रदिप अमेरिकाबाट नेपाल आयो । केटी देखाउन वीरगञ्ज शिवप्रसादकोमा लगियो, शिवप्रसादले माहिली छोरीको विवाह एक महिना अघि गरेकोले केही दिन पर्खन भने र शिवप्रसादले विवाह गर्ने खबर पठाए तर खबर लानेवालाले खबर नदिए पछि विराटनगर गएर केटी हेरियो, केटी मन नपरेर विवाह नहुनेभन्दा पनि लमीले बाध्य पारेर रीतासँग विवाह भयो । विवाहपछि घरमा शान्ति भएन । डेडवर्षपछि अमेरिका पुर्याइयो, अमेरिकामा पनि झगडा गर्ने युवकहरूसँग हिडने बानी लागेर मेक्सिकन केटासँग रेडह्याण्ड पक्रेपछि पारपाचुके गरियो र नेपाल आएर अर्की सभ्य परिवारकी केटीसँग विवाह भयो । पहिली श्रीमतीले घरमा आएर दुखदिने क्रम जारी नै रह्यो । एक दिन घरको पछाडिपट्टीबाट रीताले आगो लगाई दिएर कानूनी कार्वाहीमा पर्दा उनीले धेरै वर्ष जेल सजाएँ भोग्नु पर्यो र जीवन नारकीय बन्न पुग्यो, अन्त्यमा रीताको अन्त्य आफ्नै अहंकारी स्वभाव र मान्छेलाई मान्छे नगन्ने बानीले गर्दा आत्महत्याबाट भयो । यस कथामा विवाह गर्दा लमीका भर नपरी, सुकन्या खोजेर विवाह गर्नुपर्छ भन्ने एउटा र अहंकारको नतिजा कहिल्यै सुखद हुँदैन भन्ने अर्को सन्देश प्रवाह भएको छ ।

भिन्नतामा एकरूपकता –यस कथामा कथाकारले अमेरिका र नेपाल बीचमा भाषा लगायत आर्थिक, समाजिक, शैक्षिक आदि भिन्नतालाई तुलना गर्दै, पैसा आर्जन गर्न अमेरिकामा बसे पनि बाँकी जीवन आफ्नै मातृ भूमिमा बिताउनु पर्छ भन्ने सन्देश बोकेको छ ।

गाउँले जीवन –यस कथाले राणा शासन कालमा पढाइको व्यवस्था थिएन, २००४ सालतिर सहरमा पढाइको थालनी भए पनि गाउँमा पढाईको थालनी भएको थिएन । सुवेदार बलबहादुरले “पीरक्षा” गाउँमा स्कुल चलाउनको लागि बुटवलका साहुका छोरा मोहनलाई गाउँमा लगेर पढाइको व्यवस्था मिलाएका र स्कुलको स्तर वढाउँदै लगेका थिए मोहन गाउँमा बसे र पढाउँदा पढाउँदै राधासँग प्रेम हुन्छ तर राधाका बाबुले राधाको विवाह अन्त्यै गरिदिए र मोहन क्याम्पस पढ्न बाठमाण्डौतिर लागे । राधा घरमा बस्न सकिन र बुटवल आएर मोहनसँग काठमाडौतिर लागेर आनन्दसँग जीवन बिताउन थालिन् । कथाले राणाकालीन समयमा शिक्षाको अवस्था, शिक्षाप्रेमी एव म समाजसेवी सुवेदार बलबहादुरको योगदान, बालिकाहरूले पढ्न नपाउने अवस्था, अशिक्षित अवस्थाको ग्रामिण रहनसहन र खानपानको साथै प्रेममा लागिसकेकी छोरीलाई जर्वरजस्ती अर्केसँग विवाह गरिदिंदा वैवाहिक जीवन सफल हुन्न भन्ने जस्ता सन्देशहरू बोकेको छ ।

वैध्यव्य एक अभिशाप– यस कथामा कथाकारले शुरुमा भूमिका लेख्दै बीचमा कथा पस्कदै अन्त्यमा पनि विधवालाई समाजले उच्च आदरभाव दिएर कदर गर्न सकेमा वैध्यव्य पनि “कुनै अभिशाप होइन भन्ने प्रमाणित हुन सक्दछ” जस्ता धारणा सहित बीच भागमा कथा लेखिएको छ । कथासाार पनि हेरौं –शर्मिला र सञ्जीवको सुन्दर जोडी काठमाडौको लाजिम्पाटमा सुखमय जीवन बिताइरहेका थिए । भाारतका विभिन्न पर्यटकीय स्थलको भ्रमणको साथै काठमाडौका विभिन्न ठाउँमा भ्रमण गर्दथे । नयाँ सडकको ठुलो आफ्नै कपडाको सो सञ्जीवको रुममा हर्टऐटेक भएर मृत्यु भयो । शर्मिला मूर्छा परिन् र तीन दिनसम्म हस्पिटलमा बसिन् । उनलाई आफ्ना घरतिरका दाजुभाइबाट हेरविचार भएन र भिनाजुले आफ्नो घरमा लगेर सहारा दिए । दिदीले बहिनी माथि आरोप लगाए र गाली गलौज गर्न थालिन । यो पीडालाई थाम्न नसकी रानी पोखरीमा हाम फालेर यस संसारलाई छोडिन् । यस कथामा दिदीको शंकालु प्रवृत्तिले गर्दा पवित्र भावका भिनाजु र पवित्र भावकी साली कलंकित हुन पुगे भने बहिनीले आत्महत्त्या गर्नु पर्यो । यस कथाले विधवाको कष्टमय जीवनको यथार्थलाई समाएको छ । विधवालाई समाजले उच्च स्थान दिनु पर्छ भन्ने आशय पनि व्यक्त गरेको छ ।

के ीक्षभ यो – यो कथाले न्यूयोर्क सिटिका नेपालीहरूको अवस्थालाई दर्शाएको छ । पवन मुस्ताङ जिललाको निवासी स्टुडेन्ट भिसामा न्युयोर्क पुग्छ । दुई दिनपछि युनिभर्सिटीमा भर्ना हुन जाँदा नेवार जातिका विद्यार्थीलाई भेट्छ । ती विद्यार्थीले पवनलाई युनिभर्सिटीमा ३ बजेभन्दा पहिला आइपुग्नु पर्ने जानकारी दिन्छन् र अर्को दिन पुरनसँग भेट हुन्छ र सेलरोटी खान गएर पुरनको वासस्थानमा जान्छन् । पुरनले एपार्टमेन्ट महगो हुने भएकोले शेएर गरेर बसेको जानकारी दिन्छ र नेपाल छाडेर अमेरिका आएर १० वर्षसम्म घरमा फोन समेत नगरेको साथीको खोजीमा लाग्छन् । ह्युस्टनमा बिदाको दिनमा लापरवाहीको साथमा बसेको पाउँछन् । फर्कन खोज्दा गाउँलेले रोकेर खाना खाएर जाने आग्रह गर्छ । घरका आमा बाबु चीन्तामा रहेको जानकारी पवनले दिन्छ । खानाखाँदा अधि गाउँको मानिस रमाइलोमा रमेकी ती महिला पनि खानाखान बस्दा एक दर्जन खुर्सानी चबाएको देख्दा पवन अचम्मित हुन्छन् र ती महिलाको नाम ‘खुर्सानी’ राख्छन् । पवनले यो देखेर ‘नेपाल आमाको कत्रो सपना आकांक्षा बोकेर आएका सन्ततिको आज यो अवस्था देखेर हुनसम्म मन पोलेर आउँछ ।”के ीषभ यो ।’ भन्ने धारणा आफैमा राख्छ । यस कथाले अमेरिकाले पुर्याएको योगदान( खानबस्न, नोकरी, शिक्षमा)लाई समेटेको छ । नेपालीहरूको अमेरिकामा विविधखाले बसाईलाई पनि कथाले समेटेको छ । जन्म भूमिको मायालाई विर्सन हुन्न भन्ने सन्देश पनि दिएको छ ।

आशीर्वाद–आशीर्वाद यस कृतिको अन्तिम र अति उत्कृष्ठ कथा हो । यस कथाले नेपाली समाजका केही पुरुषहरूले गरेको गल्तीको कारणाले गर्दा तिनका श्रीमती तथा नवजात शिशुले भोग्न परेको पीडादाइ यथार्थतालाई प्रष्ट पारेको छ भने बाटो विराएको लोग्ने मानिसलाई पुनःउसले धोका खाएको खण्डमा कतिसम्म लालाचार हुनु पर्छ भन्ने कुरालाई पनि कथाले उदाहरण सहित पस्केको छ । यस कथामा नेपाली समाजमा सासू र बुहारी बीचको द्वन्द्व जुनरूपमा पाइन्छ त्यो द्वन्द्वको ठिक विपरित यस कथाले सासू र बुहारी बीचको अति धनिष्ठ सम्बन्धलाई अति महत्त्वको साथमा दर्शाएको छ । सासूको वेदनालाई बुहारीले राम्रोसँग केलाएकी छिन् र हरतरहले सासूलाई रिझाएकी छिन् । ससुराले सुजन ६ वर्षको हुँदा एउटी केटी ल्याएर सासू (सुनिता) र पतिलाई घरबाट निकाली दिएको पीडादाइ जीवनलाई एउटा संघर्षमा शिक्षकको रूपमा बिताएको र सुजनलाई यो अवस्थामा पुर्याएको कुरा सुनिताले सिर्जनालाई भन्दछिन् । उता सुजनकी अर्की आमा पनि धनसम्पत्ति गहना आदि लिएर भागेको र सुजनको बाबाको पनि एक्लो जीवनलाई कष्टकर रूपमा बिताउनु परेको घटनालाई सिर्जनाले सासूबाट जानकारी लिन्छिन् । सिर्जनालाई सासूले उनको ससुराले आफ्नो गल्तीलाई स्वीकारेर माफी माग्दा पनि सुजन र आफूले माफी दिन नसकेको धारणा राखेपछि । सुजन जागिरको सिलसिलामा विराटनगर गएपछि सबै विराटनगर जानु र सिर्जनाले ससुरा विराट नगरमा भएको जानकारी लिएर ससुरालाई भेट्नु, सासूलाई र ससुरालाई पार्कमा भेट गराउनु, सुजनलाई मुखले भन्न नसकी लामो पत्रद्वारा अवगत गराउँदै बाबुको गल्तीलाई माफी दिंएर आमा बाबु र छोराको सुन्दर मिलन गराएर र सबै जना बाबाको घरमा बस्न जाने सुजनले भनेपछि सुजनको बाबा(सुमित)ले यो मिलनको कारण सिर्जना भएको ठहर गर्दै भन्छन् – ‘तिमीजस्ती छोरीबुहारी सबै संसारमा भएमा यो संसार स्वर्ग झैं हुने थियो । नानी । तिमीलाई धेरै धेरै आशीर्वाद छ । कल्पकल्पमा तिमी मेरी छोरी भएर जन्मनु ।सधैं यस्तै गरी साथमा रमाइलो गरी हँसीखुसी बस्न पाइयोस् यही चाहन्छु ।’

यस कृतिका सबै कथाहरूलाई मैले पढें र जाने बुझेको सार सांथै कथाले दिन चाहेको सन्देशलाई माथि पस्किसकेको छु । यी कथाहरूले अमेरिकी र नेपाली परिवेश, दुवै देशको पृष्ठभूमि, दुवै देशको यथार्थतालाई प्रष्ट पारेका छन् । हुनत गंगाजीले स्रष्टाको भनाइमा लेख्नुहुन्छ – ‘ मेरो यो कथासङ्रग्रह जेसिकामा डायस्पोरिक जीवनमा घटेका र सम्भावित घटनाक्रमलाई प्रत्येक्ष गर्ने प्रयास गरेकी छु । यस कथामा दुवै देशको मायालाई सन्तुलनमा राखी प्रगतिपथमा हिड्नु पर्ने साथै मानवीय कर्तव्यलाई ्सधैं आफूमा निहित राख्दा नवजीवनको उल्लासमय क्षणले ठाउँ लिनसक्ने धारणा प्रष्ट्याउने प्रयास गरेकी छु ।’ वास्तवमा कथाकारको अभिव्यक्ति र यसमा लेखिएका कथाहरूको सारभाव मिल्दो छ । गंगाजीका कथामा कतै कविता र कतै गीतले पनि स्थान पाएका छन् । कुनै कथाहरूमा निबन्धको गन्ध पनि पाइन्छ । गंगाजीले पनि कथामा नयाँ सोचलाई प्रयोग गर्नुभएको छ । गहिरो रूपमा अध्ययन गर्दै कथाकारले अमेरिकामा बसेका नेपाली युवा युवतीले भोगेका चरम पीडालाई समेट्नुभएको छ भने नेपालका लमीहरूले जालझेल गरेर विवाह गराएर मानिसको वैवाहिक जीवन नै तहस नहस गराएका कुराहरू पनि कथामा आएका छन् । अमेरिकामा जाने इच्छ्या लिएर बसेका नेपाली युवा युवतीको सपनालाई कथाले टपक्कै टिपेका छन् । अमेरिकामा सबै सुविधा प्राप्त छन्, । ती सुविधालाई राम्रोसँग उपभोग गरेर नेपालमा आएर मातृभूमि नेपाल नै स्वर्ग बनाउनु पर्छ र नेपाल नै स्वर्ग हो भन्दै दुवै देशप्रतिको राष्ट्र प्रेमलाई कथाले समेटेको छ ।

शीर्षकीकरण – यस कथासङ्ग्रहको नामाकरणको बारेमा अनेशासकका केन्द्रीय संस्थापक वरिष्ठ साहित्यकार होमनाथ सुवेदीजीले भन्नुहुन्छ –”यो नामाकरणले यो कथा सङ्ग्रह अमेरिकाली नेपाली जनजीवनको जो नेपाली इतरसित मिलेर बस्न परेको प्रमाण दिन्छ । “ नेपालबाट अमेरिका तथा विदेश सरेपछि, त्यहीं नै जन्मेपछि, त्यही देश नै प्यारो लाग्नु स्वभाविक हुन आउँछ । क्यानाडामा जन्मेका जेसिका र जीवनको आदर्श प्रेमलाई धर्म र जातीय विभेदले छेक्न नसकी दुवैको विवाह भएको छ । प्रेममा कुनै, धर्म र जातीय विभेद हुँदैन भन्ने प्रमाणको साथमा दुई विभिन्न संस्कृतिलाई जोडेर राखिएको यो नामा करणलाई सार्थक नै मान्न सकिन्छ । हुन त यस कथासङ्ग्रहभित्र अरु कथाहरू जस्तै ‘आशीर्वाद‘ पनि शीर्षक योग्य देखिन्छन् ।

भाषाशैली –भाषा सरल छ । ठाउँ ठाउँमा उखान टुक्काले भाषालाई मीठास भरेको छ । फाटफुट अंग्रेजी शब्दको प्रयोग पनि गरिएको छ । सबै प्रकार तथा स्तरका पाठकलाई यी कथाहरू ग्राह्य देखिन्छन् ।

पात्रचयन –पात्रहरूको चयन पनि आवश्यक्ता अनुसार घटनाक्रम अनुसार गरिएको छ । सबै पात्रहरू सक्रिय देखिन्छन् । सुपात्रको आचरण सुन्दररूपमा र कुपात्रको आचरण घटनाक्रम अनुसार प्रस्तुत गरिएको छ ।

अतः कथाहरू छोटा र आकर्षक छन् । पढ्दा कौतुहल्ता जाग्दै जान्छ । कतै दया पलाएर आउँछ । कतै पढ्दा आँसु खस्छन् । कतै पढ्दा प्राकृतिक सौन्दर्यताले मनै आनन्दित भएर आउँछ । समग्रमा कथाहरूले नेपाल र अमेरिकाको सामाजिक, आर्थिक, धार्मिक तथा विविध घटनाक्रमहरूलाई यथार्थ रूपमा पस्केका छन् । अन्त्यमा वरिष्ठ साहित्यकार परशु प्रधानको गंगाप्रति लेखिएको एक पङ्क्तिलाई यहाँ पस्कदै र गंगाजीको उज्ज्वल भविष्यको कामना सहित यस समालोचनाको बिट मार्दछु ।

“उहाँको दीर्घ साहित्य साधना, सृजना–मोह र लगनको प्रशंसा गर्नै पर्छ “ –परशु प्रधान ।

मिति २०७५ साल चैत्र ३ गते,
कावासोती न.पा.वडा नै –७ शान्तिचोक नवलपुर, गण्डकी प्रदेश, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *