
‘गरिमा नानी, तिमी पनि साहित्य लेख्छ्यौँ ?’
काका कुराले मेरो मनमा झड्का दिएको थियो । म जथाभावी लेख्थेँ । कति ठिक लेख्थेँ कति बेठिक लेख्थेँ ।
तानतुन र छाँटकाँट पारेर पठनीय बनाउने काम मामू र बहिनीको हुन्थ्यो । उहाँहरूकै सहयोग र बाबाको प्रेरणाले मैले लेख्दै गएँ । यत्ति भयो र उत्ति भएन भनेर सम्झाइदिने मान्छे साथमा भएपछि केको डर भयो र ?
मनमा यस्तै कुरा खेलेका बखत काकाको अर्को प्रश्न ठडियो; ‘नानी, तिमी साहित्य लेखेर के पाउँछ्यौ ?’
‘हजुर खाना खाएर के पाउनुहुन्छ ?’
जवाफमा प्रश्न नै सोध्ने मन थिएन तर हाडबिनाको जिब्रोले आफ्नो दायरा बिर्सिहालेछ । नबोल्नुथियो, बोलिहालेँछु । रिसाउलान् कि भनेर भयले मनमा ढ्याङ्ग्रो बजाउँन थालिहाल्यो ।
‘सन्तुष्टि ।’ उनको सहज उत्तर सुनेर मैले पनि मुहारमा उज्यालो छर्दै भनेकी थिएँ, ‘काका, म आत्मसन्तुष्टि प्राप्त गर्नका लागि लेख्छु ।’
काका नाजवाफ हुनुभयो ।
वास्तवमा म भने ३३ प्रतिशत स्थान पूर्ति गर्न कसैलाई अभाव नहोस् भनेर लेख्छु ।
-गरिमा आचार्य
कक्षा– टि. १०, श्रीजनता प्राविधिक मावि, गोलबजार–४, सिरहा, प्रदेश नं. २, नेपाल ।
