कोहलपुर, चैत्र ८ २०७५
कोहलपुर नगरपालिका वडा नम्बर १०का वडाध्यक्ष निम बहादुर चलाउने ‘निरज’ले आफू कला, संस्कृति र साहित्यप्रेमी भएको बताएका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेले नगरपालिकाको वडा नं. १० स्थित बन्दामा आयोजना गरेको रचना वाचन शृङ्खलामा उनले यस्तो बताएका हुन् ।
कला, संस्कृति र साहित्य बिना कोही पनि अछुतो हुँदैन । म पनि त्योभन्दा पर छैन । आफूले साहित्य लेख्न नजाने पनि फुर्सद मिलाएर साहित्य र समसामयिक पुस्तकहरू पढ्ने गरेको बताए । उनले बन्दा क्षेत्रलाई आगामी दिनमा पर्यटकीय गन्तव्यसहित नयाँ योजना ल्याएको र आफू यसलाई कला, संस्कृति, साहित्य र पर्यटनको गन्तव्य बनाउने पनि प्रतिवद्धता व्यक्त गरे ।
यो क्षेत्रमा करिब ६ विगाहभन्दा बढी खाली जग्गा रहेको छ । यसलाई थारु संग्राहलय र थारु होमेस्टे बनाउन सक्ने हो भने धेरै घरपरिवारको आम्दानीको पाटो बन्न सक्ने सम्भावना छ, यसमा सबैले साथ दिनु पर्ने बताए ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको रचना वाचन शृङ्खलामा साहित्यकार महानन्द ढकाल, देवकी निरौला, विक्रम शिशिर, कपिल अन्जान, भावना पाठक लगायत २०भन्दा बढी सर्जकहरुले आफ्ना रचना सुनाएका थिए । कार्यक्रममा वडा तथा महिला सदस्यहरू लगायतको उपस्थितिरहेको थियो ।
