उदायौ चंकिला भानु नेपाली मुटुकेन्द्रमा
सिकायौ सभ्यता धर्म भाषा साहित्य दर्शन ।।१।।
सबै उमेर जातीले रामगाथा सुधा सुने
गोठमा लेखमा वेशी मेलामा धुन गुन्जने ।।२।।
तुलसीदास वा कालिदास नेपालीका भयौ
घाँसी मित्र भयो पूर्ण गुरू प्रेरक शक्तिको ।।३।।
दुखमा सुखमा भक्ति ज्ञान वैराग्य आउदा
करुणा शान्तिमा पीडा वियोगीमन छाउँदा ।।४।।
छोरी विदाइमा त्यस्तै बुहारी घर आउदा
जग्गेमा जन्तिकासाथ श्लोक दोहोरी गाउदा ।।५।।
कहाँ छैनौ तिमी भानु नेपालीपनमा पस्यौ
सबै उमेर जातिका घरमा प्रेमले बस्यौ ।।६।।
सिमापार गर्यौ देश टिष्टा र कांगडा पुग्यौ
बर्मा आशामका सथै संसारैभरि फैलियौ ।।७।।
जातिले एकता पायो पृथ्वीका तरवारले
मनको एकता तिम्रो रामका नाम शक्तिले ।।८।।
दौरा सुराल टोपीमा पटुका कमरै महाँ
नेपाली मनका राम सीता नेपाली भेषमा ।।९।।
भाषा संस्कृतमा क्लिष्ट अध्यात्म ज्ञान गुढको
नेपाली जनबोलीमा घोलेका रस काव्यको ।।१०।।
तिम्रो देहान्तमा भट्ट मोति थे दुई वर्षका
मणिको ढकनी फाले तिम्रा प्रकाशपुन्जका ।।११।।
