Skip to content

लाटाहरूको आवाज


उ त्यो बाटामुनिको फूललाई हेर त,
कस्तो तारै तार, धारै धार, अनि काडै काडा
भएको अफ्ठ्यारो ठाउमा घर बनाएर बसेको छ है
अनि कहिलेकाहीँ त कस्तो मग-मग इर्ष्यालु बास्नाहरू
आउने गरी पनि फुल्छ है
मान्छेहरू जान्दैन कि,
दुर्गन्ध त सडक किनार छेबैको ढलबाट आइरहेछ
वर्षा ऋतुमा बाढी आउँदा,
खोलानालामा बगेर सबैभन्दा पहिला मर्ने
आखिर ऊ नै हुन्छ हैन?
उस्लाई डुब्नलाई कैले पनि समुद्र चाहिएन,
कमिलाहरू बरु बोटबिरुवाको पातहरुमा
अढिएर दौडिन सके
तर त्यो बाटोमुनिको फूल कैले पनि दौडिन जानेन
मालीको डरले माथि आउन नसकेर
कमलको फूल जस्तै आफूलाई सम्झिएर
जिन्दगीभर कुहिएर त्यही फोहोर पानीमा
बिषालु सर्पको डसाइ
अनि गन्दे भ्यागुताहरुको ट्वारट्वार
आबाजमा कुजिएर बस्यो
तर अहँ !
हिन्न कैले पनि हिन्न जानेन
कि आफ्नै घरछेवैको बाटोहरुमा पनि…
दौडिन कैले पनि मानेन
के यी बाटोहरू त !
मान्छेहरू हिड्न बनाएको हैन र?
तर म
कैले पनि मान्छे हुन जानिन
गति र चाल त हावा, पानी र पवनको पनि हुन्छ हैन र
तर अफसोच त्यही चाल वा गति हराएको पैदलयात्री भएको छु म आज ।

ऊ पर पारि अलि माथि अनि उकालो ठाउँमा हेर त
कस्तो मगमग वास्नाहरू आउने गरी
फुलबारीभरि मालिकका घर आगनहरू फुलेका छन् है
हरेक साल बाढी आउँदा
तै घरको तल्तिर
हजार पटक हारगुहार माग्दै
मुन्तिरका ती फूलहरू चर्को चित्कार चिच्यावटमा
चिल्लाइरहन्छन
बारम्बार होमगार्डेनहरुसँग अलिकति
एकभिट्टा लामा हातहरू मागिरहन्छन
तर अहँ, बर्षातको बेग, र बाढीको बौलाहा बहाब
भन्ठानेर तिनीहरुले कैले पनि फर्किएर उस्को आवाजलाई सुनेनन
अनि ऊ निरन्तरको प्रयासपछि थकित भएर,
बेहोस्सिएर संझास-झाको लागि ऊ त्यही नदिमा निदायो
हो मेरो थकान, र परिसान पनि ठ्याक्कै त्यस्तै हो
अनि उस्ले बोलेका आबाजहरू
मानौ कि मेरै निशब्द बोलीहरू जस्तै भएको छ आज ।

तिमीलाई शान्तसँग सुतिरहेको
कुनै सानो नवजात शिशु थाहा छ?
कति मजाले बिस्तारामा निदाउँछ है?
जब ऊ सुत्छ,
अनि मानौं कि एकैछिनमा उसलाई सपनामा
केही वा कोही आएर तर्साउँछ,
अनि बोक्सी झै ऐठन गर्छ
ऊ बारम्बार असिन-पसिन भएर
अनि त्यो अँध्यारो सन्त्रासबाट भागेर
बिपनामा ब्युँझन त खोज्छ
तर आकाशबाट जमिनमा खसेको
जुनताराहरू क्षितिजको कुनै सीमानामा
अल्झिएर अल्मलिए झै,
ऊ तड्पिन्छ
सुन्छ् अनि ओपरेशन थ्रेटरको कुनै बेहोस बिरामी झै
बोल्न खोज्छ
कुनै अर्धचेतनाहरुमा
ऊ महसुस त गर्छ, मान्छेका चाल
अनि आबाज र भाषाहरुलाई ….
तर अफसोच
त्यो बच्चाको आवाज…
करेन्ट गएर बन्द भएर
लोड्सेटिङ्गमा आफै पागल झै बोलेइरहेको
कुनै रेडियो जस्तै यहाँ
कसैले पनि सुन्दैनन र सुन्न सक्दैन
यो आज म पनि त्यस्तै त्यस्तै आवाज भएको छु ।
तर म सधैं बारम्बार बोलिरहेकै हुन्छु
र निरन्तर बोलिरहनन्छु
आफ्नै मनहरुमा बोल्छु
आफ्नै तालहरुमा बोल्छु
अनि आफ्नै मात्र कानहरुले मात्र सुन्न्छु
कैले भक्भकिएर बोल्छु
कैले अक्मकिएर बोल्छु
कैले अड्किएर बोल्छु
कैले भड्पिएर बोल्छु
कैले रिसाएर बोल्छु
कैले बितृष्णा मिसाएर बोल्छु
तर मेरो अवाज मानौं कि
कुनै मृताम्मा हो,
मृतात्मा जो मान्छेहरुले देख्न सक्दैन
मृतात्मा जोसँग मान्छेहरू डराउछन्
जसलाई मान्छेहरुले मन पराउदैनन
कुनै गायककार कोइलीचरी झैं गरेर सुमधुर स्वरमा यहाँ
गीतसंगीत सर्गम गाउदै हिड्ने
कति धेरै रहरहरू हरदम थिए होलान मेरा?
अफसोच
दुर्भाग्यबश त्यो दैवले।नै बन्द गरेर
अलबिदा बोल्न नसक्ने रेडियो भएको छु म आज ।

जब जब म एकान्तमा गएर
यो सहरको कोलाहल र गुनगुनाहटलाई नियाल्छु
तब मेरो मन कुनै मसानघाट
वा चिहानको आक्रान्त अनि असान्त
मृतात्मा झै बन्छ
जब म मन्दिरमा जान्छु,
तब मात्र मलाई आफ्नो जिन्दगीदेखि सन्तुष्टि लाग्छ
तब म स्वय म आफूलाई ओउचित्य सम्झन्छु
किनकि,
मलाई यो समाजले सिकाएको छ कि,
भगवानले भित्री मनको पुकार मात्र सुन्छन
म हरेक दिन मनमनै भगवानसँग म मेरो आवाजलाई माग्छु ।

म कुटो, कोदालो, हलो, र फर्वा बोक्ने मान्छे
अनि ढुङ्गा गिट्टी चाल्ने मान्छेले
कति दिन यो संसारलाई कागजमा लेखेर मेरा भाषाहरू
बुझाऊ साथी
यो दुनियालाई मेरो भावलाई बुझाउन मैले त्यति पढेकोसमेत छैन
यी लछ्या र रहरबिनाका भारी कापी, कलम कति दिन-बर्ष सालसम्म म बोकौं?
त्यो मेरै स्कुलको शिक्षक हो
जो मलाई म सानोमा छँदा बक्तित्वाकला प्रतियोगितामा भाग लिन्छस
भनेर मेरो उपहास गर्थ्यो
यदि साच्ची ऊ चाहनु हुन्थ्यो भने किन कैले पनि
मलाई कविता लेखनमा भाग लिन्छस भनेर?
सोधेन

हो आज मेरो यी मुखहरू बिगृएर गोली नचल्ने बन्दुक जस्तै भएको छ
कति धेरै विचार-बिद्रोह अनि लोकतन्त्र र प्रजातन्त्रका
क्रान्तिकारी सङ्गखनाराहरू
परिवर्तनका खातिर फुक्नु थिए होलान मलाइ?
आज मेरो अभिव्यक्ति स्वतन्त्रताको अपहरण भएको छ
आज सिद्धान्तबिहीन सङ्गकेतनहरू मेरा जीवनसाथी भएका छन्
मेरा यी निलकण्ठहरू कुन्ठित भएका छन्
मेरा यी भाषाहरू कपोकल्पित छन्
आज म आफ्नै जन्मसिद्द मोउलिक अधिकारबाट पनि बन्चित छु
मेरा बोलीहरू यी बुद्धिजीवी, बाठा र बिद्दानहरुको बीचमा
कुनै मिथ्थाभाष जस्तै भएको छ
हो आज मेरो यो आवाज अनि कुनै अभिषाप जस्तै भएको छ ।

म सम्झन्छु बलत्कार भएकी हाम्रो गाउँकि ती सानी बुनेलाई
जिन्दगीभर कन्या भएर बस्नु पर्ने अबको उस्को बाध्यतालाई
कति धेरै उज्याला भविष्यहरू देखेका थिए होलान
उस्का बाबाआमाले?
अनि आफ्ना आँखाका कालिला नानीहरुमा
कति धेरै सपनाहरू लेखेकी थिई होला उस्ले?
आज उस्का ती आँखाहरू पनि मेरा यी अपाङ्ग जीव्रो जस्तै भएका छन!

मेरी जवान बिधुवा दिदीले हरियाली पर्वत,पहाड र
रङ्गिन हिमालका लालीगुराँस, गुलाफ र सिमृकका फूलहरू चिपेर
बारम्बार आफ्नो उजाड सिउँदोमा सजाउन खोज्छिन
तर अफसोच हरेक पटक त्यो टिप्नु अघावै
उनका आँखाहरुबाट आँसुहरू खस्छन
उनका आसुहरुलाई देखेर रहरका ती सारा रङ्गिन थुङ्गाहरू पनि
मरुभूमिको पथ्झरमा खसी जान्छन
उनी बारम्बार ती फूलहरू टिपेर
कोही शीरमा लगाउँछिन
त कोही सिउदोमा रङ्ग्याउछिन उनलाई फूलहरू त औधी मनपर्छ
तर ती फूलहरुलाई उनको शरीर कैले मन परेन
अनि उनको सिरलाई ती फूलहरू पनि कैले मनपरेन
उनले फूलहरू सजाएको देख्दा त बिरक्तिएर
त्यो आकाश पनि रुन्छ
र सबै रङ्ग
उमङ्ग बगाएर लान्छ
तै भएर त
ती ओठका ती लालीहरू
र ती गालाका मुस्कानहरू
अनि अनुहारका ती खुस्बुहरू
लगातार हराइरहन्छन……
उनको
हराइरहन्छ……..
यस्तो लाग्छ सायद
उनको सिउदोमा सिन्धुर त
त्यो निधारको तक्दिरमै लेखिएको थिएन
जस्तो कि मेरा यी जीब्रोहरुमा आज
आवाजहरू लेखिएन ।

पखापखेरा अनि पधेराहरुमा पानी
लिन आउने युवतीहरुले गाएको गीतलाई सुन्छु
अनि त्यही सारा घनाबन जङ्गलमा गुन्जयमान
भएर सुरिलो भका सुनेर परदेशबाट फर्किरहएका
अल्लारेहरू मन्त्रमुग्ध भएर
हावाको सुस्केरामाहरुमा सुसुल्दै
जब आइरहेको देख्छु
तब मलाई यस्तो लाग्छ अधेरामा मेरालागि
अलिकति मधुर जवानीका प्रकाश लिएर
झ्याउझ्याउ गर्दै आइरहेका ती जुनकिरिहरू समेत
मेरो मोउनतालाई देखेर टाढा जान्छन
मलाई तिनीहरूसँग घर-आँगनभरि खेल्ने कति रहरहरू थिए होलान
तर अफसोच आज म फुटबल हराएर रोइरहेको कुनै कलिलो
नाबालक जस्तै भएको छु ।
आज म एउटा लाटो आवाज भएको छु।

म सुन्छु त्यो सात-समुन्दर नौ डाँडापारिको त्यो टाढाको देशमा
महासागरहरू सधासधा सुसाइरहन्छन
जलस्रोतको धनी मेरो देशमा जब
एकएक्लै बसेर
सुनकोसी र दुधकोसीलर एकसाथ कति मजाले मिठो गरी
सुसुलेको सुन्छु
अनि हेर्छु फेरि ती खोलानाला,नदी-किनारहरुमा गएर
कि कसरी त्यत्रो कलकल बग्ने विशाल पानीको भार अटाएको छ त्यस्ले?
जब म धारमा गएर हेर्छु
अनि सोच्छु कि
पोहोर साल त्यसै ब्यर्थै
बाढीको बहाबले ती टटबन्धहरू भत्काएको हैन रहेछ

तर मेरा यी जीव्रोको बाधहरुलाई जिन्दगीभर
कैले पनि
मेरा यी बुलन्द आवाजहरुले भत्काउन सकेनन

मेरा यी आवाजहरू कति निष्ठुर रहेछन्
मेरा आवाजहरू आज आफैसँग दूर भएका छन्
मानौं कि मेरा आबाजहरू आज भुकाइ हराएका
ती कुकुरहरू जस्तै भएका छन्
लाग्छ सायद
जीवनमा मेरो ठुलो कसुर भएको थियो
तै भएर त आज यी मेरा आवाजहरू आखिर
मनको कारागारमा जन्मकैदी भएर जिन्दगी हैन कि
झन्झिर बिताउन बाध्य छन् ।

तर आज मलाई अफसोच यसमा छैन साथी
ती बुढी हजुरआमालाई हेर त
कति बर्ष भयो रोगले कुँजिएर
घरमा थला परेको?
मलाई यो खानेकुरा खान मन लाग्यो
भन्न समेत आज मुखमा तागत छैन
“मिलेर बस है छोरा” भन्न समेत आज
आफ्नै मुखबाट शन्दहरू निकाल्न समेत पीडा हुन्छ!
अँध्यारो साझको क्षितिजमा पहेलो भएर
बिस्तारै बिस्तारै कालो हुँदै गरेको आकाशको निर्जीव लाज जस्तो
हो आज मेरा यी आवाजहरू पनि ठ्याक्कै त्यस्तै भएका छन्
कि म अब कसरी बुझाऊँ कि यो सारा संसारलाई
कि म लाटो हैन भनेर?
वा
मभित्र पनि अरुको जस्तै भाषा छ भनेर
ए मेरा मित्र हावाहरू हो
ए मेरा साथी पवनहरू हो
ए शान्तिका दुत परेवाहरू हो
लगिदेऊ खबर
यो सारा संसारलाई
अब तिमीहरू नै भनिदेऊ कि
यो सारा विशाल विश्व अनि
ब्रहमाण्डहरुलाई पनि
सुनाइदेऊ
कि “म अब यहाँ मेरा भावनाहरू आफै बोल्न सक्छु भनेर” !

(लाटाहरुको आवाज)बाट
@सुजन बुढाथोकी
मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *