समयको मानचित्रमा
ति दुइको…………
उमेर एकतमास बग्यो, नदी झैँ
बाल्यकालमा गिट्टी खेले
भाँडाकुटी खेलमा बुढाबुढी भए
मुटु, मन, प्यार साटे।
उमेरमा घर- गोठ, वनजंगल,
पानी पँधेरो सँगै गरे
झिसमिसे बिहानी र रिमरिमे साँझ
सँगसँगै हिँडे
एउटै घुम मुनी ओत लागे
जवानीमा यौवनको विजुली चम्कँदा
बज्र खस्दा, मेघ गर्जँदा
वासनाको बादल मडारिँदा,
मुसलधारे पानी झर्दा
चिप्लो माटोमा चिप्लेटी खेल्दै
जिन्दगीको कति रङ्गिन दिनहरू
कति मोहक रातहरू बिताए
शुरु भएदेखि निरन्तर….!
समय अन्तरालमा मान्छे फेरिए
जोडी फेरिए, बासहरू फेरिए,
कंक्रिटको जंगलतिर गुँड सरे
स्वतन्त्र गौँथली थिए तिनीहरू
कति लामा उडानहरू भरे
हिमालहरू टेके, समुन्द्रहरू तरे
कति गर्मीका दिनहरू छेले,
कति ठण्डीका दिनहरू झेले
कति लोक दोहोरीहरू गाए
कति लोक नाचहरू नाचे
कहिले नशामा रोए
कहिले बेहोशीमा हाँसे
जे जे गरे, हाँसीखुसी गरे।
समय फेरिए, मान्छे फेरिए
दिन यस्तो आयो,
विवादहरू चुलिए,
एकाएक मागहरू बढे
‘ब्रा’को तुना खुस्कँदा
निवस्त्र उफ्रेका वक्षहरू झैँ
अचानक मिनीस्कर्ट खुस्कँदा
गोप्य अङ्ग उदाङ्गो भए झैँ
अतृप्त वासनामा छुटेका
दुइचारवटा शब्द बाणले
हजारौँ गोली छलेर बाँचेको मान्छे
सफलताको चुचुरोबाट
पातालको माटो चाट्ने गरेर
कठै, ‘हनीट्रयापिङ’मा परेर हनिहन्टर
एकै निमेषमा गर्लम्म ढल्यो।
