पर्खिबस्छु तिमीलाई नै आऊ न भँगेरी
छरिदिन्छु चारा मैले खाऊ न भँगेरी
चुँचुँ गर्नै स्वरै मीठा तिमी सानो साथी
गर्दैनौ कुनै बिगार कति छौ है जाती ।
नआउँदा आँगनीमा खल्लो लाग्दछ
तिमीलाई हेरी बस्दा भोक नै भाग्दछ
चुँचुँ गर्दै मीठो गीत गाउँ न भँगेरी
तिम्रै माया लाग्छ मलाई आऊ न भँगेरी ।
चुच्चाभरि चारा टिपी भुर्र उड्दछौ
थाहा पाएँ बचेराको माया गर्दछौ
मलाई पनि माया गरी आऊ न भँगेरी
टपटप चारा टिपी खाऊ न भँगेरी ।
हेर्दाखेरि सानोसानो तर सबको प्यारो
सधैँभरि फुर्तिलो छौ हुँदैन कि गाह्रो ?
तिमीजस्तो जाँगरिलो बन्न पाए साथी !
पुगिन्छ रे भन्छन् सबै धेरै माथिमाथि ।
ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
