म निदाउनुअगावै
एक रात मेरो झयालको पर्दा उघारेर
अनि मलाई सुटुक्क चियाएर
आकाशको एक
हुल जुनताराहरू आएर
मलाई जिस्काएर भागे।
अनि भागे झयाल नेरको
गुलाफको बोट लत्याएर
अनि सारा सुकोमल कमल लालीगुराँस र
कमलका कमसल
फूलहरू चुडाएर भागे
मानौ कि
मेरो जन्मभूमि नै उचालेर
बगैँचाहरू नै चोरेर भागे
कि मैले खोजे जस्लाई
गगनका तारामण्डलहरुमा
पृथ्वीका
सारा पधेरा, भिरपाखापखेरा घर, आगन,
अनि
अधेराहरुमा
जुनकिरिका जवानी र मधुर प्रकाशहरुमा खोजे,
मेरा हरियालि खेतकागरा र भरिएका धानका
बालाहरुमा खोजे
तर कस्तो बच्चा जस्तो चकचके
फटाह रहेछन् ती
जो भेटिएन कोही कहीं पनि कत्तै?
र
म निरस भएर घर फर्किएर आए
र निदाए ।
भोलिपल्ट ब्युँझिएर हेरे
बिहानीमा
तिनीहरूसङ्गै टाँस्सिएर
हाँस्दै हिनिरहेका
थिए कि,
मैले देखे एक मुस्कान
देखे कि एकसाथ तिनीहरुलाई
स्वयम
तिम्रै अनुहार र ओठहरुमा ।
तिमी नै भनिदेऊ अब, ए!
मायालु !
मेरो मातृभूमि
अनि मेरो देशका सब फूलका रङ्गहरू आत्मसमर्पण गरेर
दिन्छ्यौ कि,
भन
म तिम्रै अपहरण गरिदिऊँ ?
या भन कि
तिम्रा ती राता-गालाहरुमा
म मीठो चुम्मन गरौं ?
नभन्दै, एकछिनमै
अचानक मेरो आँखाको नानीहरुबाट
एउटा कोइली चरी भुर्रर उढेर गयो
मिर्मिरेको आकाशमा
र कतै हरायो अधेराहरुमा
मैले खोजे सधा झै उसै गरी
उस्लाई घनाजङ्गल, बनपाखा, पखेरा, भञ्ज्याङ्ग
चौतारी
अनि डाँडाकाँडाहरुमा
गैरीखेतमा धानका बाला बजाएर
निस्किरहेका हावाका सुस्केराहरुमा
हरदम
खोजे मैले
मानौ कि कुनै सुनसान रातमा
नदिकिनार, र प्रसान्त महासागरका
सुमदुरलय स्वरसर्गम
अनि गुञ्जयमान भाकाहरुमा
या निरन्तर प्रकृतिका प्रतिध्वनित आवाजहरुमा
अनि खोजे दिनभरि …..लगाएर…
लगातर यो विशाल विश्व
अनि सारा ब्रह्माण्ड भर
वर्षातको झरीले बिचरी चरि झै भिजेर
रातमा कतै
भगवानको मन्दिर या मूर्तिमा पो लुकेकी छौ कि भनेर
या यादहरुमा कतै उँडेका चिहानकी परिलाई झैं
पतझर मसानघाटहरुमा खोजे मैले
स्वर्गका अप्सराहरुलाई झै मेरो सपनामा पनि खोजे,
वसन्त ऋतु सकिनै लागेथ्यो सायद
म फर्किए तब
अन्तत, अचानक बीच बाटामा
अन्धकार मेरा अजीव प्रतिविम्बहरुलाई देखेर
पछाडिबाट कसैले डराएर मलाई सोध्यो कि कोहो ?
भनेर
त्यही कोइली पो हो कि भनेर मैले यस्सो फर्किएर हेरे
तर अफसोच त्यहाँ तिमी थियौ … !
अर्थात त्यो रात म तिम्रै आसपास
पुगेको रहेछु ।
