शहरमा अहिले शीतलहर हिमपात सुरु भएको छ
गाउँमा अहिले कुहिरो लागेको छ
सबैले हर रोज रात साँझ बिहान
गरम गरम सेवन गरेका छन्
कोही रातहरुको स्वागतका लागि
बसपार्क, ठमेल अनि रत्नपार्क पुगेका छन्
कोही बिहानै हटहट चिया पियुन
पसल आएका छन्
कोही मैदानको भालेभन्दा पनि अगावै
बिहान भट्टीहरुमा दारु पियुन आएका छन्
सबैले आ-आफ्नो काम पाएका छन्
कोही भट्टीहरुमा बिहानै दारु पिउन आएका छन्
देशमा अहिले जाडो याम सुचारु भएको छ ! !
अहिले एउटा अग्लो दरबारमा झ्यालढोकाहरू
सबै बन्द छन्
हिटरबाट उठेको तापहरुबाट लगातार
शहरका घरहरू तातेका छन्
छेवैपट्टिको भट्टीभित्र सेकुवा पाकेका छन्
खुङ्गखार नामुदहरुका
पानीको गिलासहरुबाट खुद
जवानीको बाफहरू उठिरहेछन्
बाफ्फिएर आगोको धुवाहरुसँग
तातिरहेछ
बार रम बार
मातिरहेछन्
वेश्याहरुका बीचित्र यौवनहरुसँगै
आहा ! कति मजाले रातभर तातेको छ दुनिया
वाह ! एउटा साँघुरो संसारको कोठा कोठिभित्र
यी गल्लीका ती नाठो नामुद दिल्लीहरुमा
हरेक रात जाडोको स-सम्मान गरेर
अनि बिदाइ बिहान काठमाण्डो शहरको
एउटा खुद करोडपति रण्डोबाट हुन्छ।
अर्को यता,
छेवैमा छ एउटा परिचित
बुढो मान्छेको
लडेको ऐतिहासिक एक जीवित कटेज
रहर थियो उसलाई पनि
नयाँ स्विटर किनेर लगाउने
घरमा हिटर ल्याएर आगो ताप्ने
तर के गर्नु पैसैले पुग्दैन
दिनभरको ब्यापारले पुग्दैन
जिन्दगीभर मालिकको पछाडि
दुई हातले ताली बजाएर त
उसलाई अनुहार र आँखाहरुमा
हत्केलाहरुको न्यानो ताप्न पनि पुग्दैन
सडकका पेटीहरुमा
नयाँ नयाँ कपडाहरू बेचेर त
नयाँ नयाँ खुद्रा नोटहरू फेरेर त
उसलाई एउटा नयाँ ज्याकेट फेर्न पनि पुग्दैन
उसलाई आफ्नु इज्जत ढाक्न पनि कम हुन्छ
आखिर अहिले उसको बदन यसरी फुटपाथमा
नाङ्गिएको छ,
जबकि उसलाई आफ्नु शरीर
यी शहरका हरेक भट्टीहरुमा
बेच्दै हिड्ने हो भने पनि
त्यो रेटले
वर्षौंवर्ष हर्दम चिसो सडकको
सिरेटोहरुमा कठ्याङ्ग्रिएको पेटमा
दुई छाक तातो हाल्न पनि पुदैन ।
किनारमा रोग भोक र शोकले
उमेरमै चाउरिएको चेहेरा
एउटा परिचित अधबैँसे अनुहार
जो, गाउँका हर गल्लीहरुमा पनि भेटिन्छ
यदि खोज्दै हिड्ने हो भने ऊ यो देशभर भेटिन्छ
उसको आवाजले एउटा अग्लो दरबारलाई डिस्टर्ब गर्छ
उसको हाछ्युँले महललाई मर्की एलर्जी लाग्छ
उसको खोकीले भवनहरू रोगी हुन्छन
अनि उसको दर्शन र आगमनले नै पनि
बिहान मन्दिरको महान भगवानहरू तर्सिरहन्छन
हेमन्त शिशिरको शित वायु लहरमा
दम, निमोनिया, रुघा, खोकीले
जिन्दगीभर छियाछिया भएर
सडकको किनार र पत्थरमा बाँचिरहेको
बिचरा बनिगरा
जो यदि आफू चाहन्थ्यो भने
अस्ति नै असार सवानमा
उसका आसुहरू भएर पानीहरू बगे
दरबार !
यदि साच्चै ऊ चाहन्थ्यो भने !
उसले पनि बारम्बार अदालतमा आएर
भन्ने थियो होला सायद
राहत दे सरकार !
उद्दार गर मलाई
कि
(तेरो अग्लो दरबारको छतबाट बगेर आएको महासागर भेलबाढीले
मेरो मलिलो माटोको घर एकैतालमा बगर बनाइदिएर गयो
अनि मलाई पनि एकसाथ खोलामा बगाएर लग्यो) २
मलाई इन्साफ देऊ
यदि साच्चै ऊ चाहन्थ्यो भने
उसले भन्ने थियो कि
न्यायको सट्टामा अलिकति न्यानो माग्ने थियो होला
यदि साच्चै ऊ चाहन्थ्यो भने
न्यायको सट्टामा ठुला भवनका शिरको स्वाभिमान र टाउकोहरू काटेर
मान्नेथियो होला
टाउको !
अरे यार टाउको
जस्ले हरेक बिहान आकाशको सूर्य छेकेर
उसको झुपडीमा दिउसै रात बनाएको छ
उसका दिनभरि तातो घाम ताप्ने रहरहरुलाई ओजेल पारेको छ
अधिकार !
अरे यार अधिकार !
यदि अधिकार खोज्दै हिड्ने हो भने
यो संसारका हरेक पहाडहरू जस्ता ती ताजमहलहरुसँग
उसले सिङ्गो आकाश माग्ने थियो
धनिपुर्जा भएका यी जमिनहरुलाई सर्वत्र हेर्दै
सार्जनिक आवासमा घर बनाएर सर्वहारा हासिरहने
त्यो सबैभन्दा उपरको रवि कस्को हो?
यी बन्दी पृथ्वी धर्तीहरुलाई
नेपालआमा झै सधैं सधैं हेरिरहने आजाद त्यो आकाशको
लालपुर्जा चाहिँ कस्को हातमा छ?
सुत ! सुत !
निस्फिक्री सुत !
ढुक्कले सुत
अहिले एकैछिनमा घर दरबारका सबै पर्दाहरू सङ्गै
झ्यालढोका खोलिनेछन
अनि आउनेछन आफै
अघाएर
धुवा र बाफहरू मध्यरातमा
शौचालयका प्वालहरुबाट
अहिले एकैछिनमा अनि आउनेछन
सन्तृप्त धुवा र बाफहरू उत्पात
भट्टी र मसुसालाका बाटाहरू हुँदै
अघाएर सेलाएर आउनेछन
लज्जित तातोहरू
तेरो ओछ्यानहरुमा
अरे यार
जब त,
जूनताराहरुको उदाङ्गो आकाशमुन्तिर
तातो तातो सपना देख्न
झोक्रिएर निख्रिएर नाङ्गो निदाइरहेको हुनेछस
सधा सधाको सुतिसकेको हुनेछस
ओ ! अभागी यदि
अब त यदि साच्चै बाचिस नै भने पनि
जानेछस भोलि बिहान
पहिलो प्रभाकरसँगै
सडकमा दिनभर
पुराना गाडी इञ्जिनका धुवा धुलोहरू ताप्न
जस्ले तलाई अघिल्लो रात
सिरेटोहरुमा आएर सुताएको थियो
जस्लाई जिन्दगीभर
तैंले आफ्नु सपना मानेको थिस
कि कष्टकर ती दिनरातहरुमा
निरन्तर एउटा हिटर जस्तै सम्झिएर ! !
अनि,
साँझमा घर फर्कदा
प्याकेटभरी झोलाभरि
पैसा हैन कि तैले
धुलैधुलोका पोकाहरू लिएर आउनेछस
अफसोच,
तैले त्यसलाई टक्टक्याउने छैनस
तैले त्यसलाई तातोहरुको लागि सिरानमुनी सजाएर
श्रीमती जस्तै सम्झिएर सुताउनेछस्
तैले त्यसलाई आफ्नो शरीरबाट टक्टक्याउने छैनस
बरु तैले त्यसलाई तनमा सजाउनेछस
र
त रातभर उसित सुत्नेछस
तसर्थ तैले त्यसलाई टकट्क्याउने छैनस
जसरी कि भ्रष्टचारीहरू साझमा घर फर्कदा,
आफ्नो कुहिएका मनले भरिएका दुषित प्याकेटहरू
कहिले पनि जिन्दगीमा टक्टक्याउदैन
एउटा भ्रष्ट वेश्याभन्दा पनि अपवित्र बाँच्नु भनेको यहाँ
यो संसारमा गरिबि र अभावमा जिन्दगी ज्युनु रहेछ
एउटा जुत्ताभित्रको दुर्गन्धित मोजाभन्दा पनि लज्जित भएर
बाँच्नु भनेको यहाँ गरिब भएर जन्मनु रहेछ।
हैन
तर।हैन
मलाई सहर्ष गर्व छ
वाह !
भोलि बिहान तिमी
यी चोकका मन्दिरहरुमा पुग्दै छौ
रोडमा कुद्ने हरेक चिल्ला कार गाडीका धुँवाहरुले
अनि भोलि आउदै गरेको शिशिर ऋतुमा
चल्दै गरेको हरेक हावाहरुको स्पर्शहरुले
तिम्रो शरीर तिम्रो बदनबाट अलिकति भए पनि
धुलोहरू उढाएर लग्नेछ दूर आकाशमा
जरुर यो सम्भव छ, मौसमबिदले भनेको छ
भोलि बिहान पानी पर्दैछ
आकाश हो,
आदर्श हो धर्म हो अनि यर्थार्थ हो
कहिले घाम लाग्छ
कहिले पानी पर्छ
पानी पर्छ पर्छ पर्छ
अनि भोलि पर्ने पानीहरुले तिम्रो मन जस्तै मज्बुर अनि चकानाचुर परेका
भत्किएका जुत्ताका च्यातिएका मोजाहरू जरुर
पखालेर धोएर जानेछ
निश्चय,
समयले दिएको चोट समयले नै पुर्नेछ
आगोले पोलेको घाउ अब तिमीले कहिले पनि
आगोमा सेकाउनुपर्ने छैन
हरेक हावाहरुले तिम्रो शरीरबाट धुलोहरू आफै उढाएर लानेछ
जुन धुलो !
जुन दाग !
पहिले उहिले तिमीलाई यही सहरले लगाइदिएको थियो
आऊ अग्रीम आज या भोलि
जुन सुकै दिवशको दिन पारेर
होस या जहिले सुकै
म तिमीलाई त्यो तिम्रो अनुहार पूजा गर्दिनेछु
तिमी चाडै नै अब सडकमा हैन मन्दिरमा बस्न लायक हुदैछौ
तिम्रो दाग मेटिदैछ
त्यो दाग !
जुन दाग
बर्सौ बर्स लगातार लगाएर पनि
यो कुरुप शहरले एउटा भ्रष्ट्राचारिको विचार पुछ्न सकेको थिएन
जुन दाग !
त्यसलाई उहिले यही सुन्दर संसारले लगाइदिएको थियो ।
नुवाउने पानी नपाएर शरीरभर मुयालको खोट साचिरहेको
एक बिटा दाउरा नपाएर काचो चियुरा चामल, चिनि चपाएर
अनि ठ्ण्डिमा एक गिलास चिसो पानी पिएर
अनि कागज प्लास्टिकहरू सल्काएर
कहिले चुरोटका ठुटाहरू जलाएर
कहिले निष्ठुरका यादका जलाएर
कहिले रहरका रातहरू कटाएर
भट्टी र दरबारबीच भएर उड्ने धुवाहरुसङ्गै
कहिले हिमाल जस्तै अग्ला ताजमहलका शिरले
धर्तीमा बनाएका अध्यारा काला प्रतिविम्बहरुमा
हराएका आफ्ना उज्याला भविष्यहरू खोज्दै
कहिले तिनै छायाहरुमा गर्मीको शीतल ताप्दै
भट्टी र दरबारबीच भएर उड्ने धुवाहरू सङ्गै
जिन्दगीभर सडकको साँघुरो किनारमा करले उभिएर
मधुर मधुर सास फेर्दै
थुरथुर काँपिरहेछ निरन्तर
नुवाउने पानी नपाएर शरीरभर खोट साचिरहेछ
महानगरमा एक सर्को दाउरा नपाएर
पागल झै आफैलाई जलाएर
चिहानमा आफ्नै चिता र ज्युँदो लासबाट उठिरहेको धुवा सेक्दै
अँझ मन्दिरको भगवानभन्दा पनि अमर बाँचिरहेछ
उमेरमै ओइलिएर फोहोर किनारमा
एउटा अधबैसे अनि गुलाबी अनुहार ……. !
