हरेक रात हामी निदाएपछि
हाम्रो पृथ्वी बेहोस्सिएपछि
वायुजहाजबाट;
शैनिकले,
मेघदूतले,
यमराजले,
रावणले?
बादलमा बसेर
धुवा मुस्लोहरुको घुम्टो पर्दा पछाडि लुकेर
अलिकति पर सार्दिन्छ आकाशमा हाम्रो देशको क्षितिज
अलिकति वर पार्दिन्छ बादलमाथि मिचिमिची पृथ्वीको छेत्रफल
जब,
बिहान हामी ब्युझन्छौ
अनि फेरि दिनभरि भुलाउँछ
डुलाउँछ हामीहरुलाई हावाहरुमा कुदाउँछ
तब,
हामी स्वर्ग सम्झिएर लाजले सर्माएर अनुहार छोप्छौ र फेरि ती निदाउछौ
अनि हरेक दिन एक एक इञ्च गर्दै हाम्रो उचाइ र आयतन घटिरहेकै हुन्छ
प्रतेक दिन हाम्रो शिर काटिरहन्छ हामी पुड्को भैरहेका हुन्छौ
हाम्रो पृथ्वीको घनत्व घटिरहेकै हुन्छ
हाम्रो क्षितिजको बादल फाटिरहन्छ
आफूलाई बडेमानको जहाजमा भएको देखेर
हामी आफूलाई अजीव अँझ अँझङ्गगो अग्लो भण्ठान्छौ
हामीले आफ्नो वास्तविक उचाइ भुल्छौ
हामी हिमाललाई होचो देख्छौ
हामी सगरमाथालाई सानो देख्छौ।
हामी अहिले परदेशी उपहारहरुमा
आफ्नै आँखाको नजर गुमाइरहेका अन्धाहरू झै
फगत एउटा खेलौना पाएर सुतिरहेको कुनै अचेत शिशु जस्तै
अथवा,
हामी ती मायाप्रेमिहरू
हाम्रो आस्था, हाम्रो विश्वास !
हाम्रो भक्ति वा प्रेम !
बश एक खेलाडी युवक !
जस्ले हामीलाई विवाह र सपनाको आस्वासनहरुमा
हाम्रो अस्तित्व !
हाम्रो कुमारीत्व !
लुट्न हामीलाई नाठो झै आफ्नो प्रेमसबन्धको जालमा फसाएको छ
सायद, दिनहुँ
हामी उसको रहरहरुमा बनिरहेछौ
अञ्जान देह-ब्यपारी…. !
हाम्रो क्षितिज एक लछ्मण रेखा
लछ्मण रेखा !
जब कुनै साधुसन्त हाम्रो कुटि झुपडीमा आउँछ
तब, हामी उसको प्रपञ्च कुटिल चालमा फसेर
हामी भुल्दछौ हाम्रो आस्थाको दिप !
तब भुल्नेछौ हामी ऊ भ्रष्टचारी हो भन्ने
सतिले सरापेको देशमा
मगन्त भिकारिको स्रापले अभिसप्त हुने त्रासले
कुल्चिएर आदर्श
हामी निस्कन्छौ मन्दिर बाहिर
तब, बारम्बार बहिस्कार गर्छ उसले हाम्रो आस्थाको दिपलाई स्वीकार गर्न
तब, लगातार इङ्कार गर्छ उसले
हामीलाई हाम्रो लछ्मणरेखामा
हाम्रो शरीर हातखुट्टा कुर्कुच्चा र पाउहरू हाल्न
तब, बारम्बार अँझ इङ्कार गर्छ उसले हाम्रो आस्थाको रामलाई अगाल्न
सायद, होसमा आएर दोषी सम्झिएर
आफूलाई आत्मसमर्पण गर्नु सिवाय कुनै बिकल्प नै हुने छैन त्यसदिन
तब फाटिरहनेछ आकाशमा हाम्रो बादल
तब काटिरहनेछ हाम्रो जटायुको पखेटा प्वाख बिमानमा बसेर उसले
अनि लगाइरहने समुद्रमा, पहाडमा, हिमालमा
तराईमा तारैतार र
काडैकाडाहरुको विशाल पर्खाल
दुई देश बीचको क्षितिजमा
तब निकाल्नेछ हाम्रो स्वाभिमान हामीबाटै
हाम्रो मनबाट मस्तिष्कबाट हाम्रो हृदयबाट !
हामीलाई बाध्य पार्नेछ हाम्रो आफ्नै आस्था र गौरबहरुबाट बञ्चित बन्न
अनि दिनेछ केवल
लगाइदिनेछ हाम्रो सिरको सिउदोमा
हाम्रो निधारको तक्दिरमा जवर्जस्ती उसको पहिचान
राख्नेछ
दरबारको कुनै महारानी हैन लज्जित नोकर्नी बनाएर राख्नेछ उसले हामीलाई
विशाल महासागर नजिकै बगरको झयालखानाभित्र कुण्ठित कुनै माछा झै
या मानौ,
एउटा ठुलो सुन्दर साम्राज्यको अन्धकार सहरमा बन्द कोठाभित्रको कुनै कैदी झै
तब, सौचौ
अब सोचौ,
कति हजार बर्ष लाग्नेछ हामीलाई
त्यो झञ्झिरबाट बाहिर निस्कन?
कति हजार बर्ष लाग्ने छ एउटै पिरबाट पनि बाहिर निस्कन?
कति हजार बर्ष लाग्नेछ
हामीले हाम्रो आस्थाको धर्मात्मालाई भेटन
कति हजार बर्ष लाग्ने छ
हामीलाई हाम्रो आस्थाको मन्दिरको रामलाई देख्न?
कति हजार बर्ष लाग्ने छ
उसको चक्रब्यु तोड्नलाई
कति हजार बर्ष लाग्नेछ हामीहरुलाई त्यो षणयन्त्र तोड्नलाइ?
अनि कति हजार बर्ष लाग्नेछ
हामीलाई लङ्गका क्षितिज पारिको अयोध्या पुग्नलाइ?
कति हजार बर्ष लाग्नेछ
सायद
याद छ अँझै आज,
बिगत कति हजार बर्ष लागेथ्यो त्यो रणभूमिहरुमा
यो संसारमा रामयणको लामो युद्ध सकिनलाइ?
ओ ! महान भारत !
ओ ! महाभारत !
ओ ! महाभारतको भुडे रावण !
ओ ! बडाभारत !
भारत !
तिम्रो लालकिल्ला र नक्साहरुमा गाडीएको मेरो जमिन
लङ्गकाको पिँजडाहरुमा अपहरित जनकपुरे कुनै सीताहरू जस्तै हो !
लङ्गकाको पिँजडामा अपहरण भएकि नेपालकी सीता
सम्झ कि अहिले,
तिम्रो त्यो बडा नक्सा र लालकिल्लाहरुमा मिचिएको मेरो जमिन जस्तै हो ।
