Skip to content


आठ कक्षा पढ्दा पढ्दै विद्यालयको पढाइ छोडेकी षोडशी देउकी बिछट्टै राम्री थिई । घुँडासम्म छोप्ने फरिया र ढाकाको फुलबुट्टे चोली लगाएकी कुखुरे बैंसले उन्मत्त देउकी बर्ने चियाबगानमा साथीसङ्गीहरुसँग इत्रिदै र सिनेमाका गीत गुनगुनाउदै डोको बोकेर चियापत्ती टिप्न पाउँदा औधी खुशी हुन्थी । बगान छुट्टीको दिन बुधबार देउकी साथीसङ्गीसँग कहिले बुधबारे हाट गएर सिनेमा हेर्थी त कहिले ठुट्टेबर मेलामा गएर रोटेपिङ्ग खेलेर रमाइलो गर्थी । उसका साथीहरुले उसलाई “देउकी ! तँ त राम्रीमा चलचित्रकी नायिकाभन्दा कम छैनस है,” भनिदिँदा अल्लारे बैंसालु देउकी मक्ख परेर भुइँमा न भाँडामा हुन्थी । हुन पनि हो टिमाई र हडिया खोलाले घेरिएको र पहाडको काखमा खेल्ने हरियालीयुक्त सुन्दर बर्ने चियाबगानमा खेल्ने ठुला ठुला चनमते आँखा र छनमते कम्मर भएकी, पातली र गोरो बर्णकी देउकी स्वर्गबाट भर्खर पृथ्वीमा झरेकी परीभन्दा कम थिइन ।

चियाबगानमा काम गर्ने मजदुरहरुको संसार आफ्नै किसिमको हुन्छ । त्यहाँ बाह्रै महिना चियाको पत्ती टिप्ने र चियाका बुट्टाहरुको गोडमेल गर्ने काम हुन्छ वैशाखको चर्को घाम होस कि असारे झरी, बाध्यताका रोजीरोटीको लागि बगानेहरुले घामपानीसँग मितेरी लगाएर चिया बगानमा हाजिरा गर्नेपर्छ । चियाबारीका छेवैमा लस्करै बनेका चियामजदुरहरुका कमरोले भित्ता पोतेका र खरले छाएका झुप्राहरू पूर्णिमाको टहटह जुनमा टाढाबाट हेर्दा भेडीबथान झैँ देखिन्छन् । प्रायशः सबै घरको सफा आँगनमा रङ्गीचङ्गी फुलहरू गमलामा रोपिएका हुन्छन् । चाडबाडमा छिमेकीहरू जम्मा भएरसँगै मिठोमसिनो खाने, नाचगान गर्ने, बगान छुट्टीमासँगै मेला र हाटबजार जाने, सदा हशमुख भएर पाहुनाको सत्कार गर्ने निस्वार्थी बगानेहरू यो स्वार्थी संसारमा अर्कै संसारका जीवहरू हुन् कि जस्तो प्रतित हुन्छ ।

घामपानी र सुखदुखसँग मितेरी गाँस्दै बगानेहरुका दिनचर्या नियमित रुपमा चल्दै गए । बर्ने चियाबगानमा एउटा ठिटौलो परेको मान्छे खर्साङ्गको मकैबारी चियाकमानबाट नयाँ मेनेजरको रुपमा आयो । झट्ट देख्दा कुनै चलचित्रको नायक झैँ लाग्ने त्यो नयाँ मेनेजरको बोल्ने शैली पनि चित्ताकर्षक थियो । आकर्षक पहिरनमा कालो चस्मा लगाएर मोटर चढी चियाबगानमा घुम्ने त्यो मेनेजरलाई देख्दा बगाने तरुनीहरू पनि घुटुक्क थुक निल्थे । मेनेजरलाई देखाएर उसका दौँतरीहरुले देउकीलाई “ए नायिका ! तेरो नायक आयो” भनेर जिस्क्याइदिन्दा चञ्चले देउकी मसक्क मस्किन्थी ।

वसन्त ऋतुको मधुमास, बर्ने चियाबगानमा चियापत्ती टिप्ने मजदुरहरुको लस्कर गौचरणको गौबथान झैँ प्रतित हुन्थ्यो । उत्तरतिरको कोलबुङ्ग डाँडोबाट बर्नेतिर सिरसिर बतास चलिरहेछ । बगानमा ढकमक्क फुलेका सिरिस र पलाँसका फूलहरुसँग लुकामारी खेल्दै चखेवा र ढुक्कुरका जोडीहरू प्रेमालाप सहित रुखका डालीडालीमा नचिरहेछन् । स्त्री मजदुरहरू साउने भाखा हाल्दै चियाका पत्ती टीपी आ–आफ्नो डोको भर्न ब्यस्त छन् । यो निश्चल र निष्कपट स्वर्गानन्दीय पलमा देउकी पनि सुरिलो भाका हाल्दै साङ्गीतिक तालमा आफ्ना दुवै हातले दुईपाते सुइरो चुड्दै बेतको डोको भर्न ब्यस्त थिई । देउकीको सुरिलो भाकाले चियाबारीभित्र अनुगमनको लागि मोटरमा गुडिरहेको मेनेजरको ध्यान उतैतिर तानिन्छ र ऊ मोटर रोकर देउकी भएतिरै जान्छ । मेनेजरलाई एक्कासि आफ्नो अगाडि देख्दा देउकी लाजले भुतुकै हुन्छे ।

“ए बहिनी ! तिमी त सारै मिठो गीत गाउँदिरहेछौ अनि तिम्रो नाम के हो ?” आकर्षक अनुहार र हट्टाकट्टा ज्यान भएको मेनेजरले गोधूलि साञ्झको बेला आफ्नै छेउमा आएर आफ्नो प्रशंशा गरेको सुनेर देउकी स्त्रीलज्जाले निरुत्तर भई डोकोनाम्लो भिरी मुख छोपेर “मेरो नाम देउकी” भन्दै त्यहाँबाट आफ्नो घरतिर सुइँकुच्चा ठोक्छे । मेनेजर चाहिं देउकीको चञ्चलता र नारीसुलभ लज्जा देखेर मुसुमुसु हाँस्दै मोटर हाँकेर आफू बस्ने कर्मचारी निवासतिर लम्किन्छ । देउकी सिन्दुरी साँझमा आफ्नो ढाकाको पच्छेउरीको कुनाले पसिना पुस्दै डोकोनाम्लो फ्यात्तै फालेर आफ्नो घरको दलानमा थ्याच्च बस्छे । पुच्छर हल्लाउँदै देउकीको घरमा पालेको कुकुरको छाउरो भुण्टे उसको छेवैमा आएर उसको मजेत्रो टोकेर आफूतिर तान्न थाल्छ । देउकीले भुण्टेलाई च्याप्पै समातेर आफ्नो काखमा राख्छे र भुण्टेको गालामा च्वाप्प म्वाइँ खान्छे । आज देउकी घरी एक्लै मुस्काउँछे घरी एक्लै लजाउँछे । देउकीलाई आज किन हो किन वरिपरि जे देख्यो त्यही राम्रो लाग्न थाल्छ । उसलाई आज आँगनका डिलमा फुलेका फूलहरुले मुस्कराउँदै जिस्क्याए झैँ लाग्छ ।

“देउकी ! ए देउकी ! किन एक्लै बाहिर बसिराको ? भित्र आइज । भात खाने बेला भो ।” भित्रबाट आएको आमाको बोलावटले देउकीको तन्द्रा भङ्ग हुन्छ र एक्लै मुस्कराउँदै ऊ घरभित्र पस्छे ।

खानपीन सकेर देउकी बिस्तरामा पल्टिन्छे । आज उसलाई तनमा कुतकुती र मनमा गुदगुदीको महसुस भएको छ । अबेर रातसम्म एक्लै मेनेजरसँगको परीकल्पनीय सामीप्यताको गगनमा उड्दै देउकी मधुस्वप्नको काखमा भुसुक्कै निदाइ ।

वसन्त ऋतुको मधुमासमा फूलहरू मुस्कुराइरहेका थिए, चराचुरुङ्गीहरू अनुरागको संसारमा मस्त थिए र पूर्वी शान्तिनगर डाँडातिरबाट फूलहरुको सुगन्ध बोकेर चलेको सिरसिर बतासले चियाबारीको बरपीपलमुनिको चौतारीमा बसेका देउकी र मेनेजर प्रेमलापमा तल्लीन थिए । शीतल बतासका झोक्काहरूले देउकीका केशराशीहरू मेनेजरको गाला र छातीमा चुम्बन गर्दै फहराइरहेका थिए । सुमधुर गीती गुनगुनाहटसँगै देउकी मेनेजरको अङ्गालोमा बाँधिएर प्रथम प्रेम सुखानुभूति महसुस गरिरहेकी थिई अनि मेनेजर स्वप्निल स्वर्गानन्दीय सागरमा डुबुल्की मार्दै थियो ।

रातको अन्तिम प्रहरमा चियाबारीको किनारामै रहेको टिमाई खोलातिरबाट स्याल कराएको तिखो आवाजले बिस्तरामा सुतिरहेको मेनेजरको मिठो सपना भङ्ग हुन्छ । किन हो किन आज मेनेजरलाई देउकीसँग भेटौं भेटौं लाग्छ । ऊ सबेरै रम्रिएर गाडी लिई चिया मजदुरको झुप्रे आवासक्षेत्रतिर हानिन्छ । सोधीखोजी गर्दै ऊ देउकीको घरमा पुग्छ । बाबियोले छाएको छानो र कमरोले पोतेको भित्तो भएको देउकीको घरलाई सफा आँगन वरिपरि सजाइएका रातो माटोले पोतिएका गमलामा फुलेका फूलहरुले सुनमा सुगन्ध थपिदिएका थिए ।

“घरमा को हुनुहुन्छ ?” मेनेजरको बोलावटले देउकी र उसकी आमा जुनकिरी घरभित्रबाट बाहिर निस्कन्छन् । मेनेजरलाई आफ्नो कुटीमा आकस्मत आएको देखेर आमाछोरी अक्क न बक्क हुन्छन् ।

“नमस्कार मेनेजर साहेब ! आज कति कामले हाम्रो झुप्रोमा पाइला राख्नु भो ?” जुनकिरीले मधुर मुस्कान सहित हात जोडी उसको अभिवादन गर्छे तर देउकी चाहिँ मेनेजरको आकस्मिक आगमनले सङ्कोचबस रातोपिरो मुहार बनाएर भुण्टेलाई बोकेर घरभित्र पस्छे ।

“देउकी ! आज मलाई भात खुवाउदिनौं तिम्रो घरमा ?” घरभित्र पसेकी देउकीलाई बोलाउँदै मेनेजरले देउकीलाई बाहिर बोलाउँछ । देउकी पनि समुस्कान बाहिर आएर मेनेजर छेवैमा बस्छे । दुवैको आँखा र हाउभाउ हेर्दा तिनीहरू एक अर्कातिर आकर्षित भएको आभास हुन्छ ।

आजकल देउकी प्राय चियापत्ती टिप्ने काममा गयल हुन थाली । उसले आफ्ना दौँतरीहरुसँग पनि पहिलाको जस्तो हिमचिम गर्न छोडी । आजकल देउकी मेनेजरको गाडीमा चढेर कहिले बिर्तामोड बजार त कहिले कन्यामतिर घुम्न जान थाली ।

मेनेजर र देउकीको पिरतीजन्य हिमचिमबारे बर्ने चियाबगानभरि गाइँगुइँ हुनथाल्यो । एउटी मजदुर केटी र हुनेखाने मेनेजरको प्रेमप्रसङ्गलाई लिएर बगानभरि यो प्रेम बासनायुक्त हो या चोखोमाया हो भन्ने कुरामा बहस नै चल्न थाल्यो । एक कान दुई कान मैदान भने झैँ देउकीकी आमा जुनकिरीको कानमा पनि यो कुरो पुग्यो । यो कुरा सुनेपछि जुनकिरीको मनमा चिसो पस्यो । उसको दिमागमा पूर्वदीप्तिको कुमालेचक्र घुम्न थाल्यो र उसलाई चिटचिट चिसो पसिना छुट्न थाल्यो ।

आजभन्दा सत्र वर्ष पहिला ऊ षोडशी हुँदा खर्साङ्गको मकैबारी चियाकमानमा चियामजदुर थिई । रुपशी जुनकिरीलाई पनि त्यही चियाकमानको मेनेजरले प्रेमजालमा फँसाएर गर्भिणी बनाएको थियो । त्यसपछि मेनेजर त्यहाँबाट बिना पूर्वसूचना कतै अन्यत्र गयो । जुनकिरीले देउकीलाई अवैध सन्तानको रुपमा जन्म दिई । सामाजिक प्रताडनाको शिकार भएर जुनकिरीलाई गाउँ निकाला गरियो । जुनकिरी रातारात भागेर नेपालको बर्ने चियाबगानमा आई र मजदुरको रुपमा काम गर्नथाली । देउकीलाई असीमित ममताको धाराले नुहाइदिएर जुनकिरीले समाज र आफ्नी छोरी देउकीलाई समेत थाहा नदिई यो राजलाई आफ्नै छातीभित्र दबाएर राखेकी थिई । जुनकिरी आफ्नी अबैध सन्तान देउकीलाई कसैगरी पनि भविष्यमा आफ्नो जस्तै पीडा नहोस भनेर दिनरात ईश्वरसँग प्रार्थना गर्थी ।

एक दिन देउकी मेनेजरसँग भागी भन्ने खबरले बगान नै हल्लियो । बगानबाट दुवै गायब भएको खबर सुनेर जुनकिरी मुर्छित नै भई । जुनकिरीको जीवनमा जे कुरामा डर थियो त्यही नै भयो । आफ्नो बुढेसकालको सहाराको आफ्नो जस्तै हबिगत हुने भो भन्ने पीरले जुनकिरी आधामासु भई । दिन बित्दै गए । छ महिनापछि एक साँझ देउकी टुप्लुक्क आफ्नो घर आइपुगी । आफ्नी आमालाई देखेर देउकी भक्कानिदै रोई । जुनकिरी पनि आफ्नी छोरीलाई अँगालोमा बाँधेर आँसुका धारा बहाउन थाली ।

देउकीको पेट बढेको देखेर आमाले देउकीलाई सोधी, “कस्को नासो बोकिस तेरो भुँडीमा हँ देउकी ?”

आमाको प्रश्न सुनेर देउकी फुटीफुटी रुँदै भन्नथाली, “त्यो धोकेबाज मेनेजरले मलाई मायाजालमा फँसाई छ महिना शहरमा श्रीमती जस्तै बनाएर राख्यो, अनि भुँडी बोकाएर भाग्यो ।”

जुनकिरीलाई देउकीको कुरा सुनेर आकाशले थिचे जस्तो महसुस भयो । समरूपी लेखान्त लिएर आएका आमाछोरी दुवै नियतिका शिकार भए । फेरि बर्ने चियाबगानमा एउटा खबर सुनियो कि आज बिहान भालेको डाकमै छिमेकीहरुलाई थाहै नदिई जुनकिरी आफ्नी छोरी देउकी सहित कुम्लोकुटुलो बोकेर अनजान गन्त्यवतिर भागी रे ।

इति

राजेश अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *