बेरोजगार मेरा यी हातका औंलाहरुले
दिनभरि
रातभरि
टाइप गर्दा गर्दा
गेम खेल्दा खेल्दा
भिडियो हेर्दा हेर्दा
गुगलमा पोयमहरू कोर्दा कोर्दा
मध्यरातमा
जब म मोवायल थङ्क्याएर
सुत्ने सुरसार तर्फ लाग्दछु
तब एकाएक औलाहरू
आफै गरुङ्गो र दुखेको अनुभव हुन्छ
अनि सोच्छु,
दिनभरि रातभरि भारी बोक्ने ती मजदुर
या,
जमिन जोत्ने ती किसानका
हत्केला हातभरी
ढाडभरि
पिठ्युभर
जिउभर
पाउभर कति ठेला र डाबरहरू उठ्दो हो ?
म सोचिरहन्छु
र, सुति जान्छु
भोलिपल्ट बिहान,
जब उठि जान्छु
तब, फेरि उसैगरी नित्यकर्महरू सम्झिन्छु
फेरि सधा झै हातमा लिन्छु
हिजोका उराठलाग्दा ज्वारभाटा र बिगत बिर्सिन्छु
जसरी कि उनीहरू उठ्नसाथ
अनिवार्य आजको दिनचर्याहरू सम्झिन्छन् ।
