Skip to content

यदि आमा शहीद भइन भने


सधैं हरदम हँसिलो भैरहने
उज्यालो आकाश जस्तो मेरो चेहरामा
कालो बादल छाएर
ग्रहण लाग्नेछ,
जरुर अँध्यारो हुनेछ हरसमय आकाश
अनि खस्नेछ्न् सबै ग्रह जूनताराहरू
अनि बस्नेछन सधैको लागि तिनीहरू
अर्कै ठाउमा बासस्थान बनाएर
निश्चय
यो पक्का छ अनि
हरेक बिहान सूर्य किरणहरू
अपरहरित हुनेछन अञ्जान जालहरुमा
अनि हाम्रो यो विशाल पृथ्वी
सधा एक अँध्यारो कोठामा बन्धक भएर बस्नेछ
एउटा अनिश्चित कालको लागि … !

यदि आमा मरिन भने,
प्रभातको पहिलो आभासहरुमा
परिवर्तनको उद्घोष गर्दै
कर्कल आवाजहरुमा
कुखुरीको …
बासिरहने सपनाहरू पनि बेकार हुनेछ
हरेक रात सर्प बोक्सी चुडेल चतुर स्याल
अनि सब बनजङ्गलीहरू आएर एकसाथ
हाम्रो मन्दिरमा
हाम्रो फुलबारी
अनि हाम्रो
विद्यालयहरुमा घुसिरहनेछन
हाम्रो देवालय
निश्चय !
एउटा मसानघाट अनि वेश्यालय जस्तै हुनेछ
शान्तिको हत्या हुनेछ
बौलाह बादरहरुबाट
हाम्रो घरको लछ्मी
अनि गाईको पवित्र थुन बदन चुसिरहनेछन !

यदि आमा मरिन भने
कहिले पनि खोलिने छैनन्
निर्दोष परेवाहरू बन्दक बनाइएका
कारागारका झ्यालढोकाहरू
लगातार घरका धुरिहरुबाट
प्रेमका पखेटाहरू फिजाएर
सधैं मुक्ताकासमा उड्ने
उढिरहने ती परेवाका रहरहरू पनि
क्षणभरमै चकानाचुर हुनेछ
यदि आमा मरिन भने
बुद्धहरू अपराधी जस्तै बनेर जञ्जालमा थुनिरहनेछ्न
एउटा अनिश्चित कालको लागि !

हाम्रो भडार कोठाका सबै देवी देवताहरुले
हातभरि आशीर्वादहरू बोकेर
तिनै ठेला उठेका हातहरू पर्खिरहेका हुनेछन
कुनै निर्जीव पत्थरको चट्टान झै गरेर
अब कहिले पनि तिनीहरू पुजिने छैनन्
तिनीहरू कहिले पनि पुछिने छैनन्
बरु सधाको लागि
प्लास्टरहरुमा सजिएर भित्ताहरुमा पुराना फुल मालाहरू लगाएर
कहिले मेरो अनुहार टुलुटुलु हेर्दै रोइरहेका हुनेछन
कहिले तीनै तस्बिरका आँखाहरू
मेरो मुहार हेर्दै हासिरहेको हुनेछन अजीवहरू
अनि छेवै पट्टि
कुनै वीर शहीदको शालिक जस्तै गरेर
गर्धन छाती र घाटिमा विजयका फुलमालाहरू लगाएर
सधैं सधैं मेरो आखै अगाडि उभिनेछ
अनि उभिरहनेछ
एउटा सजीव तस्वीर
निश्चय ! जुन तस्वीर
मलाई छाडेर
जानू भएकी मेरी स्वर्गीय आमाको हुनेछ ।

यदि आमा मरिन भने
स्वर्गका सबै अफ्सराहरू अमृत हैन जहर ओकल्नेछिन
अनि
पृयाले थालमा भात हैन कि
एउटा बेरोगारको उपहास पस्किनेछिन
यदि आमा मरिन भने।
एउटा।अनिश्चित कालको लागि
एक्लै एक्लै
मेरो घरमा आमाको सट्टामा उङ्कै राज चल्नेछ ।

यदि आमा मरिन भने,
कोक्रोहरुमा ब्युझिएर
कालिला तोते ओठहरुसङ्गै
दूध प्युने अभिलाषाहरू लिएर
आफ्ना आँखाहरुमा एकसुरले
रोइरहेका हुनेछ्न
अबोध शिशुहरू
अब कहिले पनि पृथ्वीमा बामे सर्ने छैनन्
सिदार्थ गौतम झै गरेर
अब कहिले पनि ब्युझिएर
पहिला झै साहसले भुइमा भयरहित हिड्न सक्न्ने छैनन्
शिशुहरू
निश्चय यो जरुर छ कि
उनीहरुले एउटी धाइआम
अथवा सौतेली आमा पाउनेछन
यदि अफसोच
पाएनन भने निश्चय यो जरुर छ
आफ्नी आमालाई सपनामा भेट्न एकनाश
सपनामा देख्न !
कोक्रोहरुमा शिशु लास बनेर सधा सधाको लागि सुतिरहेका हुनेछन।

यदि आमा मरिन भने !
बुवा मतुवा भएर हिड्ने छ
कि बौलाहा भएर हिड्ने छ
यदि आमा मरिन भने
कित बाउ शान्ति खोज्दै
बोधगया कासी पुग्नेछ
यदि आमा मरिन भने
कि त बाउ राँची जानेछ।

यदि आमा मरिन भने
मन्दिरको भजन किर्तनमा
सबै काकी हजुरामाहरु।
सबै देवी देवताहरुले
सधैं थपडी बजाइरहने
ती हत्केला
सधैं अरुभन्दा पनि पहिला आउने
ती पहिलाहरू
अनि ती
आगनहरुले
सधैं नाचिरहने
फुटेका खुट्टाका कुर्कुच्चाहरुलाई पर्खिरहेका हुनेछन
यदि आमा मरिन भने एउटा सुन्दर फुल
भगवानको भक्त्ति या तस्बिरको सट्टामा
समाधिमा मेरी आमाको मृत शरीरमा खस्नेछ।

यदि आमा मरिन भने
नदी तलाउ कुवा ताल सरिता सबै सुक्दै जानेछन
पृथ्वीमा खडेरी लाग्नेछ
प्राणिहरू आकुलब्याकुल भएर
तिर्खाइरहनेछ
हे मेघदुत
वर्षात रोकिनेछ
ए ! इन्द्रराज
सुन्दर तर बलात्कृत परी झै उजाड हुनेछन
यी घर मरुभूमि बालुवाको बगर बन्नेछन
नाङ्गिरहनेछन
भयङ्कर भयङ्गकर प्रशान्त महासगारहरू पनि
सेलाइरहनेछ
सुस्ताइरहने छ
सम्भावनाका खेतीहरू बिनाश हुनेछन
यदि आमा मरिन भने
मर्नेछ
बिगतको एक सजीव इतिहास !

यदि आमा मरिन भने !
वीर पुर्खा गोर्खा
अनि अब बहादुरले चाहे जस्तो सन्तान जन्मिने छैन
यदि आमा मरिन भने वीर पुरुशहरू जन्मिने छैनन्
गोरुहरुले पनि बारम्बार
भैंसीको कालो पाडो जन्माउने छन्
यदि आमा मरिन भने
जरुर ! कहिले पनि जन्मिने छैन
जन्तुहरुको पहिचान !
पाहुनाहरू आउने छैनन्
पर्मेश्वर !
यदि आमा मरिन भने यो संसारलाई
पापबाट उद्दार गर्ने पवित्र पुत्र यशु क्रीस्ट पनि
कहिले फर्किएर आउनु हुनेछैन
गद्दारका देशद्रोही विचारहरुलाई मृत्युद्ण्ड दिनेछ
लाचार नालायकहरुका लज्जित अनुहारहरुलाई
बिराङ्गनाहरुको
पुछिएका सिउदोहरुले पनि बारम्बार जिस्काइरहनेछन
अमरहरू जीवित रहनेछैनन्
निश्चय,
यदि आमा मरिन भने
आसाका अञ्जान भविष्यहरू कोसेली लिएर
आउदै गरेका यी हालका वर्तमानहरू पनि मर्नेछन।

यदि आमा मरिन भने,
छ्मेकीको बारिको घासहरू
लुकेर आउने हातका हसियाहरुलाई
नदेखेर खुशीले हासिरहने छ
मेरो बुवाको जमिन
कुनै बिधुवा आइमाईको सिउदो झै
सधैको लागि बेरङ्गी,उदास
उजाड र बाझै हुनेछ
रोपिनेछैन कहिले पनि
उज्यालो आसाहरुको बीउ बिजन र बोटबिरुवाहरू
अनि भोकाएर कुनै टुहुरा बेचेरो झै
रोइरहनेछन

यदि आमा मरिन भने
कुखुराका चल्लाहरू चिउचिउ गर्दै
अँध्यारो ठण्डी अनि शीतलहरहरुमा
एउटा न्यानो खोज्दै
कुनै पुरानो परालको माच
या,
अँध्यारोहरुको बासझ्याङ्गको झाडिहरुमा
आफ्नै आमाको काख र अङ्गालो सम्झिएर
ओत लाग्नेछन सायद र निदाउनेछन त्यही
यदि आमा मरिन भने
चराका बचेराहरुले
गुडमा
सडक किनार
वा मन्दिरको सिरेटो पेटिहरुमा
दुई हात जोडेर।
दुई हात थापेर
एक गेडो अन्नको भिख मागिरहेको
कुनै भिखारी झै गरेर
चर्को आवाजहरुमा
बटुवा तीर्थयात्रीहरुलाई झर्को लगाउने गरी
मुख च्यातेर सधैं सधैं चिच्याएर कराइरहनेछन सायद

यदि आमा गैन भने
गोठका सबै गाईवस्तु पशुपन्छी जन्तु चौपायहरू
यदि आमा मरिन भने
सधैं चामल मात्र खाइरहने त्यो मुसोले पनि
भोकमारीको भुमरिमा पर्दा
खेतगराको प्वालभरि धानको भुस खोज्दै हिडिरहनेछ
घरमा माहामारी हुनेछ
आमा मर्दा खेरी।

हिमाल पहाड
र सगरमाथाको उचाइ घट्नेछ
समथल तराई अलि तल भासिनेछ
बुद्धहरू सधैको लागि बन्धक बन्नेछन
यदि आमा मरिन भने
लाली गुराँस गुलाफ र लिलीफूलहरू ओइलिनेछन
अनि एकछिन नेपाल आकाश पनि रुनेछ
मजदुर सधा सधाको लागि हली र दास हुनेछ
मालिक सधैं जाली र सामन्ती नै रहनेछ
घरका सबै चौकिदार कुकुरहरू प्रवाशमा बस्नेछ्न
घरका सबै चिल्लि बिल्ली हुनेछन
यदि आमा मरिन मरिन भने
अनि बिस्तारै
गाइगोठ, तुलसाको मोठ
आगन मनमन्दिर
पाटिपौवा
अनि बिस्तारै
बलेसी बर्दली भत्किएर
हाम्रो घर
सडक किनारको कुनै बेवारिशे कपडा झै
वा, पाल्तु रोगी लावारिश जनावार झै
या मानौ कि
सिन्दुर पुछिएकी कुनै सुन्दर बिधुवा झै

हाम्रो घर
स्वयम एउटा
दारी कपाल फुलेको
दात नभएको थोते चाउरिएको बुढो मान्छे
हाम्रै छिमेकीले नै लानेछ उठाएर हामीहरुबाटै

एउटा देशभक्त सपूत जिन्दगीभर टुहुरो हुनेछ
अमर अटुट शहीदका आँखाहरू रुनेछन
र निरन्तर रोइरहनेछन
यदि नेपाल आमा मरिन भने
एउटा अनिश्चित कालको लागि
शहीदका सपना रहरहरू अधुरो हुनेछ्न
भैरहनेछन..

२०५६-०९-०७
दाम्राभिट्टा, मोरङ्ग
सुजन बुढाथोकी
(कसैको आमाको असामयिक निधनमा लखेको थिए, सम्पूर्ण स्वर्गीय आमाहरुमा समर्पित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *