Skip to content

अंग्रेजी नयाँ बर्ष २०२०


इम्बक्स
शुभकामनाले भरिभराउ थियो l
फेसबुक र ट्विटरका भित्ताभरि
नयाँ वर्षका रंगीन पोस्टहरू !

पल्टाएर हेरे भित्तेपात्रो
आज वैशाख एक गते पक्कै थिएन
जनवरी एक तारिख पो रैछ !

निराशाका चैते खडेरीलाई
हराभरा बनाउन
आशाका कलिला मुना बोकी ल्याउने
बैशाखलाई भुलेर,
उजाड मनमा
वसन्तका पालुवाले
हरियाली पारिदिने
हाम्रो नयाँ वर्षलाई बिर्सेर
रित्तो पुष
रहर कठ्यांग्रिएर कक्रक्क पर्ने समय
सपना चिसिएर शून्य डिग्रीमा पुग्ने बखत
उत्साह जमेर बरफ झै बन्ने बेला
हामी किन यति आतुर छौ ?
के कारण यति तातिएका छौ ?
कसरी यति रङ्किएका छौ ?
नयाँ वर्षको शुभकामना बाड्न,
पराईकी बेहुलीलाई आफ्नो घर भित्र्याउन !!

हाम्रा पूर्खा पहाड झै अचल थिए,
हामी किन यति चालु भएका छौ
अर्काको देखासिकी गर्न !
हाम्रो इतिहास सगरमाथा झै
अटल र स्वाभिमानी थियो
हामी किन यति पछौटे भएका छौ
अरूको नक्कल गरेर कृत्रिम बन्न !
तीज र तिहारमा
आफ्ना चेलिलाई एक कल फोन गर्ने समय नपुग्ने हामीलाई
भ्यालेन्टाइनको दिन आफ्नी प्रेमिकालाई भेट्न नपाएकोमा
ठुलो अपसोच हुन्छ, किन ?
वैशाख एककोभन्दा
जनवरी वानको महत्व किन बढाएका छौ हामीले ?

परदेश पसेर
दुई चार ओटा नौला कुरा जान्दैमा
आधुनिक डिजाइनका बस्त्र पहिरिदैमा
वैज्ञानिक प्रविधिको उपयोग गरेका छौ भन्दैमा
उठबस र खानपान बदलिदैमा
सामाजिक सञ्जालको दुरुपयोग गरी
बिदेशी संस्कृतिलाई
बाहुल्यता दिन थालियो भने
साच्चै एक दिन,
हाम्रो राष्ट्रियता हराउनेछ
कला, संस्कृति र आफ्नोपन बिलिन हुनेछ
हामी
बहादुरका सन्तान परजीवी बन्नु पर्नेछ
आफ्नो पहिचान र अस्तित्व गुमाएर
नपुंशक बन्नु पर्नेछ
अनि शहीदको रगतले पोल्नेछ
हिमाल रुदै बोल्नेछ
बचाऊ मलाई !
बचाऊ मलाई !!
बचाऊ मलाई !!!

रेखा पन्त
गोरखा, हाल इजरायल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *