Skip to content
AmritaPoudelAsim


खै किन हो किन ?
आजभोलि रङ्गहीन,
मेरो सपनाले निद्रामा,
विपनाले तन्द्रामा,
हुलका हुल मानिसहरू
शब्द लिएर मलाई झक्झक्याउँदै,
हे कवयत्री ! तिमी कविता लेख
भन्दै गर्दा मेरो कलम,
आक्रोशित हुँदै जुरमुराउँछ,
अनि म कोर्न थाल्छु !
मेरो झार उम्रिएको आँगनमा,
भत्किएको पिंढीमा/चोइटिएको
चर्किएको कोठामा/ गार्‍हामा,
हुलका हुल गरीबहरू आएर,
पेटभरि खाने अन्न छैन,
बिरामी हुँदा उपचार गर्ने पैसा छैन,
हाम्रो दिनदशा उस्तै छ,
हाम्रो खरको चुहिने छानो,
टाल्छ कसले ?
हे कवयत्री ! हाम्रो आवाजलाई,
शब्द मार्फत पुराइदिनु !
तर म मौनतामा कहाँ हराउँछु ?
म हिंड्ने बाटोमा/ भिर अनि पाखामा,
असीमित तरिकाले भत्काइएका,
अलपत्र विकास विहीन संरचनाले,
मलाई बोलाउँदै,हाम्रो अस्मिता लुटियो,
हामी उपेक्षित भयौं,दृष्टि गुमाएका,
पदचापहरूले थिचिरहेछन् !
हे कवयत्री ! तिम्रो शब्दको,
ज्वारभाटा कहाँ गयो ?
म हिड्ने जंगलमा/ खोल्सामा,
कान्लामा/झाडीमा अकस्मात्,
बलात्कारको शिकारले आक्रान्त भई,
आफ्नो प्राणको आहुती दिने,
धेरै निर्मलाहरू पीडाले थिचिएका,
अनुहार लिएर,विकलाङ्ग आकृति आएर,
मलाई तानेर बोलाएर,हल्लाएर,
हे कवयत्री ! तिमी नतमस्तक भयौ किन ? हाम्रो हकहितका लागि,
बोल्ने र दोषीलाई कारबाही दिने कसले ?
अनि म जाने भेलामा/ मेलामा,
जमातमा/ भीडभाडमा,
झुन्डिएका अनेकौं झुण्डहरूले,
कुशासन र दण्डहीनताको,
आडमा गर्दै हिंडेको गुण्डागर्दी,
अनि ! चर्को स्वरमा कुर्लिएका,
निर्लज्ज मानवको तितो शब्द वाणले,
सु-शासन र कानूनी राज्यको प्रत्याभूति हुन नसकेको ताजगी यथार्थ यस्तै छ,
त्यसैले हे कवयत्री ! तिमी जाग !
शान्ति,सु-शासन र कानूनी राज्यको लागि,
रोक हत्या,हिंसा र बलात्कार !
जहाँ देशले उज्यालो होइन,
अँध्यारो पर्दा ओडिरहेक‍ो छ,
हामी नेपाली हौं
तर ! अफसोच !
हाँस्न पनि डर छ यहाँ,
रून पनि डर छ यहाँ,
किनकि ! हाम्रो,
गरिखाने अधिकार खोसिएको छ !
निर्धक्क हिड्न,निर्धक्क बाँच्न,
पनि डर छ हामीलाई,
ओहो ! आखिर केका लागि हो ?
परिवर्तन हो कि खण्डहर देश
बुझ्न सकिन ।।।

अमृता ‘असीम’
बेसीशहर नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *