हात हतियार
तरबार ओसार पोसारको
अभियोगमा कारागारमा
अञ्जान उसलाई जेल चलान गरियो
तर
उसको विचार भने कहिले पनि कैद गर्न सकिएन भगवान।
जब जेलरले सोध्यो कि
ओइ अपराधी ! छिटो भन् तैले ती मालसमानहरू
कहाँ लुकाएर राखेको छस?
उसले त्यो सवालको उत्तर दियो
मेरो घरको विशाल खेतमा
यो खबर सुनेर जेलरले
उसको खेत
खोज खान तलास गर्न प्रहरी नौजवानहरू पठायो
तर सब हैरान परिसान
चकित चकित र थकित थकित
र रित्तो हात लिएर
ज्युदो लास जस्तो पुन फर्किएर जेल आए
र सब निदाए त्यो रात भगवान।
भोलिपल्ट बिहान उसको घरमा एउटा चिठ्ठी आयो
जहाँ लेखिएको थियो ।
बुवा नमस्कार
र अब चाडै नै तपाईंको सपना साकार हुदैछ
यसै पाली म कारागारबाट फर्किए पछि
अन्न बाली उठाउला
मलाई सट्टामा बरु आफूले उब्जनी गरेको
अन्न खुवाउनु होला
मैले तपाईंलाई दुख नहोस भनेर
चिहान जस्तो बाझो चट्टान जस्तो बलवान्
र मसानघाट जस्तो मैदान जोत्नलाई
यहीबाट केही मजदुर किसानहरू पठाइदिएको छु
हजुरको विचार कृपया आफूलाई जे मन लाग्छ
त्यही अन्नबाली लगाउनुहोला
उहीँ तपाईंको अज्ञाकारी कैदी छोरो
दूर कारागारको पर्खालबाट
धन्यवाद………………….!
बारम्बार म अहिले यो विचार गरिरहेछु
यो विशाल संसारको कोलाहलमा
म यो विचार गरिरहेछु कि
उन्मुक्त आसमान आकाश गगन जस्तो
यो विशाल संसारको सफेद आगनमा
हामी आजाद त छौ आज
यो विशाल संसारको कोलाहलमा
तर, किन भगवान
हाम्रो बुद्धि बन्दी छ
यो बन्धन जस्तो साँघुरो पृथ्वीको झ्यालखानाभित्र ?
~मोरङ्ग
