Skip to content

र फेरि सुन्दर संसार बसाउनु छ


बिहानी झिसमिसेमै मलाई व्यूताउने
मेरो अलाराम !
आजकल छूट्टीमा छ ।
बुढा ऊठ्नु दूकानमा ग्राहक आइसके भन्दै
एका बिहानै कचकच गर्ने ऊनको मुख बन्द भा’छ ।
स्कुल बन्द छन्
सानी छोरीका तनावहरू चूपचाप छन् ।
कलेज बन्द छन्
छोरा मन मर्जी सुतिरहन्छ ।
दुकान र घरको मुल ढोकामा
कोरोना भाइरसको आक्रमणबाट बाँच्ने प्रयासमा
बढेमानको ताला झुण्डिएको हप्तौ भैसक्यो
सायद ऊ पनि पाट्टियो होला ।
घरको छतमा पुग्छु
यता ऊता हेर्छु
सधैं कोलाहल मच्चीने बजारका गल्लीहरू मौन छन् ।
धर्ती मौन छ,
आकाशमा पंछीहरू बेफिक्री रमाइरहे छन् ।
मानव सृजित कोलाहलबाट मुक्त
प्राकृतिक सौन्दर्य नियाल्दै गर्दा मन भावुक हुन्छ
रेसुङ्गा र अर्जुनले निर्भिक अडान लिएर
भन्दै छन् हामी तिम्रो सुरक्षा कवच हौं
तिमी ढुक्कसँग रमाऊ ।
संक्रमणले संसार हल्लिएको छ ।
चिहान चिहानको संसार !
संसारले चुनावमा मत गने जस्तै
मृतकहरूको संख्या गन्दै
सार्वजनिक गरिरहेको छ ।
कतै मान्छे विनाको संसार ?
डर लाग्छ, कल्पनाले मन छचल्किन्छ
आँखा रसाउँछन्
उपायहीन छु,
जिउने या संसारको यो पीडा देख्नबाट मुक्ति लिने ?
लाग्छ आत्मबल बढाउनु छ ।
दुश्मन कोरोनालाई हराउनु छ ।
र फेरि सुन्दर संसार बसाउनु छ ।
र फेरि सुन्दर संसार बसाउनु छ ।

बाबुराम पन्थी गुल्मेली
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *