Skip to content

पल्लव साहित्य प्रतिष्ठान र गोर्खे साहिलोप्रति मेरो दृष्टिकोण


परिचय–
पल्लव साहित्य प्रतिष्ठान भरतपुर नगर पालिका –४ विशाल मार्ग नारयणगढ, चितवनमा अवस्थित छ । चितवन विविधताले सजिएको, नारायिणी नदिको किनारमा अवस्थित, देवघाट तथा देवधामको पवित्र वायुले मगमगाएको एउटा सुन्दर जिल्ला हो । नारायण घाट, शैक्षिक संस्था, साहित्यिक संस्था लगायतले सुशोभित सुन्दर बजार पनि हो । यस्तो सुन्दर नगरमा, पल्लव साहित्य प्र्रतिष्ठान एउटा विशुद्ध साहित्यिक संस्थाको रूपमा जल्दो वल्दो अग्रसरता देखाउँदै विभिन्न साहित्यकारका विविध विधाका कृतिहरू प्रकाशन गर्दै आएको छ । यसले पल्लवव साहित्यिक पत्रिका मुखपत्रको रूपमा निकाल्दै आएको छ । यस पत्रिकामा पनि विविध साहित्यिक विधालाई समेट्दै आएको छ ।, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका कुनाकाप्चाका युवा तथा जेष्ठ उमेरका साहित्यकारका कृतिलाई खोज्द, त्येसलाई अन्वेषण गर्दै ओझेलमा परेका स्रष्टालाई पहिचान गरेर सम्मान गर्दै आएको देखिन्छ । मलाई लाग्छ पल्लवको यो एक अद्वितीय काम हो । पल्लव साहित्य प्रतिष्ठानले गर्दै आएको यो वृहत साहित्यिक कार्यक्रमलाई ‘पल्लवको साहित्यिक कुम्भमेला’को नामले प्रशिद्धि पाएको छ । कुम्भमेला शब्द कुम्भ र मेला दुई शब्दको संयोजन हो । कुम्भ भनेको जलपात्र हो । यो कुनै मङ्गलकाम गर्दा या कुनै पवित्र उद्देश्यले काममा जाँदा माटोको भाँडोमा जल राखेर अथवा करुवामा पानी राखेर ढोकाको दुवैतिर राख्ने या यज्ञमा राख्ने चलन छ र कुम्भलाइ ढोग दिन्दै, त्यसको जल शिरमा लगाउँदै मानिसले कामको थालनी गर्छ या यात्रा गर्छ । तर यहाँ धार्मिक महत्व भने अर्कै छ । भनिन्छ देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको अमृत वितरणमा झगडा भएको र अमृतलाई बचाउन अमृतको घडा, इन्द्रका छोरा जयन्त्लाई कसैले नदेख्ने गरी जिम्मा लगाइयो र यसको संरक्षणको जिम्मा सूर्य, चन्द्र, बृहस्पति र शनीलाई दिइएको थियो । जयन्तले यो घडा लिएर हिड्दा पृथ्वीका चार ठाउँमा आराम गर्नुभयो । हरिद्वार (हरकी पौडी), इलाहवाद (प्रयाग),नाशिक (गोदावरी घाट) र उज्जैन(शिप्रा घाट) यी सबै विश्रामस्थल पवित्र धर्मस्थल बने । कुम्भमेला यिनै स्थानमा कहिले साधारण, कहिले आँशिक र कहिले पूर्ण कुम्भमेला लाग्दछन् । गंगा यमुना र गुप्त सरस्वतीको संगम स्थलम (प्रयागराजमा) माघेसंक्रान्तीमा स्नान गर्ने पृतिलाई श्राद्ध तथा तर्पण गर्ने उद्देश्यले मानिसको जमघट हुन्छ । ठुलो मेला लाग्ने गर्दछ । अर्को ज्योतिषशास्त्र अनुसार बृहस्पतिलाई रासिचक्र पुरा गर्न १२ वर्ष लाग्दछ र जब चार ग्रहहरू सूर्य बृहस्पति,मेख र कुम्भको एउटा निश्चित संयोजन हुन्छ । यस अवस्थामा पूर्ण कुम्भमेला लाग्छ । यो मेला माघे संक्रान्तिदेखि एक महिनासम्म लाग्छ । नेपालमा पनि माघ महिना भरी गंगाहरूमा स्नान गर्ने चलन छ । देवघाट पनि एउट महान प्रयाग होभन्दा अतियुक्ति नहोला । आजकल कुम्भ शब्दलाई ठुलो या विशालतामा अर्थ्याएको देखियो तर पल्लवको यो साहित्यिक कार्यक्रम धार्मिकतामा होस् या विशालतामा होस् ‘प्रयाग’(कुम्भ) नै हो । किनकि भाषा साहित्यको उत्थानको लागि ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो)ले हरेक वर्ष प्राय भाद्र १०गते निस्वार्थ रूपम, स्वलगानीमा, नेपालमात्र नभएर विदेशका समेत साहित्यकारलाई बोलाएर देवघाटको सामीप्यमा नारायणी नदिकोतिरको विशाल मार्गमा यो विशाल कार्यक्रम सञ्चालन गर्दछन् । न यहाँ धन खर्चिने लेखाजोखा हुन्छ न त यस्तो कार्यक्रम गर्दा पसिना वगेको नै थाहा हुन्छ, । केवल ‘ऋषि र मीना’को हँसिलो मुहार सहितको आतिथ्यले स्वागत हुन्छ । साहित्यका विद्वानहरूको सम्मान हुन्छ । यहाँ सहभागी साहित्यकारले आफ्ना सिर्जनाहरू आदान् प्रदान गर्दछन् ।कृति विमोचन गराउँछन् । परिचयको सौहार्दताले स्थान लिन्छ । अभिनन्दित हुन्छ र नरचना पाठ गर्दछन् । विकृति विनासका कुराहरू आउँछन् । राष्ट्रियताले भरिएका शब्दहरूले हल गुञ्जायमान हुन्छ र माइलै रमाइलोले दिन बित्छ ।

अब म पल्लवका विविध कार्यक्रमतिर मोडिन्छु । पल्लवले साहित्यकारका कृति प्रकाशन पनि गर्दछ । गोर्खे साँइँलोको व्यक्तिगत विवरण केलाउँदा विविध विधाका ८ दर्जनभन्दा बढी कृतिहरू र उद्योग वाणिज्य सङ्घ—चितवन विशेष बुलेटिन लगायतका सम्पूर्ण प्रकाशनहरू तथा अन्य थुप्रै पत्र–पत्रिकाहरू विभिन्न विकास कार्यतर्फका सम्पादन र प्रकाशन गरिसकेको छ । प्रकाशनमा गुणस्तरयुक्त कागज र लेखरचनाको प्रयोग, दिपेन्दकुमार जोशी ‘निक’को सुन्दर डिजाइन, आकर्षक र सान्दर्भिक आवरण पृष्ठ, विमोचनको साथै www.pallawa.com.npमा स्थानान्तरण गरी विश्वव्यापिकरण गर्ने काम समेत पल्लव साहित्य प्रतिष्ठानले गर्दछ । यसले लेखकलाई सहजरूपमा प्रतिष्ठित पार्ने र विश्वव्यापी परिचय गराउने काम पनि हुन जान्छ । पल्लवको महत्वपूर्ण प्रकाशन आफ्नै मुखपत्र ‘पल्लव साहित्यिक पत्रिका’ साहित्यिक विविध पल्लव साहित्यिक कुम्भमेलामा विमोचन गरिन्छ । यसमा सहित्यका प्राय सबै विधालाई र नयाँ पुस्ताका र पुराना पुस्ताका वरिष्ठ साहित्यकारका स्तरीय रचनालाई समेटिएको पाइन्छ ।

पल्लवका विविध सम्मान र पुरस्कारहरू यस प्रकार छन् –
१) दुल्लभ लामिछाने स्मृति पुरस्कार, २) बोधनाथ हिमकुमारी लामिछाने स्मृति पुरस्कार, ३)शेषनाथ लामिछाने स्मृति पुरस्कार, ४) काजीमान श्रेष्ठ तथा नन्दकुमारी÷शान्त कुमारी श्रेष्ठ रत्न पुरस्कार, ५) केदारनाथ रिजाल तथा गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कार, ६) युसुफदिन –हलिमा पुरस्का,र ७) मीना– रत्न साहित्य पुरस्कार । पल्लव साहित्य प्रतिष्ठानले हरेक वर्ष साहित्यकारहरूलाई सम्मान गर्दछ । २०७५ सलमा मात्र मेरठ, लखनऊ, कपिलबस्तु, चितव, नवलपुर, दाङ, सुनसरी, गान्तोक सिक्किम गरी १३जना स्रष्टालाई सम्मान गरेको थियो । मोफसलमा रहेको पल्लव साहित्य प्रतिष्ठानले नेपाली साहित्यको श्रीवृद्धिको लागि गरिएका विविधकार्यको जति प्रसंशा गरे पनि कमी नै हुन आउँछ । यस सम्बन्धमा पल्लव साहित्य प्रतिष्ठानलाई यत्रो उच्चाइमा पुराउने नायक र नायिका को त भन्ने प्रश्न उठनु स्वभाविक हो । यसको उत्तर पनि सहज रूपमा ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) र मीनमाया लामिछानेको नाम अग्रणी रूपमा अगाडि आउँ छ भने गोर्खेका सकल परिवारको गहन भूमिकालाई पनि भूल्न मिल्दैन । पल्लव साहित्य प्रतिष्ठानको साहित्यिक कुम्भमेला सञ्चालन गर्न त्यति सहज छैन । जिल्ला बाहिरबाट र विदेशबाट आउने साहित्यकारको स्वागतको लागि पर्खिबस्नु र खानपान साथै आवासको व्यवस्था मिलाउनु चुनौती पूर्ण काम हो तर यी सबै काम गोर्खे साइँलोले सहज रूपमा गरेको पाइन्छ । यो व्यवस्थापनमा र कार्यक्रम सञ्चालनमा निकै ठुलो धनरासी पनि खर्च हुन्छ । यो पनि गोर्खेले हर्षित रूपमा खर्च गरेको पाइन्छ । यो लगानीलाई साहित्य र स्रष्टाको श्रीवृद्धिको लागि गरिएको निस्वार्थ एउटा महान दान हो ।

अब म गोर्खे साइँलो ( ऋषिप्रसाद लामिछाने)को छोटो परिचयतर्फ लाग्ने अनुमति चाहन्छु –वास्तविक नाम ऋषिप्रसाद लामिछाने तथा साहित्यिक नाम ‘गोर्खे साइँलो’को नामले स्थापित वरिष्ठ साहित्यकारको जन्म पश्चिम १ नं., नुवाकोट, साबिक चतुराले गा.वि.स.—४, थर्पुगाउँमा माता स्व. हिमकुमारी र पिता स्व. बोधनाथ लामिछानेको सुपुत्रको रूपमा २००९ साल भाद्र १० गते सोमबार (२६ अगस्त, १९५१)मा भएको थियो । हाल उहाँ २०२६ साल कार्तिक २८ गतेदेखि नारायणघाट चितवनमा बस्दै आउनु भएको छ । गोर्खेको साहित्यि यात्रा २०२२ सालमा शान्ति शिक्षा मन्दिर, काठमाडौँमा विद्यार्थीको दुःख कवितामा प्रथम पुरस्कार प्राप्तबाटै अघि बढेको देखिन्छ । कविता, कथा, गजल तथा गजलका शास्त्रीय संरचना सम्बन्धित खोज—अनुसन्धानमूलक लेख, लघुकथा, निबन्ध, हाइकु, मुक्तक र समीक्षा आदिमा उहाँको कलमले तीब्रता लिएको पाइन्छ ।

कृति प्रकाशनको हिसाबमा गजलपथका यात्रीहरू (गजलसङ्ग्रह—२०६१, सं.ले.),गजल विम्ब (गजलसङ्ग्रह (२०६२, सयुक्त लेखन), गजल यात्रा (गजलसङ्ग्रह, २०६३ सं.ले.), समयका स्वरहरू (कवितासङ्ग्रह, २०६५, सं.ले.), सम्मोहन (गजलसङ्ग्रह, २०६२), मुस्कान (सूत्रसहित शास्त्रीय बहरमा आधारित गजलसङ्ग्रह, २०६२), कादम्बरी (सूत्रसहित शास्त्रीय छन्दमा आधारित कवितासङ्ग्रह,२०६३), सूत्रमाला (सूत्रसहित शास्त्रीय बहरमा आधारित गजलसङ्ग्रह, २०६३), गजल दर्शन (गजलसम्बन्धी दर्शन ग्रन्थ, शास्त्रीय सूत्रसहितको बहरबद्ध गजल परम्परा, सिद्धान्त र तत्सम्बन्धी प्रयोग, २०६९), आत्मालाप (शास्त्रीय छन्दमा आधारित कवितासङ्ग्रह२०७२)एव म विभिन्न, साहित्यिक पत्रिकाहरूमा कविता, कथा, गजल, निबन्ध, संस्मरण, समीक्षा एव म विभिन्न वेवसाइटहरूमा विभिन्न खोज—अनुसन्धानमूलक लेखरचनाहरू प्रकाशित छन् र पल्लव साहित्यिक ई—प्रत्रिका www.pallawa.com.npको प्रमुख सञ्चालक पनि गोर्खे नै हुनुहुन्छ ।

गोर्खे साइँलो व्यक्ति एक भए पनि उहाँको आवद्धतालाई केलाउँदा बहुयायमिक व्यक्तिको रूपमा देखिनुहुन्छ । साहित्यिक संस्था Lions Club of Chitwan Wangmaya २०७४-७५को संस्थापक अध्यक्षदेखि लिएर विभिन्न धार्मिक, उद्योग वाणिज्य सङ्घ, शैक्षिक, सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था, आदिका विविध पदमा रहेर अमूल्य योगदान पुर्यउँदै आउनु भएको देखिन्छ । उहाँको एक दर्जन साहित्यिक सस्थाको सल्लाहकार, दुई दर्जनभन्दा बढी साहित्यदेखि विविध संस्थाको आजीवन सदस्यमा आवध्यता देखिन्छ ।

मानिसले निस्वार्थ भएर काम गरिन्छ भने देशभित्रमात्र नभएर देशबाहिर पनि कामको मूल्याङ्कन हुन्छ भन्ने यार्थतता गोर्खे साहिलोमा लागु भएको पाइन्छ । मितज्यू साहित्य प्रतिष्ठान, चितवनद्वारा मितज्यू स्रष्टा सम्माना (२०६३)बाट अग्रसरता लिन्दै थालनी भएको सम्मानको साथै नेपाल सरकार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा भानुभक्त आचार्य द्विशतवार्षिकी समारोहको अवसर पारी काठमाडौँमा भानुभक्त स्वर्ण पदक सहित प्रशस्तिपत्रबाट सम्मान (२०७१), उत्तराखण्ड बाल कल्याण साहित्य संस्थान, खटिमा, उत्तराखण्ड, भारतद्वारा सम्पादक शिरोमणि पुरस्कार (१८ एव म १९ तारिख अक्टोम्बर २०१४), शब्द सुमन हिन्दी मासिक साहित्यिक पत्रिका, जनपद, बस्ती, उत्तराञ्चल, भारतद्वारा अन्तर्राष्ट्रिय साहित्य भाष्कर सम्मान (२०१७, मई ६, तारिक), जनपद, बस्ती, उत्तराञ्चल, भारत, ‘महाकुम्भ अन्तर्राष्ट्रिय साहित्य सम्मान’ महाकुम्भ मेलामा आयोजित कुम्भ साहित्य सम्मान तथा कृति विमोचन (२०१९), इलाहावाद, भारत, सिक्किम, असम, गोरखपुर आदि लगायत र नेपालका विभिन्न साहित्यिक संस्थहरू समेत गरी चार दर्जन संस्थाहरूले नगद पुरस्कार, सम्मान र अभिनन्दन गरेका छन् ।

अन्त्यमा पल्लव साहित्य प्रतिष्ठान र गोर्खे साइँलोले साहित्य र विविध क्षेत्रमा पुर्याएको योगदानको जति वर्णन गरे पनि कमि नै हुन्छ । एउटा घटनालाई स्मरण गराउन चाहन्छु । यस पटक साहित्यकै सिलसिलामा काठमाण्डौ जाँदा बस दुर्घटना भयो । उहाँ बालबाल बाँच्नु त भयो तर उहाँको शरीरका विविध ठाउँमा चोट लाग्नुको साथै एउटा हातै भाँच्चियो । करिब महिना दिनभन्दा बढ्ता अस्पताल बस्नुभयो तर पनि पूर्णरूपमा स्वस्थ बन्न नसक्दै (भाँच्चिएको हातको अप्रेशन गर्न वाँकी राखेर) चितवन आउनुभयो । भदौ १० गते धेरै नजिक थियो । पल्लव साहित्यिक कुम्भमेला सञ्चालन सहज थिएन । म उहाँलाई भेट्न पुगे । उहाँको भाँच्चिएको हात देखाउँदै भन्नुभयो–”दाइ ! भगवानको कृपा र तपाईंहरू सबैको आशीर्वादले वाँचियो निरन्न्तर गरिने कार्यं यही महिनामा सञ्चालन गर्नै पर्छ ।” यसबाट के प्रष्ट हुन्छ भने गोर्खे साइँलोलाई आफ्नो प्राणभन्दा पनि आफ्नो साहित्यिक कार्यक्रम प्यारो छ । निकै कम दिनको तयारीमा २०७६ साल भदौ २१ गते भव्यरूपमा पल्लव साहित्यिक कुम्भमेला गराएरै छाड्नुभयो भन्दै, ऋषिजीको सुस्वास्थ दीर्घायुको साथै पल्लव साहित्य प्रतिष्ठानको उज्ज्वल भविष्यको कामना सहित, बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *