
(पेशल आचार्य रूचिले लेखक र पेशाले शिक्षक/प्राध्यापक हुनुहुन्छ । वहाँले बाल साहित्यका ९ र प्रौढ साहित्यको १ गरी १० वटा पुस्तकहरूको लेखन गर्नुभएको छ । निजी विद्यालयका कक्षा ५ र ६मा आचार्यले लेखेका कथाहरू पाठ्यक्रममा राखिएका छन् । रामेछाप जिल्लामा करिब ३ दशकसम्म शिक्षण/प्राध्यापन र करिब ४ दशकअघिदेखि पत्रकारिता र लेखन क्षेत्रमा सक्रिय आचार्य यतिखेर राष्ट्रको निर्देशनलाई पूर्ण पालना गरेर आफ्नो निवास ललितपुरमा लक डाउन (बन्दाबन्दी)मा हुनुहुन्छ । लेखन, पठन र सम्पादनमा सक्रिय रहने आचार्यसँगको कोरोना महामारीको परिप्रेक्षमा भलाकुसारी प्रस्तुत छ।)
प्रश्न – हेलो गुरु, के गर्दै हुनुहुन्छ आजकल ?
– लक डाउनको पूर्ण पालना । घरभित्र सुरक्षित रहेर थोरै मात्रामा लेखन, धेरै अध्ययन, कामकाजी भएर व्यस्त जीवन बिताउँदा हेर्न नपाएका वा विविध कारणले हेर्न नमिलिरहेका नेपाली, हिन्दी र अंग्रेजीका नाम चलेका सिनेमाहरू हेर्ने, विश्व परिघटनाहरूलाई विविध कोणले मूल्याङ्कन गर्ने र आफ्ना पुराना विभिन्न पुस्तकका पाण्डुलिपिहरूलाई सम्पादन गर्ने/बस्ने । साथी भाइहरूसँग अनलाइनमा कुराकानी गर्ने । विदेशमा रहेका सन्तानहरूसँग दु:खसुख साट्ने । यिनै कामहरू गर्दागर्दै दिनहरू सुलुलुलु नदी बगेँझैँ बितिरहेका छन् । हिँड्न र काम गर्न नपाएका कारण शरीर भने अलि लोसे भएको छ । दिमागमा चिन्ता पनि लाग्न थालेको छ कि यो कोरोना पछि विश्व सामान्य भएर अघि पूरा गर्न नसकेका कामहरू छिटै सिध्याउन पाऊँ ।

प्रश्न – यो लक डाउनलाई कसरी लिनु भएको छ ?
– मैले यो लक डाउन (बन्दाबन्दी)लाई मेरो र परिवारको जीवन बँचाउने कार्यका रूपमा चाहिँ सहज तर अन्य काम, जिम्मेवारी र डिउटी निर्वाह गर्ने कार्यका रूपमा चाहिँ असहज रूपमै लिएको छु । म घरमा बन्दी जीवन बिताइरहेको छु । सडकमा जान सकेको छैन । हामी नेपालमा भएका नजिकका परिवारहरूसँग पनि भेट भएको छैन । फोनमा कुराकानी हुनु त्यो बेग्लै कुरा हो । विदेशमा भएका परिवारसँग मौका मिलेका खण्डमा कुराकानी भैरहेको छ । सबै एकप्रकारले सूचना लिइरहेका छौं । दिइरहेका छौं ।
प्रश्न – इन्फ्लुएञ्जाका रूपमा देखिएको यो कोरोना भाइरसको महामारी चीनको बुहान सहरबाट शुरू भयो र अहिले विश्वव्यापी भैरहेको छ । यसले अहिले करिबकरिब तेस्रो विश्वयुद्धकै रूप लिइसकेको छ । यस्तो अवस्था आउनुमा यहाँ चैं केले बढी घर गरेको देख्नुहुन्छ ? सूचना लुकाइएको सन्दर्भ, अह म वा अरू नै केही ?
– राम्रो प्रश्न गर्नुभयो यहाँले । यी तीनवटै कारणले यो महामारीले यति छिटै विश्वव्यापी हुने मौका पायो । अहिलेसम्म विश्वमा १३ लाख सत्चालिस हजार मानिसहरूलाई यो कोरोना भाइरसको संक्रमण भैसकेको छ भने करिब ७४ हज्जारभन्दा बढी मानिसहरूले (यो वार्ता भइरहेको समयसम्म २०७६ चैत्र २५ गते १२ बजेसम्म) ज्यान गुमाइसकेका छन् । यो संख्या अँझ बढ्ने संकेत देखा परिरहेको छ । युरोपका इटली, स्पेन, फ्रान्स, जर्मनी, स्वीटजरलेण्ड र बेलायत जस्ता आफूलाई विकास, संस्कार र जन जीवनमा अप टु डेट भन्ने देशहरू अहिले आफ्नो देशका नागरिकहरू बचाउनका लागि कङ्कला शब्दमा रोइरहेका छन् । इटाली र स्पेनका सहरमा त मानिसहरूले पेपर मनी फालेको दारुण दृश्य समेत देखियो । संसारमा ‘हाड पार्ट’ले कथित रूपमा महान् कहलिएका ती देशहरू अनि आफूलाई ‘विश्वकै दादा’ सम्झने अमेरिका जो अहिले ‘खुनको आँसुु’ले रोइरहेको छ । मलाई के लाग्छ भने यो कहर त्यस्तो समयमा विश्वमा आयो जुन बेला विश्वकै अधिकांश मुलुकहरूमा अनुदारवादी शासकहरूको बाहुल्यता रहेको छ । तपाईं अमेरिकाकै डोनाल्ड ट्रम्पलाई लिनुहोस् न सारा संसार लक डाउनमा गैसक्यो । पश्चिमकै अर्को धनी देश अष्ट्रेलियाले पनि ९० दिनको लक डाउन घोषणा गरेको छ तर अमेरिका लक डाउनमा जान चाहिरहेको छैन । ऊ भन्दैछ कि ‘अमेरिका लक डाउनका लागि तयार देश होइन ।’ संयुक्त राष्ट्र संघका विभिन्न नियोग र मुख्यालय समेत रहेको न्यूयोर्कमा अहिलेसम्म ४ हजार बढीले ज्यान गुमाइसके । अहिले कोरोनाको इपिसेन्टर नै न्यूयोर्क भएको छ । तैपनि ट्रम्प टसको मस भएको छैन ।
चीनमा सन् २०१९ डिसेम्बरमा देखापरेको भनिएको कोरोना भाइरसका बारेमा बाँकी विश्वलाई छिटै थाहा भएको भए विश्वका शक्तिशाली देशहरूले यसका बारेमा भ्याक्सिन वा मेडिसिन बनाउन शुरू गर्दछे । यद्यपि त्यो प्रकृया विभिन्न देशमा थालिसकिएका समाचारहरू पनि आइसकेका छन् । शुरूमा चीन आफैँभित्र यसका बारेमा सूचनाहरू लुकाउन थाल्यो । तर खुला विश्वमा त्यो सम्भव भने भएन । जुन डाक्टरले कोरोना भाइरसको किटाणु पहिले पत्ता लगाए र आफ्नो फेसबुकमा यसका बारेमा लेखेर विश्वलाई जानकारी दिन खोजे ती डाक्टरलाई चीनचाहिँ थुनेर उनको बोली बन्द गर्न पट्टी लाग्यो । जब ती चिकित्सकको कोरोनाकै कारण मृत्यु भयो अनि मात्र चीन डरायो । त्यतिबेला अमेरिकाले पनि चीनलाई सहयोग गर्नुको साटो झन् ओल्चेर ‘चिनियाँ भाइरस’ भनेर जिज्याउन थाल्यो ।
वास्तवमा यहाँ निष्पक्ष भएर भन्ने हो भने यो चीन र अमेरिकाकोमै ठुलो भन्ने अहम्मा हामी बाँकी विश्व ‘साँढेको जुधाइमा बाछाको मिचाइ’ झैँ भएर पिल्सिएका हौं । चीनले समयमा नभन्नु उसको ठुलो गल्ती हो भने अमेरिकाले अहिले आएर लक डाउन नगर्नु त्यो उसको महान् गल्ती भैसक्यो जसको अपुरणीय क्षति उसले भोगिसक्या छ । एकथरी मानिसहरू अहिले अमेरिकातिर धारे हात लगाउँदै खुच्चिङ्को शैलीमा भनिरहेका छन् –‘पूँजीवादी देशले आफ्ना नागरिकको जीवनलाई उसको धन सम्पत्तीसँग तुलना गरी धन सम्पत्तीलाई नै मान्यता दिन्छ ।’ मलाई जहाँसम्म लाग्छ कि यो विना हातहतियार महाशक्ति राष्ट्रका बीच ‘को नम्बर वान्’ भन्ने कूटनीतिक चालकै अर्को रूप हो । यस मामलामा चीन र अमेरिका दुवै उस्तैउस्तै हुन् ‘चोरचोर मौसेरा भाइ’ भनेझैँ ।
युरोपका देशहरूमा यसले महामारीको रूप धारण गर्नुमा भने विभिन्न कारणहरू विद्यमान् छन् जस्तै : चरम भौतिक विकास, सामाजिक भावनाको कमी, महामारीसँग व्यक्ति आफैँले लड्नु पर्ने व्यक्तिगत बाध्यता, मानिसका भावनात्मक सीपलाई नुसन्ने बजारवादी सोच, भीडभाडमा रमाउने बजारवाद, अंकमाल/चुम्बन संस्कृति र माक्स नलगाउने संस्कार । तपाईं अहिले पनि युरोपका धेरै देश र अमेरिकाकै डोनाल्ड ट्रम्पले पनि माक्स नलगाएको तस्वीर देखिरहनु भएको छ नि । हो त्यो एक प्रकारको अह म नै हो । बेलायतका प्रम बोरिस जोन्सन अहिले कोरोना संक्रमणका कारण आइसियूमा भर्ना भएका छन् ।
प्रश्न – कोरोना कहर पछि विश्वको गति केकसरी अघि बढ्ला ? सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा ? कृपया विश्लेषण गरेर बताइदिनुहोस् न ।
– हुन त म अर्थशास्त्री होइन । अर्थशास्त्रका अति सामान्य कुराहरू भने बुझ्दछु । विश्वमा अब खान, लाउन र सामान्य जनजीवन बिताउन नै आम सहरी क्षेत्रका मानिसलाई हम्मेहम्मे पर्दछ । भौतिक विलासिताका सामानहरू केही होइनन् भन्ने विचारको बाहुल्यता हुन्छ । सामान्य मानिसले ती भौतिक विलासिताका सामग्रीहरू किन्न सक्ने हैसियत राख्ने छैनन् । मानिसहरू हुरुरुरुरू गरेर केके न पाउँछौँ भनी सहरमा पसेका थिए ती अब फेरि गाउँ फर्कन बाध्य हुनेछन् । गाउँमा नयाँनयाँ तकनिकीबाट खेतीपाती, पशुपालन र यावत् कृषि कर्मको शुरूआत हुनेछ । मानिसहरू सामाजिक दूरी कायम गरेर गाउँबाटै पनि इन्टरनेट या अनलाइनका सहायताले काम गर्न सक्ने हुनेछन् । हामीले मनाई आएका चाडबाडहरू मनाउने रुपरंग र शैलीमा आगामी दिनहरूमा व्यापक फेरबदल आउने छ । देवकार्य र पितृकार्यमा आनका तान फरक पर्नेछ । शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका क्षेत्रहरूमा नचाहेरै पनि सरकारी पकड बनाउन विश्वका विकासशील र गरीब देशका सरकारहरू बाध्य हुनेछन् । महामारीले विदेशबाट देश फिर्नेहरूको संख्या पनि ह्वात्तै बढाउने छ । जसले एकारित हाम्रो देशमा भित्रिरहेको रेमिट्यान्स एकाएक घट्न गई राष्ट्रिय आर्थिक असन्तुलन बढ्ने छ भने ती देश फिरेका लाखौंलाख युवाहरूको सेन्टिमेन्टलाई यी अहिलेका पुराना संसदीय राजनीति गर्ने भनिएका पार्टीहरूको विचार र कार्यशैलीले किञ्चित सम्बोधन गर्न सक्ने छैनन् । जसले गर्दा समाजमा विद्रोहको स्थिति पनि देखा पर्ने सम्भावनालाई टार्न सकिन्न । अर्कातिर पुराना पार्टीका नेता, कार्यकर्ता र तिनका कार्यक्रम/कार्यशैलीहरू ती देशमा भित्रिएका युवाहरूलाई मन नपर्ने नै भएपछि आवधिक चुनाव पछि आउने पऋणाम कल्पना बाहिरको पनि हुन सक्नेछ । लाजैगालै नेपालीहरू अनलाइन शिक्षा प्रणालीमा जानु पर्ने छ । क्रेडिट कार्डको प्रचलन बढ्नेछ । ई बैँकिङ् र ई गभर्नेन्सका कुराहरू पनि आउने छन् । तर एउटा कुरा चाहिँ के हो भने यो जुन इम्फुएञ्जा अहिले आयो त्यो पूरा भएर निको हुन वा भ्याक्सिनको आविष्कार भएर टोटल्ली क्योर हुनलाई पनि २/३ वर्ष लाग्ने भएकाले हाम्रो अर्थतन्त्र धराशायी हुने पक्का छ । महँगीले आकाश छुनेछ भने मानिसहरूले नयाँ काम नपाउँदा भएको काम पनि खोसिने भएकाले समाजमा बेरोजगारी समस्या ह्वात्तै बढेर जाने छ । समाजमा यो वा त्यो प्रकारको अशान्तिले घर गर्ने निश्चित देखिन्छ ।
प्रश्न – अनि जनसंख्या नि ? वृद्धि हुने छ कि घट्ने छ ?
– (हा…हा…हा…सामान्य रूपमा हाँस्दै) अबको नौ महिनामै पनि हेर्नुहोस् नेपालको जनसंख्या वृद्धिदर २०७६ माघ/फागुनका तुलनामा ह्वात्तै बढेको देखिनेछ । अब आउने २०७८ को जनगणनामा त्यो संख्याको ग्राफ बढेको देखिनेछ । प्रभावै पर्ने हिसाबले पनि मानिसहरूले त्यो फिल गर्ने नै छन् । अहिले लक डाउनमा उच्च प्रजनन दर भएका मानिसहरू जो घरभित्र थुनिएका छन् ती फेसबुकमा मात्र रमाएका छन् भन्नु होला त्यो हैन । उनीहरू रामरौस र क्रीडाकेलीमा समेत व्यस्त भैरहेका छन् ।
प्रश्न – विश्व अर्थतन्त्रचाहिँ कसरी अघि बढ्ला त गुरु ?
– यातायात (हवाइ, रेल, मोटर, पानीजहाज) मध्ये हवाइ यातायातको अवस्था डामाडोल हुनेछ । विश्वलाई अहिलेकै स्थितिमा ३ खर्ब अमेरिकी डलर बराबरको हवाइ यातायातमा क्षति भैसकेको तथ्य बाहिर आइसकेको छ । अन्य क्षेत्रहरूको समेत यसमा जोड्ने हो भने त्यो अकल्पनीय नै हुन सक्छ । पर्यटन र यातायातको सम्बन्ध नङ र मासुझैँ जोडिएको हुने हुनाले यी दुवै क्षेत्र तहसनहस भैसकेपछि अब बाँकी विश्व पनि आर्थिक दृष्टिकोणले करिबकरिब लङ्गडो हुने अनुमान गर्न सकिन्छ ।
प्रश्न – राम्रा कुराहरू पनि त ल्याउला नि कोरोनाले हैन र ? गुरु ।
– हो ल्याउँछ । ल्याउनु पर्छ । खासगरी सोचको परिवर्तन हुन सक्छ । अब मानिसहरूमा अंकमालको संस्कृति हराएर जान सक्छ । त्यसका ठाउँमा हाम्रो पूर्वीय नमस्कारको संस्कार पूरै विश्वभरि नै आउन सक्छ । मानिसहरू अब क्लोजनेसभन्दा फारनेस याने कि टाढा बस्न रुचाउने हुने छन् । यो रुघाखोकी भन्ने जुन रोग हुन्छ त्यसको विश्वमा कुनै भ्याक्सिन/दबाई नै हुँदैन । हामी अस्पताल गएपछि डाक्टरहरूले हाम्रो सामान्य मेन्टालिटीलाई अध्ययन गरेर एकएकओटा दबाइ भिराएर पठाउने मात्र हुन् । जडीबुटी, वनौषधि र घरायसी रूपमा पाइने फलफूल, मरमसला र दबाइले हाम्रो इमिनिटी पावरलाई बढाउन हामीले नै बुझेर दैनिक जीवनमा लैजान सक्यौं भने हामी यस्ता महामारीहरू क्रमश: गरी झेल्न सक्छौं । मानव सभ्यतामा यस्ता महामारीहरू झेल्न थालेको हामीले करिब हजार वर्ष भैसक्या छ । पहिलेपहिले पनि यस्ता महामारी विश्वभरि कतै न कतै भैरहन्थे । मात्र के भने समाचारका यस्ता भाँडिम ज्यास्ती स्रोतहरू थिएनन् । कहिलेकाहीँ भनिन्छ नि –अज्ञान सुखको स्रोत र ज्ञान दु:खको माध्यम हो ।
इतिहास पल्टाएर हेरेका खण्डमा प्लेग, हैजा, इबोला, सार्स, स्वाइन फ्लु, एच्आइभी र जापनिज स्वाइन फ्लुका नाममा पचास/सय वर्ष अन्तरालमा ती हामीमाझ आएकै थिए र हामीले तिनीहरूसँग विश्वको यो वा त्यो कुनामा लडेकै थियौं । हिजो एउटा देश वा क्षेत्रमा सीमित हुन्थ्यो अर्को देश वा क्षेत्र चुपो लागे बस्थ्यो तर आज त्यो रोग या महामारीको पनि ग्लोबलाइजेसन भयो ।
यसैगरी पनि यो कोरोना आएको हो । अहिले कसैकसैले भनिरहेका छन् कि –चीनमा चमेरोको मासु खाँदा यो चमेरोबाट मानिसमा सरेको हो । कोही भन्दैछन् –सालकको मासु खाँदा यो त्यसैगरी सरेको हो । कोहीकोही त –यी दुवैथरी जीवजन्तुको मासु मिसाएर खाएपछि दुवैमा भएका भाइरस (विषाणु) को मिश्रण भई नयाँ विषाणु कोरोनाका रूपमा जन्मेको हो । जे जसरी जन्मेको भए पनि यो मानव सभ्यता र संस्कृतिलाई तहसनहस पार्न प्रकृतिले उब्जाएको प्राकृतिक हतियार हो जुन हामीले नै पृथ्वीमा बढाएका वातावरण विनाश, जलवायु विनाश, वनजंगल विनाश, रासायनिक एव म आणविक हातहतियारको निर्माण र सो निर्माणका क्रममा भएका पोलुसान र चुहावट भएका विकीरणहरूबाट नै यी र यस्ता भाइरसहरूको जन्म हुन्छ ।
अथवा सङ्की वैज्ञानिकहरूले आफ्नो सनकका उपजका रूपमा प्रयोगशालाहरूमा दुई वा दुईभन्दा बढी विषाणु (भाइरस)हरूको समिश्रण गरी आफ्नो शत्रु देशहरूलाई तवाहतवाह गरी ठेगान लगाउनकै लागि बनाएका जैविक हतियार पनि हुन सक्छन् ।
यी सबै सम्भावनाहरू हुन् । सम्भावनाहरूको गुञ्जायस संसारको अन्त्य नहुञ्जेलसम्म भैरहन्छ । त्यसैले यो जैविक हतियार होइन भन्न सकिने स्थिति पनि छैन/रहेन । मात्र अहिले त्यसको आधिकारिक रूपमा वैज्ञानिक पुष्टि भने हुन सकेको छैन । भाइरसहरू आफैँ मिले वा मिलाइए अनि शक्तिशाली भए । विज्ञान कथाहरूमा हामीले पढेझैँ कुनै नामुद् सङ्काहा वैज्ञानिकहरूले शक्तिराष्ट्रहरूको उक्साहट्मा लागेर आफ्नो क्रिऐसनको गलत इस्तेमाल गरेका पनि हुन सक्छन् ।
प्रश्न – बाँचिहालियो भने पनि हामीले अहिलेको महामारीबाट सिक्न सक्ने पाठचाहिँ के हुन्छ होला नि ?
– मानिस, समाज होस् या देश सबैभन्दा बढी लगानी स्वास्थ्य क्षेत्रमा गर्नु पर्दो रहेछ । अमेरिकामा पनि अहिलेको अवस्थामा पिपिई र माक्सको अभाव देखियो । आइसोलेसन सेन्टर र भेन्टिलेटरको व्यापक खाँचो रहेछ त्यो देशमा । रकेट, क्षेप्यास्त्र र गोलाबारुदमा लगानी गर्ने पैसा शिक्षा र स्वास्थ्यमा लगानी गर्ने हो भने अनि अनुसन्धान केन्द्रहरूमा लगाउने हो भने त्यो देश सुखी र सम्पन्न हुनेछ भन्ने पाठ पढाएको छ । हाम्रोजस्तो देशमा भएका या खोलिएका निजी अस्पतालहरू सजिलो समयका लागि मात्रै रहेछन् महामारीका लागिरहनेछन् । सरकारले सके अब ती सबै निजी अस्पताललाई पैसामा निखन्नु पर्छ । किन्नु पर्छ ।
अनि त्यसपछि आउँछन् –शिक्षा र जिम्मेवारीपूर्ण ढंगका सरकार । अहिले हामीले देखे/भोगेको यही नै हो । यी कुरा पनि अहिले नै भन्नु अलि चाँडो नै हुनेछ । किनकि अँझै कोरोना महामारीको पटाक्षेप भैसकेको छैन । हामीकहाँ भारतको समस्या शून्यमा नझरुञ्जेल कमि हुँदैन । खुल्ला बोर्डर छ । मानिसहरू चोर बाटाबाट भए पनि निर्वाध आइरहेकै छन् । आजै मात्र पनि पिए म केपि ओलीले देशवासीका नाममा सम्बोधन गर्दै भन्नुभएको छ –‘अँझै दुई हप्ता हाम्रालागि सकसका दिन हुनेछन् ।’ यो अवस्थामा हामीले सरकारलाई सहयोग गर्ने भनेकै सामाजिक दूरी बढाएर घरभित्र बस्नु मात्र हो । यो एकमात्र उपायको कसैबाट पनि अवहेलना नहोस् । पैसा, पावर र पदका अहम्मा बाहिर निस्कने एउटा मात्र कोरोनाको रोगीले हामी घरभित्र बसेका सैँयौं, हजारौं र लाखौं मानिसलाई त्यो विषाणु कीट सजिलै सार्न सक्छ । त्यसैले जे जति गर्न सकिन्छ बरू सोसिएर मिडियालाई उपयोग गरेर गरौं/रमाऊँ/लेखौं/गाऔं । आफू बाँचौ र अरूलाई पनि बचाऊँ । यसैमा हामी सबैको भलो छ ।
