Skip to content

चालिसको साढेसाती

उता नि चालिसकै साढेसाती,
यता नि चालिसकै साढेसाती,
खै यो शनिग्रह दशा कटाउने कसरी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।१।

उता नि ‘र’ यता नि ‘र’
फरक यति मात्रै कि,
उता र– ‘राजनीति’, यता र–‘रोजगारी’ गुम्ने साढेसाती,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।२।

उता क्वारेन्टाइन, यता आइसोलेसन जारी
फरक यति मात्रै कि
उता सार्वजनीकिरण, यता व्यक्तिकरण छानी–छानी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।३।

उता दल फोर्ने, यता बेरोजगारीले दुखी,
समता यति मात्रै कि,
दुवैमा छ अस्थिरता गुण भरी–भरी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।४।

उता सत्ता–भत्ता, यता शून्यता–अनिश्चितता,
डर यति मात्रै कि,
उता फुट्ने, यता चिन्ता भोकमरी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।५।

उता सुविधा गुम्ने डर, यता संक्रमित नभए नि पीडित,
भाइरसले नछुए के भयो नि,
उता अध्यादेश, यता निर्देशन जारी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।६।

चारैतिर चालिसकै साढेसाती,
उता शक्ति गुम्ने, यता निरीहको पीडा थपिने,
दुवैले ग्रहदशा कटाउने पो हो कि,
उता जोडघटाउ, यता मात्र घटाउ जारी,
कोरोनाले चुट्यो बेसरी,
धेरैजना अत्तालिए कठैवरी ।७।

(शिवनगर, कलंकी, २०७७ वैशाख १०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *