समानताको लागि चित्कर
स्वतन्त्रताको लागि ललकार
द्वन्द प्रतिद्वन्द बीचको टकरार
पीडा र चित्कार भित्रको आक्रोस
मानवताको लागि चिच्याहट
एकताको लागि पुकार
निर्बल आत्माको गुहार
अबला र नाबालकको कोलाहाल
यी कमजोर, विवश र बिचलित आवाजहरू
आक्रोस, विद्रोह र बिध्वंसका ध्वनिहरू
यी आवाज भएर पनि बेआवाज, आवाजहरू।
क्रान्तिका क्रोधपूर्ण आवाजहरू
माटोको लागि लड्नेहरुका
रोषका गर्जनहरू
बारूतमा होमिएका योद्दाहरुका
जलनका आवाजहरू
ती बेसहारा आमाहरूका विशृङ्खलित बिलाप
विवश बाबाहरूका लाचारिका कम्पन
यी आवाज भएर पनि बेआवाज, आवाजहरू।
यी बेआवाज आवाजहरू
मन्दिरका घण्टका आवाजहरूसँग
सन्तापका कर्कशध्वनिहरू बनी मिसिञ्छन,
मन्दिरको घण्ट – शान्तिको घण्ट!
शक्तिको घण्ट!
न्यायको घण्ट!
मन्दिरै मन्दिरको भूमिमा
देव जगाउने घण्ट!
यी घण्टका आवाजहरुमा
जब मिसिदै गुञ्जिछ्न
यी आक्रोस, असन्तुष्टि र आबेगका
विविध आवाजहरू
यी आवाज भएर पनि बेआवाज, आवाजहरू
जब सुनिन खोज्छन, न्याय खोजेर
अनि मन्दिर बाहिर समसान घाटमा,
आगोको लप्कासँगै जल्ने बेआवाज चिता
अट्टाहास गर्दै भञ्छ,
मन्दिरका देवहरू पनि
असाह, अशक्त, लाचार अनि बेआवाज
एक जल्दै गरेको चिता सरी।
– ममाता पन्त मिश्र, आस्ट्रेलिया
