निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ,
विश्वास गरी म माया गर्ने, तिम्रो चैं फरकपन रहेछ ।
भेट थियो छोटो, साथ दियौ मीठो, बिरानो त्यो शहर
रहरले मात्रै थिएन संयोग भाग्यको खेल नै झन रहेछ ।
निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ ।।
थाहा छैन किन, नजिक दिनदिनै लाग्दैथ्यो विशेष छौ
सुगन्ध दिने फुलबारी ठानें, काँडाको घनघोर बन रहेछ
निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ ।।
आत्मीय हुन धेर दिन होइन, दुई मन मिल्नु पर्ने रहेछ,
मर्नु र बाँच्नु के छ र आखिर माया नै ठुलो धन रहेछ ।
निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ ।।
फुलेर दिन्छ फुलले सुवास ओइलिन्छ एकदिन बोट
हाँस्न र रुन जिन्दगी बित्छ, सौर्न्दर्य केवल यौवन रहेछ।
निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ ।।
सम्झाउँ कसरी, बुझाउँ कसरी माया मात्रै हो सबथोक
बुझ्दिनौ किन पिरती बिना व्यर्थ हाम्रो यो जीवन रहेछ ।
निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ ।।
बिर्सिदेऊ समाज, बिर्सिदेऊ दुनियाँ, सम्झेर तिम्रो मन
यो नाता हाम्रो पिरती राम्रो, पासो झैं बन्धन रहेछ ।
निष्ठुरी रैछौ साह्रैनै तिमी ढुङ्गाको जस्तो मन रहेछ ।।