सर्वत्र संकटको कालो बादल छाएको बेला
कोही पैसाले मात्तिएको छ
गरीबका चुलामा आगो बलेको छैन
तर पनि
माहोल तात्तिएको छ
युवाहरू एक भई जुटेका छन्
आज क्वारेन्टाइनमै मर्न पर्ने अवस्था आयो
त १० अर्ब खै ?
लगाएतका प्रश्नहरू उठेका छन्
जब मुटुमा गहिरो घाउ लाग्यो
अनि वर्षौदेखि निदाएका जनता
जागेका छन्
अब त अति भयो भन्दै आफ्नो हक
मागेका छन्
आज उठ्यो भ्रष्टाचारको कुरा जब
पीडाले सबैलाई घेरेको छ
यहाँ पाउनेहरू हरेकले भ्रष्टाचारको
स्वाद चाखि मुख फेरेको छ
विगत वर्षौन्देखिका भ्रष्टाचार सुचकांक
हेर्नुस् महाशय !
नेपाल उच्च भ्रष्टाचार हुने देशमा पर्दछ
लज्जाको विषय हो
कर्मचारीदेखि नेतासम्मले भ्रष्टाचार गर्दछन्
आखिर भ्रष्टाचार किन हुन्छ ?
हामी दिन्छौं र त उसले लिन्छ
थाहा छैन, भ्रष्टाचारमा को को
सझेदार हुन्
छुट्याउन मुस्किल छ
को पित्तल को सुन
यति थाहा छ,
भ्रष्टाचार नजरअन्दाज गर्ने
जनता पनि
यो दोषका उत्तिकै भागिदार हुन्
भ्रष्टाचारलाई हामी नै मलजल गरी
बढवा दिन्छौं
आफ्ना कमजोरी देख्दैनौं अरुलाई दोष
थुपार्दै हिन्छौं
बाठा भनाउँदा चिनजान वा पैसाको
भरमा आफ्नो काम छिटो गराउछन्
विचरा सोझा-सिधा हेरि बस्छन् त्यसको
विरोध गरी बोल्न डराउछन्
पैसा खुवाई गैरकानूनी तरिकाले आफ्नो काम
गराउँदा ठुलै सान हुन्छ
जब त्यसको असर आफूमा पर्दछ अनि मात्र
अन्याय भएको भान हुन्छ
काम हुँदै गर्दा चासो छैन आफ्नै
व्यस्ततामा हराउँछौ
जब काम बिग्रन्छ अनि भ्रष्टाचार
भयो भन्दै कराउँछौ
आफ्नो निजी लगानीको सफलताको
कल्पनामा दिनरात झुल्दछौं
सरकारी लगानीको वास्ता गर्दैनौं त्यो पनि
हाम्रो सम्पत्ति हो किन भुल्दछौं?
हामी नै गल्ती गर्दछौं त पछुताएर रुन पर्दछ
नेतालाई मात्र गाली गरेर केही हुदैन हजुर !
तपाई हामीमा पनि अनुशासन हुन पर्दछ
हरेक क्षेत्रमा अनुशासनहीनता पाइएको छ
यो देशलाई अपराध गरेर लुकाउने छाँट हैन
भ्रष्टाचार र अन्याय विरुद्ध
बोल्न सक्ने आँट चाहिएको छ
आज त्यो आँटको सुरुवात भएको छ
घर भित्रबाट निस्कि युवा सडकमा गएको छ
तर बिन्ती युवा
यो एकता र आँट १०अर्ब र सत्ता
ढलाउने खेल मात्र नबनोस्
ह्वात्तै आई छिन्मा हराई जाने खहरे
खोलाको भेल मात्र नबनोस्
मोटो रकम मात्र हैन
गैर कानूनी रुपमा लिने-दिने
एक रुपैया नि भ्रष्टाचार हो
घुस लिने र दिने दुवै राष्ट्रका लागि
बोझिलो भार हो
आफूलाई अनुशासित राख्ने
र सरकारी बजेटको हिसाब
खोजी गर्ने बानी बसाऔं
अलिकति लालचको भरमा भ्रष्ट र
असक्षम नेतालाई माथि नचढाऔं
परिवर्तनको सुरुवात आफैबाट गर्ने हो,
आउँनुस् आज आफैसँग प्रतिज्ञा गरौँ
र भनौं
म नियम विपरित काम गर्ने छैन, घुस
लिने-दिने छैन
अनि, मेरो अघि भ्रष्टाचार हुन
दिने छैन ।
✍बविता कार्की
सुन्दरहरैँचा-१०, मोरङ
