सर्वभक्षी हन्तकालीले
हाँग्राले पाँग्रा हसुरे झैं
दन्ते कथाको राक्षसले
फलामे चिउरा चपाए झैं
भेटे जति हसुरिरहेको छ
पाए जति पिइरहेको छ
लुकेर होइन, दिनदहाडै
बेहोशीमा होइन, होशमै
डराएर होइन, धम्क्याएर
खाद्य–अखाद्य, पाच्य–अपाच्य
तरल, ठोस, ग्यास सर्वरूपी
नीलो, कालो, हरियो सर्वरंगी
मिले जति गर्मक्याइरहेछ
ब्रह्मलुटतन्त्रको उर्बर भूमिमा
परेड खेल्ने घिचुवाहरू
अट्टहास गर्दै नाचिरहेछन्
सर्वहारा र निर्बलहरू
हरौटे मुखाकृति बोकेर
मर्दै बाँचिरहेछन्
बाँच्दै मरिरहेछन्
पर जा तन्त्रको चन्दन धसेर
बुद्धिमान लबस्तराले
आस्थालाई बेश्या बनाएर
विवेकशील पातकीले
भरोसालाई बलत्कार गरेर
नैतिकता डकारेर ढाँटिरहेछ
स्वाभिमान खकारेर हाँसिरहेछ
फुकेको छाडा साँढेको मिचाईले
बेलगाम घोडाको बहुलठ्ठी वेगले
मियोहीन दाइँको गोरु घुमाईले
छाडातन्त्र मौलाइरहेछ
लुटतन्त्र फस्टाइरहेछ
ह्वामतन्त्र झांगिरहेछ
बन्दुकभित्र भरोसाबन्द बारुद बनेर
तिखो छुरीको धारमा मधु दलेर
फलभित्र जहरिलो कपट कोचेर
बेलगाम घोडाको बुई चढ्दै
दन्डहीनताको मदिरा पिएर
बेकाबु भै लर्खराउँदै
हरुवा महारथीको रथ चढी
पर जा तन्त्र मुर्झाउँदै भागिरहेछ
पर पर अनिश्चितातिर
साँढेको पछि दौडने ब्वाँसाहरू
शकुनी चालमा भुलिने पंगूहरू
धुर्तको पाखन्ड्याइँमा लट्ठिने लट्ठकहरू
चिप्लो बाणीमा चिप्लने बज्रस्वाँठहरू
आशाको कुवामा क्वार–क्वार गर्दै
क्रन्दनजन्य कुण्ठाहरू कोरल्दै
चिथोरिएका चित्कारहरू चिच्याउँदै
अराजकता र सुशासनहीनताको
परिवेशमा अस्पट हुनेगरी गुम्सिएर
प्रजातन्त्रको पर्सादी चाख्दै बाँचिरहेछन्
प्रजातन्त्रका बलिदानी हिमायातीहरू
सत्ता र भत्तालाई लुछातानी गर्दै
लुट र फुटको चाकाचुली खेल्ने
लोकतान्त्रिक धुरी चढेका कुम्भकर्णहरू
अघाएर खान्छन्, ब्युंझिएर निदाउँछन्
रगत, पसिना र आफन्त गुमाएका
गणतन्त्र ओसार्ने अथक भरियाहरू
जनतन्त्रका अनुभूति गर्न छट्पटिएका
भोका, नांगा र बेघर निमुखाहरू
यी बहुरूपी तन्त्रहरुको जाप गर्दै
सपनाको नाङ्लोमा आशाको बियाँ केलाउँदै
अविरल बहुतन्त्र निफनिरहेछन्।
इति
–राजेश अधिकारी
