Skip to content

प्रौढ खेल

  • by
LaxmiRijal

“हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?”

“किन अनुमति मागेकी प्यारी नातिनी ?”

“म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले ।”

“ए । कसले भनेको ?”

“कलमले सत्तालाई खबरदारी गर्नेगर्छ। कलम जहिले पनि प्रतिपक्षको कित्तामा उभिन्छ। म सत्तापट्टी हैन कलमपट्टीकी मान्छे हुँ त्यसैले।”

“ए ।”

(उहाँ बडबडाउँदै हुनुहुन्थ्यो। मैले बुझिनँ। सायद भन्दै हुनुहुन्थ्यो”नून खाने मेरो, गुन गाउने प्रतिपक्षको ?)

“अनुमति लिएपछि त अरूलाई जस्तो मलाई नहकार्नुस् है हजुरबा ?”

“ए बाबा ! त्यो दिन रिसाको प्रश्नले हैन । सत्ता नपाएको झोकले हो।”

“उसो भा, हजुरको केस सेतो र बोली अबुझ किन भाको ?”

“यो सब राजनीति शक्ति र सत्ताले नै हो।”

“शक्ति र सत्तामा बल्ल पुग्नुभो । अब के गर्नुहुन्छ ?”

“राजनीतिलाई सोझो बाटोमा हिँडाउँछु र देशलाई उँघो जानबाट जोगाई उँभो लग्छु।”

“अनि थरीथरीका काण्ड मच्चाएर जनताको नजरमा घिनाएका र कानूनले दण्डनीय ठानेका मान्छेलाई किन आफ्नो मेरुदण्ड ठान्नुहुन्छ ?”

(फेरि एक पटक उहाँ रिसाएको स्पष्ट झलक देखियो। शुरुमा त शक्ति र सत्ताको संरक्षणमा नबोली नबोली जित्ने प्रयासमा लाग्नुभयो । केहीबेर पछि म नजिक आएर खुसुक्क भन्नुभयो । र; मेरै मुख खुलेको खुल्यै पार्नुभयो।)

“सप्पै कुरा खेल हो । तिमी बुझ्दिनौ नानी । जे बोल्यो त्यही गर्ने बालखेल हैन । एक थरी बोलेर अर्को थरी गर्ने प्रौढखेल हो यो।

–लक्ष्मी रिजाल
प्रकाशितः २८ श्रावण २०७८ १३:५५ बिहीबार ।
नागरिक दैनिकको अक्षर स्तम्भबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *