Skip to content

संयन्त्र चाहिएको छ


जहाँ मेची काली सीमा रक्षामा अविरल बगिरहून्
हिमाल अटल बनिरहुन्
टनकपुर,सुस्तावासीहरू नेपाली बनेर हाँसिरहून्
र मेरा शासक
“घुष लिने र घुष दिने राष्ट्रका ठुला शत्रु हुन् ”
ठानिरहून्
नेपालीलाई नेपाली भएको
सपना देख्ने अधिकार मिलिरहोस।

मलाई दलित बनाएर हेपिएको
इतिहास मेटाउनू छ ।
कोर्नु छ कलात्मक नेपाल !
सिलाउनु छ
चन्द्र सूर्य अंकित झण्डा !
बनाऊनु छ चम्किने धारीलो खुकुरी
र छेद्नु छ नेपाल आमाका दुष्मनहरू ।

म हेपिएको किसान हूँ !
मेरा दस नङ्रा खियाएर भोकाहरूको
भोक मेटाऊनु छ
दुनियालाई कृषिक्रान्ति गरी देखाऊनू छ ।

म गाइने हूँ
मेरो सारंगीको धुनसँगै
चेतनाका गीतहरू घङ्काउँदै
अन्याय अत्याचारको भण्डाफोर गर्नू छ ।

म नेपाली जनता हूँ !
परिवर्तनको शुत्रधार
म भन्छु बार बार
“शासक”
होसियार होसियार !!

प्रकृतिले भाषण गरेन
र पनि समानता दिएको छ ।
शासक जस्तै झूठ भैदिएको भए ?
मलाई डर छ
कतै शासकको झूठले, देशै नरहने हो कि ?
त्यसैले
आज शासक विरूद्ध
आवाज उठाऊनु छ !
शासकलाई पदच्युत गराउनु छ ।
मलाई न राजा न कुनै तन्त्र चाहिएको छ
केवल सुन्दर नेपाल बनाउने संयन्त्र चाहिएको छ ।

बाबुराम पन्थी “गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *