सजाएर तिम्रो माया मुटुभित्र राखे
गुम्स्याएरै मनको कुरा छातीभित्र छोपे
चौतारीमा नदेखेसी भञ्ज्याङमा पर्खे
दोबाटोमा नभेटेसी देउरालीलाई सोधे
बाटो मोडी गए पनि हेरी बसे तिमीलाई
सम्झनाको दियो जलाई कुरी बसे तिमीलाई
बरपिपल साक्षी राखी तिमीलाई मागी बसे
तिमीलाई पाउन जन म जन म आशा गरी बसे
घुम्तीनिर फेरि भेट भो बोल्न सकिन
फेरि पनि मनको चाह खोल्न सकिन
नभनेनि मनको कुरा आँखा बोलेछ कि
दुइटा मुटु धड्कन एउटै कतै भएछ कि
फेरि पनि धड्क्यो मुटु छाती किन चर्क्यो
अलग बाटो हिड्नेले नि फर्की किन हेर्यो
बल्झ्यो फेरि याद तिम्रो सम्झनाले पोल्यो
तिम्रै बाटो कुरी बस्दा चौतारीले सोध्यो
बादलभित्र पनि खोजे क्षितिज पारी पुगे
तिमीलाई भेट्न कैयौचोटि अरुणतमोर तरे
एक्लै बाटो हिड्दाहिड्दै दोबाटोले छेक्यो
किन भुलिस् तिमीलाई भनी देउरालीले सोध्यो
कसम खाई देउरालीलाई भुल्या छैन भने
तिमी बाहेक मनमा अर्को कोही छैन भने
बाटो मोडी गए पनि याद मोडिएन
डाँडाँ काटी गए पनि तिमीलाई विर्सिएन
आँखा ओछ्याई तिमी आउने बाटो हेरी बसे
माया साँची दिउँला भनी दिन गनी बसे
बतास चल्यो हुरी आयो माया पोखिएन
तिमीलाई पाउँन देवीदेउता भाकिरहेँ मैले
घामको पहिलो किरणमा तिम्रै रुप देख्छु
जुनको शीतल छहारीमा तिमीलाई नै देख्छु
राम योञ्जन
पोखरे, भोजपुर ।
