Skip to content


गाउँ छेवैको प्रहरी थाना सुनसान खडा छ । दुई युवती जम्ला हात गरिरहेका छन् । अगाडिको कुर्सीमा बस्न सकस मानिरहेकी हबल्दार दिदी अक्कनबक्क छिन् । वातावरणमा निर्जनता छाइरहेको छ ।

“चेलीहरू हो ! गर्नसम्म गरेछौँ । कानूनको मुखमै कालोमोसो दलेछौ । तिमीहरूलाई इज्जत नदिऊँ भने आफ्नो भूल स्वीकारेर कानूनको शरणमा आएका छौ । अर्कातिर आफ्नै विभागको धज्जी उडाउने काम गरेका छौ ।” हवल्दार आँखा मिच्दै थप्छिन्, “अरू हाकिमहरू अन्तै जानुभएको छ । यो थाना उहाँकै नेतृत्वमा थियो । उहाँ पछिको वरिष्ठ वरियाताक्रममा म नै पर्छु । अब म कसो गरूँ ?”

हत्त न पत्त चाँचरी अघि सरी, “केही गर्न पर्दैन, दिज्यू ! दुई सन्दिग्ध अभियुक्तहरू घटना घटायौँ भनेर थानाको शरणमा आए । प्रारम्भिक जाँचपडताल गर्दा घटना घटेकै भेटियो । लास र अभियुक्त दुवै थरीलाई सदरमुकाम चलान गरियो । यस्तै सोच्नुस् र यस्तै गर्नुस् ।” धनियाले थपी, “हैन, हैन । नियमले जे भन्छ त्यही गर्नुस् तर हामीलाई अरू राक्षसहरूको गिद्धेनजरबाट जोगाउनुस् ।”

“कुरा मात्र गर्ने कि लास पनि नियन्त्रणमा लिने भन्या ।” चाँचरी भन्दै गई, “हामी वाध्यतामा परेकाले मात्रै जघन्य अपराधीक घटना घट्यो । नारी इज्जत ज्यानभन्दा प्यारो हुँदो रहेछ । नहुनुपर्ने कुरा भइगयो । अब सजायको विकल्प रहेन ।”

हवल्दार उठिन् । नजिकैको बोतलको आधा पानी निखारिन् । र, गला सफा गर्दै चाँचरी र धनियातिर हेर्दै भन्न थालिन्, “तिमेर्का कुरा खस्न नपाउँदै हाम्रा स्टाफहरू घटनास्थलतर्फ दौडिए । सबैतिर खबर भयो । त्यसको चिन्ता नलेओ । मलाई यत्ति भन त, सतित्व जोगाउन हत्या मात्र निर्विकल्प उपाय हो, त ?”

रातीपिरी हुँदै चाँचरी कड्की, “हामीले तपैँहर्को सईलाई हत्या गरेको हैन । हामीलाई झुक्याएर नशा खुवायो । जङ्गल पुर्यायो र बलात्कार गर्ने दुष्प्रयास गर्यो । हामीले घोचै घोचाले हानेर ठहरै पार्यौँ ।” धनियाले थपी, “हबल्दार साहब ! हाम्रो प्रतिकारको पऋणामस्वरूप ऊ मर्यो । त्यसैले यसलाई हत्या हैन, प्रतिकार भन्नुस्, प्रतिकार !”

हबल्दारको मुखबाट पनि मधुरो आवाज निस्कियो, “प्रतिकार !”

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *