Skip to content


नेपाली समाजमा वैशाखकृष्ण अमावाश्याको दिन मातातीर्थ औँशीको नामले परिचित छ । जनजिब्रोले यस दिनलाई आमाको मुख हेर्ने दिनको नामले पुकार्ने गरेको पाइन्छ । यस दिन मीठामीठा खानेकुरा र नयाँ लुगाहरू दिएर आमाको सम्मान गर्ने चलन छ । यसै दिन काठमाडौँ उपत्यकाको मातातीर्थ भन्ने स्थानमा ठूलो मेला लाग्दछ । आमा नहुनेहरू त्यहीँ गएर स्नान गरी तर्पण पिण्डपानी दिएर दिवङ्गत आमालाई सम्झन्छन् । मातातीर्थ पुग्न नभ्याउनेहरू आ-आˆनै घरमा बसेर पनि आमाको सम्झना गर्दछन् । एक किंवदन्ती अनुसार मातातीर्थमा गई पिण्डपानी दिनाले आमाहरूको मृतआत्माले सद्गति पाउँछन् भन्ने धार्मिक विश्वास छ । मातातीर्थमा गएर वर्षको एकपटक पिण्डपानी दिएको भरमा आमाहरूको मृतआत्माले सद्गति पाउलान् नपाउलान् आमाको आत्मालाई सन्तुष्टपार्न जिवित छँदै राम्रोसित हेरविचार गर्नु पर्ला कि बूढेसकालमा एक पेट खान पनि वृद्धाश्रमको ढोका घच्घच्याउनु पर्ने परिस्थितिका बीच मातातीर्थ औँसी फेरि आइपुगेको छ ।

मानिस पशुपक्षी कीटपतङ्गलगायत समग्र प्राणी जगतका लागि नै किन नहुन् सबैका निम्ति आमाभन्दा नजिकको हितैषी र शुभचिन्तक अर्को हुनै सक्दैनन् । अर्कोले खाइदिँदा आफू सन्तुष्ट हुने यहाँसम्म कि जति बढी आˆनो भागसमेत नरहने गरी खाइदियो त्यति नै बढी सन्तुष्ट हुने संसारमा कोही हुन्छ भने त्यो आमा नै हो । प्रसव वेदनाले जति नै थलिएको भए पनि होसमा आउनासाथ पशुपक्षीले समेत पहिलो खोजी बच्चाकै गर्दछ । आमाहरूले आˆनो प्राणको उत्सर्ग गरेर भए पनि बालबच्चाको प्राणरक्षा गर्ने गरेको त व्यावहारिक यथार्थ नै हो । मानिसको मात्र होइन, पशुपक्षीमा समेत आˆनो प्राण दिएर बच्चाको प्राणरक्षाको प्रयास गरेको उदाहरण धेरै छन् । एकपटक एउटा चराको भालेपोथी आˆना नवजात शिशुलाई गुँडमा छोडेर आहारको खोजीमा बाहिर गएका रहेछन् । फर्केर आउँदा कुनै शिकारीले गुँडमा पसो थापेको रहेछ । बाबुआमा आएको चाल पाएर बच्चाहरू आˆनै शैलीमा चारा माग्न लागेको देखेर भाले छेउको डालीमा बसी विलाप गर्न लागेछ तर पोथी चाहिँ भुर्र उडेर गई शिकारीको पाशोमा परिछ । माया त बाबुलाई पनि थियो तर आपत्कालमा उसले चिन्ता मात्र गर्‍यो तर आमाले भने प्राणै दिन पनि पछि परिन । पौराणिक ग्रन्थहरूमा भेटिने यस्ता कथाहरूभित्र के कति सत्यता छ त्यो त थाहा छैन तर यस्ता प्रसङ्गले बच्चाको माया आमालाई भन्दा बढी अरू कसैलाई हँुदैन भन्ने कुराको सन्देश भने दिन्छ ।

उपनिषद् दर्शनले ‘मातृदेवो भव’ भनेर आमालाई देवतासरह मान्नुपर्छ भन्ने शिक्षा दिएको छ । आमा सबै तीर्थको पनि तीर्थ हुन् भन्ने कुरो हिन्दुधर्मग्रन्थहरूमा उल्लेख छ । वेदले प्रकृति पूजाको माध्यमबाट प्रकृतिलाई आमा मानी संरक्षण गर्नु पर्ने सन्देश दिएको छ । ‘माता भूमि’ अर्थात् पृथ्वीलाई समेत आमा मानेर त्यसको शुद्धीकरणतर्फ समर्पित हुनु पर्ने सन्देश वैदिक ग्रन्थहरूले दिएको छ । ठूलाठूला विपत्तिको समयमा देवताहरूले समेत माता भगवतीको शरण लिने गरेको प्रसङ्ग पौराणिक ग्रन्थहरूमा उल्लेख छ । देवताहरूमा आˆनै शक्ति थाहा नपाएर खैलाबैला मच्चिएको बेला माता भगवतीले हैमवती उमाको रूपमा प्रकट भई उनीहरूको हैसियत बोध गराउनुु भएको जानकारी केनोपनिषद्ले दिएको छ । अनिकालले तड्पिएको मानव समाज र पानीसम्म खान नपाएर तड्पिएको प्राणीसमाजलाई सोही मातृसत्ताले शाकम्भरी, शताक्षी, भ्रामरी, भीमा, दुर्गा आदि आवश्यकतानुसार विविध रूप लिएर बचाएको तथ्य इतिहास र पुराणहरूले सार्वजनिक गरेका छन् । मातृसत्ताको अपमान हुँदा घर पनि मसानघाट जस्तो बन्दछ । मातृसत्ताको सम्मान गर्न जाने मसानघाटमा पनि घरको जस्तै आत्मीय व्यवहार पाउन सकिन्छ । मातृशक्तिले चाहे भने स्वर्गलाई पनि नरक बनाउन सक्दछन् भने नरकलाई स्वर्ग बनाउने सामथ्र्य पनि राख्दछन् । मातृत्वको अपमान हुँदा रामायण र महाभारत लेखिएको र मातृशक्तिलाई सम्मान गर्न जान्दा ठूलाठूला विपत्तिबाट मुक्ति पाइएको प्रशस्त उदाहरण छन् ।

यसो त हिजोआज कतिपय बच्चा जन्माएर फाल्ने आमाहरू पनि भेटिएका छन् तर तिनीहरू आमा नभई आमाका नाममा कलङ्क हुन् । हरेकको जन्म पनि मातृगर्भबाटै भएको हुन्छ भने पालनपोषण पनि मातृसत्ताबाट भएको हुन्छ र समाप्ति पनि प्रकृतिरूपी माताको गर्भमा पुगेर नै भइरहेको हुन्छ । त्यसैले त चाहे हामी ‘आमा’ मा । मदर म्याम्या र वाँवाँ जे भन्ने गरिए पनि सम्झना मातृत्वकै हो । आखिर हामी सबैका सबै आपदविपद्को बेला सर्वप्रथम किन आमालाई सम्झने र बोलाउने गर्दछौँ ? उत्तर प्रष्ट छ किनकि आमाले नै पहिले सुन्ने गर्दछिन् ।

तथापि मातातीर्थ औँसीका दिन केही सन्दर्भ र प्रसङ्गहरू उठाउनु जरूरी छ । सौन्दर्य प्रशाधनको पछि लागेर पो हो कि कतिपय पढलेखा शिक्षित आमाहरूमा स्तनपान गराउनु आमा र बच्चा दुवैका लागि बरदान हो । बच्चाका लागि आमाको दूध अमृत समान हुन्छ भने नियमित स्तनपान गराउँदा आमाहरूले क्यान्सर जस्ता कतिपय जटिल रोगबाट उन्मुक्ति पाउने प्रसस्त सम्भावना रहन्छ भन्ने जान्दाजान्दै पनि सुत्केरी अवस्थादेखि नै आˆनो दूध सुकाएर बच्चालाई डिब्बाबन्द खुवाउने परम्परा बढेको छ । हुन त के गर्ने के नगर्ने भन्ने कुरा सबैको व्यक्तिगत स्वतन्त्रताको कुरा हो तर त्यति हुँदाहुँदै पनि हामीले बालबच्चा र आफ्नो स्वास्थ्यहितको सवालमा ती आमाहरूको समर्पण र सतर्कतालाई पनि बिर्सन हुँदैन जसले नियमित स्तनपान गराउन आमा र बच्चा दुवैका निम्ति बरदान सावित हुन्छ भन्ने जानकारीभन्दा निकै टाढाको समाजमा रहेर पनि चाहे दुईचार वर्ष नै किन नबितोस् शरीर र प्रकृतिले साथ दिँदासम्म आˆना नानीलाई स्तनपान गराउने गर्दथे र यसैमा गौरव गर्दथे । यसतर्फ भने सबैको ध्यान जानैपर्ने देखिन्छ । जे होस संसारमा आमाभन्दा ठूलो शक्ति अर्को केही छैन र उनको सेवा गर्नु भनेको अप्रत्यक्षरूपमा आˆनै सेवा गर्नु हो । आमाको सम्मान गनर्ुु पर्ने मातातीर्थ औँशी जस्तो पर्वले हामीलाई यही सन्देश दिएको छ । वर्षको एकदिन केही मीठा खाने कुरा र एकाध नयाँ लुगा दिएको भरमा सहीरूपमा आमाको सम्मान हुँदैन । पर्व त एउटा प्रतीक मात्र हो । यसले सँधैभरि आमालाई सन्तुष्ट राख्ने प्रयास गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *