पोहोरको हिउँदमा हिउँमा चिप्लिएर
उसको कार एक्सिडेन्ट भएको थियो ।
ऊ दाहिने खुट्टो अलिअलि खोच्याएर हिँड्थ्यो ।
त्यसमाथि बुढयौलीले पनि छोएको थियो ।
म उसलाई बिहान-बिहानै एकतले पिरामिड आकारको सानो कटेज अगाडिको एक टुक्रो चउरमा देख्थेँ । धेरैजसो खैरो टोप लगाएको मोटो-मोटो बूढो सानो खाले हातेमेसिन गुडाएर तन्मयतासाथ घाँस काटिरहन्थ्यो । त्यसपछि पाइनटि्रनेट (त्यहाँ एकमात्र यही रूख देखिन्थ्यो) उभिएर बेस्सरी चुरोट तान्थ्यो । सायद यो उसको थकानपश्चात सुस्ताउने आफ्नै शैली हुनुपर्छ ।
‘गुडमर्निङ सेवास्तियन ।’
‘गुडमर्निङ ।’
‘आज के प्रोग्राम छ ?’ म बरन्डाबाटै कराउँथेँ ।
‘केही छैन ।’
‘राति कार्लटन बारमा जाने होइन ?’
प्रत्युत्तरमा ऊ चुरोटको बाक्लो धूवाँ आकाशमा छाडेर थोरै हाँस्थ्यो ।
सेवास्तियन पेन्जेलसँग केही दिन अघिमात्र परिचय भएको थियो । म माइली छोरीको ग्रेजुएसन समारोहको युनिभर्सिटीले गरेको निम्तोमा संयुक्त राज्य अमेरिका पुगेको थिएँ । वास्तवमा मेरो उद्देश्य घुम्नु थियो । मेरिल्यान्ड, न्युयोर्क, सनपान्सिस्को, सिकागो आदिको दुई महिनाको दौडधुप सक्याएर बसेको थिएँ । कुनै काम थिएन । त्यसैले आफू बसेको अपार्टमेन्टभन्दा केही परको गेलार्डस्टि्रटको कम्युनिटी पार्कमा गएको थिएँ । त्यहीँ सेवास्तियन सानी नातिनीलाई खेलाउन आएको थियो ।
‘तपाईं १२ एभेन्यु नर्थ अपार्टमेन्टमा बस्नुहुन्छ, होइन ?’
एक गोरो अनुहारबाट एकाएक सोधिएको प्रश्नले म झस्किएको थिएँ ।
‘म तपाईंलाई बरन्डामा उभिएको बराबर देख्छु ।’
बूढो फरासिलो खालको थियो । जोसँग पनि कुराकानी गर्न आफैं अघि सर्थ्यो । यसो ता कुनै पनि अमेरिकी अन्य युरोपेली गोरा (खास गरेर ब्रिटिस) जातिको कन्जरभेटिभ हुँदैनन् । तर एसियाई मूलका मानिस यिनीहरूका रोजाइमा हत्पत्ति पर्दैनथ्यो । छालाको रङ्गको भेदभाव पूरै गइसकेको थिएन ।
‘तपाईंलाई पनि मैले देखेको हुँ ।’ मैले भनेथेँ ।
‘म तपाईंको अपार्टमेन्ट नजिकै बस्छु ।’
‘हो, मैले तपाईंलाई घाँस काटिरहेको देखेको हुँ ।’
बूढो हलुकासँग हाँसेको थियो ।
त्यसैबखत उसको सानी नातिनी रूनथाली । यताबाट उता फनन्न घुम्ने रङ्गीचङ्गी काठको घोडाबाट लडेकी थिई । बूढो सेवास्तियन लगभग दगुरेर त्यहाँ पुग्यो । र रूँदै गरेकी सानी नातिनीलाई फकाइ-फुकाइ गर्न थाल्यो । त्यसपछि र्फकेर आई मसँग हात मिलाएर बल्ल भनेको थियो, ‘म सेवास्तियन पेन्जेल ।’
‘कुमार भट्टचन ।’ मैले पनि दह्रोसँग हात समातेको थिएँ ।
‘तपाईं चाइनिज ?’
‘होइन, म नेपालको ।’
‘यो नेपाल कहाँ हो ?’ उसले एक्कासी सोधेको थियो ।
‘तपाईंलाई माउन्ट एभरेष्ट थाहा छ ?’ मैले उल्टै प्रश्न गरेको थिएँ ।
‘इन्डिया ?’
‘होइन, संसारको सबभन्दा अग्लो चुचुरा नेपालमा हो ।’
उसले केही नभनेर टाउकोलाई झट्का दियो, कुन्नि मेरो कुरो बुझेको थियो अथवा थिएन !
सेवास्तियन फ्रेन्जेल, सेन्टक्लाउड, मिनासोटा स्टेटको वासिन्दा । ऊ सेन्टक्लाउडभन्दा परको सहर मिनियापोलिसको एक फोन कम्पनीमा टेक्निसियनको काम गथ्र्याे । तीन वर्षअघि अवकाश पाएको थियो । उसको श्रीमती थिएन । (जवानीकै बेलामा श्रीमतीले पारपाचुके गरेर अर्कैसित गएकी थिई) एक्लो छोरो मार्बेल प|mेन्जेल अमेरिकाको सरकारी फोर्समा भर्ना भएर अफ्गानिस्तान पुगेको थियो ।
‘हलो सेवास्तियन ।’
‘हलो भट्टचन ।’
‘कता ?’ उसलाई हतारमा देखेर सोधेँ ।
‘ट्रेसीको वर्थडे आएकोले केकको अर्डर दिनुछ ।’ उसले सानी नातिनीतिर देखाएर भन्यो, ‘अनि तपाईं कहाँ ?’
‘हामी दुई-चार दिनको खानेकुरो लिन वालमार्ट जाँदैछौं ।’ छोरी कल्याणी भट्टचनले जवाफ दिई ।
‘वालमार्ट ?’
‘तपाईं पनि उतै जान लाग्नुभएको होला नि ?’ म मित्रवत मुस्कुराएँ ।
सेवास्तियन एकछिन घोरियो । तर ओँठका दुई फयाक कम्पित थिए । सायद के भनुँ र के नभनुँको दोधार थियो । निधारका रेखा खुम्चिएका थिए । यो बुढयौलीको चाउरी पक्कै थिएन । -उसको गालाको रङ्ग पनि फेरिएर रातो-रातो भएको लाग्यो) उसले भन्यो, ‘म कहिल्यै पनि वालमार्टमा जाने गर्दिन ।’
‘अनि कहाँ नि ?’ कल्याणीले सोधी ।
‘डेन्समा ।’
‘होलिडेइनसँगैको डेन्स ?’
‘हो, डेन्स ।’ उसले ‘डेन्स’मा जोड दियो ।
वालमार्ट संयुक्त राज्य अमेरिकाभरि आफ्नो निजी जालो भएको प्रसिद्ध सुपरमार्केटको नाउँ । अझ अमेरिका बाहिर अरू देशमा पनि क्रमशः फैलिरहेको । वर्षभरिमा अबौर्ं डलरको कारोबार गर्ने पारिवारिक कम्पनी । -करपोरेट अमेरिकाको ‘पुँजी’को वास्तविक प्रतिनिधित्व गर्नसक्ने अति सम्पन्न हैसियत भएको मान्नुपर्छ ।) यसको सानो खालको खत्र्याक-खुत्रुक पसल डेन्ससँग कुनै पनि तुलनै हुन सक्दैनथ्यो ।
‘डेन्समा सामान अलि महँगो छ ।’ छोरी कल्याणीले भनी ।
‘हो, तैपनि म डेन्समा जान्छु । ममात्र होइन, यहाँका अधिकांश पाका मानिसहरू डेन्समै किनमेल गर्ने गर्छन् ।’ उसले गम्भीर भएर हामीलाई हेर्यो, ‘हामी कुनै पनि मालसामान खरिद गर्न वालमार्ट पटक्कै जाँदैनौं ।’
‘किन सेवास्तियन ?’ मेरो उत्सुकता बढेको थियो ।
‘वालमार्ट माथिका धनढयको काम हो । यसले सेन्टक्लाउडमा पाइला टेकेर साना-साना पसललाई धराशायी गरिदिएको छ । समुद्रको ठूलो माछाले सानो माछालाई क्वापलक्क खाएजस्तै । स्थानीय श्रम यसरी मासिँदै गएको हामी बूढाबूढीलाई मनपरेको छैन ।
यो सरासरी अन्याय हो ।’ उसको गम्भीरता कायम थियो, ‘सेन्टक्लाउडका धेरै पसल बन्द भइसकेका छन् । जसोतसो डेन्स बाँचेको छ । यसलाई जसरी पनि वालमार्टको मारबाट हामी जोगाउन चाहन्छौं ।’ यसरी एकनासले लामो-लामो वाक्य बोलेको थकान (अथवा तनाव) उसको अनुहारमा देखिन्थ्यो ।
मैले कल्याणीतिर हेरेँ ।
छोरी कल्याणीको अनुहार भावहीन थियो ।
त्यसपछि सेन्टक्लाउडको बूढो सेवास्तियन पेन्जेललाई ।
ऊ ‘ल त पछि भेटौंला भट्टचन’ भनी आफ्नो दाहिने खुट्टोलाई असहज पाराले बिस्तारै मोडेर कारभित्र पस्यो ।
