Skip to content

लाटोकोसेरोलाई वसन्त ऋतु

  • by


वसन्त पञ्चमीको दिन । एकाबिहानै एउटा भाले जुरेली अग्लो रूखको टुप्पामा बस्यो र सुरिलो स्वरले गीत गाएर वसन्त ऋतुको आगमन भइसकेको घोषणा गर्‍यो । नववसन्तको स्वागतमा आ-आफ्नो तर्फबाट गर्नुपर्ने तयारीमा लाग्न पनि त्यसले गीतकै भाषामा सम्पूर्ण प्राणीजगत्लाई निवेदन गर्‍यो ।

उत्निखेरै विभिन्न जाति-प्रजातिका चराहरूले पनि जुरेलीको स्वरमा स्वर मिलाएर ऋतुराज वसन्तको स्वागत गान गाउन थाले । पट्टपट्टा फूलका कोपिलाहरू फुटे । फक्रिएका फूलहरूको आँखा एकछिन त तिर्मिराए तर छिटोछिटो बैँश चढ्नाले अलिअलि लज्जालु भए पनि धेरैधेरै रमाएर तिनीहरूले बोले – “अहा ! कस्तो राम्रो संसार! कस्तो रमाइलो संसार!”

केही दिनअघि किसानहरूले रोपेका थरीथरीका फलफूल र तरकारीका बीउबाट टुसाहरू धमाधम माटोका सतह फोरेर बाहिर निस्के । कुनै आडबिना एक्कासि उभिनु परेकाले सुरुसुरुमा धर्मराउनु परे पनि सफा ताजा हावाको स्वास लिएर स्फुर्ति पाएपछि तिनीहरू पनि नबोली रहन सकेनन् – “अहा! कस्तो राम्रो संसार ! कस्तो रमाइलो संसार ।”

तर चराचुरूङ्गी बोटबिरुवालाई जतिसुकै राम्रो र रमाइलो लागे पनि सुत्ने तरखरमा आँखा चिम्लिसकेको लाटोकोसेरोलाई त्यसरी चराहरू गाएको र बोटबिरुवाहरू बोलेको राम्रो र रमाइलो लागेन । निद्राले बोझिलो भएका आˆना परेला च्यातेर त्यसले चारैतिर हेर्‍यो । त्यसका आँखा नराम्रोसँग तिरमिराए । रिसाएर धोत्रो स्वरले त्यो करायो – “थुइक्क, कस्तो नराम्रो संसार! कस्तो नरमाइलो संसार !”

निद्रा बिग्रेको झोकमा लाटोकोसेरो अरू पनि केके हो केके कराउँदै थियो, केही पर तर्लङ्ग झुन्डिएको एउटा चमेरो बोल्यो – “मितज्यू Û किन कराउनुभएको ? म छँदाछँदै मितज्यूलाई के तकलिफ भयो ?”

“हेर्नोस् न मितज्यू Û म सुत्न लागेकै बेला पारी यी भारेभुरे जातका चराहरूले नचाहिँदो होहल्ला गरेर मेरो निद्रा बिगारी छाडे । त्यसरी उत्ताउलो भएर नाच्नु-गाउनु राम्रो होइन भनेर मैले तिनीहरूलाई धेरै पटक हप्काइसकेँ । के गर्ने, भन्यो कसैले टेर्ने होइन । दिक्क लागिसक्यो मलाई त” लाटोकोसेरोले भन्यो ।

“चिन्ता नलिनुहोस्, मितज्यू Û म तिनीहरूलाई पनि नटोकी कहाँ छाड्छु र Û जनावरहरूलाई मात्र टोक्दाटोक्दा मेरा दाँत पनि बिगि्रसकेका छन् ।” यति भनेर चमेरोले आँखा चिम्ल्यो ।

तर लाटोकोसेरोले आँखा चिम्लन सकेन । वास्तवमा त्यसले अरू चराहरू रमाएको कारण राम्ररी बुझेकै थिएन । त्यसैले सोध्ने विचारले पर अर्को रूखमा बसिरहेको कोइलीलाई बोलायो – “कोइली भाइ, यता आऊ त । तिमीसँग एउटा जानकारी लिनु छ ।”

कोइलीले आफू बसेकै हाँगोबाट बोल्यो – “मलाई एकछिन पनि फुर्सत छैन, स्वामीजी Û प्रकृतिको रेखदेख गर्न चरा जातिको आवश्यक परेको विज्ञापन हिजोअस्ति निस्केको थियो । मैले पनि दरखास्त हालेको थिएँ । मलाई अन्तर्वार्तामा बोलाइको छ । मैले एउटा गीत पनि गाएर सुनाउने जमर्को गरेको छु । म त्यसैको तयारीमा छु ।”

“अन्तर्वार्ता नै दिन नसकिने गरी तेरो मुखमा कीरा परोस् ।” लाटोकोसेरोले सानो स्वरले यसो बोलेको थियो तर कोइलीले सुनिहाल्यो । त्यसले बोल्यो – “हुन्छ हुन्छ, स्वामीजी Û एउटा मीठो कीरा परोस् मेरा मुखमा । मलाई भोक लाग्न पनि थालिसकेको छ ।”

यति बोलेर ‘बाई बाई Û’ गर्दै कोइली उडिहाल्यो । कोइलीप्रतिको रिस लाटोकोसेरोले नजिकैको एउटा हाँगोबाट उड्नै लागेको कागको भालेपोथीमाथि खन्यायो – “अनि तिमीहरू मकैभुट्ने हाँडीजस्तो कालो अनुहार लिएर कहाँ पो उड्न लाग्या हो ? जहिले पनि हतारमा हुन्छौ तिमीहरू, के के न काम भएजस्तो । तिमीहरू कराएको सबैभन्दा बढी मन पर्दैन मलाई ।”

लाटोकोसेरोले एक्कासि त्यसो बोलेको सुनेर कागको भालेपोथी छक्क परे । भाले कागले बोल्यो – “के तपाईं त, स्वामीजी Û काम न काज त्यसै रिसाउनुहुन्छ । जहिले जहिले हेरे पनि रिसाएको अनुहार । ज्ञानी, ध्यानी, विद्वान्, तपस्वी ठानेर हामी चराहरू तपाईंलाई कति मान सम्मान गर्छौं तर तपाईं भने ……. ।”

कागले त्यस्तो बोल्ला भन्ने लाटोकोसेरोले चिताएको थिएन । त्यो लुरुक्क पर्‍यो । भाले काग एकनास बोलिरहृयो – सबैभन्दा रमाइलो ऋतु वसन्त आइसकेको छ । सारा प्राणी तथा बोटबिरुवा रमाइरहेका छन् । चाँडै नै गाउँसहरका बागबगैँचामा रङ्गीचङ्गी फूल फुल्ने छन् । वनजङ्गल लालीगुराँसले राताम्मे हुने छन् । चराचुरुङ्गीहरू घरजम गर्ने तरखरमा गुँड बनाउन पायक पर्ने ठाउँ खोज्नेतिर लाग्ने छन् ।

“तपाईं मलाई ‘के के न काम भएजस्तो’ भनेर खिज्याउनु हुन्छ । तपाईं पो दिन दिनभरि सुतेर बिताउनु हुन्छ । हामीलाई काम गर्दागर्दा दिनभरि फुर्सत हुँदैन । सुन्नुहोस्, म तपाईंलाई हाम्रा कामका बारेमा बताउँछु । बिहान सबेरै उठी हामी पूर्वतिर लाग्छौँ र सूर्य-नमस्कार गर्छौँ । त्यसपछि बाटो लागेका बटुवाहरूलाई हामी नजिकैको गाउँसहर कति टाढा छ त्यसको अनुमान गर्न सकिने गरी उडिदिन्छौँ । टाढा गएका आफन्तहरू कहिले र्फकलान् भनी पर्खेर बसेकाहरूलाई समय आउनेबित्तिकै शुभसमाचार सुनाउन जान्छौँ । बदमास केटाहरू स्कुल नगई गुलेली समातेर चरा मार्न हिँड्छन् । त्यस्तो बेलामा होहल्ला गरेर चराहरूलाई सतर्क गराउनै पर्‍यो । बिहानको खाना तयार भएपछि मनुष्य जातिले तिनीहरूले खानुभन्दा पहिले हामीलाई भोग चढाउने गर्छन् । भोग ग्रहण गर्न जानै पर्‍यो । हाम्रो गुणको कदरस्वरुप यमपञ्चकको एकदिन हाम्रो पूजासमेत हुन्छ । के थाहा तपाईंलाई ?”

त्यसैबेला बेस्सरी हाँसेर पोथी काग बोलेको सुनियो – “के एक्लै कराइरहनुभएको तपाईं ? देख्नुभएन, बूढा सुतिसकेको छ!’

भाले कागले लाटोकोसेरोतिर हेर्‍यो । नभन्दै लाटोकोसेरो सुतिसकेको थियो । भाले कागले आˆनो प्रवचनको सुरुमै लाटोकोसेरो निदाइसकेको हुनुपर्ने अनुमान गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *