पात
वास्तवमा गोदाम प्रेतघर झैं प्राचीन एवं प्रागऐतिहासिक लाग्थ्यो । डार्बिन या कार्ल माक्र्सझैं बूढा भइसकेका ग्रन्थ/पाण्डुलिपिहरू तपाईं त्यहाँ देख्न सक्नुहुन्थ्यो । यता माकुरा त्यता माउसुली र उता छेपाराहरू छ् यापछ् याप्ति थिए । ग्रन्थहरूमाथि नगन्हाउने धूलोका पत्रपत्र ‘फ्रिज’ थिए ।
एउटा कुनामा, एउटा कितबामा मेरो मङगोल दृश्य पर्यो । बेवारिस । उठाएँ त्यसलाई । आवरणचित्रलाई धूलोले ढाकेको । पुछदिएँ जसरी तपाईं प्रेयसीका आँसु पुछदिनुहुन्छ । पृष्ठहरू फरर्र-फरर्र । बीचबाट एउटा पुरानो पात भुइँमा झरी पो गयो । उठाएँ र स्मृतिपरस्त भएँ…
आफ्नो युवाकालका दिनहरूमा म झोलाभरि पुस्तक बोकी जंगल-भ्रमण गर्थें । विश्वविद्यालयका यान्त्रिक कक्षाहरूमा नभई मैले जंगलका छेउछाउ बग्ने नदीनाला वरपर विश्वको इतिहास/सभ्यतासित संक्षिप्त परचिय/ज्ञान प्राप्त गरेँ ।
वृक्षमुनिको ओछ्यानमा आरामसित विश्व साहित्यका मोड/गल्ली अनि भन्ज्याङहरू चाहर्थें । ती अध्ययनहरूले क्रमश: मभित्रबाट एउटा लेखकलाई जन्माइदिए । अब त यो लेखक अवकाशप्राप्त ‘एस्ट्रोनट’ झैं वृद्ध भइसकेको छ । बूढाहरूको अब साहित्यमा कुनै काम छैन भन्ने युवा-हल्लाले कहिलेकाहीं पीडा दिँदोरै’छ !
जेहोस् एक दिन वृक्षबाट एउटा स्केलेटल पात मेरो छातीमा झरेको थियो र त्यसलाई ‘पेज-मार्किङ’का निम्ति भनी कुनै ग्रन्थमा बन्द गरिदिएको थिएँ । हिजो गोदाममा भेटिएको पात त्यही थियो । मेरो कल्पनाविपरित त्यो सुख्खा पात बोल्न थाल्यो : “ओ लेखक ! यतिका उमेर मैले तिम्रो गन्थभित्र एउटा बन्दी-जीवन बिताएँ । मेरो अहंकारको, घमन्डको सजाय हुनुपर्छ सायद यो कारावास । कुनै समय म जीवनको जादुले सम्मोहनग्रस्त थिएँ र आफूलाई समग्र अस्तित्वकै केन्द्र ठान्ने गर्थें । संसारकै ‘महत्त्वपूर्ण-म’ ठान्ने गर्थें आफूलाई । म छु त्यसैले यो संसार छ जस्तो लाग्थ्यो । तर एकदिन, म वृक्षबाट झरें बतासको केवल एक थप्पडमा । अनि मात्र मलाई बोध भयो कि म कस्तो महाभ्रममा थिएँ । मैले वृक्षमा देखें आफूजस्तै लाखौं पातहरूलाई । एउटा वृक्षको म नाथे पात मात्रै त रहेछु ! विशाल अस्तित्वको एउटा अंश, अणु मात्रै रै’छु ! म त केवल कुनै अज्ञात जंगलको कुनै अज्ञात वृक्षको कुनै अज्ञात पात मात्रै रहेछु । आफ्नो ‘पात्रता’ प्रति म यति घमन्डी थिएँ । उफ ऽऽऽ अस्तित्वभरि हामी सबै स्वयंलाई केन्द्रमा राखी अज्ञानवश बाँच्दा रहेछौं । मर्दा रहेछौं । ओ लेखक ! मलाई अब मुक्त गरदिेऊ ।” इत्यादि ।
घाटमा छु अहिले । भर्खरै, त्यो पातलाई बागमतीमा बगाएर यता मलामीहरूभन्दा पनि अँझ यता विवर्ण छु । पातले आफ्नो मुक्ति सायद आफै खोज्दै महासागर पुग्ला/नपुग्ला सोचमग्न छु । म पनि सायद अस्तित्वरूपी वृक्षको एक अज्ञात पात हुँ जो कुनै दिन झर्नेछ अनि कुनै नयाँ/अज्ञात पाठकले मलाई आफ्नो पुस्तकभित्र बन्दी बनाउनेछ ।
हेर्छु उता : एउटा लास जलिरहेछ । जन्म/मृत्युका संस्कारहरू सम्झन्छु । मनुष्यको यात्रा देह-संस्कारबाट सुरु भई दाह-संस्कारमा गई टुंगिँदो रहेछ ।
आमा
लोग्ने मानिसहरूको भीड देख्दा कहिलेकाहीं कहाली लाग्दो रहेछ । यद्यपि पुरुषहरूको ‘ नाउसियाटिक’ भीडको म पनि एक सदस्य हुँ भनी दु:खका साथ स्विकार्नुपर्छ ।
छोरीको भ्रुण-हत्याका समाचारहरू सुनेर/पढेर मलाई ‘नाइटमेर’ हुनेगर्छ । पुरुष र स्त्रीको प्राकृतिक सन्तुलन तीव्ररूपले तहसनहस भइरहेको देख्दा स्वभावत: दु:खी हुन्छु । पुरुषै पुरुषको भीडले यो संसार भद्दा/कुरूप एवं अरोचक हुँदै जानेछ । स्त्रीबिनाको संसारमा मान्छेहरू कम जन्मने र बढी आत्महत्या गर्ने डरलाग्दो त्रासदीपूर्ण कोलाजको कल्पनाले म विगत केही कालदेखि आतंकित छु ।
एउटी ममतामयी आमाको प्रतिज्ञामा मेरा दिनहरू बितिरहेका थिए । एउटी आमा जसले छोरीको जन्म दिऊन् । कफी-गृहहरूमा म मेरा सर्जन मित्र, जो प्राइभेट प्रसूति-गृह चलाउँछन्,सित प्राय: यस विषयमा छलफल/चिन्ताको आदान-प्रदान गर्छु । सर्जन चिन्तित हुँदै भन्ने गर्छ :
सबैसित पुत्र मोह छ । र यो मोह ज्यादै त्रासदीपूर्ण छ ।
गत साँझ यिनै सर्जनले फोनमा भने : ‘ओ लेखक ! तपाईं खुसी हुनुहोस् । तपाईंको आदिवासी प्रतिज्ञा समाप्त भयो । अहिले भर्खरै, मेरो प्रसूति-गृहमा एउटी स्त्रीले छोरी जन्माइन् । आमा र छोरी दुवै स्वस्थ छन् ।’
म गोदाममा थिएँ । गोदामझैं निस्पृह थिएँ । तर सर्जनको समाचारले मेरो आत्मा केही चलमलायो । नाइट-गाउनमै म गोदामबाट निस्किएँ । बजारमा फलफूल किनें । एउटा पुष्प-पसलबाट सुन्दर ‘सुनाखरी-बुके’ किनें अनि मनसुन-वर्षामा केही रुझ्दै/भिज्दै प्रसूति-गृहमा देखा परें ।
सर्जन मित्रले स्त्रीसित ‘उहाँ लेखक’ भनी मेरो परचीय गराए । स्त्रीको दिव्य मुहार ल्याम्प-पोस्ट झैं झलमल्ल बलेको थियो । उपहारहरू उसलाई दिँदा उसले ‘धेरै-धेरै धन्यवाद’ भनी । म कति खुसी भएको छु र मसित व्यक्त गर्नका निम्ति शब्दहरू बतासमा कपुर बिलाए झैं बिलाई गएभन्दा स्त्री मन्द/सौम्य मुस्कुराई । यसरी एउटा अपरिचतले उपहार ल्याइदिँदा तपाईंलाई अन्यथा त लागेको छैन भनी सोद्धा उसले भनी :
‘यस विशाल धर्तीमा मेरा निम्ति कोही अपरिचत छैन ।’
गजबको जवाफले म चकित परें । भनें : ‘तपाईं महान् हुनुहुन्छ । वास्तवमा आँटिली ! आजकल कोही छोरी जन्माउँदैनन् । जन्माउन चाहँदैनन् । तपाईंलाई मेरो हृदय-नमन् । तपाईं आज एउटी पूर्ण स्त्री बन्नुभएको छ । आमा बन्नुभएको छ । तपाईं धन्य हुनुहुन्छ किनभने तपाईंले एउटी ‘छोरी’ जन्माउनुभा’छ । ‘
-‘ओ लेखक !’ उसले भनी मुस्कुराउँदै : तपाईं गलत भन्दै हुनुहुन्छ । साँच्चि नै तपाईंका शब्दहरू बतासमा कपुर बिलाए झैं बिलाए क्यारे ! म आज आमा बनेकी होइन । वास्तवमा, म आज पूर्ण ‘छोरी’ बनेकी छु । मैले छोरीको कर्म पूरा गरेकी छु । किनभने आज मैले छोरी होइन/एउटी ‘आमा’लाई जन्म दिएकी छु । एक सृष्टि ममार्फत आज यस धर्तीमा आएकी छ । म असलमा छोरी हुँ र मैले ‘आमा’ जन्माएकी छु ।’
शब्दहीन भएँ म । त्यस नवजात ‘आमा’लाई उठाएर छातीमा टाँसें । निधार चुमें । मेरा आँखाबाट क्रमश: मनसुन वर्षा झररिहे । कम्पित ओठबाट मेरा आवाजहरू फुस्फुसाउँदै निस्के : ‘तपाईंको चित्त महान् छ ।’
‘ओ लेखक !’ मुस्कुराउँदै उसले भनी : ‘मेरो चित्त महान् होइन । वास्तवमा, मेरो चित्त चित्रात्मक छ ।’
प्रिय पाठक !
त्यो साँझ मेरो जिन्दगीकै एक सुन्दर चित्रात्मक साँझ थियो ।
गदि्ध
अनदि्रा रोग (इन्सोम्निया)का कारण केही समयदेखि मेरो-जीवन ज्यादै अवसादग्रस्त हुँदै गइरहेको थियो । होर्खे लुई बोर्गेसको कथाको पात्रझैं म क्रमश: मानसिक रूपमै ध्वस्त हुँदै थिएँ । म प्राय: तनावमा रहन्थें । अरूलाई सिध्याउनुभन्दा आफैंलाई सिध्याउनु प्रीतम कार्य हो भन्दै म यदाकदा डर लाग्दो योजनामा तल्लीन हुने गर्थें । यो महानगरको नवशैलीका विरोधाभाषहरू/अब्सर्डिटीहरू मेरा मानसिक यातनाका/त्रासदीका थप कच्चा सामग्री बन्न पुगे जसले तपाईंलाई वस्तुत: या त विक्षिप्त पार्छ या त ग्रेभ-यार्डमा आफ्नो सुकशल ठाउँ खोज्न बाध्य पार्छ ।
एक प्रकारले म एक रात्रिकालीन-जन्तु बनें । एक नकचर्नल-यायावर ! सहर र देश लगायत संसारै कायाकल्पित हुन लागेको ‘नमुना-दृश्य’ले मेरो खण्डहर-दिमागमा एक अरोचक त्रासदी ल्याइदिएको थियो । पुरानो होन्डामा म रातभर सहरका अज्ञात सांस्कृतिक गल्ली/राजनीतिक मोड र दार्शनिक घुम्ती चाहर्थें ।
हिँडिरहेथें एक रात म भजन या गजलका टुक्राटाक्रीको जप गर्दै सोचिरहेथें : उफऽऽऽ काठमान्डूको आकाशबाटगिद्ध बिलाएझैं मानिसका हृदयाकाशबाट संवेदना, सहानुभूति, प्रेम, आस्था, श्रद्धाहरू बिलाइरहेका छन् ।
आफ्नै स्वतन्त्र धुनमा थिएँ । सिंहदरबार गेट छेवैको अँध्यारो कुनामा एउटा कालो थुप्रो भुइँमा चलमलाइरहेको देखें । नजिक गई हेरें । तपाईं त्यहाँ एउटा घाइतेगिद्धलाई छट्पटाइरहेको अवस्थामा देख्न सक्नुहुन्थ्यो ।
गदि्धका अंग घाउग्रस्त थिए । धेरै ठाउँमा चोट थिए । वास्तवमा त्यो दुर्लभ प्राणि क्षतविक्षत अवस्थामा थियो । पखेटा चल्मलाउनै नसक्ने गरी ध्वस्त भएको । कहाँबाट खसेछ योगिद्ध सिंहदरबारको गेटनिर ? पखेटा फडफडाउँदै उडिजाने असफल प्रयत्न देखेर ममागिद्धप्रति असीम करुण-भाव जागेर आउनु स्वाभाविक थियो । उसलाई बिस्तारै सुम्सुम्याएँ/चुमे । आफ्नो ठुँडले सिंहदरबारतिर इसारा गर्दैगिद्ध बोल्न थाल्यो :
‘ओ लेखक ! तिमीलाई कहिल्यै थाहा भयो ? यो दरबारमा वास्तवमा पिचासहरू बसोबास गर्छन् । यो मात्रै होइन, संसारका प्राय: दरबारहरू नरपिचासका अड्डा हुन्…’
गदि्धको अप्रत्यासित वाणिले ममा तत्काल प्रभाव पार्यो । राजा/महाराजाका वाहियात महावाणि सुनेर अपवित्र बनेका मेरा कानलाईगिद्ध-वाणिले केही शीतल राहत अवश्य दियो । त्यसपछि/गदि्धलाई कालो झोलामा राखी म आफ्नो गोदाम फर्कें ।
डिटोल-जलले उसका घाउहरू सफा गरें । ठाउँठाउँमा ह्यान्डिप्लास्टले टाँचा मारिएकोगिद्धको रूप एवं वर्ण पाठकलाई केही हास्यास्पद लागे पनि अशोभनीय पक्कै थिएन, सायद !गिद्धसितको मेरो सहचार्य/उठबस मेरा निम्ति आश्चर्य एवं खुल्दुलिले भरिएको एक ‘प्याकेज-गिफ्ट’ थियो । नजिकैको ‘बुद्ध फ्रेस-मिट-हाउस’बाटगिद्धका निम्ति चिकन/वफ/मटन ल्याउने मेरो तत्कालीन शुभ-प्रभातीय कर्मकान्ड हुन पुग्यो । गोदामका भुइँभरि यत्रतत्र मासुका टुक्राहरू छरिदिन्थें रगिद्ध मस्तसित मांस-भक्षण गररिहँदा म कफी सुरुप-सुरुप गर्दै दैनिक खबर-कागजहरू पढ्थें । अखबारमा कुकुर हराउँथे, चक्काजाम या बन्द हडताल हुन्थे/सांसदहरू संसदमा एक अर्काविरुद्ध तामसिक गाली गर्थे …
गदि्ध क्रमश: स्वस्थ हुँदै गयो । दाहिने-काँधमा त्यसलाई राखी म तपाईंको सहर परत्रिmमा गर्थें । स-साना नानीहरू मलाई देखी डराउँदै आफ्नी आमाको पछाडि लुक्थे । मलाई देखी तपाईंहरू तर्कनुहुन्थ्यो/
भन्नुहुन्थ्यो : ‘योगिद्ध-मानवदेखि सावधान ! यो पापी हाम्रो सभ्यता/संस्कृतिका निम्ति अशुभ छ । हाम्रो नैतिक-जीवनमाथि षड्यन्त्र गर्न यसलेगिद्ध बोकी हिँडेको छ ।’
तपाईंका कुरा सुनेर म होइनगिद्ध बडो दु:खी हुन्थ्यो ।गिद्ध बोकी म कहाँ-कहाँ पुगिन ? मन्त्रालय/वेश्यालय/अनि तथाकथित धर्मालयहरू ! म जहाँ-जहाँ गएँ । हामी बसोबास गर्ने मानववस्तीमागिद्धलाई पुर्याएँ । म उसलाई देखाउन चाहन्थें मानव अस्तित्वका विडम्बनापूर्ण कथा एवं गाथा कुनै अर्कै लोकको पर्यटकझैंगिद्धले ती सबलाई गम्भीरतापूर्वक हेर्यो ।
अब तगिद्ध पूर्ण स्वस्थ भइसकेको थियो । अब उसलाई आफ्नै उडान भर्नु थियो, खुला आकाशमा । उसको आकाश विस्ितर्ण/खुला थियो । मेरो धर्ती ! उफ् ऽऽ अँझै संकीर्ण/बन्द थियो ।
गोदामको युगौं पुरानो झ्याललाई मैले एक बिहान खोली दिएँ । पुराना ग्रन्थहरूमा उज्यालो छिर्यो ।गिद्धले भन्यो :
‘ओ लेखक ! मेरो उपचार गर्यौ, मलाई आफ्नो मानव-वस्ती देखायौ । तिमीलाई धन्यवाद । मेरो प्रस्थान गर्ने समय भयो अब । वास्तवमा/मेरो कथा कुनै ईश्वरले श्राप दिएर धर्तीमा पठाएर मानिसको दु:ख/पीडा/ सफ लता/आँसुको महत्त्व बुझ भनी पठाएझैं पो लाग्यो । जेहोस्, म अब आफ्नो उडान भर्छु । अलबिदा, ओ लेखक…’
अनायास म टोलाउन पुगें । मेरो भावुकता बोल्न थाल्यो : ‘ओ प्रियगिद्ध ! मलाई पनि लैजाऊ चेतनाको स्वतन्त्र उडानमा । यो प्राचीन गोदाममा आदिम-ग्रन्थझैं म कतिञ्जेल थन्किएर बसूँ ?’
अन्त्यमागिद्ध उवाच :
‘ओ लेखक ! अनावश्यक भावुक नबन । म तिमीलाई कसरी आफ्नो उडानमा लान सक्छु ! किनभने तिमी जकडिएका छौ आफ्नो अस्तित्वका जराहरूमा (तिमी मजस्तो ‘चरा’ बन्ने कहिले ?) । तिमी सम्बन्धित छौ राज्य/राष्ट्र, भूगोल, धर्म, परम्परा, संस्कृति, राजनीतिका तामसिक बन्धनहरूमा । चेतनाको स्वतन्त्र उडानमा तिमीलाई म कसरी लैजान सकुँला र ! जब कि : तिमीलाई तथाकथित पासपोर्ट चाहिन्छ/भिसा चाहिन्छ, राज्यको स्वीकृति या अनुमतिपत्र चाहिन्छ । ओ लेखक ! आकाशमा अवश्य पनि हामीगिद्धहरू उड्छौं । तर, तिम्रो धर्तीमा पनि त कहिलेकाहीं बुद्धहरू हिँड्ने गर्छन् । तिम्रो आतिथ्य सत्कार, यो गोदाम सायदै म बिर्सूंला ! गएँ । अलबिदा ..’
प्रिय पाठक !
अब त गोदाममा म एक्लो छु । डार्बिन या कार्ल माक्र्स झैं बूढा भइसकेका ग्रन्थ/पान्डुलिपि झैं ।
