Skip to content


भूपिन व्याकुल
मृत्युले कला भरेको तुइनमा अल्झिएर
कर्णालीपारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले
कर्णालीमा शब्दकोश
केही पानाहरू खाली छोडेर
प्रकाशित कुनै बैरागी किताबजस्तो लाग्छ
जहाँ नछुट्नुपर्ने धेरै कुराहरूसँगै
छुटेको छ कर्णालीको नाम
अथवा कर्णाली
त्यही वियोगी कविजस्तो लाग्छ
जसले आफ्नै आँखाअगाडि
कविताले आत्महत्या गरेको देखेको छ
अथवा त्यो समयजस्तो लाग्छ
जसले देशलाई अश्लील गाली गरिरहेछ !
यो शब्दकोश
जसमा अर्थको चमक हराएका शब्दहरूमात्र छन्
यो शब्दकोश
जहाँ प्राण उडेका खाली खाली पृष्ठहरू छन्
कसरी थाहा पाउँछ
कि कर्णाली
कति ज्यालामा भोकभोकै कालापहाडमा भारी बोक्छ ?
कसरी ज्यान दाउमा राखेर
विलासीहरूका लागि यार्सागुम्बा टिप्छ ?
कति लामो लाइन लाग्छ खाद्य डिपोमा
सात किलो चामल वा एक पोका नुनका लागि  ?
कसरी दसैं मनाउँछ
रित्ता रित्ता मदुसहरूबाट हावा झिकेर ?
यो शब्दकोश
जहाँ अर्थको टलक हटाएर शब्दहरूमात्र छन् !
निश्चिन्त छ
शब्दकोशको कुटिल सम्पादक
उसलाई कर्णालीको गीत सुनेर कुनै खतरा छैन
अझैसम्म लागिरहेकै छ उसलाई
कर्णाली
एउटा असफल गायक हो मुक्तियुद्धको
र उसको सफलता
केवल करूण रसका उदास गीतहरू गाउनुमा सीमित छ ।
कर्णाली
के तिमी चाहन्नौं
कि तिमीले गाइरहेको दुखको गीत
पृथ्वीले सुन्ने अन्तिम शोक गीत बनोस्
र अब त्यस्तो शब्दकोश लेखियोस्
जहाँ तिमीले
जीवनका किनाराहरूमा
भोकका लहरहरू लेख्न नपरोस्
अभावका लहरहरू लेख्न नपरोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *