
संसार विजय गरेँ भनेर
अन्तरिक्ष कब्जा गर्ने होडमा थियौ क्यारे ।
आज अदृश्य शुत्रसँग पराजित भएर
आफू मात्र होइन
मानव अस्तित्व माथि नै सङ्कट उत्पन्न गर्यौ क्यारे ।
संसार भ्रममा नै रमाइ रह्यौ
हरेक पल प्रतिस्पर्धाको लडाइँमा
मानव मनलाई मात्र निमोठी रह्यौ ।
शक्ति, सत्ता र पैसाको भरमा
भुईँ मान्छेहरूका बाध्यतालाई कुल्ची रह्यौ।
आज तिम्रो उन्मत्तता र अदृश्य आक्रमणकारीको
पन्जाबाट छुटकारा पाउन
अरु अरू कुरा त छाडौँ
निशुल्क जीवनभर पाइरहेको
सासको धुकधुकी फेर्न नपाएर
भुईँ मान्छेहरू आफ्ना सम्भावनाका भविष्यहरू
तिमीलाई उपहार टक्य्राउँदै
अदृश्य परिवेशको अदृश्य पात्रको रूपमा
अस्ताइ रहेछन् ।
अझै कति कति पात्रहरू
अदृश्य शत्रुको दृश्यात्मक युद्धको
चपेटामा परेर अदृश्य पत्रको रूपमा
अस्ताउनु पर्ने हो ?
थाहा छैन यी अबोध मानवलाई
थाहा छैन यी अज्ञात मनहरूलाई
(३१ वैशाख २०७८-पोखरा-२८)
